धरान र इटहरी उपमहानगरको फोहोर : नागरिकलाई रोग, पर्यावरण चौपट

धरान / धरान र इटहरी उपमहानगरपालिकाले जथाभावी फोहोर फालेर नागरिकलाई रोगी बनाएका छन् भने वातावरण प्रदूषित भएको छ । इटहरी उपमहानगरपालिका–१९ को भवानीपुरमा २०७६ माघ पहिलो साता स्थानीय मच्छिन्द्र वन, बद्री वन, हब्बु विश्वकर्मा र नरमाया पुरीको मृत्यु भयो । ५० वर्ष नाघेका सबैमा श्वास–प्रश्वासको समस्या थियो ।

वडा नम्बर १९ का वडाध्यक्ष श्रीनारायण चौधरी भन्छन्, “उनीहरू सबै दम र श्वास–प्रश्वासका रोगी थिए । त्यसबेला गाउँमा फैलिएको धुवाँले सद्दे मान्छेलाई बाँच्न गाह्रो थियो ।” उनका भनाइमा इटहरी उपमहानगरले भवानीपुर वरपर फालेको फोहोरले नागरिकको स्वास्थ्य र वातावरणमा गम्भीर संकट निम्त्याएको छ । हुन पनि भवानीपुरका घरघरमै श्वास–प्रश्वास र दमका रोगी छन् । फोहोरबाट निस्किएको विषाक्त धुवाँले ५० वर्ष कटेका अधिकांश नागरिकलाई बाँच्न मुश्किल बनाएको छ । भवानीपुरका ६५ वर्षीया लीला गिरी र उनका पति ७१ वर्षीय नरबहादुर गिरी प्रदूषण पीडित हुन् ।

धुवाँबाट पीडित बालक सन्देश पौडेल र लीला गिरी

गाउँभरि फैलने धुवाँको मुस्लोले घाँटी खस्खसाउने, सास थुनिए जस्तो हुने गरेपछि ६ पटक अस्पताल धाइसकेकी लीला भन्छिन्, “पहिला यस्तो समस्या थिएन, धुवाँले म पनि रोगी भएँ, बूढालाई पनि दम छ, औषधिको सहारामा बाँचेका छौं ।”

भवानीपुरकै ५५ वर्षीया लक्ष्मी चौलागाईंलाई पनि दम र श्वास–प्रश्वासको समस्या छ । २०७६ माघमा गाउँभर फैलिएको धुवाँले गम्भीर बिरामी परेपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक हप्ता उपचार गरिएको थियो । त्यतिबेला उनको करीब रु.५० हजार सकियो । चौलागाई भन्छिन्, “रबर, प्लाष्टिक डढाएपछि आँखै पोल्ने धुवाँ आउँछ अनि उकुसमुकुस भएर सासै जाला जस्तो हुन्छ ।”

पीडितहरू क्रमस जुनकेशरी देवान, धनमाया गिरी, सत्य गिरी, लक्ष्मी चौलागाई, धनबहादुर सार्की तथा सुरेश गिरी

भवानीपुरमा फोहोरको धुवाँ फैलिन थालेपछि कतिपय मानिस राति सुत्न नसकेर अर्को गाउँतिर लाग्छन् । गाउँमै बस्नेहरूलाई रातारात अस्पताल पु¥याउनुपर्छ । ५६ वर्षीय सुरेश गिरी भन्छन्, “सासै रोकिएर बोल्नै नसक्ने, हिंड्नै नसक्ने भएँ । राति नै टेम्पो बोलाएर अस्पताल लगे । गाउँ कटेपछि मात्र सास फेर्न अलि सजिलो भयो ।”

स्थानीय ईश्वर पौडेलको परिवार २० वर्षदेखि धरान उपमहानगरपालिकाले फोहोर फाल्ने ठाउँ नजिकै बस्दै आएको छ । ९ वर्षअघि ईश्वर र उनकी श्रीमती कमलाले सानो हैरानी खेप्नु परेन । भर्खरै जन्मिएको छोरालाई निमोनिया, टन्सिल भयो । लामो समय उपचार गर्दा उनीहरूको करीब रु.७ लाख सकिएको कमला बताउँछिन् । अहिले दमको रोगी भएको छोराका लागि महीनामा रु.२ हजारको औषधि चाहिन्छ भने दुई–दुई महीनामा अस्पताल धाइरहनुपर्छ । कमला भन्छिन्, “बेला–बेला घाँटी पोल्यो भन्छ, कतिखेर के हुन्छ भनेर जहिल्यै टेन्सन हुन्छ ।”

यी दृष्टान्तले धरान र इटहरी उपमहानगरपालिकाहरूले फालेको फोहोरले कसरी मानव वस्ती र पर्यावरणलाई असर गरेको छ भन्ने देखाउँछ । गाउँ नै ढाक्ने गरी धुवाँ फैलिएर स्थानीय भकाभक बिरामी पर्न थालेपछि भवानीपुरका युवाहरूले २०७६ माघमा फोहोर ल्याउने गाडी नै रोकेर आन्दोलन गरे । प्रदूषण रोक्न इटहरी उपमहानगरपालिका, स्थानीय र फोहोर फाल्ने ठेक्का लिएको ‘वेष्ट एण्ड इन्भाएरोमेन्ट म्यानेजमेन्ट प्रालि’ बीच १९ माघ २०७६ मा फोहोर नजलाउने र व्यवस्थापन गर्ने सहमति भयो ।

राजमार्ग छेउमै फोहोर जलाउँदै धरान उपमहानरपालिकाका कर्मचारी प्रभु मरिक ।

त्यो सहमति कागजमै सीमित भयो । अहिले पनि इटहरी उपमहानगरको फोहोर वनमै फालिन्छ । वेष्ट एण्ड इन्भाएरोमेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष मानध्वज मोक्तान भने उपमहानगरपालिकाले सम्झौता अनुसार उपलब्ध गराएको ठाउँमा आफूले फोहोर फाल्ने गरेको बताउँछन् । मोक्तान भन्छन्, “पहिला अर्को कम्पनीले फाल्थ्यो । हामीले २०७५ देखि उपमहानगरपालिकाले तोकेको स्थानमा फाल्ने गरेका छौं । तर, स्थानीयले विरोध गरेपछि अहिले फोहोरमा आगो लगाउन नदिन हेरालु राखिएको छ ।”

नगरको फोहोरमा खानेकुरा, प्लाष्टिक, सिसा, तार, कागज, कपडा सबै एकै ठाउँमा मिसाइएको हुन्छ । त्यसरी थुप्रिएको फोहोरमा आगो लगाउँदा वस्ती र जंगलमा धुवाँ फैलिन्छ । विश्व स्वास्थ्य संगठनले महत्वपूर्ण तथ्य भनेर प्रकाशित गरे अनुसार, ‘खुला रूपमा जलेका प्लाष्टिकको धुवाँबाट डायोक्जिन, फ्युरेन्स, पार्टिकुलेट म्याटर (पीएम २.५, पीएम १० माइक्रोन) जस्ता हानिकारक तत्व बनेर वायु प्रदूषित बनाउँछ ।’

धरान उपमहानगरले वन र खोलाको किनारमा थुपारेको फोहोर

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको फिजियोलोजी विभागकी एडिसनल प्रोफेसर डा. रीता खड्काका अनुसार फोहोरको धुवाँबाट निस्किएका केमिकलहरूले दम, क्यान्सर, हार्टअट्याक, डाईवेटिज, हाडजोर्नी दुख्ने लगायतका समस्या निम्त्याउँछ ।

उनी भन्छिन्, “प्लाष्टिकको धुवाँले शरीरका जुनसुकै अंगमा क्यान्सर हुनसक्छ । यो प्रदूषणबाट बच्चा, सुत्केरी, गर्भवती र वृद्धवृद्धालाई बढी खतरा हुन्छ ।” इटहरी–१९ को भवानीपुर, ब्रह्मपुर, तामाङ टोल लगायत क्षेत्रका ८ हजार ९०० जनसंख्या धरान–इटहरीको फोहोरबाट प्रभावित छन् । तर, इटहरी र धरान उपमहानगरपालिकाले भने यो समस्यालाई अहिलेसम्म गम्भीर रूपमा लिएका छैनन् ।

धरानको फोहोरमा गाईवस्तु

जनावर मासिए, रूख सुके

धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार धरानबाट दैनिक उत्पादन हुने ४७ टन फोहोरमध्ये करीब ३५ टन बाँझोगरा सामुदायिक वनको क्षेत्रमा फालिन्छ । इटहरीबाट दैनिक उत्पादन हुने ३७ टनमध्ये करीब २३ टन हाँसपोसा सामुदायिक वन क्षेत्रमा फालिन्छ । धरानले २०४३ सालदेखि र इटहरीले पाँच वर्ष अघिदेखि यी ठाउँमा फोहोर फालिरहेका छन् ।

बाँझोगरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजन मोक्तान फोहोर फालिएको ठाउँमा ३०० भन्दा बढी बिरुवा र धेरै ठूला रूख पनि मरेको बताउँछन् । “पहिला वनभरि मौरी हुन्थे । धुवाँले यो वनका मौरीहरू मासिए, धेरै चरा र पुतली हराए” अध्यक्ष मोक्तान भन्छन्, “पहिला नगरपालिकाले विष खुवाएर मारेका कुकुर नगरको फोहोरसँगै मिसाएर जंगलमा फाल्ने गरिएको थियो । मरेका कुकुरको मासु खाएर यो जंगलका बँदेल र स्याल समेत सखाप भए । फोहोरमा लागेको आगो वनमा फैलिएपछि मृग पनि मरे ।”

फोहोरका कारण सुकेका बोटविरुवा

वनमा फोहोर नफाल्न धेरै पटक आग्रह गर्दा र वनभित्र छिर्ने बाटोमा गेट लगाएर बन्द गर्दा पनि फोहोर फाल्न रोकिएको छैन । इलाका वन कार्यालय धरानका रेञ्जर ईश्वरी बास्तोला फोहोरले अहिले पनि बोटबिरुवा मरिरहेको, चराचुरुङ्गी र जनावर विस्थापित भएको बताउँछन् । बास्तोला भन्छन्, “फोहोरले जैविक विविधतालाई धेरै असर गरेको छ । अब पनि व्यवस्थित नगर्ने हो भने वन्यजन्तु र वनस्पतिमा धेरै ठूलो क्षति हुन्छ ।”

आईयूसीएन नेपालका पूर्वप्रमुख, वातावरण तथा संरक्षणविद् राजेन्द्र खनालका अनुसार फोहोर र धुवाँले बिरुवाका पातहरूमा हुने प्वालहरू टालिन्छन् र प्रकाश संश्लेषण हुन नसक्दा बिरुवाले खाना बनाउन सक्दैनन् । अक्सिजन नपाएर बोटबिरुवा बढ्दैनन्, रोगी हुन्छन् र मासिन्छन् । उनी भन्छन्, “यस्तो फोहोरले माटो र पानी पनि प्रदूषण हुने हुँदा उब्जनीमा असर पर्छ । मानिस, जनावर र बिरुवा रोगी बन्छन् अनि फोहोर जलाउँदा कार्बन वातावरणमा जम्छ ।”

इटहरी उपमहानगरको फोहोर फाल्ने ठाउँ

खेतीमा क्षति

धरान र इटहरीको फोहोर फाल्ने ठाउँ सेउती खोलाको छेउमै पर्छ । वर्षामा बाढी आउँदा फोहोर बगेर किसानका खेतबारीमा पुग्छ । इटहरीको फोहोर भवानीपुरको सीमा क्षेत्रको जंगल र खोल्सीमा थुप्रिन्छ । धरानको फोहोर खोलाले बगाएर रामधुनी नगरपालिका–७ को कुमारखतका किसानको खेत पुग्छ । खेतमा प्लाष्टिकका बोतल, सिसा, सिरिञ्ज, विभिन्न हानिकारक वस्तुहरू र कहिलेकाहीं त मानव अंग समेत भेटिने गरेको छ ।

त्यस्ता फोहोरका कारण उब्जनीमा कमी आएको रामधुनी–७ का वडाध्यक्ष केशव गौतम बताउँछन् । फोहोरले करीब २०० बिघा खेतमा प्रत्यक्ष असर परेको उनको अनुमान छ । गौतम भन्छन्, “बाढी आउँदा फोहोर खेतभरी हुन्छ । काम गर्दा किसानहरूका हात–खुट्टामा चोट लाग्छ । उत्पादनमा ह्रास आएको हुन्छ ।”

फोहोरका कारण सुकेका बोटविरुवा

रामधुनी नगरपालिकाका मेयर जयनारायण चौधरी फोहोरले उत्पादन र मानव स्वास्थ्यमा ठूलो असर गरिरहेको बताउँछन् । भन्छन्, “माथिबाट बगेर आउने फोहोरबाट हामी पीडित छौं । उचित व्यवस्थापन गर्न धेरै पटक आग्रह ग¥यौं तर अझै समाधान भएको छैन ।”

धरान उप–महानगरपालिकाले फोहोरबाट ग्याँस निकाल्न ‘भेन्चर वेष्ट एण्ड इनर्जी प्रालि’ सँग २०७३ मा सम्झौता गरेको थियो । तर, रिसाइकल नहुने फोहोर कहाँ फाल्ने भन्नेमा अझै अन्योल रहेको धरान उपमहानगरपालिकाका वातावरण निरीक्षक राजु चौहान बताउँछन् । धरान उपमहानगरपालिकाका वातावरण अधिकृत भेषराज घिमिरे भने करीब दुई टन जति फोहोर वनमै ल्याण्डफिल्ड साइड बनाएर व्यवस्थापन गरिने बताउँछन् । धरानका मेयर तिलक राई फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग सम्झौता भइसकेकाले चाँडै समस्याको समाधान हुने आशा रहेको बताउँछन् ।

धरान उपमहानगरपालिकाले फोहोर नफाल्न र नजलाउन जारी गरेको सुचना ।

इटहरीको फोहोर उठाउँदै आएको ‘वेष्ट एण्ड इन्भाएरोमेन्ट म्यानेजमेन्ट प्रालि’ ले पनि ‘रिसाइकल’ का लागि संरचना निर्माण गरिरहेको छ । ‘रिसाइकल’ नहुने १० प्रतिशत फोहोर ल्याण्डफिल्ड साइडमा फालिने वातावरण अधिकृत पुष्पनारायण चौधरी बताउँछन् । तर, त्यो काम कहिले हुने कुनै टुंगो छैन ।

दुवै उपमहानगरले अहिले लकडाउनका कारण ‘रिसाइकल प्लान्ट’ निर्माणमा ढिलो भएको स्वीकार गरेका छन् । इटहरीकी उपमेयर लक्ष्मी गौतम पनि फोहोर व्यवस्थापन गरिरहेको कम्पनीले ल्याण्डफिल्ड साइड बनाइरहेकाले जथाभावी फोहोर फाल्ने क्रम चाँडै रोकिने बताउँछिन् ।

धरान र इटहरी क्षेत्रका करीब ३०० मेडिकल र क्लिनिकहरूबाट उत्पादन भएका फोहोर पनि निर्मलीकरण नगरी नै नगरको फोहोरमा मिसाइने गरेको छ । एकजना विज्ञका भनाइमा, “यस्तो फोहोरमा स्वास्थ्यका लागि घातक मानिने पारोयुक्त ब्याट्री, सिएफएल बल, ट्यूबलाइट पनि मिसिएका हुनसक्छन् ।”

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, काठमाडौंका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहका अनुसार जलाउँदा पनि पारो नाश हुँदैन । त्यो हावा र पानीको माध्यमबाट मानव र जीव–जनावरको शरीरमा प्रवेश गर्छ ।

प्रदेश मन्त्रालयले वन कार्यालयलाई लेखेको चिठी ।

साहका भनाइमा, त्यसले स्नायु प्रणाली, सुन्ने र देख्ने शक्तिमा ह्रास ल्याउँछ । मिर्गौला, फोक्सोदेखि प्रजनन प्रणालीमा समेत नकारात्मक असर पु¥याउँछ । स्वास्थ्य संस्थाजन्य फोहोरबाट मानव स्वास्थ्य र वातावरणमा असर गर्ने घातक रसायन निस्किन्छ । अनि फोहोरमा रहेका सिरिञ्ज, बोतलहरूले चोट लागे हेपाटाइटिसको संक्रमण हुनसक्छ । साह भन्छन्, “घरायसी फोहोर यसरी जथाभावी फाल्नै मिल्दैन ।”

धरान उपमहानगरपालिकाका वातावरण अधिकृत भेषराज घिमिरे स्वास्थ्य संस्थाहरूलाई फोहोर निर्मलीकरण गरेर मात्र फाल्नु भनिएको तर जनशक्ति अभावले अनुगमन नगरिएको बताउँछन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ले स्थानीय तहलाई स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापनको जिम्मेवारी दिएको छ । तर धरान र इटहरी उपमहानगरले ऐनले तोकेको काम, कर्तव्य पालना गरेका छैनन् । इटहरी उपमहानगरका वातावरण अधिकृत पुष्पनारायण चौधरी नगरको फोहोरका कारण जनस्वास्थ्यमा असर परिरहेको स्वीकार्छन् । चौधरी भन्छन्, “हामी पनि बाध्यतामा छौं ।”

फोहोरबाट पीडित स्थानीयले वन कार्यालयलाई दिएको निवेदन

संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक प्रदान गरेको छ भने फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६, जनस्वास्थ्य सेवा ऐन २०७५ र वन ऐन २०४९ ले जथाभावी फोहोर फाल्न निषेध गरेका छन् । वातावरण कानूनविद् अधिवक्ता पदमबहादुर श्रेष्ठ धरान र इटहरी उपमहानगरले आफ्नो क्षेत्रको फोहोर व्यवस्थापन गर्ने दायित्व विपरीत आफैं प्रदूषण गरेर दण्डनीय कार्य गरेको बताउँछन् । भन्छन्, “धरान र इटहरी उपमहानगरले संविधान र ऐन कानूनको धज्जी उडाएका छन् । जनस्वास्थ्य, पर्यावरण ध्वस्त पार्नेलाई कानूनी कारबाही गर्नु आवश्यक छ ।”

तपाईको प्रतिक्रिया

Loading…