‘मदारी’ सिनेमा र नेपालको राजनीति

पेशल आचार्य
पेशल आचार्य

‘सरकार भ्रष्ट छ, यो साँचो होइन । भ्रष्टाचार कै लागि सरकार छ, योचाहिँ साँचो हो ।’ बलिउडका प्रसिद्ध कलाकार इरफान खान अभिनित हिन्दी फिल्म ‘मदारी’ को क्लाइमेक्समा गृहमन्त्रीको भूमिकामा अभिनय गर्ने एक कलाकारले आफ्नो छोरो बचाउन लाइभ टेलिभिजन वार्तामा भनेझैँ हाम्रो देशमा पनि भ्रष्टाचारकै लागि सरकार भएको बुझियो, देखियो र भोगियो ।  सो चलचित्रमा सामान्य झैँ लाग्ने कतिपय तार्किक, द्विअर्थी र गहिरा श्यामव्यङ्ग्य मिश्रित संवादले गरिब देशको शासनको सिस्टम, स्वचालित भ्रष्ट नेता र तिनीहरूको नकाब सजिलै खोल्न ‘मदारी’ फिल्म धेरै शक्तिशाली छ । कथावस्तु, दृश्य प्रस्तुति र पात्रीय अभिनयमा फिल्म बेजोड लाग्छ ।

भारतीय मेट्रोपोलिटन सहरमा दुर्घटित आकासे पुलको निर्माणमा भएको घोटाला र तलदेखि माथिसम्म हुने मिलीभगतबाट भएका भ्रष्ट र कमसल निर्माण शैलीको प्रयोग गर्दै विकासे काम गरिने कथ्यको प्रमुख कथा बनाई अघि बढेको फिल्म अन्त्यमा गम्भीर सन्देश दिँदै सकिन्छ । जहाँ ‘सरकार’लाई ‘कन्ट्रयाक्टर’ र ‘अपोजिसन’ लाई ‘ठेकेदार’ चित्रण गरिएको छ । फिल्मले साक्षर, निरक्षर, शिक्षित र अशिक्षित सबै तप्काका दर्शकलाई गहिरो गरी छुन्छ, हुँडल्छ र चिथोर्छ । नेताहरूले घोक्रो फुटुन्जेल कराउँदै गरेका भाषणभन्दा फिल्मका शान्त र सरल संवादमा बुलन्द आवाज भेटिन्छ । त्यसैले दर्शक दुईघन्टा हलमा जान्छ या यु ट्यूबमा सिनेमा हेर्न बस्छ । अहिलेका केही सार्थक नेपाली उम्दा सिनेमाहरूले पनि हाम्रो ठेकेदारीमय क्रूर राजनीतिक दिशाहीनता, फोस्रा र अलिना विकासे सपना तथा सामाजिक अव्यवस्थाका बहुरङ्गी चित्रण गरेका छन् । जुन सामयिक लाग्छन् ।

‘मदारी’ सिनेमाले भनेझैैँ ‘सरकार र प्रतिपक्षमा रहेका दुईचार असल, जुझारू र युवानेता त राजनीतिक शोभाका लागि राखिएका गुलदस्ता मात्रै हुन् । जसका सुवाषीय आडमा कुख्यात काम गर्न लिडरलाई सजिलो हुने गर्छ ।’ लिडर बास्तवमा लिडर कम र ‘डिलर’ ज्यादा भएका छन् । सन्दर्भ मिलेकाले यहाँ ‘मदारी’ फिल्मको कोट गरिए पनि नेपाल यतिखेर इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ भन्न अब कुनै आइतबार कुरी रहनु पर्दैन ।

भर्खरै वर्षगाँठ मनाएको र नब्बे प्रतिशतभन्दा बढी नेपाली जनताको समर्थन प्राप्त भएको भनिएको नयाँ संविधान संशोधनका लागि भैरहेको तिकडम्वाजी स्वार्थी राजनीतिक हर्कतहरू, सरकार भित्र र बाहिरका रस्साकस्सी, तीन दलका टाउके नेताका विभिन्न तर्क, कुतर्क र आयामहरू, अङ्गीकृत नागरिकताको बेमौसमी मुद्दा, हिन्दी भाषाको ‘सकुनी’ कचिङ्गल, देशैभरिका ठूला विकास निर्माण कार्यमा आएको सुस्तता, पावरवाला र वहालवाला रोगी नेताहरूलाई राज्यले दिएको उपचार रकम, ‘हरर’ कथाझैँ नटुङ्गिने ‘फास्ट ट्रयाक’को धमाकेदार टेली सिरियल, प्रधानमन्त्री प्रचण्डको निर्देशनसमेत मन्त्री र सचिवले बेवास्ता गरिएका खबर, अँध्यारो बेचेर कमाइ खान पल्केका बिजुली हाकिमहरूका काला कर्तुतहरू र लोकमानमाथि लगाइएको महाभियोगप्रति ठूला र मसिहा भनिने दलहरूको सुस्त काम, विचार र बेबहारहरू हेर्दा जो कोही नेपालीको मन एकफेर कटक्क काटिन्छ । नेपालको महाभारतमा यस्तै दृश्यहरू देदिप्यमान ढङ्गमा चलायमान भएको देखेर दैनिक हजार पन्ध्रसय युवाहरू विदेशी भूमिमा रगत पसिना चुहाउन जान बाध्य भैरहेका छन् । तिनीहरूलाई कसैले रोक्न सक्ने अवस्था विद्यमान् छैन । कारण सपाट छ –‘देशमा युवाको भविष्य र भाग्य बनाउने कुनै तिरोहित योजना नै छैनन् ।’

डा.गोविन्द केसी मेडिकल माफियाका समग्र कर्तुतलाई छिमल्न र नास्न दसौंपटकको अनसनमा छन् । सातौं र आठौंपटकका सत्याग्रहलाई साथ दिने युवाहरू उनको यो आन्दोलनलाई उत्कर्षमा पु¥याउन जोडबलले लागिरहेकै छन् । हिजो साथ दिने युवामध्ये कै होनहार युवा गगन थापा यतिखेर मुलुकको स्वास्थ्य मन्त्रीको कुर्सीमा विराजमान छन् । केही समयअघि उनको अनुपस्थितिमा भएको क्याबिनेटको बैठकले नियमलाई मिचेर सरकारले काँग्रेस नेतृ तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालालाई चोरबाटो अपनाएर पचास लाख दियो । जसको धेरैतिरबाट आलोचना भयो । अहिले पनि सो मत्थर भएको छैन । यद्यपि गगनले देशैभरिका स्वास्थ्य केन्द्रबाट मृगौला रोगमा गरिने डायलासिसलाई निःशुल्क बनाउने र दुसाध्य पाँच प्रकारका रोगहरूलाई सरकारी तबरबाट सहयोग दिने खालको कार्यविधि बनाई सरकारलाई बुझाउँदैछन् भन्ने खबर समेत आएको छ । मौन संस्कृति हो या मिलीभगत सुजाताको क्यान्सर रोग प्रकरणमा स्वास्थ्य मन्त्रीलाई बाइपास गरेर गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रीपरिषद्बाट सोझै निर्णय गराई दिएको भनिएको सहयोगले राम्रो र सुगन्धसहितको सन्देश जनतामा प्रवाह गरेको पक्कै छैन ।

राजधानी काठमाडौँको धूलो, धूँवा, ट्राफिक जाम, चौडिल्ला बनाउने नाममा सडक निर्माणका फोहोरी देउसीजस्ता चालढाल, खानेपानीको अन्तहीन समस्या, बिजुलीको कृत्रिम हाहाकार साथै इन्भर्टर र डिजेलको चिल्लो कमिसनमय बेपार अनि समग्र बेथिति हेर्दा लाग्छ नेताहरूमा एकरत्ती पनि भिजन र मिसन छैन । लाग्छ उनीहरू देश र जनतासँग दिल्लगी गर्दैछन् । शासनको सातु बाँड्दै छन् । चुनावसँग डराउँदैछन् । परपर धकेल्दैछन् । विदेशीका इसारामा लम्पसार भएर आफ्नो देशको नक्सालाई नामेट गर्न खोज्दैछन् । समय क्रमशः हाम्रा नेताहरूका काबुबाट बाहिर जाँदैछ । जनतामा घोर निराशा छाएको छ ।

धर्मका नाममा कुठाउँमा अर्घ दिँदै, आत्मरतिको स्वास फेरेर अनि बहु जातीयताको स्वच्छ, निर्मल र स्निग्ध एकताको पानी धमिल्याएर माछा मार्ने चालमा देशी विदेशी सबै तत्वहरू न्वारानदेखिको बल लगाएर लागेका छन् । देशका सबै ऐनकानुन र नियमहरू मानेर शान्ति र अमनचैनपूर्वक सामान्य जीवन बिताउँछु भन्ने निरिह, सीमान्तकृत र पुछारका कित्तामा बसेका तमाम, मेहनतकश र दूरदराजका आवाजहीन जनतालाई अव्यवस्था, महँगी, बन्द, हडताल, सिण्डीकेट र कार्टेलिङ्ले नराम्ररी मेरुदण्डै भाँचिदिएको अवस्था छ । पत्रकारहरू अनुसन्धान भन्दा पनि ‘धन्दा’मा लागेका देखिए । जसबाट धन्दा पत्रकारिताको आरम्भ गरेको देखियो । चर्चा र प्रशस्तीका पछि दौडेर विदेशी डलर झार्ने व्यक्ति र प्रवृत्तिका वरिपरि गणेश शैलीमा घुमेका पाइए । केही दिनअघि टेलिभिजनमा आएकी कञ्चन रेग्मी र मोहन रेग्मीका पारिवारिक मामलामा जे आउनु पर्नेथ्यो सो नआएर नआउनु पर्ने तथ्य बाहिर आयो भन्ने खालका समाचार र विचारहरूले यतिखेर पत्रपत्रिका र अनलाइनहरू छपक्कै ढाकिँदा छन् । सही सूचनाको प्रवाह गर्ने जिम्मेवारीबाट ‘ट्रेड मार्क’ झैँ भैसकेका पत्रकार र सञ्चार माध्यमहरू पनि चुके । संक्रमणका असरहरू समाजका विभिन्न अवयवहरू भित्रै छिरेर क्यान्सर भैसकेका त छैनन् भन्ने प्रश्नहरू नेपाली समाजभित्रै यतिखेर उठाइन थालेका छन् ।

राजनीतिमा अन्तरपार्टी विचार त बाझ्ने नै भए । एउटै पार्टीका नेताहरूका विचारहरू पनि मौसमी लाग्दैछन् । प्रमुख दलका नेताहरू सबैसबै ‘ट्रेडमिल’मा दौडेका अभिनयमा व्यस्त देखिन्छन् । पाँच सय र हजारका भारू नोटका सवालमा राज्य समेत चुकेको देखियो । नेपाल भित्र हुने बेपार, पर्यटन र नेपालीहरूले भारतमा गर्ने स्वास्थ्योपचारमा भारू नोटका कारणले समस्या देखिइसक्यो । सांसदहरूले आफ्ना लागि बढाएका भत्तासुविधा र भूकम्प पीडितहरूप्रति राज्यले गरेको चरम ढिलासुस्ती अनि प्रक्रियागत बेइमानीलाई सूक्ष्म रूपले हेर्दा लाग्न थाल्यो यस्तैयस्तै ‘राजनीतिक भैलो’ गाउँदै र समयलाई क्रमशः टार्दै २०७४ माघ ७ कटाउने चालले देशै भड्खालामा नजाकिएला भन्न सकिन्नँ । पुनर्संरचनामा देखिएका ‘भाँजा र तगारा’ ले निनान्सेकमा राज्य पुरानै संरचनामा फर्कियो भने उदेक नमान्दा हुन्छ । नेपालजस्ता बेथितिमा भासिएका देशहरू विश्वमा शनैःशनैः असफल भएका उदाहरणहरू धेरै छन् । आन्तरिक कलह नै देशका विविध पक्षमा सलहझैँ पसेर स्थापित मूल्य र मान्यता सखाप पार्दै जाँदो छ । यसमा कुनै नेता र पार्टीहरू समूलरूपमा चिन्तित भएका देखिएनन् । बेथिति निम्त्याउने सबैमा चेतना भया ।

तपाईको प्रतिक्रिया

Loading…