दौड

सबै दौडेका छन् । सँधै दौडेका छन् ।
घरबाट, गाउँबाट, सहरबाट, देशबाट र विश्वबाटै क्रमिक दौड सुरू भएको छ ।
दौडिनेहरूका लाइन यस बखत मेरो देशमा क्याराभान जस्तै लाग्दछ । कमिलाका ताँतीजस्तै भएर दौडिनेहरू अहिले आ-आफ्ना दौडमा सामेल भएका छन् । कसैलाई दौडको कासन पु¥याउनु छ । कसैलाई दौडको मेसो मिलाउनु छ । लुट्नु छु । लिनु छ । छोप्नु छ । सोहोर्नु छ । जम्मा पार्नु छ । हाँप र झाँप गर्दै मेरोमेरो भन्नु छ । स्याँस्याँ र फ्याँफ्याँ गर्दै आफ्नो भनाउनु छ । आफ्नामा समाहित गर्नु छ । यो छ । त्यो छ । सबै छ । जसरी भए पनि आफ्ना कित्तामा ल्याउनु छ । अर्काको बिगार्नु छ । धेरैजसो यसैका खातिर दौडेका छन् । दौडेका छन् ।

विपक्षलाई लतार्नु छ । आफ्नो सपार्नु छ । आग्रह, विग्रह, पूर्वाग्रह र दूराग्रह गर्नु छ । वाद, विवाद, संवाद र परिसंवादको नाटकमा सूत्रधार बन्नु छ । बदल्नु छ । आफू सगरमाथा उक्लिनु छ । परायालाई केचनाकलन पु¥याउनु छ । आफू मञ्चासीन भएर झिल्के खादा र घाँटीसम्म मालामा बेरिएर मुसुस्क हाँस्दै आइफोनबाट सेल्फी खिची फेसबुके भित्तामा टाँस्नु छ । आफूलाई कथित ठूलो देखाएर अरूलाई सहभागी मात्र बनाई ठाँट्टिनु छ । रम्रिनु छ । पचास सय किलोका सयपत्री र गोदावरीका मालालाई क्षणपलका लागि भए पनि गला र शरीरमा देखाएर समाचारपत्रका हेडिङ्मा उदाउने रहर छ । भलै अस्तचाहिँ कुन्नि

कसरी हुने हो ? त्यो अहिले पत्तोफाँट छैन ।

सबैलाई हतारो छ । जतासुकै मान्छे कै घचारो छ ।

उही चटारो छ । ससाना नानीहरू घाँटीमा टाइ लगाएर स्कुल दौडेका छन् । कर्मचारीहरू ड्रेसमा दौडेका छन् । गृहिणीहरू झोला र खरिद सामग्रीका लिष्ट बोकेर दौडेका छन् । रोजगारहरू आफ्नै तालले र बेरोजगारहरू निर्उद्देश्य बेतालले दौडेका छन् । कसैको दौडको अन्त्य छैन । गन्तव्य देखिँदैन ।

पैतालाहरू दौडेका छन् । धेरैजसो फुटेका पैतालाहरूचाहिँ गाउँमा खाली खुट्टै दौडेका छन् ।

सबैभन्दा शोषित खाली खुट्टेहरू भएका छन् । जुत्ताले खुट्टालाई शोषण र हिँसा गरेको छ ।

पञ्चायतका खाली खुट्टे बहुदलमा सहर पसे । जुत्ता लगाउने भए । बहुदलको खाली खुट्टे गणतन्त्रमा विदेशी पाउपोस लगाउने भए । शासनमा गए । अहिले जुत्ताहरूको शासन छ । देशी जुत्ताहरूको शासनमा देशी सेन्ट कै हरक आएको छ । जुत्ताहरूले लोली, बोली र गोलीले खुट्टाहरूलाई शासन गरेका छन् । शासन के भनौं झुक्याउने खेल खेलेका छन् । आधुनिक युगको शासन त व्यवस्थापन हुनु पर्ने हो । विश्वभर जहीँतहीँ त्यही भैरहेछ । हामीकहाँ मात्र शासनका नाममा अनेक भारदारी खेल र जालझेल भैरहेछ । यही जालझेलमा शासन निरन्तर फेल भैरहेछ ।

खालि खुट्टेहरूलाई गाउँसहर दुवैतिर चरम शोषण गरिएको छ ।

सहरमा पैतालाहरू पेटीबाट दौडेका छन् । साइकलमा दौडेकाहरू महँगीको विरोध गर्दै दौडेका छन् । बाइकमा दौडेकाहरू जतासुकै लाइन बस्ने झन्झटीय कामलाई गाली गर्दै दौडेका छन् । मोटरमा दौडेकाहरू सडकमा भएको जामलाई सत्तोसराप गर्दै दौडेका छन् । सरकारी गाडीमा हुँइकिनेहरू विभाग, मन्त्रालय र सिँहदरबार छिर्न र आफ्ना लागि निर्णय गराउन दौडेका छन् । भत्ता र सुविधा बढाउन दौडेका छन् । अझ देशलाई अघि बढाउन दौडेको डिँङ हाँक्दै दौडेका छन् । नित्य अनित्य दौडेका छन् । सास रोकेर दौडेका छन् ।

नेता दौडेको छ । यो पटकको मन्त्री मण्डलमा मन्त्री हुन पाई हालिन्छ कि भन्ने आस छ –उसलाई । धेरैचोटी प्रयास ग¥यो तर सकेन । गुटमा नपर्नुको बेफाइदालाई गाली गर्दैछ –अझै । आफूभन्दा कनिष्ठले अघिल्लोपल्टै केबिनेट मन्त्री पड्काएर कुस्त कमाइसक्यो । स्वास्नी र छोराछोरीका लागि बेजो मिलाई सक्यो । गाडी, बङ्गला, फार्महाउस र सेयर किनिसक्यो । देखासिकीकै लागि भए पनि दौडिनु परेको छ । त्यसैले नेता दौडेको छ । ‘गन्तव्य’ कहाँ भनेर कसैले सोधेको छैन । सोध्यो भने के भन्ने त्यो पनि नेतालाई थाहा छैन । हाइ सन्चो । कस्तो सुविधा केही गन्तव्य नभइकन पनि दौडिन पाउने सुविधा सायद् संसारमा हाम्रो देशमा मात्र होला । धन्य देश ! स्याबास नेता ।

अघिल्लोको सिको गर्दै पछिल्लो दौडेको हो ।

दौडमा अनुकरण छ । मौलिकता देखिँदैन ।

नेताका सिको गर्दै कार्यकर्ता दौडेका छन् । पच्चीस सयको संख्यामा केन्द्रीय कमिटी हुँदा पनि परिएन भन्ने मनोसन्तापमा पिरोलिएरै पनि दौडेका छन् । कोही केन्द्रीय भेला गराउन दौडेका छन् । कोही केन्द्रीय भेला टार्न या पछि सार्न दौडेका छन् । चिप्लो घस्दै समर्थक दौडेका छन् । दन्तबझान गर्दै विरोधी पनि दौडेका छन् । आफ्नो घेरा, समूह, पार्टी र नेताभन्दा सन्सारमा अरू कोही पनि छैनन् भन्ने लाग्छ –भाट पिछलग्गुहरूलाई । ठूला र ठालुको प्रशस्तीमा झुल्के घामदेखि झमक्क ठूलो साँझसम्म ढाड दुख्ने गरी दौडनु यिनीहरूको नियत र नियति दुवै भएको छ । नेताले झार्लान् र खान पाऊँला भनेरै दौडेका छन् ।
कोही प्रतिपक्ष भएर राँक्किएर दौडेका छन् । दौडिँदै भन्दैछन् –‘दाहाल मात्र थिए । अब त ‘दलाल’ देखिए । ‘सत्र हजार’ मान्छे मार्नेले जाबो सत्र जनालाई देशमा रोजगारी दिन नयाँ केही सोच्न सकेनन् । नयाँ विचारको ‘खल्पी’ लाई विना सित्तीमै बयेल्याए । आफैँ मात्र किर्ना भए । जनतालाई उडुस बनाए । यिनीहरूका दौड आफ्ना जनताका लागि होइन रहेछ । परायाका लागि रहेछ ।’

कोही सत्तापक्ष भएरै झ्वाँक्किएर दौडेका छन् । तिनीहरू पनि भन्दैछन् –‘लाल छु भन्थ्यो । अब पाताल भयो । त्यसले सबै छोड्यो । जनवादी केन्द्रीयता छोड्यो । ‘जबज’ लाई पान बनाई थुक्यो । न दायाँ न बायाँको भयो । लिङ्ग छैन –त्यसको । उभयलिङ्गी । राजनीतिमा त विचारको पहिचान चाहिन्छ । पहिचानलाई नै ‘सिण्डीकेट’ मा लगेर बेच्यो । जनतालाई दुःख दिएर राष्ट्रियताको ‘नयाँ ज्याकेट’ लगायो । राजनीतिको बेपार र बेपारको राजनीतिले त्यो ढल्यो । फतक्क गल्यो । कुकरको सागझैँ ।’

जनता दौडेका छन् । भन्दैछन् –‘उत्तरतिर बाटो बनाउँदा पर्यावरण बिग्रन्छ भन्नेहरू नै आफ्नो स्वास्थ्य बनाउन अहिले ‘फास्ट ट्रयाक’ को वकालत गर्दैछन् ।’ ‘दहाल र लोकमान मिले’ भनी असन्तोष व्यक्त गर्दैछन् । जनता ‘आफ्ना सन्तानलाई समयसापेक्ष स्तरीय शिक्षा र निःशुल्क स्वास्थ्य सेवा चाहिएको छ’ –भन्दैछन् । अझ भन्दैछन् –‘सन्ततीलाई उनीहरूकै खुट्टामा उभ्याउने गतिलो पहिचान चाहिएको छ । नाम र दाम चाहिएको छ । स्वेदश र विदेश चाहिएको छ ।’ पछिल्ला पङ्तिमा रहेर दौडने जनताले दौडँदै नयाँ वर्ष, तिजपञ्चमी, दसैँतिहार, छठ, इद, क्रिसमस, इष्टर पर्व र उधौँलीउभौँली पनि मनाउनै पर्छ । दसतिरबाट घोक्रेठ्याक लगाइएर लाइनमा बस्नै पर्छ । किनकि लाइन भनेकै तिनीहरूका लागि ‘गणतन्त्र’ हो । लाइन नबसी संविधान कार्यान्वयन हुनै सक्दैन । संविधान कार्यान्वयन नभई तिनीहरूका गोरखधन्दा र चुल्हामा आगोसमेत बल्दैन । यसरी दौडनुको विकल्प मात्र दौडनु हो । त्यसैले जनताहरू दौडेका हुन् ।

घडी हेरेर दौडेकाहरू धपेडीमा देखिन्छन् । मोबाइल हेरेर दौडेकाहरू समेत टेन्सनमा भेटिन्छन् । पुराना पुस्ता स्वाँस्वाँ गर्दै दौडेका छन् । मझ्यौला पुस्ता पनि हस्याङ् र फस्याङ् गर्दै दौडेका छन् । नयाँ पुस्ता र सास न बास भएर इन्टरनेट र फेसबुकमा दौडेका छन् । कसैलाई लाइकको हतारो, कसैलाई कमेन्टको चटारो अनि कसैलाई सेयर गर्ने धूँवाधार हतारैहतारो ।
गन्तव्य आँकेर दौडेका छन् । टुङ्गो भाकेर पनि दौडेका छन् । स्कुल, क्याम्पस, अस्पताल, विश्व विद्यालय, फिटनेस सेन्टर, अदालत, पुलिस, सुपर मार्केट, सिनेमा हल, डेटिङ् स्पट, डान्स रेस्टुरेन्ट, रङ्गशाला र सेयर मार्केट जान दौडेका छन् । एक्लाएक्लै दौडेका छन् । समूहमा दौडेका छन् । समय लिएर दौडेका छन् । समय भड्काएरै दौडेका छन् । आफ्ना लागि दौडेका छन् । अरूका लागि दौडेका छन्, दौडेका छन् । कसका लागि हो थाहा छैन तर पनि दौडेका छन् ।

सबैसबै दौडेका छन् ।

लाग्छ –‘टे«डमिल’ मा दौडेका छन् । टे«ेड मिलमा दौडेर जतिसुकै दौडिए पनि आखिर शरीर मात्रै थाक्छ । गन्तव्य जहाँको त्यहीँ हुन्छ । देश सात, सत्र, छत्तीस, छयालीस, बासठ्ठी र बहत्तर सालमा पनि बेत्तोडले दौडियो । आखिर उही टे«डमिलमा दौडेको पो रहेछ । नेपाली र नेपालको सिष्टम । त्यसैले कहीँ पनि पुगेनन् । घुमी मात्र रह्यो । दौडी मात्र रह्यो । घुमीफिरी रुम्झाटारको नियति मेरो देशले भोग्यो । भोगी रह्यो । हाय ! दौड ।

राजावाद, माक्र्सवाद, लेनिनवाद, माओवाद, गान्धीवाद, बीपीवाद, मदनवाद तराईवाद, हुँदाहुँदा अब त लम्पसारवाद । गन्तव्य घुमीफिरी रुम्जाटार । हामी सम्वत् २००७ सालबाट २०७२ सालमा आइपुग्दा पनि फेरि उही २००७ साल मै पुगेका छौं । कठै ! हाम्रो नियति नै दौडिनुमा छ । लक्ष्य चुम्नुमा छैन । हाम्रा प्रक्रिया र कानुन बमोजिमका भाषा र पहेलीले हामीलाई गन्तव्य चुम्नै दिँदैनन् । मात्र दौडिनु भन्छन् । यतिखेर धर्मका सवालमा, संघीयताका नाममा, प्रदेश जोडने र टुक्रयाउने सवालमा फेरि दलहरू जनतालाई दौडाउनमा लागि परेका छन् ।

दौड भनेको त लक्ष्यसहित हुन्छ । लक्ष्यरहित दौड के दौड ? तेर्सौ दौडेका विश्वका कैँयौँ देशहरू धेरै अघि पुगे । हामी वृत्तमा दौडिँदा रहेछौं ।

आखिर के छ त यी तमाम नाबालक र साबालक मनुवाहरूको दौडको भित्री मनसुवा ? म भने किनारमा उभिएर जिज्ञासा गर्दै छक्क परेर सोचमग्न छु । ‘म दौडिऊँ कि नदौडिऊँ ? जीवन चलाउन त दौडिनै पर्छ । नदौडिए मेरो पनि मुखमा माड लाग्दैन ।’ यतिखेर पाठकहरूको उत्तरको चीर प्रतीक्षामा बसेको छु ।

तपाईको प्रतिक्रिया

Loading…