हेलो ! सन् २०१७ बाइबाइ सन् २०१६

आदरणीय पाठकहरू यो लेख पोष्ट भएको करिब १२ घन्टामा यहाँहरूका घरआँगनमा सन् २०१७ नयाँ वर्षका रूपमा टुप्लुक्क भएर आइपुग्ने छ । यतिखेर विश्वभरका करिब सात अरब मानिसहरू इस्वी सम्वत्को नयाँ वर्ष २०१७ को स्वागत्मा रमाइरहेका छन् । भेटघाट, खानपिन, नाचगान, शुभकामना साटासाट र विविध हर्षोल्लासमय वातावरणमा मानिसहरू गएको वर्ष २०१६ मा भएका यावत् नराम्रा कुराहरू बिर्सेर आउँदो वर्षका नयाँ औ नूतन कार्यहरूलाई योजनामा समावेश गर्दै सेलीबे्रट गरिरहेका छन् । सबै धपेडीमा छन् । फुर्सद् कसैलाई छैन ।

हुन त यो नयाँ चक्र होइन । पोहोर पनि यसैगरी नयाँ वर्ष २०१६ हाम्रा घर आँगनमा आएकै हो । हर्षोल्लस छरेकै हो । आफ्ना नयाँनयाँ कार्यले हामीलाई पुलकित बनाएकै हो । दिन, महिना र वर्ष फेरिनु भनेको प्रकारान्तरले हामी आफैँ थप एकवर्ष बूढो हुनु हो । जीवनका पोयाबाट एक वर्षको डोरी झन् झीनो हुनु हो । क्रमशः गर्दै मानिस मृत्युका मुखमा पर्नु हो । तर मानिस यी कुराहरूमा मात्र अल्झनेवाला छैन । मान्नेवाला छैन ।

उसले विगत्मा नपाएका कुराहरू पाउनका लागि अनेक लालसा जन्माएको छ । आसा गरेर जिन्दगीमा अनेकानेक योजनाहरू तुनेको छ । सपनाहरू बुनेको छ । अनि जानी नजानी ऊ उसका उमेरका पत्रमा अर्को एक वर्ष थप्न बाध्य बनेको छ ।

विश्वका धेरै देशमा न्यू इयर इभ मनाइरहेका अरबौं युवायुवतीहरूले उनीहरूबाट नचाहेरै बितेको वर्ष सन् २०१६ लाई अब आफ्नो जिन्दगीमा सँधै मिस गर्ने छन् । चाहेर होस् या नचाहेर उनीहरूका जीवनमा पुरानो वर्ष छाडी गएको खसम या पे्रमीझैँ झझल्को मै मात्र सीमित रहन पुगेको छ । उहिलेउहिले चिठीको जमाना हुन्थ्यो । मानिसहरू हुलाकीको बाटो हेरेर आफन्तका चिठी चपेटाका ‘राह’ कुरेर बस्दथे । अब जमाना डिजीटल बनेको छ । एक क्लिकमा मानिसहरू सयौं मेल पाउन र पठाउन सक्छन् । प्रविधिले मानिसका जीवनमा नानाभाँती सुविधाका रासहरू थपेको छ । चाहेर होस् या नचाहेर मानिसहरूका मेल बक्स भरिन सक्छन् –न्यू इयर विसका मेसेजहरूले ।
हिजोजस्तो आज छैन । आजजस्तो भोलि हुँदैन । परिवर्तन गतिशील छ । समय प्रगतिशील भएर सभ्यताको पिङ् खेलिरहेछ । चकाचौँध छ –विश्व । भरिभराउ छ –संसार । मात्र जाँगर हुनु प¥योे । ऊर्जा सँगाल्नु प¥यो । जोश निखन्नु प¥यो । यो संसारको एउटै उत्तर भनेको ‘यस’ हो । प्रविधिले मानिसलाई ‘नो’ भन्नै दिएको छैन । सायद् सो सभ्यता पन्पिएसम्म दिने पनि छैन । दिनु हुँदैन ।

जिजुहरू गोठ बस्थे । पट्याँसमा अँगारले कोर्थे । बाहरू घरमा बस्नुभयो । चिठीपत्रमा सन्चाबिसन्चो र जापनीज् नेसनल पानासोनिक रेडियोमा कान थापेर समाचार सुन्नु हुन्थ्यो । चिया पसलमा नौरङ्गी गफ हुन्थे । भैँसी बेच्नेदेखि लिएर केटाकेटीका जोडी मिलाउने कुरासम्म लमीका माध्यमबाट सोही स्थानमा सम्पन्न हुन्थे । पञ्चभलादमी बसेर गाउँघरका मुद्दामुकदम मिलाउने र अनेक अर्मल तिर्ने तिराउने काम हुन्थ्यो । हामीहरू सहरमा फ्ल्याट भाडा लिएर बसेका छौं । सक हुनेहरू हाउजिङ्मा रमे रमाएका पनि छौं । टिभी र भिसिडी पुरानिए । अब गुगल र यूटूब आए । छानीछानी र मन लागेका मसला हेर्न, सुन्न र कपी गर्ने सुविधा प्रविधिले उपहारमा दिएको छ । मानिस एक सेकेण्ड पर्खनु प¥यो भने मरेजत्ति कै ठान्छ । यतिखेर सुलभ वस्तु नै हतार भएको छ ।

घरघरमा जति मानिसहरू छन् ती सबै घोसेमुन्टो रोगले छोएका रोगी भएका छन् । घोसेमुन्टो लगाएर स्मार्ट फोन कोट्याउनु आजको विकसित मानिसको काम भएको छ । घरभरि जहानहरू छन् । परिवारका सदस्यहरू कोही कसैसँग बोल्दैनन् । मात्र हेर्छन्, सार्छन् अनि कोट्याई रहन्छन् । वल्लो कोठा पल्लो कोठा मै ‘बर्थ डे विस्’ हुन सक्छ । माथ्लो तला र तल्लो तला मै ‘न्यू इयर सेलीब्रेट’ हुन सक्छ ।

मानिस साँघुरिएको छ । छोट्टिएको छ । खुम्चिएको छ । पहिले गाउँमा घरहरू टाढाटाढा हुन्थे –मानिसका मनहरू नजिकनजिक । त्यसैगरी घर कच्चा हुन्थे तर सम्बन्ध पक्का । अहिले सहरमा घरदेखि घर जोडिएका छन् मानिसका मनहरू टाढिएका छन् । सहरका घरहरू पक्का छन् तर ती घरहरूमा बस्ने मानिसका मनहरू कच्चा छन् । क्या ! जमाना आयो । पहिले मानिस टाढा हुन्थे मन नजिक हुन्थ्यो । अहिले मानिसहरू नजिक छन् तर मन टाढिएका छन् । यो कसैले गरेको या ल्याएको होइन । मानिसले नै ल्याएको हो । मानिसले मानिसका लागि विकास गरेको प्रविधिले नै मानिस मानिसमा खाडल बढाएको छ । दूरी दूर गरेको छ । सम्बन्धका लिउनहरू पातलिएका छन् । मायाका डोरीहरू झुरीएका छन् । मानिससँग सबैथोक छ तर मानवताको गुञ्जायस लेससम्म बाँकी छैन ।

जतिजति हामीहरू वर्षका पत्रहरू पल्टाउँछौं उतिउति आफूमा भएका कुराहरू हराउँदै जान लागेका छौं । एक्लिन बाध्य छौं । हिजो पढेलेखेरै पनि सन्तानहरू घरकरेँसा मै जागिर खान्थे । गाह्रो साँघुरोमा बाबु आमालाई रेखदेख गर्थे । ख्याल गर्थे । मायाममता पउल दिन्थे । आमा पनि आफ्ना सन्तानलाई काख मै पाएर मख्ख पर्थिन् । आज समयले आफ्नो पदचाप बदलेको छ । रीतिथिति बद्लिदिएको छ । आज धेरै पढ्ने र मेधावी सन्तानहरू अमेरिका, बेलायत, युरोप, अष्ट्रेलिया र क्यानाडातिर बत्तीएका छन् । अलिअलि पढ्ने र ठ्याप्पै नपढ्ने सन्तानहरू पनि कोरिया, मलेसिया र खाडीका अनेक मुलुक गएका छन् । गाउँघर रित्तो छ । मरौपरौ र दुःख बिराममा हेर्ने युवायुवतीहरू छैनन् । छन् त छन् काम गर्न नसक्ने ससाना केटाकेटी र ओरालो लागेका घामझैँ भएका बूढाबूढीहरू छन् । खेतबारीहरू पाखुरी नभएर बाँझिएका छन् कि रासायनिक मलले किटिएका छन् ।

बिहेबटुलो, पूजाआजा, उँधौलीउँभौली, ल्होसार, इद, बकरिद र यस्तै न्यू इयरमा सेलीब्रेसन गर्ने हार्दिक मनहरू सँगै छैनन् । रियल लाइफमा नभएकाहरू रिल लाइफमा आक्कलझुक्कल झुल्किन्छन् । ‘एक्चुअल’ दुनियाँमा सुखदुखमा साथ लिन नसक्नेहरू ‘भर्चुअल’ दुखियाँका फेसबुक फ्रेण्ड भएर औपचारिक शुभकामना दिन आउँछन् । साथै बसेर दिएको गाली र ताली नै मिठो हुँदो रहेछ । टाढा बसेर भाइबर, म्यासेन्जर र स्काइपमा दिएको सन्देशले मानिसलाई औपचारिक हुन मात्र सिकाएको छ । अपनत्व दिएको छैन । जतिसुकै माया गरे पनि प्रविधिबाट मानिसले प्रेमपूर्वक मानिसलाई छुन नसक्ने, छाम्न र सन्निकट बसेर सान्त्वनाका शाब्दिक भावहरू शुभकामनामा दिन नसक्ने । यो प्रविधिले हामीलाई कहाँ पु¥याएर पाहा पछारेझैँ पछार्ने हो केही थाहा छैन । कसैले भन्न सक्नेवाला पनि छैन ।

आसा गरौं । यो नयाँ वर्ष सन् २०१७ मा मानिसका टाढा भएका मनहरू क्रमशः नजिक भएर जोडिऊन । मानवता गएको वर्षभन्दा अझ् घनिभूत भएर बाक्लियोस् । संसारभर छरिएर रहेका सम्पूर्ण नेपाली असल मनहरूमा नयाँ वर्ष सन् २०१७ को शुभकामना !

तपाईको प्रतिक्रिया

Loading…