आषाढ महिनाको मासिक राशिफल, यी राशि भएकाहरुको चम्कदैछ भाग्य

आषाढ महिनाको सङ्क्रान्ति सोमवारका दिन र यस महिनाको अमावस्या आइतवारका दिन परेको देखिन्छ । त्यस्तै सूर्यको राशि सङ्क्रमणको समयमा मिथुन लग्न, कृष्णपक्षको दशमी तिथि, रेवती नक्षत्र, सौभाग्य योग, वणिज करण, मातङ्ग आनन्दादि योग र मीन राशिको चन्द्रमा रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले आषाढ महिनाभरि मिथुन राशिमा विचरण गर्ने गर्दछन्, संक्रान्तिको समयमा मिथुन राशिमा सूर्य, बुध र राहु, धनु राशिमा केतु, मकर राशिमा बृहस्पति र शनिश्चर, कुम्भ राशिमा मंगल, मीन राशिमा चन्द्रमा र बृष राशिमा शुक्र ग्रहको उपस्थिति रहेको देखिन्छ । यो महिना सूर्यले मृगशिरा, आर्द्रा, र पुनर्वसु नक्षत्रको भ्रमण गर्ने समय हो ।

मोटामोटी २/२ दिनमा राशि परिवर्तन गर्ने चन्द्रमाका अतिरिक्त यस महिनाको १२ गते मंगल ग्रहले कुम्भ राशिको यात्रा पूर्ण गरी मीन राशिमा प्रवेश गर्नेछ । अन्य ग्रहको राशिमा कुनै परिवर्तन हुने संकेत छैन । यो महिना नैसर्गिक रूपमा बक्री रहने राहु र केतुबाहेक अन्य चारवटा ग्रहसमेत बक्र अवस्थामा छन्, जस्तै बुध, बृहस्पति, शुक्र र शनिश्चर । यीमध्ये शुक्र ०६ गते र बुध २० गते मार्गी हुने संकेत छ ।

यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा यो महिना सोमवारको संक्रान्ति, आइतवारको अमावस्या र संक्रान्तिको समयमा मिथुन लग्न उपस्थित हुँदा यो महिना मध्यम प्रभाव भएको महिनाका रूपमा लिन सकिन्छ । यस महिनामा सोमवार, मंगलवार र बुधवार ५/५ वटा तथा अन्य वारहरू ४/४ वटा परेको देखिन्छ । यो महिना खाद्यपदार्थको मूल्यमा बृद्धि हुनेछ । व्यापारवाणिज्यका क्रियाकलापमा सुधार आउने छ । कृषिक्षेत्रमा शुभफल प्राप्त हुनेछ । देशमा, सीमाक्षेत्रमा र आमजनमानसमा द्वन्द्व र असन्तोषको परिस्थिति कायम हुनेछ । देशको पूर्वोत्तर क्षेत्रमा अग्नि र वायुजन्य प्रकोपको सम्भावना रहेको देखिन्छ । राजनीतिमा अस्थिरता देखिन्छ, अचानक मन्त्रीमण्डलमा फेरबदल हुनसक्छ । दक्षिणपश्चिम क्षेत्रमा खडेरीको सम्भावना छ भने पूर्वी भागमा अतिवृष्टिको सम्भावना रहेको देखिन्छ । शिक्षण संस्था खुल्नेछन् र आधुनिक प्रविधिको प्रयोगको एवं शिक्षक र विद्यार्थीको कल्याणका लागि योजनाको तर्जुमा हुने संकेत छ, तर कार्यान्यवन पक्ष जटिल रहेको देखिन्छ । राज्यको कोषमा घाटा हुने तथा कुनै ठूलो भ्रष्टाचारजन्य क्रियाकलापको पटाक्षेप हुने सम्भावना पनि रहेको देखिन्छ । जल, वायु, अग्नि र भूमिको प्रकोप यथावत रहेकाले कुनै प्राकृतिक विपत्ति अग्निदाह, यान दुर्घटना, बाढीपैह्रो र भूकम्पादि उत्पातको सम्भावना पनि देखिन्छ ।

कपडा र तेलको दाममा बृद्धि हुनेछ । त्यस्तै रबड, प्लास्टिकको सरसामानमा पनि मूल्य बढ्ने छ । सागसब्जी, कन्दमूल, दाल, मेवामिष्ठान्न आदिको दाममा उतारचढाव भइरहन्छ । शेयर कारोबार सन्तोषजनक रहने छैन, महिनाको मध्यभागमा सबैभन्दा कमजोर विन्दूमा पुग्ने लक्षण देखिन्छ । आकाश मेघाच्छादित नै रहे पनि वर्षाका दृष्टिकोणले एकनाश देखिंदैन, कतै अधिक वर्षा र कतै खडेरीको परिस्थिति रहने छ । १, ५, ९, १४, १६, २०, २३, २७ र ३० गते वर्षाको योग रहेको देखिन्छ । यी परिस्थितिमा समग्रतामा आषाढको महिनामा आम जनमानसमा सुखसन्तुष्टि र अनुकूलताको समय नै रहने छ । यो महिना पनि पूर्वार्द्धको तुलनामा उत्तरार्द्ध अझ अनुकूल हुँदै जानेछ, ७ गतेको सूर्य ग्रहण उपरान्त, १२ गतेको मंगलको राशिपरिवर्तनपछि कोरोनाको संक्रमणको त्रासमय परिस्थितिबाट विश्वले नै राहत पाउने र आमजनमानसमा आर्थिक क्रियाकलाप पुनः सुचारु हुने परिस्थितिको सिर्जना हुने संकेत छ । त्यसैले आषाढ महिना आमरूपमा आशावादी बन्ने महिना हो ।

२०७७ साल आषाढ महिनाको समग्र ग्रहगोचर

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट तेस्रो भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले तेस्रो भावमा, चन्द्रमाले बाह्रौं भावमा, राशिस्वामी मंगलले एघारौं भावमा, बुधले तेस्रो भावमा, भाग्येश बृहस्पतिले दसौं भावमा, शुक्रले दोस्रो भावमा, शनिश्चरले दसौं भावमा, राहुले तेस्रो भावमा र केतुले नवौं भावमा उपस्थिति जनाएको देखिन्छ ।

यो महिना सूर्यले तपाईंको राशिबाट तृतीय भावमा भ्रमण गर्ने महिना हो, त्यसैले यस समयमा तपाईंको निर्णय गर्ने क्षमता बढ्नेछ र साथै घमण्ड र क्रोधको मात्रा पनि बढ्न सक्छ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोग लिन/दिन सकिनेछ । यो तपाईंको राशिस्वामी मङ्गल ग्रहले एघारौं घरमा भ्रमण गरेको समय हो र यसै महिनामा मंगलले बाह्रौं भावको यात्रा प्रारम्भ गर्नेछ । त्यसैले महिनाको पूर्वार्द्धमा सहकर्मी र विपरीत लिंगी साथीहरूसँग उठबस गर्ने मौका मिल्नेछ । नयाँनयाँ मित्र बनाउने पाइने तथा लोकप्रियता हासिल हुने समय हो । तर उत्तरार्द्ध तपाईंले सोचेजस्तो सजिलो समय हुनेछैन, प्रतिकूल परिस्थिति र कठिनाइको सामना गर्नु पर्नेछ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । घमण्डलाई त्याग्नु श्रेयस्कर हुनेछ, नत्र परिस्थिति अझ जटिल बन्नसक्छ । उतारचढावले युक्त समय भए पनि समग्रतामा असार महिना कुनै विशिष्ट व्यक्ति वा विद्वान्, अनुभवी वा जानकार व्यक्तिको सामीप्य पाइने एवं ज्ञान र पहुँचमा विस्तार गर्ने समय हो ।

श्रमिक तथा कर्मचारीका लागि दशमेश शनिश्चर स्वगृही भएकाले कुल र वंशका बारेमा केही गर्नुपर्छ भन्ने धारणा पलाउन सक्छ, आफ्नो व्यक्तित्व र पहिचानको चिन्तन गर्न मन लाग्नेछ । गृहिणीहरुका लागि सप्तमेश शुक्र द्वितीय भावमा रहेकाले आर्थिक पक्ष पेचिलो भएको समय छ । कुनै कारणले बजेट असन्तुलित बन्नसक्छ होस राख्ने समय हो । विद्यार्थीहरुका लागि पञ्चमेश सूर्यले पराक्रम स्थानमा भ्रमण गरेको हुँदा परीक्षा वा प्रतियोगिताको तैयारी गर्दै हुनुहुन्छ भने यो महिना आत्मविश्वास बढ्ने समय छ, प्रयास गर्नुहोस् सफलता मुट्ठीमा हुनेछ । व्यवसायीहरुका निमित्त राशिस्वामीले बाह्रौं भावको यात्रा प्रारम्भ गर्ने महिना भएकाले खासगरी महिनाको उत्तरार्द्धमा आकस्मिक रूपमा खर्च बढ्ने समय छ । कारोबारमा झट्ट अर्काको विश्वास गर्ने समय होइन, सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने समय पनि होइन ।

सामान्यतया यस महिनाको ०१, ०९, १०, ११, १८, १९, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।

उपाय : यस महिनाको १२ गते बाह्रौं भावमा पुग्ने राशिस्वामी मंगलको उपाय गर्नु बेस हुनेछ । तपाईंले मङ्गलवारको व्रत लिने वा दैनिक गणेश कवच वा हनुमान् चालिसाको पाठ गर्ने एवं भगवान् गणेश वा हनुमानजीको आराधना गर्ने बानी विकसित गर्नु पर्दछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट दोस्रो भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले दोस्रो भावमा, चन्द्रमाले एघारौं भावमा, मंगलले दसौं भावमा, बुधले दोस्रो भावमा, बृहस्पतिले नवौं भावमा, शुक्रले प्रथम भावमा, शनिश्चरले नवौं भावमा, राहुले दोस्रो भावमा र केतुले आठौं भावमा उपस्थिति जनाएको देखिन्छ ।

यो महिना सूर्यले तपाईंको राशिबाट दोस्रो भावमा भ्रमण गर्ने महिना भएकाले तपाईंको केन्द्रविन्दू धनधान्य रहने समय हो । यस अवधिमा सामान्य आर्थिक लाभको सम्भावना देखिन्छ, साथै आयको स्रोतमा समेत बृद्धि हुनसक्छ । तर यस भावमा बसेको सूर्यको शुभफलमा कमी हुने गर्दछ, बोलीमा कडापन देखिने छ, त्यसैले अब एक महिनासम्म मुखलाई नियन्त्रणमा राखेको जाति हुन्छ । यसै अवधिमा आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा छ, अतः प्रकृतिमा अलि कडापन र कठोरता देखापर्न सक्छ । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना हुन्छ, सचेत हुनुपर्छ । यो तपाईंको राशिस्वामी शुक्र ग्रहले आफ्नै राशि अर्थात् लग्नमा भ्रमण गरेको समय पनि हो । त्यसैले शुक्रको प्रभावले तपाईंको मनमा प्रेम, रोमांस, संगीत आदि विषयको झुकाव बढ्न सक्छ । सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्ने छ, साथीभाइ र मित्रवर्गले पनि साथ दिनेछन् ।

श्रमिक तथा कर्मचारीका लागि दशमेश शनिले भाग्यभावको भ्रमण गरको समय छ, कार्यविशेषले आकस्मिक यात्राको योजना बन्नसक्छ, अहिलेको समय धार्मिक क्रियाकलाप, अध्यात्म र ध्यानप्रति आकर्षण देखाउने हो, गलत विचारले बेफाइदा हुनेछ, होस राख्नुहोला । गृहिणीहरुका लागि सप्तमेश मंगलले दसौं र एघारौं भावमा भ्रमण गर्ने समय भएकाले आफ्नै वा पतिको कार्यक्षेत्रमा उन्नति गर्ने अवसर जुट्ने छ । परिवारले आफ्ना समस्या बुझ्ने छन् । दाम्पत्य सम्बन्ध सुमधुर रहने छ । अभिभावक र बृद्धबृद्धालाई पनि खुसी बनाउने समय हो । विद्यार्थीहरुका लागि पञ्चमेश बुधले दोस्रो भावको यात्रा गरेको अवस्था छ, अतः आफ्नो तर्क, विचार र लक्ष्यप्रति सहकर्मी साथी र गुरुजनलाई सहमत तुल्याउन सकिने समय छ ।  व्यवसायीहरुका निमित्त लग्नेश शुक्र सुरुमा बक्र गतिमा रहे पनि ६ गतेपछि मार्गी गतिमा जाने हुँदा प्रगति नै हुने समय देखिन्छ । कर, ट्याक्स वा कुनै प्रशासनिक काम अड्किएको छ भने यो महिना मिलाउने प्रयास गर्दा लाभ पाउने समय देखिन्छ ।

सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

उपाय : तपाईंले अष्टम भावमा रहेको केतुको सन्तुष्टिका लागि प्रत्येक मङ्गलबार वा बिहीबारका दिन गच्छेअनुसार कुनै गुलियो पक्वान्न कुनै बृद्ध जोगीलाई वा माता दुर्गाको शक्तिपीठमा दान दिनु भएमा शुभफल प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट प्रथम भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले प्रथम भावमा, चन्द्रमाले दसौं भावमा, मंगलले नवौं भावमा, बुधले प्रथम भावमा, बृहस्पतिले आठौं भावमा, शुक्रले बाह्रौं भावमा, शनिश्चरले आठौं भावमा, राहुले प्रथम भावमा र केतुले सातौं भावमा उपस्थिति जनाएको देखिन्छ ।

सूर्यले तपाईंको आफ्नै राशिमा भ्रमण गर्ने महिना भएकाले प्रकृतिमा उग्रता आउन सक्ने समय हो । प्रायः महिनाभरि राशिस्वामी बुध, सूर्य र राहुको युतिसम्बन्ध रहने भएकाले उच्चाकांक्षा र घमण्ड हाबी हुने समय छ । यसै महिनाको प्रारम्भदेखि नै २० गतेसम्म राशिस्वामीमा बक्रता रहने तथा ३ गतेदेखि १८ गतेसम्म अस्तावस्था समेत रहने हुँदा महिनाको अन्तिम सातातिरमात्र शुभफल प्राप्त हुने परिस्थिति देखिन्छ । उता यस महिनाको १२ गते गोचर परिवर्तन गर्ने मंगल ग्रहले दशमभावमा प्रवेश गर्दैछ । दशम भावमा षष्ठेश जानु भनेको मुद्दामामिला र झैझगडामा हार हुने तथा शत्रु र प्रतिद्वन्द्वी हाबी रहनाले कार्यक्षेत्रमा समेत दुष्प्रभाव पर्ने संकेत हो । हुन त तृतीयेश सूर्यले राशिमा गोचर गरेको अवसरमा केही पाटोमा शुभफल मिल्ने देखिन्छ, जस्तै पेसा, व्यवसाय, रोजगारी आदिमा केही राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । कुनै महत्त्वाकांक्षी र स्थिर काम सम्पन्न हुने समय आएको छ ।

श्रमिक तथा कर्मचारीका लागि दशमेश बृहस्पति अष्टम भावमा रहेको तथा यसै महिनामा षष्ठेश मंगलले दसौं भावको यात्रा गर्ने भएकाले यो महिना हरेक क्रियाकलापमा धैर्य र संयम भएर काम गर्ने समय हो । महत्त्वाकाङ्क्षा राख्नाले निराशा हुनेमात्र होइन अवगाल बेहोर्नु पर्ने हुनसक्छ, होस राख्नुहोला । गृहिणीहरुका लागि सप्तमेश बृहस्पतिको अष्टम भावको यात्राको क्रम रहेकाले काम गर्ने जाँगरमा कमी आउन सक्छ, तर काम बाँकी राख्नाले पछि आफैंलाई लोड बढ्ने हो । उता जीवनसाथीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा प्रभाव पर्ने समय हो, हेक्का राख्नुपर्छ । उता विद्यार्थीहरुका लागि पञ्चमेश शुक्रले बाह्रौं भावको यात्रा गरेको समय हो, त्यसैले उद्देश्य र लक्ष्यको हेक्का नराख्नाले असफलता पाउने समय हो । व्यवसायीहरुका निमित्त लग्नेश बुधको गतिस्थितिमा उतारचढाव आउने हुँदा परिस्थितिवश कम फाइदा हुने काममा अलमलिनु पर्ने समय रहने छ । तर आफ्नै राशिमा बुधको भ्रमण रहेकाले श्रम अलि बढी गर्नु परे पनि बेफाइदा नै भने हुनेछैन, धैर्य र संयम हुनु राम्रो हुनेछ ।

सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।

उपाय : बक्र र अस्त अवस्थामा रहने बुध ग्रहको बल प्राप्त गर्न दैनिक दुर्गा कवच वा नारायण कवचको पाठ गर्ने एवं भगवती दुर्गा वा बालगोपाल भगवान् श्रीकृष्णको आराधना गर्ने बानी विकसित गर्नु पर्दछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट बाह्रौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले बाह्रौं भावमा, राशिस्वामी चन्द्रमाले नवौं भावमा, मंगलले आठौं भावमा, बुधले बाह्रौं भावमा, बृहस्पतिले सातौं भावमा, शुक्रले एघारौं भावमा, शनिश्चरले सातौं भावमा, राहुले बाह्रौं भावमा र केतुले छैटौं भावमा उपस्थिति जनाएको देखिन्छ ।

बाह्रौं भावमा रहेको सूर्यले गोचरमा शुभफल प्रदान नगर्ने भएकाले असार महिना तपाईंका लागि लाभप्रद समय होइन । यद्यपि संक्रान्तिको समयमा राशिस्वामी चन्द्रमाले भाग्यभावमा भ्रमण गरेको अवस्था हुनाले केही कुरामा आशावादी बन्न सक्नुहुन्छ । जस्तै यस समयावधिमा तपाईले विदेश यात्रा वा कुनै भ्रमणको प्रक्रिया सुरु गर्नुहुनेछ । शत्रुहरूमाथि दमन गर्ने प्रयास हुनेछ । तर याद गर्नुहोला, गाउँघरका सामान्य मुद्दामामिलामा केही सकारात्मक परिणाम प्राप्त भए पनि धेरै तुजुक देखाउने र हौसिने काम ठीक हुनेछैन, नत्र ठूला मुद्दामामिलामा फंस्न बेर लगाउनु हुन्न । बाह्रौं भाव खर्चको घर हो । अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला । स्वास्थ्यतर्फ टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत हुनसक्छ । भाग्येश बृहस्पतिले सप्तम भावको यात्रा गरेको हुँदा यो नितान्त व्यक्तिगत अझ आन्तरिक चाहनाको परिपूर्तिका निमित्त ध्यानकेन्द्रित हुने समय हो । आत्मीय मित्रको साथ खोज्नु, एकान्तमा बस्ने इच्छा राख्नु र भावना तथा कल्पनामा रमाउन खोज्नु अहिलेको विशेषता हो ।

श्रमिक तथा कर्मचारीका लागि दशमेश मंगलले आठौं र नवौं भावको यात्रा गर्ने भएकाले यो कुनै गुप्त योजना, रहस्यात्मक विषय वा भित्री विचारमा केन्द्रित हुने समय हो । कतिपय विषयवस्तुमा आफैंभित्र हराउने वा आनन्दातिरेकमा भ्रमित बन्न सक्नुहुन्छ । गृहिणीहरुका लागि सप्तमेश शनिश्चरले सातौं भावकै भ्रमण गरेको तथा बक्रीसमेत रहेकाले झगडा, विवाद वा मुद्दामामिलामा विजय प्राप्त हुने समय हो । पतिपत्नीका बीचमा समझदारी बढ्ने छ । विद्यार्थीहरुका लागि पञ्चमेश मंगलले यो महिना भाग्यभावमा प्रवेश गर्दैछ, त्यसैले अब अल्छी गर्ने होइन, कडा परिश्रम गर्नुपर्ने समय छ, परिश्रम गरेअनुरूप भाग्यले पनि तपाईंलाई साथ दिनेछ । व्यवसायीहरुका निमित्त भाग्यले साथ दिने समय रहेको छ, यो महिना कारोबार विस्तारका लागि हात फुकाउने समय आएको छ, तपाईंको सानोतिनो लगानीले भविष्यमा राम्ररी झाँगिने र मौलाउने अवसर पाउने छ ।

सामान्यतया यस महिनाको ०७, ०८, ०९, १५, १६, १७, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।

उपाय : बाह्रौं भावमा रहेको सूर्यको विशेष बल प्राप्त गर्न सूर्य गायत्री वा आदित्य हृदय स्तोत्रको अथवा सूर्य कवचको पाठ गर्दा राम्रो हुन्छ । त्यस्तै दिनहुँ सूर्योदयको १ घटिका (२४ मिनेट) भित्र स्नानादिबाट निवृत्त भई मह वा चिनी मिसाएर तामाको पात्रमा शुद्धजल वा गङ्गाजल राखी सूर्यलाई अर्घ्य दिंदा लाभ हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट एघारौं भावमा मास प्रवेश लग्न परेको छ भने राशिस्वामी सूर्यले पनि एघारौं भावमा, चन्द्रमाले आठौं भावमा, मंगलले सातौं भावमा, बुधले एघारौं भावमा, बृहस्पतिले छैटौं भावमा, शुक्रले दसौं भावमा, शनिश्चरले छैटौं भावमा, राहुले एघारौं भावमा र केतुले पाँचौं भावमा उपस्थिति जनाएको देखिन्छ ।

सामान्यतया आषाढ महिना सिंह राशि हुनेहरूका लागि विशेष फलदायी समय हो । एकातिर, समाजमा तपाईंको प्रतिष्ठा र सम्मान बढ्ने परिस्थिति बन्नेछ भने अर्कातिर कार्यक्षेत्रको जग बलियो बनाउने एवं विश्वसनीयता कायम राख्ने समय देखिन्छ । यस अवधिमा तपाईंले अधीनस्थ कर्मचारीहरूसँग राम्रो सम्बन्ध स्थापित गर्न सक्नुहुन्छ । समग्रतामा यो इच्छा र आकाङ्क्षा पूर्ण हुने समय हो भन्दा फरक पर्दैन । यस अवधिमा उच्च ओहदाका मानिसहरूसँग सुसम्बन्ध कायम हुनेछ । स्वयंले वा जीवनसाथीले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने छ । यस महिनाको १२ गते भाग्येश मङ्गलले सप्तम भावको यात्रा पूर्ण गरी अष्टम भावमा प्रवेश गर्नेछन् । त्यसैले यसको प्रभावले महिनाको उत्तरार्द्धमा दैनिक कामकाज र व्यवहारमा अनेकानेक कठिनाइको सामना गर्नुपर्ने हुन्छ, सतर्क हुनुपर्छ । त्यस्तै यस अवधिमा स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ ।

श्रमिक तथा कर्मचारीका लागि दशमेश शुक्र दसौं भावमा नै रहेको हुँदा यो अत्यन्त क्रियाशील र व्यस्त रहने समय हो, हाकिम वा कुनै वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । गृहिणीहरुका लागि सप्तमेश शनिमा बक्रता रहेकाले व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा यो महिना अनपेक्षित विवाद एवं अपजसबाट बच्न सकिन्छ । विद्यार्थीहरुका लागि सप्तमेश बृहस्पतिको अष्टम भावको यात्राको अवधि भएकाले स्वास्थ्यमा मौसमी प्रभाव पर्न सक्ने समय हो, तर आफूले गरेको मिहिनेतको राम्रो नतिजा हात पर्नेछ । व्यवसायीहरुका निमित्त राशिस्वामी सूर्यको राज्य स्थानको भ्रमणको समय भएकाले चौतर्फी समुन्नति हुने समय हो । यद्यपि होटल, रेष्टोरेन्ट, सेवामूलक काम र दौडधूप गर्ने पेसाबाट यो महिना अलि बढी नै फाइदा हुनेछ । आम्दानी भएकै रकममध्ये कमीशन, पार्टी र भोजभतेरमा केही रकम खर्च गर्ने परिस्थितिसमेत बन्ने देखिन्छ ।

सामान्यतया यस महिनाको ०१, ०९, १०, ११, १८, १९, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।

उपाय : तपाईंले षष्ठ भावमा रहेको बृहस्पति ग्रहको बल प्राप्त गर्न यो महिना पितृसूक्त, श्रीमद्भागवत, श्रीमद्भगवद्गीता वा विष्णुसहस्रनाम स्तोत्रको दैनिक पाठ गर्नु राम्रो हो, साथै गाई, गरीबगुरुबा, ब्राह्मण र बृद्धबृद्धाको सेवा गर्नु पनि लाभकारक नै हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट दसौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले दसौं भावमा, चन्द्रमाले सातौं भावमा, मंगलले छैटौं भावमा, बुधले दसौं भावमा, बृहस्पतिले पाँचौं भावमा, शुक्रले नवौं भावमा, शनिश्चरले पाँचौं भावमा, राहुले दसौं भावमा र केतुले चौथो भावमा उपस्थिति जनाएको देखिन्छ ।

राशिस्वामी बुधका साथमा प्रायः महिनाभरि सूर्यले समेत बुधादित्य योगको सिर्जना गर्दै दशम भावमा भ्रमण गर्ने यो महिना तपाईंको कार्यक्षेत्र र व्यवसायका निमित्त धेरै हदसम्म फलदायी र उन्नतिकारक समय प्रमाणित हुने समय हो । यस अवधिमा कारोबारमा विस्तार हुने, व्यापार व्यवसायमा पर्याप्त लाभ हुने तथा कार्यक्षेत्रमा मानसम्मान प्राप्त हुने समय हो । तर राशिस्वामीमा बक्रता र अस्तावस्था रहने भएकाले व्यवहारमा एकोहोरोपन बढ्ने, परिजनका भावनाको कदर गर्न नसक्ने वा नभ्याउने परिस्थिति बन्नाले घरपरिवारमा अशान्तिको स्थिति उत्पन्न हुन बेर लगाउँदैन, सचेत हुनुपर्छ । यसै अवधिमा पिता वा पितृतुल्य व्यक्तिको स्वास्थ्यस्थितिप्रति ख्याल राख्नु वाञ्छनीय रहेको देखिन्छ । यी सानातिना समस्या देखिए पनि मूलतः यो महिना भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिने महिना हो । कर्मचारीहरूले मनले चाहेको जिम्मेबारी र पदभार पाउने समय हो, यस समयमा हाकिम वा वरिष्ठ व्यक्तिसित सुसम्बन्ध कायम हुनेछ ।

श्रमिक तथा कर्मचारीका लागि राशिस्वामी र दशमेश मानिने बुध ग्रहले दशम भावको यात्रा गरेको समय भएकाले आत्मविश्वासमा बृद्धि हुनाले लगातार सफलता प्राप्त हुने देखिन्छ । सम्मान र प्रतिष्ठा मिल्नेछ ।  गृहिणीहरुका लागि सप्तमेश बृहस्पति पञ्चम भावमा रहेकाले मायाप्रीति र सौहार्द्रतामा बृद्धि भई पारिवारिक माहौल सुन्दर बन्ने समय छ । यस अवधिमा परिवारमा कुनै नौलो कुरो भित्र्याउन सक्नुहुन्छ । पारिवारिक आयस्रोतमा पनि बृद्धि हुनेछ । विद्यार्थीहरुका लागि पञ्चमेश शनिदेवले पाँचौं भावकै यात्रा गरेको समय हो, अतः यो व्यक्तित्व प्रदर्शन गर्ने, मिहिनेतपूर्वक सम्पन्न गरेको कुनै कुराको प्रेजेन्टेशनमा भाग लिने वा अन्तर्वार्ता वा प्रतियोगितामा भिड्ने समय रहेको देखिन्छ । अतः धैर्य र संयम भएर तैयारीमा जुट्नु राम्रो हुन्छ । व्यवसायीहरुका निमित्त राशिस्वामीका साथमा प्रायः महिनाभरि राहुको पनि उपस्थिति रहेकाले आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने समय हो, तर आकस्मिक खर्चमा बृद्धि हुने समय छ ।

सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

उपाय : यो महिना तपाईंको सप्तम भावमा प्रवेश गर्ने मंगल ग्रहको शान्तिका लागि जटावाल नरिवललाई सिन्दूरले रङ्गाएर, त्यसमा मौली सुप, तामाको पुरानो सिक्का, रक्त चन्दनसमेत राखी रातो कपडाले बाँधेर १२ गतेपछिको कुनै मङ्गलबारका दिन बग्दो पानीमा बगाइदिएमा शुभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट नवौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले नवौं भावमा, चन्द्रमाले छैटौं भावमा, मंगलले पाँचौं भावमा, बुधले नवौं भावमा, बृहस्पतिले चौथो भावमा, शुक्रले आठौं भावमा, शनिश्चरले चौथो भावमा, राहुले नवौं भावमा र केतुले तेस्रो भावमा उपस्थिति जनाएको देखिन्छ ।

मासाधिपति सूर्यले यो महिना तपाईंको राशिबाट नवौं भाव अर्थात् भाग्यभावको यात्रा गर्ने समय हो । उता राशिस्वामी शुक्रको प्रायः महिनाभरि अष्टम भावको यात्रा रहने समय छ । त्यसैले आमरूपमा यो महिना मिश्रित फलका साथमा उपस्थित भएको छ । यो महिना तपाईंमा आध्यात्मिक चेतनाको विस्तार हुनेछ, तर  यस अवधिमा पिता वा पितातुल्य व्यक्तिको स्वास्थ्यमा बाधा पुग्ने संकेत छ । त्यस्तै परिवारमा भाइ बहिनी आदिका कारण कुनै तनाव उत्पन्न हुनसक्छ । महिनाको प्रारम्भमा दैनिक र बाध्यताकारी खर्चको मात्रामा ह्वात्तै बृद्धि हुनसक्छ । राशिस्वामी शुक्र आठौं घरमा रहेकाले बढी आशावादी त बन्नुहुँदैन, यद्यपि केही लाभकारी काम बन्नसक्ने समय छ । अचानक लटरी, चिट्ठा, गुप्तधन आदिका माध्यमबाट हातमा नसोचेको धन प्राप्त हुने देखिन्छ, तर वास्तविकताभन्दा टाढाका अतीन्द्रिय विषयवस्तुमा मनको आकर्षण रहने समय हो, होस राख्नुपर्छ । खासगरी यो महिना ड्राइभिङ गर्दा, हातहतियारको प्रयोग गर्दा, आगो वा विषालु वस्तुको संसर्गमा रहँदा सतर्कता अपनाएको राम्रो हुन्छ ।

श्रमिक तथा कर्मचारीका लागि दशमेश चन्द्रमा षष्ठ भावमा बसेर तथा राशिस्वामी शुक्र अष्टम भावमा बसेर यी दुईका बीचमा संक्रान्तिका दिन षडष्टक सम्बन्ध बनेको देखिन्छ, त्यसैले यो महिना मनमा चिन्ता, शंका र प्रतिद्वन्द्विता बढ्ने समय छ, यस अवधिमा अहंकार, आवेग र रिसमाथि नियन्त्रण गरेको जाति हुन्छ । गृहिणीहरुका लागि सप्तमेश मंगलले पाँचौं र छैटौं भावको यात्रा गर्ने समय छ, छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । कार्यक्षेत्रमा उन्नति गर्ने अवसर पाइनेछ । चिन्ता हट्नेछ । महिनाको उत्तरार्द्धमा कम्मर वा हाडजोर्नीका समस्यमाले दुःख दिने लक्षण छ । विद्यार्थीहरुका लागि पञ्चमेश शनिदेवको चतुर्थ भावमा बक्र गतिमा उपस्थिति भएकाले कुनै विषयमा कमजोर हुनुहुन्छ भने यो महिना आफ्ना सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाति हुन्छ । व्यवसायीहरुका निमित्त राशिस्वामी शुक्रको पूरा महिना अष्टम भावको यात्रावधि भएकाले कार्यक्षेत्रमा चनाखो भएर नखट्नाले आर्थिक नोक्सानीको भय हुने समय छ । त्यसैले व्यवस्थापनका लागि गर्नैपर्ने केही कामहरूमा आफ्नै उपस्थिति र सहभागिता अनिवार्य छ भन्ने कुरो बुझ्नुपर्छ । साथै व्यवसायीहरूले व्यक्तिगत स्वास्थ्यप्रति सचेतता अपनाउनु राम्रो हुन्छ ।

सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।

उपाय : अष्टम भावमा रहेको राशिस्वामीको उपासना गरी शुभफल प्राप्तिको प्रयास गर्नुपर्दछ, त्यसैले यो महिना हरेक शुक्रवारका दिन सेतो गाईलाई चामलको पिठो खुवाउनु पर्दछ, उक्त गाईको पूजा गरी सेतो चन्दनको तिलक लगाउँदा शुभ हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट आठौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले आठौं भावमा, चन्द्रमाले पाँचौं भावमा, मंगलले चौथो भावमा, बुधले आठौं भावमा, बृहस्पतिले तेस्रो भावमा, शुक्रले सातौं भावमा, शनिश्चरले तेस्रो भावमा, राहुले आठौं भावमा र केतुले दोस्रो भावमा उपस्थिति जनाएको देखिन्छ ।

दुर्घटनाकारक भावमा सूर्यको उपस्थिति भएकाले अहिलेको समय हरेक काममा विघ्न र ढिलासुस्ती हुने समय हो । यद्यपि यस महिनाको १२ गतेपछि राशिस्वामी मंगलले चतुर्थ भावको यात्रा पूर्ण गरी पञ्चम भावमा प्रवेश गर्ने हुँदा केही पक्षमा राहतको महसूस हुनेछ । सामान्यतया यो महिना स्वास्थ्य र दुर्घटनाप्रति सचेत हुने समय हो । यस अवधिभित्र खानपान, आहारविहार र पथ परहेजमा ख्याल गरेको जाति हुन्छ । रिस्की र जोखिमयुक्त काम र क्रियाकलापभन्दा टाढा बसेको जाति हुन्छ । अष्टम भावमा बसेको सूर्यको धनस्थानमा पूर्ण दृष्टि हुने भएकाले धनमाल हराउने वा कमी आउने समय हो । उता राशिस्वामी मङ्गल ग्रहले चौथो घरमा भ्रमण भएकाले घरको सुख र आनन्दप्रति झुकाव बढ्ने समय हो । मन भावुक बन्ने समय हो । यदाकदा बाल्यावस्था वा अतीतका गतिविधिमा भुलिन पनि सक्नुहुन्छ । १२ गते राशिस्वामीले राशिपरिवर्तन गर्नेछ, त्यसपछि पुराना कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने समय आउने छ ।

श्रमिक तथा कर्मचारीका लागि दशमेश सूर्यले अष्टम भावमा यात्रा गरकाले मनमा अनावश्यक चिन्ता र भय सलबलाउने समय छ । यस अवधिमा कार्यक्षेत्रमा कामको चाप थपिन सक्छ, तर निरन्तर काममा घोरिनु भन्दा कहिलेकाहीं विश्राम लिने र मनोरंजनात्मक गतिविधिमा अलमलिएर शरीरलाई पुनर्ताजगी प्रदान गर्नु राम्रो हुन्छ । गृहिणीहरुका लागि सप्तमेश सातौं भावमा नै रहेकाले सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्ने छ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । विद्यार्थीहरुका लागि यो महिना पञ्चमेश बृहस्पतिले तृतीय भावको भ्रमण गर्ने समय भएकाले नजानेको विषयवस्तुका बारेमा दाजु/दिदी वा गुरु/गुरुआमाको सहायता लिंदा राम्रो हुने देखिन्छ । व्यवसायीहरुका निमित्त कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन । बरु ध्यान, अध्यात्म र योगातर्फ अनि सामाजिक र परोपकारी काममा मनको आकर्षण देखिन सक्छ । आम्दानीका दृष्टिले त्यत्ति उम्दा समय नभए पनि मन हलुका र चंगा हुने समय छ ।

सामान्यतया यस महिनाको ०७, ०८, ०९, १५, १६, १७, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।

उपाय : तपाईंले अष्टम भावमा रहने सूर्यको उपासनामा नै जोड दिनु बुद्धिमानी हुनेछ । कुनै आइतबारका दिन अन्धाश्रम, बृद्धाश्रम वा अस्पतालमा गई पाकेको अन्न दान गर्नाले सूर्य भगवान् प्रसन्न हुनुहुन्छ । त्यस्तै बेलुका सुत्ने वेलामा हरेक दिन तामाको पात्रमा शुद्ध जल ओछ्यानको सिराने भागमा राखी बिहान उठ्ने बितिक्कै बासी मुखमा उक्त पानी पिउने गर्दा पनि सूर्यको शुभप्रभाव प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट सातौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले सातौं भावमा, चन्द्रमाले चौथो भावमा, मंगलले तेस्रो भावमा, बुधले सातौं भावमा, बृहस्पतिले दोस्रो भावमा, शुक्रले छैटौं भावमा, शनिश्चरले दोस्रो भावमा, राहुले सातौं भावमा र केतुले प्रथम भावमा उपस्थिति जनाएको देखिन्छ ।

सातौं घर साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो, यो महिना यसै भावमा सूर्यले भ्रमण गर्ने समय हो । जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । सूर्यको पूर्णदृष्टि शिरमा पर्ने भएकाले महिनाको मध्यभागमा ज्वरोजन्य रोगको प्रभाव देखिन सक्छ, स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन कमजोरी बन्नसक्छन् । उता राशिस्वामी बृहस्पति ग्रह बक्रावस्थामा रहेर दोस्रो घरमा भ्रमण गरेको समयावधि चल्दैछ । यो समय मिठो खाने, राम्रो लगाउने र महँगा महँगा वस्तुको खरीद गर्ने इच्छाको जागृति हुने समय हो । कहिलेकाहीं सांसारिक सुखसुविधा भोग गर्न र मौजमस्तीमा धनखर्च गर्ने परिस्थिति पनि बन्नसक्छ । समग्र फललाई विचार गर्दा यसअवधिमा आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । प्रायः शुभफलकै आधिक्य भए पनि राशिमा बसेको केतु र सप्तम भावको राहुले केही नकारात्मकता प्रदान गर्न सक्छ ।

श्रमिक तथा कर्मचारीका लागि यो महिना दशमेश बुधले सप्तम भावको यात्रा गर्दैछ, अतः यो मन हलुका र चंगा हुने समयावधि हो । यस महिनाको केही समय व्यक्तिगत साजसज्जा, रूपविन्यास र सौन्दर्यप्रति आकर्षित बन्न सक्नुहुन्छ । गृहिणीहरुका लागि सुरुमा सप्तमेशले सातौं भावमा नै यात्रा गरिरहेको परिस्थिति छ, महिनाको पूर्वार्द्धमा आपसी सम्बन्धमा चिसोपन देखिन सक्छ, तर दाम्पत्य जीवनमा सकेसम्म एक–अर्काको खुसी र आवश्यकतालाई बुझी कार्य गर्ने प्रयास हुनेछ । विद्यार्थीहरुका लागि पञ्चमेश मंगलले तृतीय र चतुर्थ भावको यात्रा गर्नेछ, यस अवधिमा सामाजिकतामा बृद्धि हुनेछ, कुनै कोर्स अधुरो छ भने साथीहरूसँग छलफल गर्नुस्, त्यसमा अघि बढ्ने वातावरण बन्नेछ । व्यवसायीहरुका निमित्त यो महिना चतुर्दिक् समुन्नतिको समय हो । धन संग्रह हुने, वचत हुने तथा पुरानो ऋणभार घट्ने समय हो । यस अवधिमा भौतिक सम्पति तथा परिवारको खरखाँचोका वस्तुहरूको जोहो गर्ने परिस्थिति समेत बन्ने देखिन्छ ।

सामान्यतया यस महिनाको ०१, ०९, १०, ११, १८, १९, २७, २८, २९,  गते तपाईंका लागि अशुभ रहने छन् ।

उपाय : बक्र अवस्थामा रहेको राशिस्वामी बृहस्पतिको उपाय गर्नु राम्रो हुन्छ । तपाईंले यस महिनाको कुनै एउटा बिहीबारका दिन पहेंलो फलफूूल, रहरको दाल वा बेसार अनाथालय, बृद्धाश्रम वा मठमन्दिरमा दान गरेको राम्रो हो, साथै अनुकूल भएमा कुनै बिहीवारका दिन नौजना जति बृद्धबृद्धा भेला पारी पेटभरि खिर भोजन गराएमा पनि बृहस्पति प्रसन्न हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट छैटौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले छैटौं भावमा, चन्द्रमाले तेस्रो भावमा, मंगलले दोस्रो भावमा, बुधले छैटौं भावमा, बृहस्पतिले प्रथम भावमा, शुक्रले पाँचौं भावमा, शनिश्चरले प्रथम भावमा, राहुले छैटौं भावमा र केतुले बाह्रौं भावमा उपस्थिति जनाएको देखिन्छ ।

यो महिना सूर्यले तपाईंको राशिबाट छैटौं भावमा र राशिस्वामी शनिश्चरले बृहस्पतिका साथमा तपाईंको आफ्नै राशिमा भ्रमण गरेको समयावधि हो । षष्ठ भावमा रहने सूर्यको प्रभावले यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने त्यसलाई निराकरण गर्ने प्रयास सफल हुनेछ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । यो उधारो वा पुरानो कर्जा चुक्ता गर्ने समय हो, अनि कारोबार विस्तार गर्न वा कुनै दूरगामी कामका लागि ऋण काढ्ने समय पनि हो । यसै भावमा बुध र राहुसमेत बसेको हुँदा यस अवधिमा शत्रुपक्ष अर्थात् प्रतियोगी र प्रतिस्पर्द्धीसित सतर्कता नै अपनाउनु राम्रो हो । अतः कुनै विशेष कार्य योजना सफल बनाउने प्रक्रियामा हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । समय पूर्णतया अनुकूल नै हुनेछ, तर पनि छैटौं भाव झगडा र रोगको घर भएकाले व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु तथा रिस र आवेगमाथि कन्ट्रोल गर्नु आवश्यक छ ।

श्रमिक तथा कर्मचारीका लागि कर्मेश शुक्र ग्रहले पाँचौं भावको भ्रमण गरेको समय हो । यस अवधिमा अध्ययन/अध्यापन वा ज्ञानमूलक क्षेत्रको आकर्षण रहने छ । यो महिना छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुने समय पनि हो । गृहिणीहरुका लागि खर्चबर्चको मात्रामा बृद्धि हुने महिना हो । यस अवधिमा पतिबाट अपेक्षित स्नेह, सहयोग र सद्भाव मिल्ने नै देखिन्छ । दुई चार दिन माइतमा बित्ने वा माइतीपक्षसित भेटघाट गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरुका लागि पञ्चमेशले पाँचौं भावकै यात्रा गरेको समय भएकाले विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । व्यवसायीहरुका निमित्त राशिस्वामी स्वराशिमा रहेकाले आत्मबल र हिम्मत बढ्ने समय छ । यस अवधिमा अप्रत्यासित ढंगले आफन्त र सहयोगीहरूको साथ पाउनाले कुनै बिग्रनै लागेको काम सपारेर अघि बढ्ने समय आएको छ ।

सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१, २९, ३०, ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

उपाय :  यो महिना छैटौं भावमा रहेको भाग्येश बुधको बल प्राप्तिका लागि प्रयास गरेमा राम्रो हुने देखिन्छ । त्यसैले तपाईंले प्रत्येक हप्ताको बुधबारका दिन हरियो सागसब्जी वा चारो (घाँस आदि) गाईलाई खान दिंदा अथवा उक्त दिन हरियो फलफूूल वा तरकारी अनाथालय, बृद्धाश्रम वा मठमन्दिरमा दान गरेमा शुभफल प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट पाँचौं भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले पाँचौं भावमा, चन्द्रमाले दोस्रो भावमा, मंगलले प्रथम भावमा, बुधले पाँचौं भावमा, बृहस्पतिले बाह्रौं भावमा, शुक्रले चौथो भावमा, शनिश्चरले बाह्रौं भावमा, राहुले पाँचौं भावमा र केतुले एघारौं भावमा उपस्थिति जनाएको देखिन्छ ।

सन्तान, बुद्धि, विवेक, हृदय संवेद्यता बताउने पाँचौंभावमा सूर्यले गोचर गर्ने महिना प्रारम्भ भएको छ । पाँचौं भावको सूर्यले मिश्रित प्रभाव प्रदान गर्ने गर्दछ त्यसैले यस अवधिमा गृहस्थीहरूले बालबच्चाको पठनपाठन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । बृद्धबृद्धाले पेट र छातीमा समस्या छ भने अलि बढी सतर्कता अपनाउनु पर्दछ । अनि प्रेमजीवनमा रहेकाहरूले एकअर्काको भावना र संवेद्यताप्रति हेलचक्र्याइँ गर्नु हुँदैन । उता तपाईंको राशिस्वामी शनिश्चर बाह्रौं भावमा बक्र गतिमा रहेकाले बढी आशावादी बन्ने समय चाहिं देखिंदैन । समग्रतामा यो महिना धक मान्ने वा लज्जाबृद्धि हुने समय हो । त्यसैले कतिपय परिस्थितिमा हातैमा आइसकेको अवसरलाई पनि गुमाउन सक्नुहुन्छ । त्यस्तै यो आफ्नो कर्तव्य र उद्देश्य बिर्सिएर बरालिने समय पनि हो । त्यस्तै यदाकदा घमण्ड र अहंकार हाबी हुने तथा विवाद र तनाव बढ्ने परिस्थिति पनि बन्नसक्छ । व्यवहारिक हानि र नोक्सानीको समय भएकाले बजेट सन्तुलित बनाउन प्रयास गर्ने तथा तालसाँचो बलियो बनाउने समय पनि हो । आपसी सम्बन्धमा जिम्मेबार बन्ने प्रयास गर्नुहोला ।

श्रमिक तथा कर्मचारीका लागि यो महिना दशमेश मंगलले आफ्नै राशि र धनभावमा भ्रमण गर्ने समय भएकाले यो अवधि मनमा योजना र विचारहरू सल्बलाउने समय हुनेछ, तर त्यसलाई कार्यान्वयन तहमा उतार्न निकै परिश्रम र मिहिनेत गरेमा मात्र फल पाइने देखिन्छ । गृहिणीहरुका लागि सप्तमेश सूर्यले पञ्चम भावमा यात्रा गरिरहेकाले परिवार एवं साथीभाइसित रमाइलो जमघट हुने समय छ । पारिवारिक खुसी र सन्तानको हितमा कुनै काम लुकाएर गर्नुपर्ने वा गोप्य कर्जा बढाउने परिस्थिति बन्नसक्छ । विद्यार्थीहरुका लागि परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने प्रयास गर्नोस्, पञ्चमेश बुधले आफ्नै राशिमा सूर्यको साथ पाएको समय हो, सफलताको जडी सूत्र पत्ता लगाउन सक्नुहुन्छ । व्यवसायीहरुका निमित्त लगानीमा रहेको वा उधारोमा गएको धन प्राप्त हुने समय छ । कतैबाट आयमा आकस्मिक बढोत्तरीसमेत हुनसक्छ । तर ठूलो लगानीप्रति गम्भीर बन्नु नै जायज हुन्छ ।

सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २२, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।

उपाय : बाह्रौं भावमा रहेको राशिस्वामी शनिश्चरको बल प्राप्त गर्न हरेक शनिवारका दिन झिसमिसेमा नै पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु राम्रो हुनेछ । त्यस्तै नियमित रूपले शिव स्तोत्र व शनि स्तोत्रको पाठ गर्दा पनि राशिस्वामी शनिश्चरको फलमा शुभता प्राप्त हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट चौथो भावमा मास प्रवेश लग्न परेको छ भने सूर्यले चौथो भावमा, चन्द्रमाले प्रथम भावमा, मंगलले बाह्रौं भावमा, बुधले चौथो भावमा, बृहस्पतिले एघारौं भावमा, शुक्रले तेस्रो भावमा, शनिश्चरले एघारौं भावमा, राहुले चौथो भावमा र केतुले दसौं भावमा उपस्थिति जनाएको देखिन्छ ।

तपाईंको राशिबाट चौथो घर अर्थात् मातृसुख, वाहनसुख प्रदान गर्ने भावमा सूर्यको गोचर प्रारम्भ भएको छ । यस अवधिमा सामान्य विषयवस्तुमा पनि परिवारका सदस्यहरूका बीचमा विवाद हुनसक्छ, त्यस्तै घरमा बृद्धबृद्धा हुनुहुन्छ भने यस समयावधिभरि उहाँको सेवासुश्रुषामा ध्यानकेन्द्रित गर्नु बुद्धिमानी हुनेछ । अन्य पक्ष शुभ नै रहने छन्, जस्तै – आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति पनि बन्नसक्छ । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो । नयाँ घरघडेरीको जोहो गर्ने मानसिकता भएका व्यक्तिका लागि यो महिना उक्त कामका लागि उचित समय हुनसक्छ । त्यस्तै यो तपाईंको राशिस्वामी बृहस्पतिले एघारौं घरमा भ्रमण गरेर शुभफलको वर्षा गरिरहेको समय पनि हो । यस अवधिमा कुनै विशिष्ट व्यक्ति वा विद्वान्, अनुभवी वा जानकार व्यक्तिको सामीप्य पाइने एवं ज्ञान र पहुँचमा विस्तार गर्ने समय हो ।

श्रमिक तथा कर्मचारीका लागि लग्नेश र दशमेश दुबै बृहस्पति ग्रह नै हुने भएकाले र बृहस्पतिले राज्य स्थानमा भ्रमण गरेको हुँदा व्यक्तित्व विकास गर्न तथा ज्ञानमूलक काममा दिलचस्पी राख्ने समय हो । प्रतिस्पर्द्धी बलियो भएको समय छ । गृहिणीहरुका लागि सप्तमेश बुधले चतुर्थ भावको यात्रा गरेको समय भएकाले पतिको कार्यक्षेत्र, व्यापार वा व्यवसायबाट पर्याप्त लाभ मिल्नेछ । कुराकाट्ने शत्रु र प्रतिस्पर्धीले हानि पुर्याउन सक्दैनन् । बुढाबुढी वा परपाहुनाको हेरचाह र सेवाचाकरी गर्ने समय हो । विद्यार्थीहरुका लागि पञ्चमेश चन्द्रमाले संक्रान्तिका दिन लग्नमा भ्रमण गर्दैछ, अतः अब आलस्य नगरी केही नयाँ सिक्ने प्रयास गर्नु राम्रो हुन्छ । यो महिना तपाईंको बौद्धिक र प्राविधिक क्षमतामा सुधार हुने समय हो अनि भावी योजना कार्यान्यवन गर्ने आत्मविश्वास जाग्नेछ । व्यवसायीहरुका निमित्त कुनै नयाँ व्यापारमा आकर्षण छ भने व्यवसायमा लगानी बढाएर आम्दानीका स्रोतमा बृद्धि गर्न सक्नुहुन्छ । राज्यपक्षका कुनै काम बाँकी छन् भने त्यसलाई पूरा गरेमा फाइदा नै हुनेछ ।

सामान्यतया यस महिनाको ०७, ०८, ०९, १५, १६, १७, २४, २५, २६,  गते तपाईंका लागि अशुभ रहने छन् ।

उपाय : – चतुर्थ भावमा रहेको सूर्यको शुभफल प्राप्त गर्न तपाईंले पनि दिनहुँ सूर्योदयको १ घटिका (२४ मिनेट) भित्र स्नानादिबाट निवृत्त भई मह वा चिनी मिसाएर तामाको पात्रमा शुद्धजल वा गङ्गाजल राखी सूर्यलाई अर्घ्य दिंदा वा यस महिनाको हरेक आइतबारका दिन मध्याह्नकालमा कुनै पात्रमा गहुँ राखी रातो गाईलाई खान दिएमा शुभ हुनेछ ।

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ । उहाँ पूर्वेली न्जुजका स्तम्भकार समेत हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

आजको राशिफल / वि.सं. २०७७ आषाढ २३ गते मङ्गलबार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन

आजको राशिफल / वि.सं. २०७७ आषाढ २२ गते सोमबार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन

हेर्नुहोस आज २०७७ आषाढ २१ गते आइतबार जुन ०५ तारीखको राशिफल : संकटा माताले सबैको रक्षा गरुन्

हेर्नुहोस आज २०७७ आषाढ २० गते शनिबार जुन ०४ तारीखको राशिफल : माता पाथिभरा देवीले सबैको कल्याण गरुन

आज आषाढ १९ गते शुक्रबार (जुलाई ३ तारिख) माता पाथिभरा देवीकाे दर्शन गरि हेर्नुहोस आजको राशिफल

हेर्नुहोस आज असार १७ गते बुधबार जुलाई १ तारीखको राशिफल : आरध्यदेव श्री पशुपतिनाथले सबैको कल्याण गरुन

हेर्नुहोस आज असार १६ गते मङ्गलबार जुन ३० तारीखको राशिफल : माता पाथिभरा देवीले सबैको कल्याण गरुन

हेर्नुहोस आज असार १५ गते साेमबार जुन २९ तारीखको राशिफल : माता पाथिभरा देवीले सबैको कल्याण गरुन

हेर्नुहोस आज असार १४ गते आइतबार जुन २८ तारीखको राशिफल : माता पाथिभरा देवीले सबैको कल्याण गरुन

आजको राशिफल / वि.सं. २०७७ आषाढ १३ गते शनिबार || श्री पाथीभरा माताले सबैकाे कल्याण गरुन

तपाईको प्रतिक्रिया

Loading…