भीष्मलाई मृत्युशैयामा देखेर द्रौपदी किन जोडजोडले हाँसिन् ?

महाभारतको कहानी धेरै रोचक छ । जति पन्ना पल्टाउँदै जान्छौँ, उति बढी रहस्यमय लाग्दै जान्छ यो कथा । कौरव र पाण्डवका बीचको शत्रुताको परिणामस्वरुप महाभारतको भीषण युद्ध भएको हो । उक्त युद्धमा कौरवको विशाल सेनालाई परास्त गरेर पाण्डवसेनाले विजयगाथा र गौरवको झन्डा फहरायो । महाभारतको लडाइँमा कैयन चाखलाग्दा र आश्चर्यपूर्ण घटनाहरु छन् । जस्तै– द्रौपदीको विवाह पाँच भाइसँग हुनु, यस विवाहका सर्त र नियमहरु, कृष्ण र अर्जुनको सम्बन्ध, आजीवन विवाह नगर्ने वाचा गरेपछि देवव्रतले भीष्म उपाधि प्राप्त गर्नु, पाञ्चालीको चीरहरण आदि ।

यी सबै प्रसङ्गका अलावा महाभारतमा केही यस्ता घटनाहरु घटित भएका छन् कि तिनलाई चाखलाग्दा भनेर भन्नु भन्दा पनि रहस्यमय भन्नु उपयुक्त हुन्छ । जस्तै– शकुनिको प्रतिशोध, भीष्मलाई प्राप्त इच्छामरणको वर, शान्तनुको गङ्गासँगको विवाह, अम्बाको श्राप र शिखण्डीको जीवन आदि ।

जस–जसले महाभारतको कथा पूरा पढ्नुभएको वा सुन्नुभएको छ उहाँहरुका लागि त यी प्रसङ्गहरु धेरै हदसम्म स्पष्ट हुने नै भए तर यतिबेला म जुन कथा–प्रसङ्ग गर्न लागेको छु त्यो धेरैजनालाई थाहा नभएको हुनसक्छ ।

महाभारतको युद्ध अन्तिम चरणमा थियो । अम्बाको त्यो प्रतिज्ञा पनि पूरा भइसकेको थियो जसका अनुसार उनी भीष्मको मृत्युको कारण बन्न चाहन्थिन् । शिखण्डीको रुपमा पुनर्जन्म लिएर उनले त्यो आफ्नो प्रतिज्ञा पूरा गरेकी थिइन् ।
अर्जुनका बाणहरुले भीष्मपितामहको शरीर छिद्रछिद्र पारिदिएका थिए । तर भीष्मपितामहलाई प्राप्त इच्छामरणको वरदानका कारण यमराज स्वयम् आएर पनि उनको प्राण हरण गर्न सक्तैनथे । यसकारण उनी शरीर छ्यान्द्राछ्यान्द्रा होउन्जेल बाणले छेडिए पनि अझै जीवित थिए ।

शरशøयामा पल्टेर उनी महाभारतको युद्धको परिणामको प्रतीक्षा गरिरहेका थिए । युद्धको नियमअनुसार सूर्यास्तपश्चात् युद्ध रोकिन्थ्यो र यस समयमा सबैजना भीष्मपितामहका वरिपरि एकत्र भएर बस्थे ।

भीष्म अरु केही दिन युद्ध हेर्न चाहन्थे । त्यसकारण उनी अझै जीवित रहेका थिए । सूर्यास्त हुनासाथ सबै परिजन र शुभचिन्तकहरु भीष्मका समक्ष आउँथे र भीष्म उनीहरुलाई प्रवचन दिन्थे ।

यस्तै एक साँझ भीष्म प्रवचन दिइरहेका थिए । सबैजना उनका कुरा निमग्न भएर सुनिरहेका थिए । वातावरणमा गम्भीरता र सन्नाटा छाएको थियो । यस्तो सुनसान र गम्भीर वातावरणका बीच अचानक द्रौपदी हाँस्न थालिन् ।
द्रौपदीलाई हाँसेको देखेर भीष्म एकदम क्रोधित भए । वरिपरि उभिएका सबै मानिस के कारणले यिनी असमयमा अचानक जोडजोडले हाँसेकी हुन् भनेर द्रौपदीलाई क्रोध र स्तब्धतापूर्वक हेर्न लागे ।

भीष्मले रिसाएर द्रौपदीलाई भने– ‘तिमी पाञ्चालनरेशकी पुत्री र हस्तिनापुरकी बुहारी हौ । तिमी सम्माननीय कुलहरुसँग सम्बन्धित हौ । यस किसिमले हाँस्नु तिमीलाई शोभा दिँदैन ।’

भीष्मका रिसले भरिएका वचन सुनेर द्रौपदीले भनिन्– ‘हजुरले म हाँस्नुको कारण सोध्नुभएन ।’

भीष्मले सोधे– ‘तिमी के कारणले हाँस्यौ त ?’
भीष्मको यस प्रश्नमा द्रौपदीले जुन उत्तर दिइन्, सो एकदमै संवेदनशील र गम्भीर उत्तर थियो ।

द्रौपदीले भीष्मलाई त्यो समयको सम्झना गराइन्, जब भरी दरबारमा कौरवहरुद्वारा द्रौपदीको चीरहरण गरिएको थियो । उनी मद्दतका लागि चिच्याइरहेकी थिइन् । उक्त दरबारमा परिवारका सबै पुरुष सदस्य उपस्थित थिए । धृतराष्ट्र र भीष्मपितामह पनि सो घटनाका साक्षी थिए । तर कसैले पनि उक्त कृत्यको विरोध गरेका थिएनन् ।

द्रौपदीको त्यही क्रोध भीष्मपितामह शरशøयामा रहेर अर्तीउपदेश दिइरहेको अवसरमा व्यङ्ग्यात्मक हाँसोको रुपमा प्रकट भएको थियो ।

उनले भीष्मलाई भनिन्– ‘जुन बेला मेरो चीरहरण भइरहेको थियो, त्यतिबेला त हजुरका मुखबाट एकशब्द पनि निस्कन सकिरहेका थिएनन् । आज बाणहरुले शरीर छियाछिया भएर दुखिरहेको र शरशøयामा पल्टिरहनुभएको छ, यस्तो पीडापूर्ण अवस्थामा पनि अर्तीउपदेश दिइरहनुभएको छ ।’

भीष्मलाई आफ्नो गल्ती महसुस भयो । उनले द्रौपदीसँग क्षमा माग्दै उसबेला एकशब्द उच्चारण गर्न नसक्नुको कारण पनि बताए ।

भीष्मले भने– ‘म त्यसबेला कौरवहरुले दिएको अन्नपानी खाइरहेको थिएँ । जसले दिएको अन्नपानी खाइन्छ, उसैको विरोध गर्नु ठीक हुँदैन । धृतराष्ट्र र दुर्याेधनजस्ता अधर्मीहरुको अन्नपानीले मेरो जिब्रो बाँधेको थियो । त्यसै भएर म उनीहरुको कुकृत्यको विरोध गर्न असमर्थ थिएँ ।’

भीष्मले भने– ‘कहिल्यै पनि कुनै अपराधी, पापी, निठुरी या अधर्मीलाई साथ दिनु हुँदैन । यस्ता व्यक्तिहरुको सङ्गतले आफू स्वयम्को चरित्रलाई समेत नाश गर्दछ ।’

भीष्मले यसो भनेको सुनेर द्रौपदीले उनीसँग माफी मागिन् । भीष्मले पनि उनलाई माफी दिए ।

(प्रस्तुत कथा मेरा फेसबुक मित्र डालचन्द मेनारिया Dal Chand Menaria को वालबाट लिएर हिन्दी मूलबाट नेपालीमा अनुवाद गरी पस्केको हुँ ।)

तपाईको प्रतिक्रिया