आदिकवि भानुभक्त आचार्यको आदि कविता र छोरालाई चिठी : लक्ष्मीप्रसाद कोइराला

१.जन्ममिति र स्थान: नेपालको तत्कालीन गण्डकी अञ्चल,तनहुँ जिल्ला चुँदी रम्घाबेशीमा स्थायी बसोबास गर्ने श्रीकृष्ण आचार्यका छोरा धनञ्जय आचार्यकी धर्मपत्नी लमजुङ भार्लेटार निवासी धर्मावतीदेवीको कोखबाट बि.स.१८७१(१८१४जुलाइ-१०) साल असार २९ गते आइतबार भानुभक्त आचार्यको जन्म भएको थियो ।

२.बाल्यकाल र शिक्षा: तिनताका उनका पिता धनञ्जय आचार्य निजामती सेवाका कर्मचारी भएको हुनाले जागिरको सिलसिलामा हिँडिरहनु पर्ने काम परिरहन्थ्यो । जसको कारणले भानुभक्त आचार्यको लालनपालन र यथेष्ट शिक्षादीक्षाका लागि स्वयं बुबाले समय दिन भ्याउदैनथे । त्यसकारण उनको बाल्यकालको लालनपालन र शिक्षादीक्षा विशेषगरी आफ्नी आमा धर्मावतीदेवी र उनका हजुरबुबा श्रीकृष्ण आचार्यको रेखदेखमा भएको बताइन्छ साथै हजुरबा श्रीकृष्ण आचार्य सस्कृतभाषा ज्योतिष शास्त्रका प्रकाण्ड विद्वान भएको हुनाले पनि हजुरबाकै रेखदेखमा सस्कृत साहित्यको ज्योतिषशास्त्र र गणित विषयसम्बन्धि प्रारम्भिक शिक्षा घरैमा पाएका थिए भन्ने कुरा विभिन्न पुस्तकहरुमा उल्लेख छ । तथापि उनी ठूलो भएपछि काशी गइ सस्कृत साहित्यको माध्यमिक स्तरसम्मको थप अध्ययन गरि घर फर्केका थिए पनि भनिएको पाइन्छ ।

३.उनको पहिलो रचना: उनी नौ-दस वर्षको हुँदा एकदिन मामाघरमा श्राद्धकर्म भएको हुनाले आफ्नी आमासँगै मामाघर लमजुङको भार्लेटार गएको बेला श्राद्ध-कर्मकाण्ड गराउँन भनिएछ तर त्यसबारे उनलाई ज्ञान नभको हुनाले नखाऊँ भने दिनभरिको सिकार खाउभने कान्छा बाबुको अनुहार भने झैं परिबन्धमा पर्ने महसुसगरि त्यो कर्मकाण्ड नै नगराई उनी मामाघरबाट भागेर अर्घा भन्ने ठाउँमा आइ एउटा कविता रचना गरि आफ्नी आमा धर्मावतीदेविलाई पठाएछन् । त्यहाँ लेखेर पठाएको उनको यो कविता-

खोला खाली गइकन निउरो टिपी म ल्याउछु।
उपर खोला तल आगो फुकी थपी पकाउछु।।
भात खान लाग्छु,आमा डाडा-भाटा चियाउछु।
दिशा जान्छु मेरी आमा पेट समाई रहन्छु।

यो पहिलो कविता हो भनी एकथरी विद्वानहरु बताउँछन् । अर्काथरी विद्वानहरु त्यसको खण्डन गर्छन् । जे होस् सर्जकहरुका लागि एउटा खोजको विषय नै देखिन्छ ।

४.उनका कृति र गेलिङे रामगीता: भानुभक्त आचार्यद्वारा भावानुवाद र रचना गरिएका कृतिहरुमा रामायण,प्रश्नोत्तर,भक्तमाला,बधूशिक्षा, गेलिङे रामगीता र अन्य फुटकर कविताहरु पाइएका छन्।

५.भानुभक्त आचार्यले छोरालाई लेखेको चिठीको शैली र गद्य-साहित्य : नेपाली पद्य-साहित्यका आदिकवि हुन् तथापि उनको एकमात्र गद्य-सृजना छोरा रमानाथ आचार्यलाई पढ्नका लागि निर्देशन दिँदै लेखिएको तत्कालीन भानुभक्ते चिठीको भाषाशैली निम्न प्रकार रहेको छ ।

स्वस्ती श्री चिरञ्जीवी श्री नाति रमानाथ शर्मा,
शुभाशिर्वाद:

सन्तु उप्रान्त पढ्दैनस् भन्ने सुन्छु । मेरा कन्ढा पछाडि जति उम्लन्छस् यहाँबाट म क्या गरुँ ? म त्यहाँ आएपछि तैले नपढ्याको ठहर्‍याएँ भने बाबै तेरो ज्यानको आशा नराखी लात मार्न्या छु कि तैंले मर्नु पर्ला कि मरि सुख पाउन्याछस् कि पढी सुख पाउन्याछस् । यो बुझी कि तैँले मर्नु कि पढ्नू । तेरी आमाले पनि यो चिठी हेरी साझ बिहान तँलाई लात मारी घोक्न लाओस् । तेरी आमाको चेत आएन र खेल्नमात्र दिई भने मैले लात मारी मरणासन्न पुर्‍याको तमासा हेर्ली । छेवै परिनस् भन्या तेरो जिउ खुँजो गराई छाडुँला । थोरै पनि तेरो माया मनमा छैन सो जानी तेरि आमाले तँलाई अधिनमा राखी घोकाउनू ।तैंले घोक्नू । आजसम्म कति पढिस् ? यहाँसम्म पुर्‍याएको छु भन्ने लेखी पठा । अघि पढाएको पनि बिर्सिस् कि आउँछ ? तेरा हातले लेखी पठा नभए तेरो ज्यान साबुद राख्न्या छैन । धेरै क्या लेखूँ ।
किमहिकं मिति मार्ग शुद्धि १ रोज ३ मुकाम, महाबौद्ध टोल शुभम्।

६.स्रष्टाहरुका नजरमा आदिकवि

-राष्ट्रकवि माधवप्रसाद घिमिरे
गर्थिन् गुञ्जन दूर दूर गिरिकी गङ्गा हावामा उठी
गाई सुन्दर गीत खेत वनमा हिँड्थे पहाडी ठिटी
यै लाखौं स्वरबीचबाट सुरिलो निस्केर आयो ध्वनी
एक् दिन् नारद सत्यलोक् पुगिगया लोक् को गरूँ हित् भनी
……..

-मोदनाथ प्रश्रित
” पृथ्वीनारायण शाह र उनका सहयोद्धाहरुले सेना र शस्त्रास्त्रको आधारमा फैलाउन शुरु गरेको राष्ट्र एकपटक तिष्टा र किल्ला-काँगडासम्म पुग्यो तर त्यो टिक्न सकेन र मेची-महाकाली-मुस्ताङ-मर्चवार फर्केर सीमित भयो तर भानुभक्त आचार्य र उनका सहकर्मीहरुले बढाउन खोजेको भाषिक र सांस्कृतिक राष्ट्र राजनीति र राज्यका सबै सीमा नाघेर विश्वव्यापी रुपमा परिणत हुँदैछ ….। ”

-सत्यमोहन जोशी
“….विश्वको जुनसुकै कुनाकाप्चामा नेपाली भाषा बोल्ने नेपालीहरु बस्न पुगेका भएपनि सालन्ने आउने असार-२९ गते तिनीहरूका माझमा बिर्केटोपी लगाएका र एकहातले रामायण ग्रन्थ समाएका आदिकवि भानुभक्त आचार्यको शालीन मुहार झलझली आइरहेको हुन्छ….।”

-डा.दयाराम श्रेष्ठ सम्भव
“….नेपालीपन दिने सन्दर्भमा भानुभक्त आचार्यले एकाध ठाउँमा खानपान बारे बडो घतलाग्दो चर्चा गरेका छन् । विष्णुको अवतार मानिएका राम मांसाहारी थिए वा थिएनन् त्यो अर्कै विषय हो तर भानुभक्तले चाहिँ उनलाई यसरी मांसाहारी बनाइदिए:
` गङ्गा पार तरि मिर्ग मारि पकुवा तारेर खादा भया ।´-(अयोध्याकाण्ड-६०)

-डा.तुलसी भट्टराई
” नेपाली भाषा-साहित्यको इतिहासमा भानुभक्त आचार्यको महत्त्व त योगदानका विषयमा जति चर्चा गरेपनि कम्ती नै भइरहन्छ । भानुभक्त नेपाली वाङ्मयका आदिसमुद्र हुन् ,जति चलाए पनि कहिल्यै घटबढ नहुने , तैपनि चर्चा गरिरहनु पर्छ । किनभने सुन जति ततायो उति नै चम्किलो हुन्छ । यस्ता महापुरुषका बारेमा चर्चा-परिचर्चा जति हुनसक्यो त्यति अमरत्व थपिने कुरा स्पष्ट छ । वाल्मीकि , कालिदास , शेक्सपियर , तुलसीदास , टैगोर , जस्तै भानुभक्त नेपाली जगतमा सधैं जीवित छन् ।

-डा. तारानाथ शर्मा
भानुभक्त आचार्यभन्दा पहिले कविताकै क्षेत्रमा पनि सुवानन्द दास , शक्तिबल्लभ अर्याल , उदयानन्द अर्ज्याल , रामभद्र पाध्या , दैवज्ञकेशरी अर्ज्याल , गुमानी पन्त ,वीरशाली पन्थ , इन्दिरस र विद्यारण्यकेशरी अर्ज्यालजस्ता सर्जकहरुका प्रशस्त कृतिहरु पाइएका हुनाले आधुनिक अनुसन्धाताहरु यथार्थतालाई महत्त्व दिएर कवि भनुभक्त आचार्यप्रति असीम श्रद्धा र स्नेह प्रकट गर्दागर्दै पनि आदिकवि(प्रथम कवि)भन्न रुचाउँदैनन् ।हुन पनि भानुभक्त आचार्यको महान काव्यात्मक योगदान र अज्रस प्रतिभा “आदिकवि” पदमा नै सीमित छैन ।हामीले वर्षौवर्षसम्म त्यस पदको प्रयोग गरेकाले बानी परेको मात्र हो ।उनी त मोतीराम भट्टले भने झैँ सहज कवि´ पनि हुन् , राष्ट्रकवि ´ मात्र नभएर अन्तर्राष्ट्रिय कवि पनि हुन् । अनि उनी त प्रारम्भदेखि नै भाषिक एकताका र साहित्यिक प्रेरणाका सर्वश्रेष्ठ प्रतीक भएर रहेका छन् ।

-डा.लख्खीदेवी सुन्दास
भानुभक्तको सरल , मीठो र रसमय लयपूर्ण श्लोकमा भिजेर नेपाली संसारको पहाड र मधेसको घरसम्म पुगेर जनभावनालाई टिप्दै पठित अपठित सबैको हृदयलाई स्पर्श गर्दै लग्यो । सजिलो र रसिलो भाषामा उनिएको रामायणको कथाले पठित र अपठित सम्पूर्ण जाति , गोष्टि र समुदाय जम्मैलाई एउटै भावको गाँठोमा बाँध्दै र समेट्ने काम गर्यो ।

 

(नोट: विशिष्ट व्यक्तित्वहरुले रचना गर्नुभएका विभिन्न पुस्तक , पत्रपत्रिका र स्मारिकाहरुमा छापिएका लेखरचनाहरुबाट सङ्कलन गरिएको जानकारी छ ।)

तपाईको प्रतिक्रिया

Loading…