अलैंचीले धान र कोदो खेती विस्थापित गर्दै

संखुवासभा / भाद्र २२ –अलैंची खेती प्रतिको आकर्षणले ग्रामिण भेगमा धान र कोदो खेती विस्तारै घट्दै गएको छ । धान र कोदो उत्पादन हुने जमिनमा कृषकहरु अलैंची खेती गर्न थालेका छन् । धान र कोदो उत्पादन गर्दै आएको चिस्यानी जग्गामा अलैंची खेती गर्दा दोब्बर आम्दानी हुने भएकाले धान र कोदोको साटो अलैंची खती गर्न थालिएको कृषकहरु बताउँछन् । धान तथा कोदो उत्पादन गरिने खेतबारीमा अलैंची उत्पादन गर्न थाले पछि उनीहरुले मनग्य आम्दानी लिइरहेका छन् ।

धान र कोदो खेती गर्दा खर्चिने समय र परिश्रम अलैंची खेती गर्दा नलाग्ने र कम स्याहार गर्नुपर्ने भएकाले समेत उनीहरु अलैंची खेती गर्न थालेका हुन् । वर्षौ देखि धान खेती गर्दै आएका पाँचखपन नगरपालिका १ का बलबहादुर राईले विगत ६ वर्षदेखि अलैंची खेती गर्दै आइरहेका छन् । राईले २० मुरी धान उत्पादन हुने खेतमा चार वर्ष अघि अलैंचीको बिरुवा लगाएका थिए ।

तीन वर्ष अघि देखि अलैंचीले उत्पादन दिन थाले संगै धान भन्दा अलैंची लाभदायक भएको राईले बताए । उनको २० मुरी धान उत्पादन हुने जग्गामा ७ मन अलैंची उत्पादन हुन्छ । उनले भने “अहिलेको बजार मूल्य अनुसार ७ मन अलैंचीको मूल्य साढे २ लाख पर्छ । यो पैसाले खरिद गरेको धान वर्ष भरिमा खाएर सकिने होइन । तर धानको खेती गर्दा एक वर्षलाई खानु शिवाय केही थिएन ।”

उनको परिवारमा अलैंचीले आर्थिक समृद्धि गर्नुका साथै धान खेतीमा जस्तो स्याहार गरिरहनु पर्ने समयको समेत सदुपयोग भएको छ । राईले जस्तै संखुवासभाका ग्रामिण भेगका कृषकहरु धान, कोदो र मकै जस्ता बालीहरु भन्दा अलैंची नाफामुखी भएपछि खेती गरिरहेको जग्गामा अलैंचीको बिरुवा लगाउन थालेका छन् भने केहीले उत्पादन गरिरहेका छन् ।

चार मुरी कोदो–मकै उत्पादन हुने जग्गामा गत वर्ष मात्रै १ नं. वडाका मिलन हाङ्गामले ८ हजार अलैचीको बिरुवा लगाएका थिए भने यो वर्ष सोही वडाका नइन्द्र बहादुर तामाङले पनि १२ हजार बिरुवा लगाएका छन् । कोदो–मकैको झन्जटिलो काम र त्यो ठाउँमा अलैंची लगाउँदा उत्पादन संगै अलैंचीको मूल्य उच्च हुने भएकाले कोदो–मकै मासेर अलैची सुरु गरेको राईले बताए । आगामि साल देखि नै उत्पादन दिने र मकै–कोदोको तुलनामा अलैंचीको मूल्य धेरै भएकाले खेती परिवर्तन गरेकोमा उनी खुशी व्यक्त गर्छन् ।

केही वर्ष अघि आफ्नै जग्गामा अलैची खेती गरेका तामाङले भने यो वर्ष घर वरिपरीका धान खेत मात्र राखेर बाँकी जग्गामा अलैची लगाएका हुन् । अलैचीमा चिस्यान गर्न उनले तीन सय मिटर पाइप प्रयोग गरेका छन् । कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका ३ हजार २ सय ५९ हेक्टर क्षेत्रफलमा अलैचीको खेती गरिन्छ । तर केही वर्ष देखि अलैंची खेतीमा कृषकहरुको आकर्षण बढे संगै यो तथ्यङ्क पनि बढ्न सक्ने कार्यालयले जनाएको छ । अलैंची खेतीले भू–क्षय कम गर्ने र ग्रामिण भेगमा उत्पादन हुने भएकाले युवाहरु समेत यसको खेती प्रति आकर्षित हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया