जति अपमानित भए पनि भारतले नेपालसँग वार्ता गरोस् : पूर्वराजदूत रञ्‍जित रे

काठमाडौ । नेपालका लागि भारतीय पूर्वराजदूत रञ्‍जित रेले नेपालसँगको सीमा समस्या समाधानका लागि भारतले तत्काल वार्ताको थालनी गर्नुपर्ने बताएका छन् । भारतीय पत्रिका दी प्रिन्टसँगको अन्तर्वातामा उनले भनेका छन्, नेपालसँगको सीमा समस्या गर्ने एकमात्र उपाय भनेको तत्काल नेपालसँग वार्ता सुरु गर्नुपर्छ । हामी जतिसुकै अपमानित भए पनि भारतले पुनः वार्ता सुरु गर्नैपर्छ ।

उनले नेपालमा रहेको भारतविरोधी भावना र विकसित भइरहेको चिनियाँ कार्डलाई सिध्याउन आवश्यक रहेकोसमेत उल्लेख गरेका छन् । उनले भने, नेपालको पूर्वनिर्धारित स्थिति भनेको कि त भारतविरोधी भावना र अर्को भनेको चिनियाँ कार्डको प्रयोग हो । यो दुवै कुरालाई नेपालबाट अन्त्य गर्नुपर्छ ।

नेपालको तीनैतिर भारतले घेरिएको र व्यापार र अन्य विश्वको पहुँचका लागि भारतमा भर पर्नु परेको थियो, उनले थपे, तर, भारतसँगको विवादका कारण नेपालको परराष्ट्रि नीतिको बृहत् राजनीतिक पहुँच स्थापना गरेको छ ।

पूर्वराजदूत रेले भारतले नेपालको सामु आफूलाई ठूलो दाइ भनेको तर नेपालप्रति गर्ने व्यवहार निष्पक्ष नहुँदाको परिणाम नेपालले नक्सा सार्वजनिक गरेकोसमेत उल्लेख गरेका छन् । उनले पछिल्लो समय नेपालमा चिनियाँ भूमिका बढ्दै गएको उल्लेख गर्दै भने, नेपालसँगको व्यापार, लगानी र कनेक्टिभिटीका परियोजनासहित चीन नेपालको आन्तरिक राजनीतिमा पनि चासो बढ्दै गएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रबाट अल्पमतमा परेको स्थितिमा नेपालका लागि चिनियाँ राजदूतले प्रधानमन्त्री ओलीलाई सत्तामा टिकाइराख्‍न सक्रिय भूमिका निर्वाह गरेको आरोप लगाएका छन् । उनले भने, प्रधानमन्त्री ओली पार्टीभित्रैबाट र विभिन्‍न मुद्दाहरुमा अलोकप्रिय भइरहेका बेला उनले चिनियाँ कार्ड प्रयोग गरेर आफ्नो सत्ता बचाएको स्पष्ट देख्‍न सकिन्छ ।

नेपालले २० मेमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतले उक्त नक्सा स्वीकार्य नहुने प्रतिक्रिया दिएको थियो । यसअघि ३ नभोम्बर, २०१९ मा भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले आपत्ति जनाउँदै भारतलाई वार्ताका लागि आह्वान गरेको थियो । तर, भारतले नेपालको पत्रको कुनै जवाफ पठाएन ।

कोरोना संक्रमणको महामारीसँग मुलुकहरु लडिरहेका बेला ८ मेमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडकको उद्घाटन गरेपछि सीमा समस्याको मुद्दा चर्किएको हो । नेपाली जनताको चर्को दबाबपछि नेपाल सरकारले आफ्नो राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । अहिले उक्त नक्सालाई वैधानिकता प्रदान गर्न नेपाल सरकारले आफ्नो निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । जनबाेली

तपाईको प्रतिक्रिया

Loading…