तिम्रो के जान्छ र ! (कविता )

नीलम फुयाल “स्पन्दन”

तिम्रै मुठ्ठीमा
छ र त मेरो सास
म सोचिरहन्छु
मर्न दिन्नौ होला मलाई
त्यसै–त्यसै
ओइली झर्न दिन्नौ होला मलाई ।

तिमीलाई माया गर्नु
तिम्रै भर पर्नु
मेरो दोष हो र  !
तिमीलाई
यति राम्री
कस्ले बनायो ?
त्यसमा
मेरो दोष छ र  !
तिमीलाई देख्नु
एकोहोरै सही
माया बस्नु ।
अनि तिमी भने तर्कि तर्कि हिंड्नु
लत्याए झै गर्नु
प….र पुगेर फर्केर हेर्नु
भोलि फेरि त्यही बाटो आउनु
आँखाले खोज्नु
तर
नदेखेझै  गर्नु
नहेरेझै  गर्नु
चिहाउनु ।
के त्यसले मलाई लोभ्याउँदैन !

मदहोषीमा
छाड्ने तिमी
लठ्याउँदै हिंड्ने तिमी
महक
छर्दै आउने

सुबाष
छोड्दै जाने तिमी ।
अनि
नहेर भन्छ्यौ ?
त्यो
मेरो दोष हो र !
मेरो सास त
छाडेकै छु नि
तिम्रो मुठ्ठीमा ।
मेरा हत्केलामा
राखिदिंदा तिम्रो धड्कन
तिम्रो के जान्छ र !
हैन भने
साँच्चै माया छैन भने
निमोठन
अझै दह्रो तिम्रो हात
तिम्रो के जान्छ र !
© नीलम फुयाल “स्पन्दन” , धरान २३, पानबारी

तपाईको प्रतिक्रिया

Loading…