अब हप्तामा सातै दिन राजविराज विमानस्थलमा विमानसेवा

राजविराज । विना सूचना गत चैत्र १८ गतेदेखि हवाई सेवा ठप्प भएको राजविराज विमानस्थलमा आइतवारदेखि दैनिक रुपमा श्री एयरलायन्सले सेवा सञ्चालन गर्ने भएको छ । हवाई सेवा शुभारम्भ भएयता अनियमित उडान हुँदैआएको राजविराज विमानस्थलबाट पहिलोपटक हप्ताको सातै दिन विमानसेवा सञ्चालन गर्ने भएको हो । श्री एयरलायन्सको राजविराज स्टेशन इन्चार्ज किरण कुमार यादवका अनुसार वैशाख २९ गतेदेखि नियमित रुपमा हवाई उडान हुनेछन् । २०७५ असार १० गतेदेखि नियमित विमान सेवा थालिएको विमानस्थलमा सुरुमा साताको ५ दिन उडान भर्दैआएको थियो ।

प्राविधिक त्रुटी देखाउँदै केही महिनादेखि ३ दिन मात्र उडान भर्दै आएको थियो ।गत चैत्र १८ गते काठमाण्डौबाट राजविराज आउने भनिएको विमानको उडान अचानक रद्द गरिएको थियो भने काठमाण्डौ जानकालागि तयार भएर बसेका यात्रुहरुलाई विमान आउँदैन भनी फर्काईएको थियो । अब दैनिक रुपमा काठमाण्डौ अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट अपराह्न १.३५ बजे यात्रु बोकेर राजविराजकालागि प्रस्थान गर्ने तथा राजविराजबाट समेत दैनिक २.३० बजे यात्रु बोकेर काठमाण्डौकोलागि उड्ने समयतालिका सार्वजनिक गरिएको छ । श्री एयरलायन्सले वैशाख २९ गतेकालागि टिकट बुकिङ्ग कार्य समेत शुरु गरिसकेको स्टार ट्राभल्स एजेन्सीका प्रोप्राइटर गौतम चौधरीले जानकारी दिएका छन् ।वि.सं. २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्व.गणेशमान सिंहले शिलान्यास गरि सञ्चालनमा ल्याईएको थियो ‘राजविराज विमानस्थल’ । केही दिन सञ्चालन पश्चात कच्ची धावनमार्गको समस्या देखाउँदै विमान सेवा पूर्ण रुपमा ठप्प नै गरियो ।

पछिल्लोपटक विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडाइको पक्की धावनमार्ग, ९० मिटर लामो र ६० मिटर चोडाई एप्रोन तथा १ सय १० मिटर लामो र २० मिटर चौडाईको ट्याक्सी वे पक्की निर्माण भएपछि गत जेठ ९ गते श्री एयरलाइनले सफल परीक्षण ग¥यो । झण्डै ६ दशकपछि गत असार १० गतेबाट राजविराज विमानस्थलमा नियमित हवाई सेवा सुचारु भयो । श्री एयरलायन्सको ५० सिट यात्रु क्षमता भएको विमानले साताको पाँच दिन उडान सुरु ग¥यो । पाँच महिनासम्म शनिवार र मङ्गलवार बाहेक श्री एयरलायन्सले नियमित उडान सेवा सञ्चालन पनि गरे । पछि प्राविधिक समस्या देखाउँदै एयरलायन्स कम्पनीले दुई महिना यता सातामा ३ दिन मात्रै उडान भर्ने समय तालिका कायम गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…