कृषकलाई अनुदानको ४१ वटा ट्याक्टर वितरण

उदयपुर / प्रदेश सरकार कृषि विकास निर्देशनालय विराटनगरले अनुदानमा ४१ वटा ट्याक्टर ५० देखि ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ । उदयपुरको कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा ४१ जनालाई हाते ट्याक्टर वितरण गरेको हो ।

कृषि यान्त्रिकरण अनुदान कार्यविधि २०७५ बमोजिम मिनी टिलर, पावर टिलर, मकै छोड्याउने मेसिन, मल्टी क्रप थ्रेसर, रिपर, रोटाभेटर, धान थ्रेसर, डिवलर, रिजर, धान काट्ने मेसिन लगायतका कृषि प्रविधि सामग्री ५४ जनालाई हस्तान्तरण गरेको थियो । उदयपुरमा ५० लाख बराबरको ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा कृषि प्रविधि हस्तान्तरण गरिएको हो ।

कृषि ज्ञान केन्द्र उदयपुरले एक कार्यक्रमको आयोजना गरी प्रविधि हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारले कृषकलाई प्रविधिमैत्री बनाएर व्यावसायिक उत्पादनलाई बढवा दिने उद्देश्यले ट्याक्टर लगायत कृषि सामग्रीहरु ५० देखि ७५ प्रतिशत अनुदानमा वितरण गरेको हो ।

कृषि प्रविधि हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर परियारले कृषकलाई प्रोत्साहन गर्न र उत्साही र खाद्यान्नमा आत्मनिर्भर बनाउन ५० देखि ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर लगायतका कृषि प्रविधि हस्तान्तरण गरिएको बताए ।

उदयपुरमा एक सय ६७ कृषकले आवेदन गरेपनि ५४ जनाको नाम मन्त्रालयले छनौट गरेको थियो । छनौटमा कटारी नगरपालिकाबाट १४ जना कृषक, त्रियुगा नगरपालिकाबाट ११ जना कृषक, चौदण्डीगढी नगरपालिकाबाट १० जना कृषक, रौतामाई र उदयपुरगढी गाउँपालिकाबाट ६÷६ जना कृषक, ताप्ली गाउँपालिकाबाट ७ जना र लिम्चुङबुङ गाउँपालिकाबाट १ जना कृषकले ७५ प्रतिशत अनुदानमा कृषि प्रविधि पाएका थिए ।

तपाईको प्रतिक्रिया

Loading…