भगवान शिवको प्रिय महिना : यस्ताे छ तपाइकाे श्रावण महिनाको मासिक राशिफल

श्रावण महिनामा सूर्यले कर्कट राशिमा भ्रमण गर्दछन् । अन्य ग्रहहरूमध्ये सुरुमा मिथुन राशिमा रहेको बुध ग्रह १४ गते कर्कट राशिमा प्रवेश गर्ने सङ्केत छ । त्यस्तै मङ्गल ग्रह यो महिनाको पूरै अवधि मीन राशिमा नै रहने देखिन्छ, अनि बृहस्पति ग्रह बक्र गतिमा रहेर संक्रान्तिकै दिन मध्यरात्रीपछि धनु राशिमा प्रवेश गर्ने र महिनाभरि धनु राशिमा नै रहने देखिन्छ । त्यस्तै बक्री अवस्थामा रहेको शनिश्चर ग्रहले पनि राशि परिवर्तन गरी २१ गते धनु राशिमा उपस्थिति जनाउने छ । उता बृष राशिमा विचरणशील शुक्र ग्रह १७ गतेपछि मिथुन राशिमा पुग्ने देखिन्छ । राहु र केतु ग्रहले पूर्ववत् यो महिना क्रमशः मिथुन र धनु राशिमा नै भ्रमण गर्ने समय छ । समग्र ग्रहगोचरको मूल्याङ्कन गर्दा मीन लग्नमा सङ्क्रान्ति परेको तथा लग्नेश बृहस्पति ग्रह भएको तथा संक्रान्तिका दिन बिहीवारसमेत परेको एवं औंसी र पूर्णिमा दुबै सोमवार परेकाले सामान्य बुद्धिमा यो महिना सकारात्मक र सामान्य नै लाग्दछ । तर संक्रान्तिकै दिन बृहस्पतिले बक्र चालमा धनु राशिमा प्रवेश गर्ने तथा महिनाभरि बृहस्पति र सूर्यको षडष्टक सम्बन्ध बन्ने तथा २१ गतेपछि शनिश्चर र सूर्यको समेत षडष्टक सम्बन्ध बन्ने हुँदा राजनीतिक उतारचढाव र प्राकृतिक विपत्तिको मारमा यो महिना पनि जनताले रुमल्लिनु पर्ने परिस्थिति खडा हुँदैछ ।

अतः असार महिनाजस्तै जनतामा निराशा र कष्ट हुनेछ, घरमा अभिभावक, गाउँघरमा ठूलाबडा र राष्ट्रमा नेतृत्वपंक्तिका बीचमा हुने आपसी लडाइँ, झगडा र द्वन्द्वले पराकाष्ठा नाघ्नेछ । चोरी, डकैती, फट्याइँ र आपराधिक घटनाको बिगबिगी हुनेछ । धान्यादि कृषिजन्य वस्तुको दाम घट्नाले एकातिर कृषकहरूले निराशा भोग्नुपर्छ भने अर्कोतिर खाद्यपदार्थको अभाव हुनाले दुर्गम क्षेत्रमा भोकमरी र दुःख बढ्ने समय छ । निरन्तर वर्षा हुनाले असारदेखि नै देखिएको बाढीपैह्रोको जोखिम साउनमा पनि यथावत रहने छ । सरुवा रोगको संक्रमणमा बृद्धि भइरहने छ, तर रोकथामको प्रयास र औषधीमूलोको व्यवस्थापनका पक्षमा पनि ठोस नतिजा प्राप्त हुनेछ । यान्त्रिक प्रकोपका साथसाथै सवारी दुर्घटनाको योग पनि उत्तिकै रहेको देखिन्छ । राजनैतिक वृत्तमा महिनाको २१ गतेपछि सरकारले सोच्दै नसोचेको कुनै अप्रिय कदम चाल्न सक्ने भएकाले दलहरूका बीचको आपसी सम्बन्धमा अविश्वास सिर्जना हुने माहौल देखिन्छ । यी अधिकतम नकारात्मक परिस्थितिको सामना गर्नु परे पनि आम जनताको दैनन्दिनी र जीवनचर्यामा सामान्यता नै देखिने महिना रहेको छ । वित्तीय क्षेत्रमा सामान्यतया सन्तोषजनक रहने छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट बाह्रौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले चौथो भावमा, चन्द्रमाले दोस्रो भावमा, राशिस्वामी मंगलले बाह्रौं भावमा, बुधले तेस्रो भावमा, बृहस्पतिले दसौं भावमा, शुक्रले दोस्रो भावमा, शनिश्चरले दसौं भावमा, राहुले तेस्रो भावमा र केतुले नवौं भावमा उपस्थिति जनाएको देखिन्छ ।
तपाईंको राशिबाट चौथो घर अर्थात् मातृसुख, वाहनसुख प्रदान गर्ने भावमा सूर्यको गोचर प्रारम्भ भएको छ । आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । हुन त यो समयावधि व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने समय हो । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन् । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो, परिणामतः कमाएको धन सञ्चित नहुने महिना हो । बरु ऋण काढेर व्यवहार धान्नुपर्ने परिस्थिति खडा हुनेछ । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । सहकर्मीहरूको समर्थन प्राप्त हुनेछ । नयाँ घरघडेरीको जोहो गर्ने मानसिकता भएका व्यक्तिका लागि यो महिना उक्त कामका लागि उचित समय हुनसक्छ ।

सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा बसेको क्रूर ग्रहको मानसिक उलझन बल्झाउने परिणाम प्राप्त हुने गर्दछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन्छ, खासगरी पिता वा कार्यक्षेत्रका सिनियर्ससित मनमुटाव र तिक्तता बढाउने समय हो । हृदय र पेटसम्बन्धी स्वास्थ्यसमस्या आइलाग्ने समय पनि हो । प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य रहने छ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । घरको रंगरोगन, सरसफाइ र सजावटका लागि धन खर्च हुनसक्छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय हो, त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ ।

यस महिना हुने ठूला परिवर्तनमा तपाईंको भाग्य भावमा बृहस्पति र शनिश्चरको आगमन हुँदैछ, भने हिजोआज तपाईंको राशिस्वामी मङ्गल ग्रहले बाह्रौं घरमा भ्रमण गरेको समय हो । यो धक मान्ने वा लज्जाबृद्धि हुने समय भएकाले हातैमा आएको अवसरलाई पनि गुमाउन बेर लाउनु हुन्न । त्यस्तै यो आफ्नो कर्तव्य र उद्देश्य बिर्सिएर बरालिने अवस्था पनि हो । उता भित्री इच्छाको जागृति तीव्र हुने अवस्था छ । समग्रतामा चन्द्रगोचरको गणनमा यस महिनाको ०५, ०६, ०७, १४, १५, १६, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने संकेत छ । उपायका दृष्टिकोणले यस महिना तपाईंले बाह्रौं भावमा बसेका राशिस्वामी मंगलको शुभफल प्राप्त गर्ने प्रयास गर्नु राम्रो हुन्छ । त्यसका लागि तपाईंले यस महिनाको हरेक मंगलवारका दिन बाँदर, रातो गाई, रातो कुकुर आदिलाई खान दिनु मङ्गल ग्रहको शुभताका लागि राम्रो मान्ने गरिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट एघारौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले तेस्रो भावमा, चन्द्रमाले प्रथम भावमा, मंगलले एघारौं भावमा, बुधले दोस्रो भावमा, बृहस्पतिले नवौं भावमा, राशिस्वामी शुक्रले प्रथम भावमा, शनिश्चरले नवौं भावमा, राहुले दोस्रो भावमा र केतुले आठौं भावमा उपस्थिति जनाएको देखिन्छ ।
तेस्रो घर अर्थात् पराक्रम स्थानमा भगवान् सूर्यनारायणको आगमन भएको छ । यस गोचरको प्रभावले तपाईंमा आत्मबल, सामर्थ्य र हिम्मतको सञ्चरण हुनेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन÷दिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नतिप्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ ।

दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । मित्रशक्तिबाट सहयोग, समर्थन र राम्रो लाभ पाउनु हुनेछ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि उन्नतिको समाचार सुन्न्न पाइने छ । यो महिना तपाईंको राशिस्वामी शुक्रले लग्नभाव र धनभावको यात्रा गर्ने समय हो । यसको प्रभावले परिस्थिति जेजस्तो भए पनि यो महिना मन प्रसन्न रहने समय हो । यस अवधिमा मनमा प्रेम, रोमांस, संगीत आदि विषयको झुकाव बढ्ने छ । सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्ने छ, साथीभाइ र मित्रवर्गले पनि साथ दिनेछन् । थोरै मिहिनेत गर्दा पनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । तर यस महिना बृहस्पति र शनिको समेत राशि परिवर्तन हुने र यी दुबै ग्रहले आठौं भावको यात्रा प्रारम्भ हुने समय हो ।

यसको प्रभावले वरिष्ठ व्यक्ति वा सत्तामा रहेका अधिकृतसँग सम्बन्ध बिग्रन सक्छ । लेनदेनको कारोबारमा हानि पुग्ने सङ्केत पनि छ । साथीभाइ र सहयोगीले आफ्नो वचन पूरा गर्न सक्दैनन् । घरपरिवारका सदस्यको व्यवहारमा पनि फरक भएको अनुभूति हुनेछ । चन्द्रगोचरका आधारमा यस महिनाको ०८, ०९, १६, १७, १८, २५, २६ र २७ गते तपाईंका लागि कमजोर दिन हुनेछन् । उपायका दृष्टिले यो महिना तपाईंले अष्टम भावमा बृहस्पति र शनिश्चरका साथमा रहने केतु ग्रहको शुभताको प्रयास गर्नु राम्रो हुनेछ, यसका लागि तपाईंले आफू सुत्ने खाट वा पलङ्गमुनि कुनै भारी चिज वा आफ्नो तौलको कम्तीमा १० प्रतिशत तौलको ढुङ्गो राख्नुस् अथवा कुनै पवित्र नदी, तलाउ वा सरोवरको शुद्ध जल ल्याई आफ्नो शयनकक्षको सिराने भागमा राख्नु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट दसौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले दोस्रो भावमा, चन्द्रमाले बाह्रौं भावमा, मंगलले दसौं भावमा, राशिस्वामी बुधले प्रथम भावमा, बृहस्पतिले आठौं भावमा, शुक्रले बाह्रौं भावमा, शनिश्चरले आठौं भावमा, राहुले प्रथम भावमा र केतुले सातौं भावमा उपस्थिति जनाएको देखिन्छ ।
तपाईंको राशिबाट सूर्यदेवले दोस्रो भावमा रहेको धनस्थानमा प्रवेश गर्दैछन् । अब कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय आएको छ, सामाजिक सर्कलमा नाम÷सुनाम चल्ने र साख बढ्ने संकेत छ । यो धनवृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो ।

धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ मिल्नेछैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको हिमचिम र भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । सूर्यको यस गोचरको प्रभावले शिक्षार्थीहरूले राम्रो नतिजा प्राप्त गर्नेछन् । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ । दोस्रो भाव भनेको मुख पनि हो । बोलीमा कडापन देखिने छ, त्यसैले अब एक महिनासम्म मुखलाई नियन्त्रणमा राखेको जाति हुन्छ । यसै अवधिमा तपाईंको राशिस्वामी बुध ग्रहले पहिलो र दोस्रो घरको भ्रमण गर्नेछ । यस अवधिमा सबैसँग मेलमिलाप गर्नुका साथै मिलनसार स्वभावको विकास हुनेछ । सुखभोग गर्न पाइने छ ।

प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्त्वपूर्ण व्यक्तित्व र विद्वानहरू सम्पर्कमा रहनेछन् । सम्मान प्राप्त हुने र ख्याति बढ्ने समय छ । यसै महिना तपाईंको सप्तम भावमा बृहस्पति र शनिको आगमन हुँदैछ । दुबै ग्रह बक्र गतिमा हुनेछन्, परिणामतः २१ गतेसम्म शुभ परिणाम नै प्राप्त हुनेछ, तर त्यसपछि अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । दैनिकी सञ्चालनका क्रममा पनि समस्या हुनसक्छ । अनावश्यक आरोपका कारण सजाय भोग्नु पर्छ । सानातिना झंझट वा विवादबाट जोगिनु बेस हुनेछ ।

जीवनसाथी वा विपरीत लिङ्गी सहकर्मीसँगको सम्बन्धमा पनि चिसोपना आउने सम्भावना हुनेछ । यस महिनाको ०१, ०२, ०३, १०, ११, १८, १९, २०, २८, २९ र ३० गतेको चन्द्रमा तपाईंको विपक्षमा रहने छ । उपायका लागि यस महिना सप्तम भावमा रहेको बक्र बृहस्पतिको शुभताको प्रयास गरेको राम्रो हुन्छ । त्यसका लागि तपाईंले कुनै बिहीवारका दिन वा सहयोगको अपेक्षा राखिएमा कुनै धार्मिक वा कुलपरम्परासँग सम्बद्ध मठ, मन्दिर वा धार्मिक÷सामाजिक स्थानमा निःशुल्क सेवा गर्नुहोला, अथवा त्यस्तो ठाउँको जीर्णोद्धार गराइदिने वा पुनर्निमाण लागि पहल गरेमा पनि शुभफल प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट नवौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले प्रथम भावमा, राशिस्वामी चन्द्रमाले एघारौं भावमा, पञ्चमेश मंगलले नवौं भावमा, बुधले बाह्रौं भावमा, बृहस्पतिले सातौं भावमा, शुक्रले एघारौं भावमा, शनिश्चरले सातौं भावमा, राहुले बाह्रौं भावमा र केतुले छैटौं भावमा उपस्थिति जनाएको देखिन्छ । यस पटक हुने ग्रह परिवर्तनमा बृहस्पति र शनिश्चरले छैटौं भावको यात्रा प्रारम्भ गर्ने तथा बुध ग्रहले तपाईंको राशिमा उपस्थिति जनाउने संकेत छ ।
साउन महिनामा तपाईंको आफ्नै राशिमा सूर्यको प्रवेश हुँदैछ ।

यस राशि परिवर्तनको प्रभावले तपाईंले पेसा, व्यवसाय, रोजगारी आदिमा केही राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । कुनै महत्त्वाकांक्षी र स्थिर काम सम्पन्न हुने समय आएको छ । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ ।

उता संक्रान्तिका दिन राशिस्वामी चन्द्रमाको राज्यस्थान अर्थात् एकादश भावको यात्रा भएको दिन हो । त्यसैले यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । त्यस्तै यस महिना भाग्येश बृहस्पतिले षष्ठम भावको यात्रा प्रारम्भ गर्ने समय भएकाले पाचनतन्त्रीका रोगव्याधिले सताउने समय हो । साथै घरका बृद्धबृद्धाको स्वास्थ्यस्थितिमा आउने उतारचढावले तपाईंलाई चिन्तित तुल्याउने समय पनि हो । यद्यपि सप्तमेश शनिश्चरले समेत महिनाको उत्तरार्द्धमा छैटौं भावमा नै प्रवेश गर्ने भएकाले केही अधुरा काम बन्ने, दूरदराज वा विदेशको यात्रामा जाने अनुकूलता हुने एवं आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ । नोकरी वा व्यवसायको क्षेत्रमा राम्रो सुधार आउने छ ।

प्रभावशाली व्यक्तिसित सम्पर्क बढ्ने छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १२, १३, २१, २२, ३० र ३१ गते राशिस्वामी चन्द्रमाले अशुभ गृहको यात्रा गर्ने समय हो । समग्रतामा यो महिना नराम्रो समय छैन, यद्यपि अझ बढी शुभफल प्राप्त होस् भन्ने उद्देश्यले कुलदेवताको दैनिक आराधना गर्ने एवं घरका बृद्धसदस्य, अभिभावक वा आफ्ना गुरुको आशीर्वाद प्राप्त गर्ने बानी विकसित गर्नु पर्दछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट आठौं भावमा मास प्रवेश लग्न परेको छ भने राशिस्वामी सूर्यले बाह्रौं भावमा, चन्द्रमाले दसौं भावमा, मंगलले आठौं भावमा, बुधले एघारौं भावमा, बृहस्पतिले छैटौं भावमा, शुक्रले दसौं भावमा, शनिश्चरले छैटौं भावमा, राहुले एघारौं भावमा र केतुले पाँचौं भावमा उपस्थिति जनाएको देखिन्छ ।
सूर्यले राशि परिवर्तन गरेको समयमा अष्टम भावको लग्न परेको तथा राशिस्वामी सूर्य स्वयंले बाह्रौं भावको यात्रा गरेको महिना भएकाले यो महिना त्यति सकारात्मक र राम्रो महिना देखिंदैन, तर पनि पञ्चमेश बृहस्पति ग्रहको पञ्चम भावकै यात्रा सुरु हुने र लग्नमा पूर्णदृष्टि रहने भएकाले केही हदमा आशावादी बन्ने समयावधि हो । महिनाको उत्तरार्द्धमा २१ गते शनिदेवले पनि पाँचौं भावको यात्रा प्रारम्भ गर्ने भएकाले यो महिना त्यत्ति राम्रो त छैन, यद्यपि २१ गतेभित्र केही महत्त्वपूर्ण काम बन्नसक्ने समय हो भन्दा फरक पर्दैन ।

यस अवधिमा खासगरी घरबाहिर बस्ने वा विदेशमा बस्नेहरूले उन्नतिप्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हो । स्वदेशमा नै रहेका जातकहरूले पनि विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय हुनेछ । जागीरको सिलसिलामा घरबाहिर हुनुहुन्छ भने प्रयास गर्नुहोस् तपाईंको घरपायक सरुवा हुनसक्छ । यो वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ, यो शत्रुहरूमाथि प्रभुत्व जमाउने समय हो । याद गर्नुहोला, बाह्रौं भाव खर्चको घर हो । अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला, नत्र कुनै ठूलै आर्थिक संकटको परिस्थिति सिर्जना हुनसक्छ । यो धनसम्पत्तिको थैलो कसेर राख्ने समय पनि हो, लापरवाही गर्दा गहनागुरिया वा रुपैयाँपैसा चोरी हुने खतरा छ ।

यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । उता तपाईंको भाग्येश मङ्गल ग्रहले पनि आठौं घरमा भ्रमण गरेको समय हो । त्यसैले खासगरी दैनिक व्यवहारमा ड्राइभिङ गर्दा, हातहतियारको प्रयोग गर्दा, आगो वा विषालु वस्तुको संसर्गमा रहँदा अहिले तपाईंले सतर्कता अपनाएको नै जाति हुन्छ । सामान्यतया यस महिनाको चन्द्रगोचरको गणनाअनुसार ०५, ०६, ०७, १४, १५, १६, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् । तपाईंले यस महिनामा अशुभ परिणाम नहोस्, शुभ परिणाम मात्र प्राप्त होस् भन्ने उद्देश्यले दिनहुँ सूर्योदयको १ घटिका (२४ मिनेट) भित्र स्नानादिबाट निवृत्त भई मह वा चिनी मिसाएर तामाको पात्रमा शुद्धजल वा गङ्गाजल राखी सूर्यलाई अर्घ्य दिंदा लाभ हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट सातौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले एघारौं भावमा, चन्द्रमाले नवौं भावमा, मंगलले सातौं भावमा, राशिस्वामी बुधले दसौं भावमा, बृहस्पतिले पाँचौं भावमा, शुक्रले नवौं भावमा, शनिश्चरले पाँचौं भावमा, राहुले दसौं भावमा र केतुले चौथो भावमा उपस्थिति जनाएको देखिन्छ ।
यो समय राज्यस्थान वा लाभ भावमा सूर्यदेवले परिभ्रमण गर्ने समय हो । इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । यस अवधिमा सामान्यतया सामाजिक हैसियत र आयको मार्गमा बृद्धि हुने सम्भावना हुन्छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ बृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । यस पटकको मिहिनेतले नयाँ जागीर तपाईंको हातमा आउने छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवा÷प्रशंसा पाउने योग छ ।

नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफलतम सिद्ध हुनेछ । प्रेम जीवनमा भने कलह र विवादको सम्भावना देखिन्छ । त्यस्तै दाम्पत्य जीवनमा पनि नोकझोक र कलहको वातावरण बनिरहन्छ, त्यसैले पार्टनरको भावनालाई कदर गर्नुहोला । बालबच्चाको स्वास्थ्यस्थिति र आचरणबारे पनि सतर्कता अपनाउनु पर्छ । उता राशिस्वामी बुध ग्रहले यस महिना दसौं र एघारौं भावको यात्रा गर्ने समय हो । त्यसैले यो कार्यक्षेत्रमा आफ्नो वर्चस्व रहने र साख बढ्ने समय हो ।

कर्मचारीले आफ्नो सीप र क्षमताको प्रदर्शन गरी प्रतिष्ठा बढाउने अवसर पाउने छन् । किनमेल र कारोबारबाट फाइदा हुनसक्छ । व्यापार÷व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ । व्यापारको विस्तारसमेत हुनसक्छ । पूर्णरूपेण कर्मशील भइने छ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । यसरी यिनै फलहरूको मिश्रित परिणाम प्राप्त गर्न सकिने अहिलेको समय हो । यस महिना राशिपरिवर्तन भएर बृहस्पति र शनिश्चरले तपाईंको चतुर्थ भावमा तथा भाग्येश शुक्रले कर्मक्षेत्रमा प्रवेश गर्दैछन् । यसको प्रभावले सुविधासम्पन्न जीवन यापन हुनेछ । पारिवारिक सुख मिल्नेछ । घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ, साथै बन्दव्यापारको विकासमा पनि धनव्यय हुनेछ । विदेश यात्रा वा दूरदराजको यात्राको योग बन्ने समय छ । यद्यपि महिनाको उत्तरार्द्धमा घरका वयोबृद्ध सदस्यको स्वास्थ्यस्थितिले चिन्तित तुल्याउन सक्छ ।

सामान्यतया यस महिनाको ०८, ०९, १६, १७, १८, २५, २६, २७, गते तपाईंका लागि अशुभ रहने छन् । उपायका निमित्त यस महिनाको अन्त्यमा चौथो भावमा पुनरागमन गरी आगामी मार्ग ०१ गतेसम्म अढैया दशा कायम हुने भएकाले शनिश्चर ग्रहको उपासनामा नै जोड दिनु राम्रो हुन्छ । सामान्यतया तपाईं यस प्रयोजनका लागि हरेक शनिवारका दिन झिसमिसेमा नै पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु जायज हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट छैटौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले दसौं भावमा, चन्द्रमाले आठौं भावमा, मंगलले छैटौं भावमा, बुधले नवौं भावमा, बृहस्पतिले चौथो भावमा, राशिस्वामी शुक्रले आठौं भावमा, शनिश्चरले चौथो भावमा, राहुले नवौं भावमा र केतुले तेस्रो भावमा उपस्थिति जनाएको देखिन्छ ।
यो महिना कर्मक्षेत्रमा सूर्यले भ्रमण गर्ने महिना हो । त्यस्तै यसै महिना बृहस्पति र शनिश्चरले तृतीय भावमा तथा महिनाको १७ गते राशिस्वामी शुक्रले भाग्य भावको यात्रा प्रारम्भ गर्ने समय हो ।

अतः अहिलेको समय तपाईंले कडा मिहिनेत गरी आफ्नो कार्यक्षेत्रमा वर्चस्व स्थापना गर्ने समय हो । यस अवधिमा व्यवसायीहरूले आफ्नो व्यापारिक प्रतिष्ठानको चतुर्दिक् उन्नति गर्ने समय पनि हो । अब तपाईंको मानसम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिनु हुनेछ । राजनेता र कर्मचारीहरूले मनले चाहेको जिम्मेबारी र पदभार पाउने समय हो, यस समयमा हाकिम वा वरिष्ठ व्यक्तिसित सुसम्बन्ध कायम हुनेछ । व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । सरकारी अड्डाअदालतमा कुनै काम रोकिएको छ भने त्यसलाई सुल्झाउन उचित समय छ ।

विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्नसक्ने समय हो । प्रेमजीवनमा मिठासपूर्ण सम्बन्ध नै रहने छ, तर कर्तव्य र कार्यक्षेत्रको व्यस्तता हुँदा समय दिन पाइँदैन । कुल, परम्परा र आध्यात्मिकतातर्फ समे सामान्य चासो बढ्न सक्छ । समग्रतामा यो अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । तृतीय भावमा आएका बृहस्पति र शनिश्चरको प्रभावले अब प्रत्येक कामलाई तन्मय भएर ध्यानपूर्वक गर्ने रहर जागेर आउँछ । आत्मविश्वासको मात्रा बढ्ने छ । नोकरी र बन्दव्यापारमा उत्साहवद्र्धक परिणाम प्राप्त हुन्छ ।

नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत छ । आम्दानीको मात्रा बढ्ने छ । यो महिना तपाईंको राशिस्वामी शुक्रले अष्टम र नवम भावको यात्रा गर्ने समयावधि हो । त्यसैले महिनाको पूर्वार्द्धमा परिजनसँग कहिलेकाँही मतभेद पनि हुन सक्छ । यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठिक हुन्छ । तर उत्तरार्द्धमा लटरी, चिट्ठा, गुप्तधन आदिका माध्यमबाट अचानक हातमा नसोचेको धन प्राप्त हुने महिना हो । सामान्यतया यस महिनाको ०१, ०२, ०३, १०, ११, १८, १९, २०, २८, २९ र ३० गतेको चन्द्रमा तपाईंका लागि अशुभ रहने देखिन्छ । उपायका निमित्त तपाईंले आफ्नै राशिस्वामी शुक्रको आराधनामा जोड दिनु राम्रो हुनेछ । यसका निमित्त तपाईंले यस महिनाको हरेक शुक्रवारका दिन सेतो गाईलाई चामलको पिठो खुवाउनु र उक्त गाईको पूजा गरी सेतो चन्दनको तिलक लगाउनु राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट पाँचौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले नवौं भावमा, चन्द्रमाले सातौं भावमा, राशिस्वामी मंगलले पाँचौं भावमा, बुधले आठौं भावमा, बृहस्पतिले तेस्रो भावमा, शुक्रले सातौं भावमा, शनिश्चरले तेस्रो भावमा, राहुले आठौं भावमा र केतुले दोस्रो भावमा उपस्थिति जनाएको देखिन्छ ।
यो कर्मक्षेत्रका मालिक सूर्यदेवले भाग्यभावको तथा राशिस्वामी मंगलले पञ्चम भावको यात्रा गरेको समय हो । अतः पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना हो, यो । सन्तानले उन्नति÷प्रगति गर्नेछन् । यो दृढ इच्छाशक्तिको उदय हुने समय हो । शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुने समय छ । गरेको कर्ममा भाग्यको साथ पाउने समय छ ।

कार्यक्षेत्र र बन्दव्यापारको क्षेत्रमा पनि वर्चस्व स्थापना हुने समय हो । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । यस समयमा धर्म, अध्यात्म र दर्शनका विषयहरूमा पनि रूचि बढ्ने र अध्ययन गर्नुहुने लक्षण देखिन्छ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ ।

धनार्जनका दृष्टिले राम्रै समय छ । त्यस्तै यो महिना मनमा प्रेमिल भावना र विनोदी स्वभाव विकसित हुने समय पनि हो । गीत, संगीत, चलचित्र वा भुलिने खेल वा गेमप्रति झुकाव बढ्ने छ । व्यक्तित्व आकर्षक हुनाका साथै मिलनसार स्वभावको विकास हुनेछ । यसै महिना बृहस्पति र शनिश्चरले समेत राशिपरिवर्तन गरी तपाईंको दोस्रो भावमा पुनरागमन गर्दैछन् । शनिले २१ गते धनु राशिमा प्रवेश गर्दा तपाईंको साढेसातीको अवधि करिव साढे तीन महिनाका लागि उल्टिंदैछ । यसको प्रभावले कुनै आर्थिक कठिनाइको सामना गर्नुपर्ने हुन्छ । आम्दानीका मार्गहरू पनि ठीक रहने छैनन् । परिवारका सदस्यका आकाङ्क्षा पूरा हुन सक्दैनन् । आफन्तहरूसित सम्बन्ध बिग्रन्छ । होस राख्नुपर्छ ।

सामान्यतया यस महिनाको ०३, ०४, ०५, १२, १३, २१, २२, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् । तपाईंले यस महिना बक्र बृहस्पतिको उपासना गर्नु बुद्धिमानी हुनेछ । त्यसका निमित्त साउन महिनको कुनै मंगलवार वा बिहीवारका दिन घर वरपरका कम्तीमा नौजना बृद्धबृद्धा भेला पार्नुहोस् र सकेसम्म पेटभरि खिर खुवाउनुस् वा कुनै गुलियो पदार्थको भोजन गराउनुस्, शुभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट चौथो भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले आठौं भावमा, चन्द्रमाले छैटौं भावमा, मंगलले चौथो भावमा, बुधले सातौं भावमा, राशिस्वामी बृहस्पतिले दोस्रो भावमा, शुक्रले छैटौं भावमा, शनिश्चरले दोस्रो भावमा, राहुले सातौं भावमा र केतुले प्रथम भावमा उपस्थिति जनाएको देखिन्छ ।
यो महिना सूर्यले अष्टम भावमा यात्रा गर्ने महिना हो । यो दुर्घटनाकारक भाव भएकाले सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान रहनु राम्रो हुन्छ । यो हरेक काममा विघ्न र ढिलासुस्ती हुने समय हो । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यस्थितिप्रति पनि सचेत हुने समय हो ।

अनायासै खर्चको मात्रामा ह्वात्तै बृद्धि हुनसक्छ । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरू सक्रिय हुने समय पनि हो । शत्रुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन् । पछाडि बसेर आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुने समय हो । सरकार, प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्न हुनसक्छ । कार्यक्षेत्रमा सिनियर्सहरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । यो महिना कुनै पनि शुभकर्म र दीर्घप्रयोजनको काम नगर्ने समय हो । धनस्थानमा सूर्यको दृष्टि हुने भएकाले धनमाल हराउने वा कमी आउने समय हो । त्यस्तै बन्दव्यापारमा पनि घाटा हुनसक्छ । यस अवधिमा बोलीमा अंकुश लगाउनु र विवादबाट जोगिने प्रयास गर्नु वाञ्छनीय हुन्छ ।

आफन्तका बीचमा नै विश्वासको कमी हुनसक्छ । यसै महिनाको पहिलो दिन तपाईंको राशिस्वामीले पुनः तपाईंको आफ्नै राशिमा प्रवेश गर्नेछन् । यसको प्रभावले मन प्रसन्न र फुर्तिलो रहनेछ र परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ । आम्दानीका मार्ग बढ्ने छन् । तर महिनाको अन्तिमतिर शनिश्चरले समेत तपाईंको राशिको भ्रमण प्रारम्भ गर्नेछन्, परिणामतः केही अशुभ परिणाम पनि प्राप्त हुनसक्छ । यस अवधिमा प्रेम सम्बन्धमा सानातिना विवाद र झैझगडाको योग हुन्छ ।

यो मानसिक सन्तुलन गुम्ने र बेचैन हुने समय भएकाले हरेक काम गर्दा सचेत हुने तथा अनुशासनको पालना गरेको जाति हुन्छ । चन्द्रयात्राका आधारमा ०५, ०६, ०७, १४, १५, १६, २३, २४ र २५ गतेका दिन तपाईंका लागि अशुभ हुने सम्भावना हुन्छ । उपायका निमित्त तपाईंले यस महिनामा भगवान् सूर्य नारायणको उपासना गर्ने समय हो । त्यसका लागि तपाईंले कुनै आइतबारका दिन मध्याह्नकालमा कुनै पात्रमा गहुँ राखी रातो गाईलाई खान दिएमा पनि सूर्यको अशुभ प्रभावको नाश हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट तेस्रो भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले सातौं भावमा, चन्द्रमाले पाँचौं भावमा, मंगलले तेस्रो भावमा, बुधले छैटौं भावमा, बृहस्पतिले प्रथम भावमा, शुक्रले पाँचौं भावमा, राशिस्वामी शनिश्चरले प्रथम भावमा, राहुले छैटौं भावमा र केतुले बाह्रौं भावमा उपस्थिति जनाएको देखिन्छ । यो महिनाको २१ गते का दिन तपाईंको राशिमा बक्री रहेको राशिस्वामी शनिश्चरले बाह्रौं घरको यात्रा प्रारम्भ गर्नेछ । त्यसैले यो मिश्रित प्रभाव भएको महिना हो । सातौं घर साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो, यो महिना यसै भावमा सूर्यले भ्रमण गर्ने समय हो । यसको प्रभावले बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो ।

तपाईंको जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । बन्दव्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने समय हो । कार्यक्षेत्रमा पनि तपाईंको वर्चस्व कायम हुनेछ । तर यस अवधिमा पेसा परिवर्तन गर्ने वा नयाँ ठाउँमा जम्प गर्ने विचार गर्नु भएको छ भने अर्को ठाउँमा पक्का भए मात्र पुरानो ठाउँ छाड्नु होला, नत्र धोका हुनसक्छ । समग्रतामा बन्दव्यापार र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने महिना हो । यद्यपि यो महिना घरमा पिताजी वा जीवनसाथीसँग साथै कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय पनि हो । अतः तपाईंले जीवनसाथी र कारोबारमा सन्तुलन राखेर समय प्रदान गर्नु आवश्यक छ ।

राशिस्वामीले बाह्रौं भावको यात्रा गर्नु भनेको प्रतिकूल परिस्थिति र कठिनाइको सामना गर्नु पर्ने समय हो । यस अवधिमा स्वाभिमान र घमण्डका कारण पनि केही समस्याहरू सिर्जना हुन सक्छन्, त्यसैले व्यवहारसापेक्ष बन्नु र अर्काका कुरा सुन्ने बानी गर्नु राम्रो हुन्छ । देशपरदेशका काम वा यात्रामा शनिश्चरले सघाउ पुर्याउने संकेत छ । उता बृहस्पतिले १ गते राती नै तपाईंको राशि त्यागेर बाह्रौं भावमा प्रवेश गर्नेछन्, यसको प्रभावले कुनै श्रेष्ठकर्म, कर्मकाण्ड वा धार्मिक क्रियाकलापमा एवं भौतिक सुखसुविधाका सामाग्री किनमेल गर्न धनखर्च हुनेछ ।

उच्चकोटिको दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । सामान्यतया यस महिनाको ०८, ०९, १६, १७, १८, २५, २६ र २७ गतेको चन्द्रमा तपाईंका लागि अनिष्टकर रहने संकेत छ । उपायका क्रममा तपाईंले सुरुमा आफ्नै राशिमा रहेको शनिश्चर ग्रहको बल प्राप्त गर्ने उद्देश्यले स्वस्तिशान्तिको प्रयास गर्नु राम्रो हुन्छ । यस क्रममा तपाईं यस साउन महिनाको कुनै शनिवारका दिन शिवालयमा गई दुग्धधाराले भगवान् शंकरको अभिषेक गरेमा शुभफल प्राप्ति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट दोस्रो भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले छैटौं भावमा, चन्द्रमाले चौथो भावमा, मंगलले दोस्रो भावमा, बुधले पाँचौं भावमा, बृहस्पतिले बाह्रौं भावमा, शुक्रले चौथो भावमा, राशिस्वामी शनिश्चरले बाह्रौं भावमा, राहुले पाँचौं भावमा र केतुले एघारौं भावमा उपस्थिति जनाएको देखिन्छ ।
यो महिना सूर्यले तपाईंको राशिबाट छैटौं भावमा गोचर गर्ने समय हो । यो कार्यक्षेत्र वा बन्दव्यापारका लागि कडा परिश्रम गर्ने समय हो । त्यस्तै वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सकारात्मक समय हुनेछ । यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । यस अवधिमा तपाईंले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउने, ऋण काढ्ने आदि सम्भावना देखिन्छ ।

त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने प्रयास गर्ने समय आएको छ, समस्या समाधान हुनसक्छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । यो उधारो वा कर्जा चुक्ता गर्ने समय पनि हो । हुन त शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । तर पनि यो शत्रुपक्ष अर्थात् प्रतियोगी र प्रतिस्पर्द्धीसित सतर्कता अपनाउने समय हो । त्यसैले कुनै विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । तर छैटौं भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ । जीवनसाथीको स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनु आवश्यक छ । त्यस्तै सूर्यले बाह्रौं भावमा पूर्णदृष्टि राख्ने हुँदा यो खर्च बढ्ने समय पनि हो ।

यो महिना तपाईंको राशिस्वामी शनिश्चर ग्रहले बाह्रौं घरबाट बक्र गतिमा पुनः राज्यस्थानमा फर्किएर आउने र तपाईंलाई शुभ परिणाम प्रदान गर्ने महिना हो । शनिको यो भ्रमण अब साढे तीन महिनाका निमित्त हो । यसको प्रभावले समस्त इच्छा र आकाङ्क्षाहरू पूर्ण हुनेछन् । नयाँ काम र उद्यम सुरु हुनेछ । मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । व्यापारका माध्यमबाट लाभ पाइने छ । निकटतम नातेदारका बारेमा कुनै राम्रो खबर प्राप्त हुन सक्छ । टाढा बसेका व्यक्तिहरूसित राम्रो सम्बन्ध कायम हुनेछ ।

त्यस्तै यसै भावमा बसेका बृहस्पतिले पनि शुभ परिणाम नै प्रदान गर्ने हुँदा समग्रमा साउन महिना तपाईंका लागि उत्तरोत्तर प्रगतिको महिना हो । चन्द्रयात्राको गणना गर्दा यस महिनाको ०१, ०२, ०३, १०, ११, १८, १९, २०, २८, २९, ३० गतेको चन्द्रमा तपाईंका लागि अशुभ रहने संकेत छ । उपायका लागि महिनाको प्रारम्भमा बाह्रौं भावमा रहेको शनिश्चर ग्रहको शान्तिका निमित्त तपाईंले प्रत्येक शनिबारका दिन कुनै नीच जाति वा जोगीलाई तोरी वा सर्स्युंको तेल दान गर्नु वा कुनै मगन्ते, भिखारी वा खुट्टा खोच्याउने अथवा खुट्टाले अपाङ्ग ब्राह्मणलाई कालोमासको दाल पकाएर फलाम वा स्टिलको कचौरामा राखी दान गर्नु समुचित हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट प्रथम भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले पाँचौं भावमा, चन्द्रमाले तेस्रो भावमा, मंगलले प्रथम भावमा, बुधले चौथो भावमा, राशिस्वामी बृहस्पतिले एघारौं भावमा, शुक्रले तेस्रो भावमा, शनिश्चरले एघारौं भावमा, राहुले चौथो भावमा र केतुले दसौं भावमा उपस्थिति जनाएको देखिन्छ ।
सन्तान, बुद्धि, विवेक, हृदय संवेद्यता बताउने पाँचौंभावमा सूर्यले गोचर गर्ने महिना प्रारम्भ भएको छ । अब तपाईंको कार्यक्षेत्र र बन्दव्यापारको समुन्नति र प्रसिद्धि हुने समय आएको छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ ।

सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले खूब कमाइ गर्ने समय आएको छ । जति धेरै खट्यो त्यत्ति धेरै लाभ पाउन सक्ने राम्रो समय हो । यस अवधिमा शिक्षार्थीहरूका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय नै छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । पेसा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ । यो महिना तपाईंले नियमित आहारविहारको अनुशासन पालना गरेको राम्रो हो, अन्यथा पेट र पाचन प्रणालीका रोगव्याधिले कष्ट दिनेछ । गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ ।

धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम र प्रणयप्रसंगका लागि यो त्यत्ति राम्रो समय देखिंदैन । बरु ध्यान, कसरत, योग र अध्यात्मका क्षेत्रमा शान्तिको अनुभूति हुने समय हो । प्रेम जीवनमा उतारचढाव आउनेछ, प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्न सक्छ । महिनाको पहिलो दिन एघारौं घरमा रहेको राशिस्वामी बृहस्पतिले महिनाभरि दशम भाव अर्थात् कर्मक्षेत्रमा भ्रमण गरेको समय हो । यसको प्रभावले व्यापार, नोकरी वा कारोबारमा धेरै गरेको प्रयास सार्थक हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । व्यापार र नोकरीको सिलसिलामा धेरै घुमफिर हुनेछ ।

त्यस्तै २१ गतेपछि शनिश्चर ग्रहले समेत यसै भावमा प्रवेश गर्नेछन्, शनिको प्रभाव शुभ नै हुने भए पनि यस अवधिमा पिता वा कुनै वयोबृद्ध नातेदारको स्वास्थ्यमा आउने उतारचढावले प्रभाव पार्ने समयावधि हो । त्यस्तै शिरमा बसेको मंगल ग्रहको प्रभावले रिस, घमण्ड र अहंकारको मात्रामा बृद्धि हुने सम्भावना देखिन्छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १२, १३, २१, २२, ३० र ३१ गतेको चन्द्रयात्रा तपाईंका लागि हितकारक हुने छैन । उपायका लागि तपाईंले यस महिनामा शिरमा बसेको मंगल ग्रहको शान्तिको प्रयास गर्नु राम्रो हुन्छ । यसका निमित्त हरेक दिन बिहान श्री हनुमान चालिसा वा मंगल कवचको नित्य पाठ गर्ने गरेमा शुभ परिणाम प्राप्त गर्न सक्नुहुन्छ ।

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

आजको राशिफल / वि.सं. २०७७ श्रावण १९ (अगस्ट ०३) गते सोमबार || श्रावण महिनाकाे साेमबार भगवान शिवको साक्ष्यात दर्शन गर्नुहाेस्

आजको राशिफल / २०७७ श्रावण १८ (अगस्ट ०२) गते आइतबार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन

आजको राशिफल / वि.सं. २०७७ श्रावण १७ (अगस्ट ०१) गते शनिबार || संकटा माताले सबैको कल्याण गरुन

आजको राशिफल / वि.सं. २०७७ श्रावण १६ (जुलाई ३१) गते शुक्रबार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन

आजको राशिफल / वि.सं. २०७७ श्रावण १५ गते बिहीबार || बुढानिलकण्ठकाे कृपाले यहाँकाे दिन शुभ रहाेस्

आजको राशिफल / २०७७ श्रावण १४ (२९ तारिख) गते बुधबार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन

आजको राशिफल / २०७७ श्रावण १३ (जुलाई २८) गते मङ्गलबार || श्रीगणेश भगवानले सबैको कल्याण गरुन

आजको राशिफल / २०७७ श्रावण १२ (जुलाई २७) गते सोमबार || श्रावण महिनाकाे साेमबार भगवान शिवको साक्ष्यात दर्शन गर्नुहाेस्

आजको राशिफल / वि.सं. २०७७ श्रावण ११ गते (जुलाई २६) आइतबार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन

आजको राशिफल / वि.सं. २०७७ श्रावण १० गते (जुलाई २५) शनिबार || संकटा माताले सबैको कल्याण गरुन

तपाईको प्रतिक्रिया

Loading…