बाढीका कारण अफगानिस्तानमा सोह्रको मृत्यु

जलालाबाद / अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको तिब्र गतिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । शुक्रबार अबेर राती आएको बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् ।

बाढीले अरु सयौँ घर तथा भौतिक संरचनाहरुमा समेत क्षति पु¥याएको अधिकारीहरुको भनाइ छ । देशको नान्गाहार प्रान्तमा पर्ने कोज्कुनार जिल्लामा घटना भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगिएनीले शनिबार जानकारी दिनुभयो ।

“अत्यधिक वर्षापछि आएको बाढीका कारण मृत्यु भएका १६ जना मध्ये १२ जना त बालबालिका मात्रै रहेका छन्,” उहाँले भन्नुभयो । बाढीमा परेर अरु चार जना बालबालिका अझै पनि बेपत्ता अवस्थामै रहेको प्रवक्ता खोगिएनीले बताउनुभयो ।

बाढीमा परेकाहरुलाई उद्धार गर्ने, घाइतेहरुलाई उपचार गर्ने र बेपत्ता भएकाहरुको खोजी गर्ने कार्य भने जारी रहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

Loading…