‘लकडाउन’ गरिएको विराटनगरमा बिहानैदेखि कडाई

विराटनगर / विराटनगर महानगरपालिका क्षेत्रभित्र पुनः गरिएको ‘लकडाउन’ पालना र कार्यान्वयनका लागि शनिबार बिहानैबाट कडाई गर्ने काम भइरहेको छ । तीव्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको ‘लकडाउन’ कार्यान्वयन र पालना गराउने सवालमा निक्कै कठोर कदम चालिने भएको छ । दुई साताका लागि गरिएको ‘लकडाउन’का अवधिमा घरबाट बाहिर निस्किएर हिँडडुल गर्न, बजार पसल खुुल्ला राख्न, सवारी साधन सञ्चालन गर्न, एकअर्कामा सामूहिक रुपमा भेटघाट गर्न र मास्क नलगाइकन हिँड्न पूर्ण रुपमा रोक लगाइएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर र विराटनगर महानगरपालिकाको समन्वयमा ‘लकडाउन’ गरिएको मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेसँगै ‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा कोरोना देखिन थालेको र ‘कन्ट्रयाक ट्रेसिङ’ गर्दा पनि केही पत्ता नलाग्ने अवस्था बनेपछि नियन्त्रणका लागि ‘लकडाउन’ गर्नै पर्ने अवस्था आएको उनको भनाइ छ ।

‘कोरोना एकबाट अर्कोमा एकदमै चाँडो सर्ने भएकाले मानिसबीचको भेटघाट रोकेर दूरी कायय गर्दा मात्रै विश्वमा महामारीकै रुपमा फैलिएको संक्रमण नियन्त्रण हुने देखियो, उनले भने, ‘त्यसको एउटा मात्रै उपाय एवं औषधि ‘लकडाउन’ र त्यसको पालना नै हो ।’ सहायक प्रमुख जिल्ला अधिकारी खड्काले संक्रमण फैलावटको ‘सर्कल ब्रेक’ गर्नका लागि विकल्प नभएकाले ‘लकडाउन’ गरेर पूर्ण रुपमा कार्यान्वयन गराउनै पर्ने बाध्यात्मक अवस्था आएको उल्लेख गरे । भुसको आगो सरह कोरोना फैलिएर सबैतिर भय र त्रास छाएपछि ‘लकडाउन’ गर्नै पर्ने माग र दबाब सर्वसाधारणबाट अत्याधिक आएको उनको भनाइ छ । यसको पालनाका लागि सबैतिर उचित सुरक्षा सावधानी अपनाएर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको खड्काको भनाइ छ । ‘लकडाउन’को पालना गराउन सुरक्षित हिसाबले ठूलो संख्यामा प्रहरी परिचालन गर्दै त्यसको अनुगमनमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का आफै निस्किएका छन् ।

एक जिल्लाबाट अर्को जिल्लाको आवतजावत र सवारी आवागमनको पासको सवालमा पनि कडाई गरिएको निमित्त प्रजिअ खड्काको भनाइ छ । जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले मास्क नलगाइकन हिँड्ने र सेनीटाइजरको प्रयोग नगर्नेलाई मोरङमा एक महिनासम्म कैद सजाय गर्ने निर्णय यस अघि नै गरिसकेको छ । संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य, सुरक्षा र यातायातसँग सम्बन्धित मापदण्ड सबैले पालना गर्नु पर्ने भएकाले यसलाई उल्लंघन गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना गरिने निर्णय कोभिड–१९ उच्चस्तरीय समितिको बैठकबाट भएको प्रजिअ खड्काको भनाइ छ । यस्ता कामलाई बाधा गर्नेलाई छ महिनासम्म कैद वा छ सय रुपैयाँसम्म जरिवाना गरिने जानकारी उनले दिए ।

नियम उल्लंघन एवं ‘लकडाउन’को अवज्ञा गर्नेलाई कानुनअनुसार कारबाही अघि बढाउँदै दण्ड र जरिवाना गरिने उनले उल्लेख गरे । विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले संक्रमण नियन्त्रण गर्न मानिसको भिडभाड, भेटघाट र जमघट हुन नदिन ‘लकडाउन’ को विकल्प नभएको बताए । २०७६ चैत ११ देखि यही साउन ७ गतेसम्म संघीय सरकारले आह्वान गरेको लकडाउन भन्दा यो पटक आह्वान गरिएको लकडाउन कडा हुने उनको भनाइ छ । ‘संक्रमण समुदायस्तरमा संक्रमण फैलिएको छ,’ कार्कीले भने, ‘महानगरवासीको माग अनुसार गरिएको ‘लकडाउन’ पालना गरेमा मात्रै सबै सुरक्षित होइन्छ ।’ उनले ‘लकडाउन’ साउन ३० गतेसम्म रहने बताए । समुदायस्तरमा संक्रमण फैलिएकाले परीक्षणको दायरा बढाउने तयारी गरिएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ । महानगरपालिकामा हालसम्म एक सय सात जनामा कोरोना संक्रमण देखिइसकेको छ । पछिल्लो एक साताको अवधिमा संक्रमित संख्या ह्वात्तै बढेको हो ।

तपाईको प्रतिक्रिया

Loading…