पानवारी भलिबल कप सुरु

सुनसरी । दोस्रो पानवारी कप भलिबल प्रतियोगिता सुरु भएको छ । बुधबारदेखि धरान–२३ पानवारीमा सुरु भएको भलिबलको सेमिफाइनल समिकरण सम्पन्न भएको छ । बुधबार प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् केन्द्रीय सदस्य शम्भु आचार्यले खेलकुदको विकास गर्न पूर्वाधार महत्वपूर्ण रहेको बताउदै स्थानीय स्तरमा आफ्नै लगानीमा यति ठूलो प्रतियोगिताको आयोजना गर्नु भनेको खेलकुद विकासको नमुना भएको बताए ।

प्रतियोगितको प्रमुख अतिथिको रुपमा धरान–२३ पुगेका आचार्यले यस्ता प्रतियोगिताले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी जन्माउने बताए । प्रतियोगिताको विशिष्ट अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनप्रसाद राई रहेका थिए भने प्रतियोगितामा नेपाल खेलकुद महासंघ सुनसरीका महासचिव अशोक अलि, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति सदस्य गणेश बुढाथोकी लगायत स्थानीय संघ संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सयपत्री बोइज युनियनलाई २५–६ र २५–१३ को सोझो सेटमा झापा टाइगर क्लबले पराजीत गरेको छ भने दोस्रो खेलमा बाझगरा युवा भलिबल क्लबलाई सोझो सेट २५–१३ र २५–१२ मा पराजीत गर्दै पूर्वी पृतना हेडक्वाटर इटहरी सेमिफाइनलमा पुगेको छ । पूर्व क्षेत्रीय प्रहरी रानीले साविक विजेता त्रिवेणी युवा क्लबलाई सोझो सेट २५–१८ र २५–१८ ले पराजीत गरेको छ । त्यस्तै डुम्राहा खेलकुद विकास समितिले याङशिला युवा क्लबलाई सोझो सेट २५–२० र २५–१६ ले हराएको छ । विजयी चारै वटा टिमले सेमिफाइनलको यात्रा पक्का गरेका छन् । आजको पहिलो सेमिफाइनल खेल झापा टाइगर विरुद्ध पूर्व क्षेत्रीय प्रहरी रानी र दोस्रो सेमिफाइनल पूर्वी पृतना हेड क्वाटर विरुद्ध डुम्राहा खेलकुद विकास समितिका बिच हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...