गुमेको नेपाली भूमि नक्सामा आयो, अब भूमि फिर्ताका लागि लडौं !

अहिले ‘विश्व एक गाउँ !’ भन्ने नारामा जाँदै छ । तर, यही वेला विश्वका केही देशका नेताहरु भने, राष्ट्रवादको हाँगो समातेर राजनीति गर्ने क्रममा रहेको देखिन्छ । यो क्रम विश्वका केही देशका नेताहरुले भरमार प्रयोगमा ल्याई रहेका छन् । जस्तै बेलायत सरकार र त्यहाँका जनताले गरेको (मत दिएको) युरोपियन युनियनबाट छुट्टिने निर्णय, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु अमेरिकाको राष्ट्रपतिमा चुनिएर आउने बित्तिकै उनले दिएको ‘मेक ग्रेट अमेरिका !’ र ‘अमेरिका फस्र्ट !’ भन्ने नारा र उनले छिमेकी देश मेक्सिको र अमेरिकाको सीमामा पर्खाल लगाउने नारा उछाल्नु आदिलाई केही उदाहरणको रुपमा लिन सकिन्छ ।

हुन पनि इतिहास हेर्ने/पढ्ने हो भने, दोस्रो विश्व युद्धको जग पनि राष्ट्रवादकै नाराको जगमा उभिएर भएको थियो भन्न सकिन्छ । किनभने विश्व इतिहासको पछिल्लो कडी हेर्ने हो भने, जर्मन पुयुहेर हिटलरले राष्ट्रवादको नारा उछालेरै सत्तामा पुगेका थिए । उनले राष्ट्रवादको नारा मात्रै उछालेका थिएनन् कि, जर्मन (आर्य) श्रेष्ठताको नारा पनि उछालेका थिए । उनले खोलेको राजनैतिक दलको नामै उनले ‘सोसलिष्ट’ राखेका थिए ।

त्यसैको बलमा सबै वाधा अड्चनहरु पन्छाउँदै उनी जर्मनीको सरकार प्रमुख बन्न सफल भएका थिए । उनी आफु जर्मनीको सरकार प्रमुख भएको केही वर्षपछि नै दोस्रो विश्व युद्ध सुरु गरे । परिणाम के भो ? अन्ततः उनले कस्तो अवस्थमा देह त्यागे ? मैले केही भनी रहने कुरो भएन । यसरी हेर्दा आज फेरि विश्वभरि नै राष्ट्रवाद मुर्झाउँदो क्रममा छ । हुन त केही देशहरुमा राष्ट्रवादको नारा केवल ‘राष्ट्रवाद’मा मात्रै सीमित नरहेर ‘अति राष्ट्रवाद,एक्स्ट्रिम नेसनलिज्म !’ तिर जाने खतरा पनि देखिदैछ । हामी नेपालीहरु पनि राष्ट्रवादको मामलामा झन् के कम छौं र ! किनभने, एक ताका सारा विश्वमाझ गोरखालीका सन्तान भनी चिनिएका हामी नेपालीहरु न पर्यौं ! त्यसैले हाम्रो देश नेपालमा ‘अकबरी सुन’भन्दा पनि बढी (कसी लगाई रहन नपर्ने) एक–से–एक राष्ट्रवादी कमरेडहरुको कमी छैन ।

हुन सक्छ कि, यही कारणले पनि नेपालमा घरिघरि राष्ट्रवादको नारा उठ्ने गर्छ । तर, हाम्रो देशको राष्ट्रवाद कस्तो थियो भने कहिल्यै पनि टुंगोमा नपुग्दै सेलाउने गरेको थियो वा भनौं टुंगोमा नपुगी बेवारिसे बन्ने गरेको थियो । अथवा यसो भनौं न ‘वर्तमान नेपाल सरकारका प्रखुम सम्माननीय प्रधानमन्त्री केपी ओली ज्युको मन्त्रीमण्डलमा समानुपातिक समावेशीको सिद्यान्तअनुसार महिलाहरुको सहभागिता भएन भनी सम्झाउन बुझाउन जाँदा आफ्नै दलका नेतृहरुलाई धम्क्याउँदै÷सम्झाउँदै ‘बढ्ता ट्याऊँ–ट्याउँ गर्ने होइन !’ भनी … भैँ हाम्रो राष्ट्रवाद पनि अहिलेसम्म ‘ट्याऊँ–ट्याऊँ’ राष्ट्रवादको रुपमा मात्रै सीमित रहेको थियो भन्न सकिन्छ ।

खास गरी नेपालका जति सुकै राष्ट्रवादी भनिएको कुनै पनि राजनैतिक दल होस् वा ती राजनैतिक दलमा रहेका राष्ट्रवादी भनी चिनिने नेताहरु नै किन नहोस्, उनीहरुले नेपालको राष्ट्रवादलाई सत्तामा पुग्ने सबैभन्दा सजिलो भर्याङको रुपमा मात्रै प्रयोग गर्ने गरेको देखिन्छ ।

हुन त संभवतः विश्व–जगत रहेसम्म ! एक देशले अर्को देशको सीमा मिच्ने, विवादित सीमा क्षेत्रको भूमि आफ्नो भनी एक–अर्का देशले दावी गर्ने, एक देशले अर्को देशलाई हेप्ने क्रम चली नै रहन्छ ! र, त्यसका विरुद्ध आन्दोलन गर्ने र आफ्नो गुमेको भूमि फिर्ता गर्नका लागि विभिन्न माध्यमहरुबाट पहल गर्ने क्रम पनि चली नै रहन्छ । तर, अधिकांश देशमा के देखिन्छ भने, आफ्नो देशको सीमा मिचिदा वा सीमा क्षेत्रको विवादित भूमि आफ्नो हो भनी दावी गर्नका लागि त्यहाँका सरकार वा सरकार प्रमुखहरु नै अघि सर्छन् । तर, हाम्रो देश नेपालमा नि … हाम्रो देश नेपालमा भने, यो मामिलामा अलि फरक परिदृश्य देखिने गरेको छ । खास गरी नेपालका जति सुकै राष्ट्रवादी भनिएको कुनै पनि राजनैतिक दल होस् वा ती राजनैतिक दलमा रहेका राष्ट्रवादी भनी चिनिने नेताहरु नै किन नहोस्, उनीहरुले नेपालको राष्ट्रवादलाई सत्तामा पुग्ने सबैभन्दा सजिलो भर्याङको रुपमा मात्रै प्रयोग गर्ने गरेको देखिन्छ । जुन कुरोलाई पटक्कै राम्रो भन्न,मान्न सकिन्न ।

तर, यसपटक हाम्रो देशमा अचम्मै भएको छ । वास्तवमा भन्नु पर्दा अचम्म भन्दा पनि धेरै राम्रो र सही काम भएको छ । त्यो हो ‘–नेपालको पश्चिमी सरहद (नेपाल–भारत–चीनको सीमा क्षेत्र) मा रहेको कालापानी–लिपुलेकको केही विवादित (स्मरणीय छ, नेपाल भारत सीमा क्षेत्रको सुस्ता र कालापानी विवादित भूमि भनी दुवै देशले स्वीकार गरेको) भूमि नेपाल सरकारले आफ्नाे देशको नक्सामा समेटेर नयाँ नक्सा जारी गरेको छापेको छ । यसलाई नेपालको सार्वभौम संसदले पनि दुई तिहाई भन्दा पनि बढी (प्रतिनिधिसभामा रहेका २७५ जना माननीयहरुमध्ये १२ जना अनुपस्थित, ४ जना निलम्बित र एक जना सभामुख, सभामुखले निर्णायक मत मात्रै दिन पाउने व्यवस्था भएको) मतले पारित गरी सकेको छ । सरकार र प्रतिनिधिसभाको यस कार्यलाई सबै नेपालीहरुले स्वागत गरेका छन्, मुक्त–कण्ठले प्रशंशसा गरेका छन् ।

त्यसैले यो कामका लागि वर्तमान नेपाल सरकारका प्रखुम सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यु विशेष धन्यवादका पात्र हुनु हुनुन्छ । किनभने, यो नक्सा नआएको भए, प्रतिनिधिसभाले पारित नगरेको भए नेपाल सरकारका प्रखुमको हैषियतले सम्माननीय प्रधानमन्त्री केपी ओली ज्युलाई नै दोषका भागी बनाइन्थ्यो, बन्नु हुन्थ्यो ।
निश्चय नै मैले यस्तो आशयको लेख लेखी रहँदा सम्माननीय प्रधानमन्त्री केपी ओली ज्युको अतिशय प्रशंससा (प्रशंशसा) गरेको देख्नेहरु पनि हुने नै छन् । किनभने, नेपालका अधिकांश बुद्धीजीवी, विश्लेषक, सीमाविद, सीमाविज्ञ, विषयविज्ञ आदि भनिने र भनाइनेहरुले भनेभैंm नेपाल सरकारले आफ्नाे देशको नक्सामा समेटेर नयाँ नक्सा जारी गरेकै/छापेकै भरमा भारतले ‘हिजोदेखि आजसम्म मैले तिम्रो भूमि अतिक्रमण गरेको थिएँ, थिए छु ।

तर, आज तिमीले मेरो भूमि भनी दावी गरेर तिम्रो देशको नक्सामा समेत समेटेर नयाँ नक्सा छापेछौ । त्यसैले अबदेखि यो भूमि तिम्रो भयो, अब फिर्ता लैजाऊ !’ भनेर सजिलोसँग फिर्ता दिँदैन, यो वास्तविकता हामी सबैले बुझ्नै पर्छ । तर, आज हामीले नक्सासहित दावी गरेपछि तथ्य–प्रमाणसहितको एउटा आधार त खडा भयो/भएको छ । सकेसम्म चाँडै भारतले चर्चेको नेपाली भूमि (लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र) फिर्ता गर्नेतर्फ वर्तमान सरकारले कूटनीतिक रुपमा कदम चाली हाल्नु पर्छ । त्यत्तिले नभए, नेपालका राजनीतिक दल र तिनका नेता, बुद्धीजीवी, नागरिक समाजका अगुवा आदिले पनि पहल लिनेर्फ सोच्नु पर्छ । त्यसो त हालको हाम्रो पुस्ता (हामी छौं) ले सो भूमि तत्कालै फिर्ता लिन / गर्न नसके तापनि हाम्रा भावी पुस्ता तथा सन्ततिहरुले तथ्य–प्रमाण र इतिहासको आधारमा दावी गर्ने छन्, फिर्ता लिने छन्, एउटा बलियो आधार खडा भएको छ । भलै सरिता गिरी मार्काका सांसदहरु पनि हाम्रै देश नेपालमा रहेका छन् । त्यो अर्कै प्रसंग हो ।

त्यसैले हामीले अहिले नै भारतले अनधिकृत रुपमा चर्ची रहेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र फिर्ता गर्न नसके तापनि हामीले कम्तिमा जग बसाउन सकेकोमा गर्व गर्नै पर्छ । त्यसैले यो कामका लागि सरकार प्रमुखका हैसियतले सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यु विशेष धन्यवादका पात्र हुनु हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading…