गर्भवती खोज्न गाउँ चाहार्दा …

नुवाकोट, २८ पुस । गर्भवती महिला सुत्केरी भएपछि आउने रगत, पिपलगायतका फोहरले भिजेका कपडा सफा गरिदिने पनि सरकारी स्वास्थ्यकर्मी होलान् ? अनि उनीहरुलाई आफूले सुत्केरी गराएका स्थानको आफैँले सफा गर्ने कमैको मात्र बानि होला ! तर यहाँस्थित चतुराले स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेब जीवन भट्टराई आफैले सुत्केरी गराएको स्थान र सुत्केरी महिलाले लगाएका लुगासमेत धोइ समाजलाई परिवर्तन गर्ने प्रयास गर्नुभएको छ ।

“मेरो पहिलो काम स्वास्थ्य चौकीमा सुरक्षित रुपमा प्रसूति सेवा (सुत्केरी गराउनु) प्रदान गर्नु हो । सुत्केरी गराउन गर्भवती महिलालाई यहाँ ल्याउने बेला हतारहतार हुँदो होला, कतिपयले फेर्ने कपडा समेत लिएर आउन भ्याएका हुँदैनन् । यस्तो अवस्थामा सुत्केरीका कपडा सफा गरिदिनुको अर्काे विकल्प रहेन ।” अहेब भट्टराईले भन्नुभयो ।

अर्काेतर्फ यस स्वास्थ्य चौकीमा सातजनाको दरबन्दी भए पनि उहाँसहित एकजना कार्यालय सहयोगी मात्र कार्यरत छन् । “कतिपय त सुत्केरी गराउन ल्याउने सुत्केरी भएपछिका रगत, पिपलगायतका फोहरले भिजेका कपडा देखेर घिन मान्ने गर्दछन् । उनीहरुलाई सिकाउन म नै उदाहरण बन्ने गरेको छु । आफैँ लुगाधुन अघि सर्छु र धोइदिन्छु । आफ्नो स्वास्थ्य संस्था त सफा राख्न प¥यो ।” उहाँले भन्नुभयो ।

अहेब भट्टराई चतुराले आएपछि हालसम्म लगभग एक हजार ३०० भन्दा बढी गर्भवती महिलालाई सुत्केरी गराउन सेवा प्रदान गरिसक्नुभएकामा अहिलेसम्म सुत्केरी आमा र नवजात शिशुको अकालमा मृत्यु भएको छैन भन्नुभयो ।

पाँचवर्षमा आठ प्रमुख फेरिए तर अहेब भट्टराई निरन्तर

विसं २०५१ देखि यस स्वास्थ्य संस्थाले स्थानीय जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको हो । विसं २०५१ देखि २०५६ सम्मपाँच वर्षको अन्तरालमा आठजना हेल्थपोस्ट प्रमुख(इन्चार्ज) परिवर्तन भए तर अहेब भट्टराईले विसं २०५६ देखि निरन्तर रुपमा स्वास्थ्य चौकीको प्रमुखको रुपमा नेतृत्व दिइरहनुभएको छ ।

गाविसमा क्रियााशील राजनीतिक संयन्त्रले पनि पटकपटक उहाँलाई अन्यत्र सरुवा नगर्न जिल्ला तथा केन्द्रीय तहमा आग्रह गर्दै आएको छ ।
उसो त सोही वर्ष यस स्वास्थ्य चौकी पक्की भवनमा सरेको थियो । “विस २०५६ को सुरुमै यहाँ आएको हुँु, आएको केही महिनापछि नै गुन्द्री ओछ्याइ, सुत्केरी सेवाका सामग्रीबाट सुत्केरी सेवा दिन सुरु गरेको हुँ । तर सुरुका दिन त गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ल्याउन र उनीहरुलाई खोज्न नै धौधौ प¥यो ।” उहाँले भन्नुभयो ।

प्रमुख भटृराईले भन्नुभयो “तपाईका घरमा गर्भवती महिला हुनुहुन्छ ? भनेर गाउँका पुरुषलाई सोध्यो चिकित्सक भएर स्वास्थ्य चौकीमा बसेर ट्याबलेट बाड्नु नि, किन चाहियो खोजीनिती भन्ने जवाफ दिए । तपाई त गर्भवती हुनुभएजस्तो छ, पेट बढेछ नि भनेर महिलाई सोध्दा खुलेर भन्न नचाहने तर हरेस खाइन् । भेटघाट हुनेसित गर्भवती भएपछि आउने जटिलता, यसबाट शिशुमा पर्नसक्ने असर, पोषणको महत्व, स्वास्थ्य संस्थामा नै सुत्केरी गराउँदा आमा र नवजात शिशुको स्वास्थ्यमा देखिने समस्याबारे जनचेतना जगाउनमै दिन बिताए । अरु सेवालाई भन्दा प्रजनन स्वास्थ्यलाई ध्यान दिएँ । प्रमुख समस्या र चुनौती पनि यही थियो ।”

तपाईको प्रतिक्रिया