अब त ‘लकडाउन’ खोलौं !

नेपालमा पनि (कोभिड–१९) को असर व्यापक हुने लक्षण वा भनौं संकेतहरु देखा परेपछि सुरुमा नेपाल सरकारले विसं २०७६ चैत ११ गतेदेखि १७ गतेसम्म एक हप्ताका लागि ‘लक डाउन’ गर्ने घोषणा गरेको थियो । तर, चैतको १५–१६ ताका नेपालको सुूदरपश्चिममा (कोभिड–१९) को ‘स्टेज–२’ (विदेशबाट आएकाले नेपालमै रहेका आफन्तलाई सारेपछि) देखा परेपछि नेपाल सरकारले फेरि अर्को १ हप्ताका लागि अर्थात् चैत २४ गतेसम्मका लागि लकडाउन थप्यो । त्यसलाई पनि अधिकांश नेपाली जनताहरुले सहर्ष स्वीकारे । तर, यसबीचमा (कोभिड–१९) को संक्रमितहरुको संख्या स्थीर रहनु वा घट्नुको सट्टा झनै बढ्दै गएपछि अझ भएन भनेर नेपाल सरकारले पनि लकडाउन पनि एकैचोटि (२ वर्षका लागि !) विसं २०७७ वैसाख १५ गते रातको १२ बजेसम्म लागू हुने गरी थप्यो ।

त्यसबीचमा पनि कोरोनाको संक्रमण घट्नेभन्दा पनि झनै बढ्दै गएपछि सरकारले फेरि जेठ ५ गतेसम्म लकडाउन थप्यो । यो बीचमा पनि कोरोनाको संक्रमण घट्ने होइन कि, फेरि पनि बढेको बढै गर्यो । फलतः सरकाले पनि लगडाउन थप्दै गयो, थप्दै गयो । जबकि यो बीचको लगभग दुई महिनामा पनि नेपालमा कोरोनाको संक्रमित भए-नभएको बारेचाहिँ सरकारले खासै चासो दिएन-गरेन । बरु यो बीचमा सरकारी कर्मचारी र प्रहरी प्रशासनले चिनजान र भनसुनको भरमा जताभावी पास बाँड्ने गर्यो । त्यस्तै भारततिरबाट पनि यो बीचको समयमा भारतमा रोजगारीका लागि गएको प्रशस्तै नेपालीहरु पनि फर्के । फलतः नेपालमा लकडाउनको खासै अर्थ भएन । अथवा हामी नेपालीहरुले लकडाउनलाई सही अर्थमा बुझेनौ वा भनौं हामीले लकडाउनको महत्वलाई वास्ता गरेनौं । त्यसैले जेठ २० गतेपछि के हुने हो ? थाहा छैन ।

वास्तवमा (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारी तलसम्म (संक्रमित व्यक्तिले अर्को व्यक्ति वा पूरै घरपरिवार र समाजलाई) संक्रमित नगरोस्÷भाइरस नसारोस् ! भनेर अपनाउने सबैभन्दा उत्तम उपायको रुपमा रहेको ‘लकडाउन’ नै देखिएको छ । त्यसैले (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारी तलसम्म नफैलियोस् भनेर विश्वका अधिकांश देशहरुले ‘लकडाउन’ वा संकटकालको मोडल लागू गरे । फलतः नेपाल सरकारले पनि विश्वका अन्य केही देशहरुले झै ‘लकडाउन’कै उपाय अवलम्बन गरेको छ, अहिलेसम्म । तर, त्यति हुँदाहुँदै पनि लकडाउन ताका नेपालमा १–२ जनामा मात्रै देखिएको (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको लक्षण अहिले आएर ६०३ जनामा देखिई सकेको अवस्था छ भने, ३ जनाले ज्यान गुमाई सकेका छन् । त्यसैले यस विषयमा सरकारको कमजोरी कहाँ रह्यो ?, किन यस्तो अवस्था आयो ? गम्भीर रुपमा छलफल र बहस हुनुपर्ने देखिन्छ । समाज न हो, त्यसैले केही मानिसहरु अझै पनि बिना काम ‘लकडाउन’लाई खेलाँची ठानेर जताभावी लखर–लखर हिँडी रहेकै छन् ! केही मानिसहरु बिना काम गाडी हाँकेर सडकमा निक्लिरहेकै छन् ।

हुन पनि विश्वका लगभग १ चौथाई जनसंख्या (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको आतंक र त्रासबीच ‘लकडाउन’ र ‘संकटकाल’को सामना गर्दै प्रत्यक्ष रुपमा कष्टकर जीवन बाँची रहेका छन् भने अरु अरबौं मानिसहरु (कोभिड १९) को अप्रत्यक्ष असरको मारमा परेका छन् । त्यसो त राज्य व्यवस्था राम्रो भएको, सरकार विश्वासिलो एवम् दह्रो भएको र, सुशासनको ग्यारेन्टी भएको देशको जनताहरुलाई त ‘लकडाउन’ र ‘संकटकाल’ले खान नपाएर आज मर्ने कि ? भोलि मर्ने ? भन्ने पीर छैन ! खालि उनीहरुको व्यक्तिगत स्वतन्त्रताको मात्रै हनन् भएको महसुस भएको छ ! मतलब यो अवस्थामा उनीहरु आफूले चाहेअनुसार घुमफिर गर्न र चाहेअनुसारको … गर्न मात्रै पाई रहेका छैनन् ।

अर्थात् उनीहरुलाई ‘लकडाउन’ र ‘संकटकाल’ अवधिभरि के खाने ?, कसरी बाँच्ने ? भन्ने र अहिले के खाऔं, भरे के खाऔं ? भोलि के … ? भन्ने खासै चिन्ता छैन । किनभने, ती देशका सरकारले नै आप्mनो जनताहरुका लगि सबै कुरोको व्यवस्था गरी दिएको छ । किनकि, ती देशका सरकार तथा राज्य प्रमुखहरु र नीति निर्माण गर्ने तहमा बसेकाहरुले ‘मानव पुँजी’ भनेको के हो ? भन्ने राम्रोसँग बुझेका छन्, आत्मसाथ गरेका छन् । तर, नेपाल, भारत (भारतले सरकारले नगद र खाद्यान दिएको थियो), पाकिस्तान, बंगलादेश आदि देशका सरकार प्रखुम, राज्य प्रमुख र नीति निर्माण तहमा बसेकाहरुलाई त ‘मानव पँुजी’ न मानव सु… ! उनीहरु जसरी बाँचून् मतलब छैन ! खालि हात ‘लकडाउन’ अवधिभर घरभित्रै बस, बाहिर–फेर हिँडडुल नगर ! खबरदार ! तिमीहरु ‘लकडाउन’को समयमा घरबाहिर हिँडडुल गरेमा हाम्रा सुरक्षाकर्मीहरुले पक्डेर … बेर छैन ! भन्छ ।

त्यसैले हामी जस्ता साँच्चैको गरिब र गरिबका बच्चा–बच्चीहरु ‘लकडाउन’ अवधिभर के खाएर बाँच्ने सरकार ?

अझ कोरोनाको सुरुवात ताका सम्माननीय राष्ट्र प्रमुख ज्यु नै (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको आतंक र त्रासले ‘चिहिल–बिहिल’ भएका निम्छरो जनताहरुलाई ‘भावनामा नबग्न !’ सम्झाउनु भएको थियो, अर्ती उपदेश दिनु भएको थियो । जबकि, सम्माननीय राष्ट्र प्रमुख ज्युले (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको आतंक र त्रासले ‘चिहिल–बिहिल’ भएका निम्छरो जनताहरुलाई अरु केही नभए पनि लकडाउन अवधिभरिका लागि कम्तीमा ‘रासन–पानी र ओतको व्यवस्थपन गर सरकार !’ भनी सरकार वा सरकार प्रखुमलाई दीशा–निर्देश दिनु÷गर्नु पथ्र्यो । उता, सरकार प्रखुम झन् के कम ! उहाँले पनि ‘लकडाउन हाम्रा (सरकार) का लागि होइन, तिमी निम्छरो जनताहरुकै लागि हो !’ भनी सम्झाउनु भएको थियो, अर्ती उपदेश दिनु हुन्छ ।

‘भि–टेन’ हो कि कसले हो– ‘हामी यस्तै त हो नि ब्रो, हामी यस्तै … भने जस्तै ‘हामी यस्तै त हो नि !, हामी यस्तै त … !, हामी यस्तै … ! हामी … !

नत्र भने, केही समयअघि सम्माननीय राष्ट्रपति ज्युले वाचन गर्नु भएको नेपाल सरकारको आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रमको जुन भाषण थियो, त्यसमा (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको आतंक र त्रासले ‘चिहिल–बिहिल’ भएका निम्छरो जनताहरुलाई अरु केही नभए तापनि लकडाउन अवधिभरिका लागि कम्तीमा ‘रासन–पानी र ओतको व्यवस्थपन सरकारले गर्ने छ !’ भनी आउनुपथ्र्यो । तर, अहँ आएन । धेरै मान्छेहरुले यस्तो कार्यक्रम आउला भन्ने आशा गरेका थिए । सायदै अब आर्थिक वर्ष २०७७÷०७८ को बजेट भाषणमा पनि (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको आतंक र त्रासले ‘चिहिल–बिहिल’ भएका निम्छरो जनताहरुलाई समेट्ने आर्यक्रम आउला ?

त्यस्तै यो पंक्तिकारलाई अचम्म लागि रहेको विषय के छ भने, हालसम्म नेपालका भाइरल रोग विज्ञ, जनस्वस्थ्य विज्ञ लगायत अन्य विषय विज्ञ र डाक्टरहरुले पनि नेपाल सरकार वा सरकार प्रखुम अथवा सरकारी निकायलाई आफ्नाे देशका निम्छरो जनताहरुलाई कोरोनको कहरसँगै लकडाउनको बीचमा आईपर्ने भोकमरीबाट कसरी बचाउने ? भन्नेतर्पm दीशा–निर्देश गर्ने खालको लेखहरु भने किन नलेखेका हुन् ? किन सरकारलाई आप्mनो देशको महत्वपूर्ण पुजी (मानवपुँजी) को रुपमा रहेका जनताहरुलाई बचाउन भोकमरीबाट बचाउने बारे नलेखेको÷सुझाव नदिएको ? तर, आफू चाहिँ उहाँहरुले यो कोणबाट पनि लेखहरु लेख्नु पथ्र्यो कि ? भन्छु । तर, उनीहरु (विषय विज्ञ, विशेषज्ञ र डाक्टर भनिने) ले पनि ‘जो होचो उसैको मुखमा …’ भने जस्तै खालि निम्छरो जनतालाई नै ‘यसो गर, उसो उसो नगर, यसरी बस, उसरी नबस ।’ भन्ने अर्ती–बद्धि ! दिएको लेखहरु मात्रै लेखेको देखियो । त्यसैले अब मान्छेहरु कहिलेसम्म भोकभोकै भएर लकडाउन मानेर बस्लान् ? प्रश्न उठ्न थालेको छ है, सरकार तथा नेपालका भाइरल रोग विज्ञ, जनस्वस्थ्य विज्ञ लगायत अन्य विषय विज्ञ र डाक्टर ज्युहरु !?

हुन त हिजो मात्रै (११ जेठ २०७७) ‘अर्थसन्सार अनलाइन’मा एक जना पाण्डे थरका जनस्वास्थ्य विज्ञ डाक्टर साबले कोरोनाको वेला जनता (कोरोनाका बिरामी) हरुले गर्न हुने÷नहुनेबारे २० बुँदे सुझातात्मक लेख लेखेका थिए । यो पंक्तिकार पनि बढ्दै जान्ने भएर १ बुँदा थपेर २१ बुँदे बनाएर डाक्टर, नर्स, टिकट काउन्टर, क्यास काउन्टरमा बस्ने स्टाफ लगायत अन्य स्टाफहरुले पालना गर्नुपर्ने बुँदा पनि थप्नुपर्ने भनी कमेन्ट गरेको थियो । किनभने, धेरै जसो बिरामीहरुले डाक्टर, नर्स लगायत स्टाफले आफू हरुलाई नहेरेको मात्रै होइन कि, छिः छि र दूर–दूर गर्छन् भन्ने गुनासोहरु धेरै नै आई रहेको अवस्था छ । कति त सन्चारमाध्यममा आउँदैनन् । यसको अर्थ डाक्टर, नर्स, टिकट काउन्टरमा बस्ने स्टाफ, क्यास काउन्टरमा बस्ने स्टाफ लगायत अन्य स्टाफहरुलाई हतोत्साहित गर्न खोजेको पक्कै होइन ।

त्यस्तै हिजै मात्र काठमाण्डौको कीर्तिपुरमा एक जना भरिया कोरोनाको कारण सुरु भएको लकडाउनका कारण काम नपाएर र, खान नपाएर सडक–पेटीमै मरेको समाचार आएको केही अनलाइनमा छापिएको थियो । सरकरले यसरी जनतालाई बिना राहत प्याकेज वा व्यवस्थापन नगरी लकडाउन गर्दा ती भरिया जस्तो निम्नस्तरका धेरै मान्छेहरु मर्ने भनी लेखेको । त्यसैले सो बारे पनि डा. साबहरुले लेख्नपर्ने सुझाव दिएको थियो । तर, आज दिउँसो अर्थसन्सार अनलाइन खोलेर डा. पाण्डेको सो २० बदे सुझातात्मक लेख हेर्दा कुनै पनि शीर्षकमा थिएन । यसको मतलब अर्थ सन्सार अनलाइन आफैले हटाएको हो कि ? डा. साबले हटाउन लगाए ? यो पंक्तिकारलाई थाहा हुने कुरो भएन ।

अब निम्छरो जनताहरुलाई भावनामा नबग्ने उपदेश, खान पाऊ कि नपाऊ, घरभित्रै बस भन्ने अर्ती–बद्धि ! दिएर मात्रै पुग्दैन, त्यसैले नेपाल सरकार र नेपालका भाइरल रोग विज्ञ, जनस्वस्थ्य विज्ञ लगायत अन्य विषय विज्ञ र डाक्टर एवम् नर्स ज्युहरुले कि त ‘लकडाउन अवधिभरि’का लागि खाद्यान तथा अन्य आधारभूत आवश्यक्तको परिपूर्ति सरकारले गर्ने व्यवस्था गर्नु पर्यो, होइन भने सामाजिक दूरी कायम गर्दै ‘लकडाउन’ खोल्नु पर्यो । मर्ने मर्छन् बाँच्ने बाँच्छन् !? के गर्ने ? भन्ने व्यक्ति स्वयम्ले बुभ्mने र उसैले विवेक प्रयोग गर्ने कुरो हो ।

नत्र भने विगत लामो समयदेखि कीर्तिपुर–१० को बजार क्षेत्रमा भरियाको काम गरेर जीवन चलाई रहेका धादिङ जिल्लाका सूर्यबहादुर तामाङ जसरी मरे, त्यसरी मर्नेहरुको संख्या लामै हुने छ ।

तपाईको प्रतिक्रिया

Loading…