अब ‘घाँस राजनीति’

ghas-copy

प्रिय पाठकहरू ! कृपया माफ गर्नु होला । राजनीतिलाई क्रूर भएर ‘घाँस’ विशेषण दिएको छु । किन्तु यसै लेखका पछिल्ला केही अनुच्छेदले यसलाई सविनय सकारात्मक पुष्टि गर्ने जमर्को गरेका पनि छन् ।  संस्कृतमा ‘नेता’को शाब्दिक परिभाषामा ‘नयति इति नेता’ हुन्छ । ‘समाज र राष्ट्रलाई अघि बढाउने भनेकै नेताले हो । अझ राजनेताले हो ।’

अनुकूल र प्रतिकूल दुवै समयमा नेताको अभ्युदय भएको छ । विश्व राजनीतिले देखाएको छ । दुःखको कुरो नेपालको अवस्था ठिक उल्टो भयो । समयचक्रमा वर्तमान राजनीतिलाई हेर्दा कुनै पार्टीमा राजनेता देखिएनन् साथै नेता भन्नलायक एउटै मानिस भेटिएनन् । राजनीतिमा ‘क्यारिस्मेटिक पर्सनालिटी’ को नेपालमा अति खाँचो प¥यो । सो भएन ।

अहिले नेपालमा ‘नेता’ नभएर ‘व्यवस्थापक’को खाचो छ । समय फड्की सक्यो । बेला भड्की सक्यो । क्रान्तिकालीन समयमा ‘डिष्टिङ्सन’ अङ्क प्राप्त गर्ने एकादुई नेताहरू पनि व्यवस्थापनकालीन समयमा राजनीतिमा न्यूनतम् उत्तीर्णाङ्कसमेत नल्याएर जनताका मूल्याङ्कनमा ‘फेल’ भए । नेताले पुनः जनहृदय जित्ने प्रयत्न गरेनन् । अहिले दुःखको कुरो यही हो ।

1473134208aacharya peshal
पेशल आचार्य

५०को दसकमा नेपाली राजनीतिमा ‘सुनामी’ ल्याउने भाका र भावसाथ जङ्गल पसेको माओवादीले एक दसकमै शान्ति पक्रियामा फर्किनु पर्यो । विद्रोहको क्रान्तिशैलीमाझ विश्व र अझ खासगरी भारतीय दवावलाई उसले झेल्न सकेन । यद्यपि उसले ‘दीर्घकालीन जनयुद्ध’को नामकरण गरेको भए पनि दसकमै क्रान्ति मैजारो भएर संसदीय प्रपञ्चको यो वा त्यो भासमा जाकियो । अहिले मानिसहरू उसको यात्रा ओरालो लागेको ठान्छन् । हतियारका बलमा सत्र हज्जार मानिस मारेर शनैःशनैः चुनाव र सत्ताका धूरीमा जबजब पुग्यो अनि ऊ विचारको राजनीतिमा स्खलित भएर झरेको छ । आश्वासन, कार्यशैली र दर्शन सबैमा चुकेको देखियो तर जनताले एकताका ऊसँग धेरै भरोसा गरेका थिए ।

भनिन्छ –‘राजनीति नीतिहरूको राजा हो । ‘राजा’ भन्नाले मुख्य भन्ने लक्ष्यार्थमा सिमित राखिन्छ भने पनि जसले हृदयमा राज गर्छ त्यो ‘राजा’ हो ।’ ‘राज करोति इति राजन्’ भन्ने परिभाषा संस्कृत वाङ्मयले नै दिएको छ । प्रकारान्तरले व्यवहारमा त्यो देखिएन । अझ नेपालमा त गएको २६ वर्षमा समाजका सबै अवयवहरूमा अक्कासिँदो परिवर्तन भैसक्दा पनि राजनीतिमा भने हुनुपर्ने परिवर्तनहरू भएनन् । नेताहरूको कद र काँठी मात्र तेर्सो बढ्यो । शिर उँचो भएन ।

किन उँचो भएन ? प्रश्न यहीँनेर छ ।

यिनीहरूले आफू र आफ्ना मान्छे मात्र हेरे । देश र जनतालाई केन्द्रविन्दुमा राखेर राजनीति गरेनन । राष्ट्र र राष्ट्रियता भन्ने भावनात्मक कुरालाई तिनीहरूले ससाना स्कुले नानीहरूका ‘सोसियल सब्जेक्ट’का किताबमा कैद गरेर राखिदिए । राष्ट्रगानमा भनेझैँ ‘सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली’ भन्छौं तर मालाका केही थुँगाहरू ओइलाउने र झर्ने स्थितिसम्मै आइपुग्दा पनि नेताहरूका नियत फेरिएनन् । मिल्ने सिद्धान्तभित्र दल अदलबदल गर्नु त सामान्य हो तर यहाँ विचारै फेरेर पनि ‘एनि हाऊ सत्तामा जाऊ’ भन्ने ‘फाष्ट ट्रयाक’ रोजियो । जुन जनतालाई प्रीतिकर लागेन ।

देशीय सरहदभित्र गर्न सकिने र सम्भव हुने निर्णयहरू पनि हामीले कतिपय सवालमा मुद्दा बनाएर दिल्ली र बेइजिङ्मा लगेरै जाकटी राख्यौंं ।  पछिल्लो नेपालीपुस्ता जो २०४६ को जनान्दोलन वरपरको समयावधिमा जन्मिएथ्यो त्यो अहिले उमेरमा गदाहा पच्चीसी नाघिसकेको छ । त्यो यति काबिल पुस्ता छ कि हरेक क्षणमा अपडेट हुन्छ । ‘ह्वाई’ भनेर प्रश्न गर्छ । विश्व पढ्छ । अन्तरिक्ष खारेर आकाशगंगा बारे तर्क औ बहसको जेहादै छेड्छ ।

सबै नेपाली त नभनौं । केही युवा र जुझारू नेतालाई छाडेर धेरैजसो नेताका खराब बानी भनेकै तिनीहरू सामयिक विश्व र जनताका मानसिकता बुझ्दैनन् । संसारमा नाम कहलिएका र चर्चित किताबहरू पढ्दैनन् । पत्रिका पढेजस्तो गर्ने र कोही त पत्रिकाका मजबुन मात्रै सुन्ने खालका नेताले नेपालमा शासनमा खुट्टो घुमाइरहेका छन् ।

जसले विश्लेषण गरेर विश्व पढ्दैन । देश पढ्दैन । समाज पढ्दैन । स्वयम् आफूलाई पढ्दैन त्यो जतिसुकै लोकप्रिय नेता भए पनि जनजनका हृदयबाट कित्ताकाट हुँदै गैरहेको हुन्छ । नेपालको मिहीन समस्या यही हो । लोकतन्त्र भनेको ‘शासन कम र व्यवहार बढी हो । अझ सिष्टमको सन्धान हो ।’

अर्कोतर्फ सार्वजनिक जीवनमा रहेका सामान्य कर्मचारीदेखि लिएर मुख्य सचिवसम्मका जागिरेका अनौपचारिक या व्यक्तिगत जीवनका पाटालाई सूक्ष्म अध्ययन गर्ने हो भने प्रत्येक मानिस भन्छन् एकथोक, गर्छन अर्कोथोक । भनाइ र गराइ मै राजनैतिक कार्यकर्ता, अदालतका न्यायमूर्ति र आम सुरक्षाका मानिसहरूकै कुरा बाझिरहेको देखिन्छ । हाम्रै व्यवहार मिलेको छैन भने नेताका व्यवहारमा के समानता खोज्नु ? जतिजति राजनीतिक अस्थिरता बढ्छ नेताले उति खेल्ने अवसर पाउँछन् । यहाँ भएको छ त्यस्तै ।

‘घाँस राजनीति’ ले नेपालको सिष्टम ‘कोल्याप्स’ होलाजस्तो देखियो । नयाँ संविधानले स्वीकारेको संघीयता, बहुल संस्कृति, पुनर्संरचना र धर्मनिरपेक्षताका मुद्दालाई अहिले विवादको घेरामा हाम्रै नेताले ल्याएका हुन् त ?

‘घाँस राजनीति’ ले नेपालको सिष्टम ‘कोल्याप्स’ होलाजस्तो देखियो । नयाँ संविधानले स्वीकारेको संघीयता, बहुल संस्कृति, पुनर्संरचना र धर्मनिरपेक्षताका मुद्दालाई अहिले विवादको घेरामा हाम्रै नेताले ल्याएका हुन् त ? थोरै हिस्सामा होलान् । जुँगाको लडाइँ पनि भएको छ, नभएको होइन । तर यसमा अरूलाई दोष दिन मिल्दैन । हिन्दीमा भनाइ छ –‘सालो तक मै ऐना पुछता रहा । लेकिन मेरे चेहेरे पर दाग था ।’ हाम्रो बोली, व्यवहार र संस्कारमै यति धेरै मक्किसकेका जीर्ण चिन्तन हावी भएका छन् कि हामी त्यसलाई फेर्न चाहँदैनौं । सक्दैनौं । गफ र भाषणका संकथनहरू आफू फलाक्छौं तर सुधारका कुराहरू पहिले अरूले गरिदिऊन भन्छौं । हो, गल्ती यहीँनेर भएको छ । कालो हाम्रो अनुहारमा छ तर हामी निरन्तर ऐना पुच्छौं ।

‘व्यवहार परिवर्तन’लाई धेरै शिक्षाविद्ले ‘सिकाइ’ भनेका छन् ।

अहिलेका सत्तामा गएका एकादुई नेतालाई छाडेर प्रायः सबैजसो नेताहरू जेलनेल भोगेका छन् । प्रवास गएका छन् । जहानबच्चा लाऊँलाऊँ र खाऊँखाऊँका बैँस र उमेरमा छाडेर भूमिगत भएका छन् । हत्केलामा ज्यान राखेर राजनीति गरेका छन् । समता र समानता ल्याउँछौं भनेर जनतासँग वाचाकसम खाएका छन् तर जबजब सत्ताको सातु खान पदमा पुगे त्यहीँबाटै बाटो बिर्सेका हुन् । व्यक्तिगत सुखसुविधाका लागि चोरबाटो हिँड्न खोजे । अन्ततः दिशानिर्देश गर्ने नेताहरू नै ‘जो अगुवा उही बाटो हगुवा भए ।’

घाँस भनेको ‘ग्राउण्ड लेभल’ हो ।

जनताको बास्तविक चिनारी भुइँबाटै हुन्छ । जनतालाई चिन्नेले पनि घाँसकै समानान्तरमा गएर चिन्नु पर्छ । आजको नेपाली जनताले राज्यसँग रोगी नेता र कार्यकर्ताले झैँ धेरै मागेको छैन । मात्रै ‘सिष्टम अवलम्बन गरिदेऊ’ भनेको छ । सिष्टम बस्यो भने सबै कुरा आफैँ ठिक हुँदै जान्छ । सिष्टम भएन भने सबै स्वतन्त्रता वयेलिन्छन् । नेपालमा खराब भएको यही हो ।

युरोप र अमेरिकी समाज हाम्रोभन्दा एकदुई शताब्दी नै अगाडि छन् । ती देशका इतिहास पढेमा हामी थाहा पाउँछौं ती देशमा पनि रक्तक्रान्तिका ज्वालामुखीहरू फुटे । लाखौं र करौडौं मानिसहरू मारिए । असंख्य बेघरबार भए छन् तर तिनीहरूले आफ्नो विगत्को इतिहासबाट भलिभाँती सिके । इतिहासको गल्ती फेरि दोहो¥याएनन् । जो सिक्छ ऊ इतिहाससँग कतज्ञ हुँदै अघि बढ्छ तर जो सिक्दैन ऊ इतिहाससँगै कृतघ्न हुन्छ । मरिगए सिक्दैन । भनिन्छ –‘विगत् आगतको बाउ अनि आगत विगतको सन्तान हो ।’ इतिहासले वर्तमानलाई संस्कार सिकाउँछ । भोगाइ सेयरिङ् गर्छ । बूढो र युवामा फरक भएझैँ हुन्छ –इतिहास र वर्तमानमा ।

भनिएको छ –‘वृद्धसँग अनुभव हुन्छ ऊर्जा हुँदैन, युवासँग ऊर्जा हुन्छ तर अनुभव हुँदैन ।’ यही कुरालाई हदयङ्गम गरी विश्व राजनेता नेल्सन मण्डेलाले भने –‘युवालाई काम र बूढालाई आराम ।’ तर नेपालमा ठिक उल्टो भएको छ –‘बूढालाई काम युवालाई आराम ।’

‘खालि दिमाग सैतानका घर’ अनि युवा घरदेशमा काम र माम नपाएपछि फ्रस्टेड हुँदै परदेश लाग्छन् । युवाका लागि परदेश सोचेजस्तो छैन । भोगेजस्तो छ । नेपाली युवाको ऊर्जा पलायन र प्रतिभा विदेशिएको हेर्दा यो देश अब केही दसकमै युवाविहीन नहोला भन्न सकिन्नँ ।

‘खालि दिमाग सैतानका घर’ अनि युवा घरदेशमा काम र माम नपाएपछि फ्रस्टेड हुँदै परदेश लाग्छन् । युवाका लागि परदेश सोचेजस्तो छैन । भोगेजस्तो छ । नेपाली युवाको ऊर्जा पलायन र प्रतिभा विदेशिएको हेर्दा यो देश अब केही दसकमै युवाविहीन नहोला भन्न सकिन्नँ ।

रूख अग्लो हुन्छ तर त्यो झुक्छ । घाँस जमिनमा समानान्तर हुनाले त्यसले झुक्नु पर्दैन । घाँसलाई फैलन पाउने सुविधा हुन्छ । रूख जतिजति अग्लो र मोटो हुँदै जान्छ उतिउति उसलाई जमिनमै लड्ने डर हुन्छ । कालान्तरमा रूख जमिनमा पसारिँदा पनि घाँसलाई पिडा । रूख अग्लो र मोटो हुँदा पनि घाँसमाथि नै तप्क्यान । विडम्बना ! जनता सँधै घाँस नियतिमा बाँच्नु पर्ने ? नेता र निर्णयकर्ता सँधै रूख हुनु पर्ने ? यो गणतन्त्रको ऐँजेरू प्रकारान्तरले नछिमली हुँदैन ।

घाँस भनेका प्रतीकात्मक भाषामा जनता हुन् । रूख भनेका नेता । यसर्थमा जनताका हितमा गरिने राजनीति नेताले गर्न छोड्नु भनेको घाँस राजनीतिलाई बिर्सनु हो । ग्राउण्डमा नआउनु हो । सतहमा रहेका र पुछारमा बसेकालाई माया गर्ने नेताको नेपालमा धेरै खाँचो छ । अझ ‘घाँसे राजनेता’ मुलकले आधा शताब्दीदेखि धुइँपत्ताल गरेर खोेजेको छ । पाएको छैन ।

सिङ्गापुरका लि क्विन, मलेसियाका महाथिर महमद्, चीनका देङ सियाओ पिङ् र दक्षिण अफ्रिकाका मण्डेलाजस्ता नेता नेपालले कहिले पाउने हो ? त्यो थाहा छैन । वर्तमानमा नभएका ‘घाँसे नेताहरू’ हामीले आयात गर्न पनि नमिल्ने रैछ टेण्डर हाल्न पनि नहुने रैछ । देश ११० को स्पिडमा ओरालोमा ब्रेक फेल भएको भेइकल भएको छ । अब यसलाई संशोधनका खोलले होइन चुनावका चरूले मात्र थेग्न सक्छ । सबै पार्टीहरू जनताका बीचमा जान डराएका छन् ।

नागरिक समाज लुलो भएको छ । माफियागिरी गर्नेहरू र भ्रष्टाचारीहरू जताततै अपसकुन भाले बनेर बास्दैछन् । तिनीहरूको डाँकबाट डाकिएको देशमा झुल्किने मिर्मिरे भविष्यमा सोच्दा पनि कहाली लागेर आउँछ ।
काबिल र चुस्त युवामा चेतना भया ।
।।समाप्त।।

तपाईको प्रतिक्रिया

Loading…