पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग गर्दै आएका छन् ।

सरकारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वउपप्रधान तथा मन्त्रीहरूसहित अन्य विशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि केहीले भने त्यसरी खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेका छन् । कतिपय पूर्वविशिष्टहरूले आफैं सुरक्षाकर्मीलाई फिर्ता पठाएका छन् ।

यसरी सुरक्षाकर्मी फिर्ता गर्नेमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीहरू रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, भीम रावल, कृष्णप्रसाद सिटौला, कमल थापा छन् । यस्तै, पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह र गोपालमान श्रेष्ठले पनि सुरक्षाकर्मी फिर्ता गरेका छन् ।

पूर्वगृहमन्त्री जनार्दन शर्मा र पूर्णबहादुर खड्काले पनि सुरक्षाकर्मी फिर्ता गरिसकेका छन् । उनीहरूले सशस्त्र प्रहरी प्रधान कार्यालयमा फोन गरेर नै सुरक्षाकर्मी फिर्ता पठाएका हुन् । यसैगरी, पूर्वमन्त्रीहरू रामशरण महत, शक्ति बस्नेत, गोविन्दराज जोशीलगायतले आफूसँग भएका दुई तिहाइ सुरक्षाकर्मी फिर्ता गरिसकेका छन् । यसरी फिर्ता भएका सुरक्षाकर्मीमध्ये धेरै सशस्त्र प्रहरीतर्फका छन् ।

गृह मन्त्रालयले कार्यविधिविपरीत पूर्वविशिष्टको सुरक्षामा ठूलो संख्यामा सुरक्षाकर्मी खटिएको र सुरक्षातर्फ अपुग भएपछि फिर्ता गर्ने गरी निर्णय गर्दै मन्त्रिपरिषद्मा कार्यविधि लगेको थियो । त्यसपछि गत ८ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वविशिष्टको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो ।

गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य पथिकले मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णयपछि धमाधम सुरक्षाकर्मी फिर्ता हुन थालेको बताए ।

‘मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने मन्त्रिपरिषद्को निर्णयपछि सुरक्षाकर्मी फिर्ता गर्ने क्रम सुरु भएको छ । सरकारले सीमा सुरक्षामा सुरक्षाकर्मी बढाएसँगै धमाधम फिर्ता हुने क्रम जारी छ । पूर्वप्रधानमन्त्री र पूर्वराजाबाट पनि अब फिर्ता होला,’ गृहमन्त्रीका राजनीतिक सल्लाहकार पथिकले राजधानीसँग भने ।

सशस्त्र प्रहरीका डीआईजी एवं प्रवक्ता प्रवीणकुमार श्रेष्ठले पूर्वउपप्रधान, पूर्वगृहमन्त्रीबाट सुरक्षाकर्मी फिर्ता भएको र पूर्वप्रधानमन्त्री र पूर्वराजाबाट फिर्ता भएकोबारे जानकारी नरहेको बताए ।

‘केही पूर्वउपप्रधान तथा पूर्वगृहमन्त्रीज्यूहरूबाट सुरक्षाकर्मी फिर्ता भएको जानकारी आएको छ तर पूर्वप्रधानमन्त्री र पूर्वराजाबाट फिर्ता भएकोबारे जानकारी छैन,’ डीआईजी श्रेष्ठले भने ।

सशस्त्र प्रहरीका अनुसार ८ वैशाखयता सशस्त्र प्रहरीतर्फका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भइसकेका छन् । यसरी फिर्ता भएका सुरक्षाकर्मीलाई सरकारले सीमा सुरक्षामा पठाउने बताउँदै आएको छ ।

सरकारले बनाएको नयाँ कार्यविधिमा भने पूर्वगृहमन्त्रीलाई दुई जना सुरक्षाकर्मी दिने उल्लेख छ । गृहले लगेको नयाँ कार्यविधिमा पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाका लागि भने ४ देखि ६ जना मात्रै दिने उल्लेख छ । तर, हालसम्म पूर्वप्रधानमन्त्रीको सुरक्षामा दुई दर्जनभन्दा बढी सुरक्षाकर्मी खटिँदै आएका छन् । कार्यविधिमा सुविधास्वरूप दिइँदै आइएको पछुवा गाडीसमेत फिर्ता गर्ने उल्लेख छ । सो कार्यविधि छलफलकै क्रममा छ ।

पूर्वराजपरिवारको सुरक्षामा समेत सयभन्दा बढीको संख्यामा सुरक्षाकर्मी खटिँदै आइरहेका छन् । पूर्वप्रधानमन्त्री र पूर्वराजपरिवारको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सुरक्षाकर्मी खटिँदै आएका छन् । पूर्वराजा र राजपरिवारको सुरक्षामा एक सय जनाको फौज परिचालित छ ।

पूर्वप्रधानमन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुरक्षाकर्मी नेकपा अध्यक्षसमेत रहेका पुष्पकमल दाहालको सुरक्षामा खटिएका छन् । उनको सुरक्षामा सशस्त्रका प्रहरीका ४८ सुरक्षाकर्मी खटिएका छन् । उनको सुरक्षाका लागि नेपाल प्रहरीबाट समेत डीएसपीको नेतृत्वमा छुट्टै समूह खटिएको छ । यसैगरी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकहाँ १४, माधवकुमार नेपालकहाँ १३, लोकेन्द्रबहादुर चन्दकहाँ १०, झलनाथ खनालकहाँ ९ र डा. बाबुराम भट्टराईकहाँ ८ जना सुरक्षाकर्मी खटिएका छन् ।

यस्तै, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सुरक्षामा सशस्त्रका ९ जना खट्दै आएको सशस्त्र स्रोत बताउँछ । गृहमन्त्री थापाले सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि २ वैशाखको मन्त्रिपरिषद् बैठकमा विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । ८ वैशाखको बैठकले भने कार्यविधिविपरीतका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय लिएको थियो । नयाँ कार्यविधि भने मन्त्रिपरिषद्बाट पारित हुन बाँकी छ । महेश गाैतमले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…