अनुभव र ऊर्जा

जीवन अचम्म र विरोधाभासले भरिएको छ । अनुभव हुनेसँग ऊर्जा छैन । ऊर्जा हुनेसँग अनुभव हुँदैन । जो व्यक्तिसँग दुवै कुरा एकैसाथ हुन्छ त्यसले जीवनमा महारथ हाँसिल गर्छ । अनि सिद्धि प्राप्त गर्छ । संसारका सबैसबै क्षेत्रमा नाम चलेका महारथीहरूको जीवन अध्ययन गर्दा हामी त्यो भलिभाँती पाउँछौं । जीवन र मृत्यु हरेक प्राणीका लागि शाश्वत सत्य हुन् । यी परस्परमा विरोधीजस्ता देखिए पनि नित्य सँगसँगै छन् । जीवन हाम्रो बसमा थिएन र मृत्यु पनि नियन्त्रणमा हुने छैन । यो शाश्वत हो कि हामी जन्मिदैमा मृत्यु तय भैसकेको हुन्छ जसरी एउटा सरल रेखा खिच्दा त्यसको आदि विन्दुदेखि अन्त्य विन्दुसम्मको लम्बाइ निर्धारण भैसक्छ । त्यसैगरी जीवन प्राप्त गर्ने बित्तिकै मृत्युको पनि जानकारी मिलिसकेको हुन्छ । भलै मानिसहरू मृत्यु बोधबारे नादान भएको अभिनय गर्छन् । कताकति डराउँछन् । अनेक तबरमा बुझ पचाउँछन् । अन्य जीव जीवात्मालाई के हुन्छ त्यो मानिसलाई ज्ञात हुने कुरै भएन । यद्यपि खोजी जारी छ ।

‘मानिसले जीवन के हो भन्ने कुरा बुझ्दा उसको आधा जीवन बितिसकेको हुन्छ ।’ हामी आफूलाई परिआउँदा अर्ती तिलमा तौलेर लिन्छौं र अरूलाई दिँदा धार्नीमा जोखेर दिन्छौं । संसारमा डेढ अक्कल छ । मानिसलाई गाली गर्दा ‘कस्तो डेढ अक्कली’ भनिन्छ । आफूलाई एक (पूर्ण) र संसारका सबै मानिसलाई मिलाएर आधा (अंश) गरी हेर्ने दर्शन नै ‘डेढ अक्कल’ हो । आफू पूर्ण र संसारभरिका मानिसहरू आधा हुनु भनेकै मानिसको दम्भ हो । मानिसले आफूलाई राम्रो देखाउन पनि ‘राम्रो म’ भनेको हो । वर्णमालाका सबै अक्षर पढ्दा ‘म’बाहेक कुनै अक्षरलाई पनि ‘राम्रो म’ भनिएको पाइँदैन । ‘म’ प्रतिको यस्तो माया भनेकै आफूलाई प्यार गर्नु हो । संसारमा आफूभन्दा बढी माया कसैको लाग्दैन । यदि कसैले ‘फलानाको लाग्छ’ भन्यो भने त्यो सरासर झुठ हो ।

म पछि ‘हामी’ आउँछ । हामी भनेको दुई जोईपोइ र तिनीहरूले सिर्जिने संसार हो । पहिले मानिस दोपाया हुन्छ । जब बिहे गर्छ अनि चौपाया हुन्छ । चौपाया भनेको पशु हो । व्यवहारले मानिसलाई ‘पशुवृत्ति’मा अभिनय गराउँछ । जब सन्तान हुन्छन् अनि मानिस माकुरो हुन्छ । माकुराका ६ वटा खुट्टा हुन्छन् । माकुरा अभिनयमा मानिस जानी नजानी अभ्यस्त हुन थालेपछि उसलाई उसकै सन्तानले खान्छन् । ‘बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधैमाथि’ त्यसै भनिएको होइन । जतिजति सन्तान बढ्दै जान्छन् मानिस त्यतित्यति मानिस एक्लिँदै जान्छ । आजकल त सन्तानहरू चरा वृत्तिमा उमेर बढेपछि र बैँस चढेपछि आफ्ना माउ र बाउका गुँड छाडेर भुरूरूरू उड्छन् । हिजो देशभित्रै उड्ने चल्लाहरू आज सके अमेरिका, युके, क्यानाडा र अष्ट्रेलियातिरै या नसकै खाडीका देश, मलेसिया र कोरियातिर बत्तिन्छन् ।

‘घरकै लागि घर छाडेर हिँडेकाहरू’ आउने भनेकै ‘अनलाइन’मा हो । ‘अफ लाइन’मा आउँदा त अभागी विचरा कतिपयका जीवनै पनि ‘अफ’ भैसकेका हुन्छन् र ती ‘कफिन’मा सजिएर आउँछन् । कोहीकोही भने दुईचार वर्षमा घर सम्झी आउँछन् । घर आउँदा कतिपयको घर नै उजाडिई सकेको हुने, कतिपयको घर अर्कै नाठोले भत्काइदिई सकेको हुने संस्कार नेपालमा बिस्तारैबिस्तारै नजानिँदो गरी पन्पिदैँछ ।

मानिसको जीवन र फूलको जीवनलाई सादृश्य रूपमा तुलना गर्न सकिन्छ । फूलको कोपिला मानिसको नवजात, फक्रँदो अवस्था मानिसको युवाकाल र फूलको ओइलाउँदो अवस्था मानिसको वृद्धवस्था हो । युवा अवस्थामा मानिसमा ऊर्जा हुन्छ तर अनुभव हुँदैन । वृद्ध अवस्थामा मानिसमा अनुभव हुन्छ तर ऊर्जा रहँदैन । पच्चीसदेखि पैँतीस वर्षसम्मका मानिसमा अनुभव र ऊर्जा दुवै हुने हो भने मानिसले संसार खान्छ । नाम चलाउँछ । माहिर बन्दछ । अझ अघि बढेर भन्ने हो भने महामानव बन्छ । यो संसारमा जति पनि मानिसहरूले आआफ्ना क्षेत्रमा तरक्की गरेर नाम कमाएका छन् तिनीहरूले पच्चीसदेखि पैँतीसम्म कै उमेरमा काम फत्ते गरेका छन् ।

बुद्ध हुन् या जिजस, देवकोटा हुन् या दाँते, भूपी हुन् या शंकर लामिछाने, मोतिराम हुन् या मन्टेस्क्यू, पारिजात हुन् कि शेली यी सबैसबै कि त युवाकाल मै महामानव भएका छन् कि त पचास नकाटी बितेका छन् । विवेकानन्द चालीस भित्रै गए । भैरव अर्याल चालीस नटेक्दै बिते । संसारलाई तर्कको बलमा फन्फनी घुमाउने रजनीशले पचास कै हाराहारीमा सिल्टिमुर खाए । लामो जीवन पाएर पनि केही गर्न नसक्ने हुनुभन्दा छोटो जीवन मै धेरै गर्न सक्ने हुनु असाध्यै राम्रो । गायक अरुण थापादेखि खेम गुरुङसम्म पनि सोही उमेर मै परमधाम भए । विश्वको पपगायन क्षेत्रमा संसारभर तहल्का पिट्ने माइकल ज्याक्सनको जीवनी अध्ययन गर्दा सोही गुत्थी थाहा पाइन्छ ।

मानिसको मात्र नभएर रूख बिरुवाले पनि जवानी मै फल दिने शक्ति अधिक राख्छन् । गाईभैँसीले उमेर मै दूध धेरै दिन्छन् । सवारका लागि पालिने घोडा, मासुका लागि पालिने खसीबोका, हाँसकुखुरा र काठका लागि साँचिएका रूख पनि आफ्नो जीवनको युवा उमेर मै बढी उत्पादनशील हुन्छन् । ‘बैँसमा स्याल पनि घोर्ले हुन्छ’ भनेर उखानले त्यसै भनेको कहाँ हो र ? बूढापाकाहरूका अनुभवले अनुजहरूलाई जीवन सिकाउँछन् । विकसित देशमा त ससम्मान भन्ने गरिन्छ –‘युवालाई काम बूढालाई आराम ।’ हामीकहाँ भने मात्र एकपटक पदमा गैसकेको मानिस नमरून्जेलसम्म पद छाड्नै मान्दैन । ‘बूढो गोरुले कोरली ओगटेझैँ’ भरसक ऊ पदमै परमधाम जान चाहन्छ । यो वा त्यो भनेर नामै किन तोकौं नेपाल मै पनि धेरैजसो नेपाली राजनेताहरू पदमै हुँदा बितेका कैँयौँ उदाहरण छन् । गिरिजा हुन् कि सुशील, मनमोहन हुन् कि मदन मर्दा आफ्नो पदसँगै लैजाने नेताहरू खोजी पसेमा अरू पनि हुन सक्छन् ।

मानिसलाई उसको क्षेत्र बताइदिने मानिसको संसारमा सर्वथा खाँचो रहेको हुन्छ । कस्तूरी अभिनयमा जीवनभर भट्कीरहने धेरै मानिसहरू समाजमा देखिन्छन् । कोहीकोही त एउटा क्षेत्रमा असफलता भएपछि पुनः अर्को क्षेत्रमा हाम्फाल्ने गर्दछन् । क्षेत्र परिवर्तन गरिरहनु भन्दा एउटै क्षेत्रमा डटेर लागिरहने हो भने मानिसको जीवन सार्थक हुन्छ । यो भवसागरमा सबैै एउटा न एउटा काम गर्नका लागि प्रकृतिले खटाएर आएका छन् । कोही कसैसँग कसैको प्रतिस्पर्धा हुँदैन, हुन सक्दैन । आफैँसँग हो मानिसको प्रतिस्पर्धा हुने भनेकै । अंग्रेजीमा भनिएको पनि छ –नो मेन इज पर्फेक्ट इन दिस् वल्र्ड । कोही पनि पारगङ्त छैन । जीवनभरि सबै सिकिरहन्छन् । कोही धेरै सिकेर सिकिरहन्छन् भने कोहीचाहिँ थोरै सिकेर पनि सिकिरहन्छन् ।

शास्त्रले भनेको छ –‘पूर्णाद् पूर्णमिदम् ।’ तिमी पूर्ण छैनौं । पूर्ण हुने कोसिस गर । रूख, फूल, पहाड, नदी, घाम, जून, प्राणी र यो चराचर जगत्बाटै मानिसले केही न केही जीवनोपयोगी शिक्षा लिन सक्छ । तर त्यो लिन सक्ने आँट र जिज्ञासा मानिसमा हुनु प¥यो । जसले सिक्छ उसले आफ्नो जीवनका लागि जान्दछ । अनि जसले सिक्दैन उसले आफ्नो जीवनका लागि पनि जान्दैन र अरूलाई पनि सिकाउन सक्दैन ।

सिकेरै सिकाउने हो । भोगेरै जीवन बिताउने हो । कतै भनिएको छ –‘जिन्दगी बिताउने होइन, भोग्ने हो ।’ अनुभवजन्य यावत् कुरा सिकेरै जिन्दगीलाई भलिभाँती भोगौं । भोग्दा अनुभव र ऊर्जा दुवै आर्जन सकिन्छ । पूर्वीय भौतिकवादी दर्शनका अनुयायी दार्शनिक चार्वाक भन्थे –‘यावत् जीवेत सुखम् जीवेत्, ऋणम् कृत्वा घृतम् पिवेत् । भष्मिभूतस्य देहस्य, पुनरागमनम् कुत् ।’ जतिन्जेल बाँचिन्छ, सुखसँग बाँचौं । ऋण गरेरै पनि घिउ खाँऊ । मरेर जाने यो चोला मरेपछि भस्म खरानी हुन्छ तर फर्केर आउँदैन । वर्तमान विकसित जमानाका मानिसहरूको जीवनलाई सूक्ष्म रूपले हेर्दा त्यो गूढ यथार्थ शाश्वत होजस्तो लाग्छ । कि कसो ?
।।समाप्त।।

तपाईको प्रतिक्रिया

Loading…