सुनसरीमा डिएसपी बिनोद शर्मा विरुद्ध पत्रकार सम्मेलन

इनरुवा / सुनसरीको भाण्टाबारीमा डिएसपी बिनोद शर्मा बिरुद्ध पत्रकार सम्मेलनको आयोजना गरिएको छ । निर्दोष व्यक्तिलाई हतियार र लागुऔषध राखेर फसाएको भन्दै सुनसरीको कोशी गाउँपालिकाका जनप्रतिनिधिले प्रहरी विरुद्ध पत्रकार सम्मेलनको आयोजना गरेका छन् । भाण्टाबारीमा पत्रकार सम्मेलनको आयोजना गरी वडाध्यक्ष विन्देश्वर यादव सहितका स्थानीय अगुवाहरुले कृश भनिने कृष्ण कुमार यादवलाई प्रहरीले सुनियोजित रुपमा फसाउन खोजेको आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्नेहरुले जिल्ला प्रहरी कार्यालय सुनसरीबाट भाण्टाबारी बजार पुगेको डिएसपी बिनोद शर्मा नेतृत्वको टोलीले कृशलाई पक्राउ गरी लगेकोमा भोक्राहा खण्डमा पुगी हतियार र लागुऔषध गाडीमा राखी मुचुल्का बनाएको आरोप लगाए । जनप्रतिनिधि सहितको उपस्थितीमा कृशलाई नियन्त्रणमा लिइरहँदा प्रहरीले आफुहरुमाथि देखाएको व्यवहार समेत खेदजनक रहेको उनीहरुको भनाई थियो ।

पक्राउ गर्दैगर्दा गाडी सर्च गरिएको र पानीका बोतल बाहेक केहि नभेटेको अवस्थामा कृश र उनका चालकलाई नियन्त्रमा लिइ लगेकोमा भोक्राहामा गाडी रोकी हतियार र लागुऔषध भेटिएको भनि गरिएको मुचुल्का प्रकृया बनावटी र सुनियोजित भएको पत्रकार सम्मेलनमा दाबी गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै निर्माण व्यवसायी तथा नेता अजय कुशियतले प्रहरीको व्यवहार र शैली शंकास्पद र सुनियोजित देखिएकाले निस्पक्ष छानबिनकालागि राष्ट्रिय मानव अधिकार सम्म गुहारिने बताए । उनले उक्त घटनाको निष्पक्ष छानविन हुनु पर्ने समेत बताए ।

कुशियतले कृश सहित उनको गाडी भाण्टाबारीबाट नियन्त्रणमा लिएको भएपनि सप्तरीबाट सुनसरी तर्फ आउँदै गरेको सूचनाका आधारमा पूर्व पश्चिम राजमार्ग अन्र्तगत भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ४ को राजमार्गमा आउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको बताउनुले समेत घटना सुनियोजित रहेको पुष्टि हुने बताए । कुशियतले भने, “प्रहरीले कृश र उनको गाडी भाण्टाबारीबाट नियन्त्रणमा लिएको सीसी क्यामेरा स्पष्ट देखिन्छ । नियत के हो स्पष्ट छ । ”

सुनसरी प्रहरीले भने कृशको सम्वन्धमा कटुवा पेस्तोल र सोमा लाग्ने तीन राउण्ड गोली सहित लागुऔषध बरामद गरिएको जनाएको छ । प्रहरीले हातहतियार खरखजाना ऐन तथा लागु औषध नियन्त्रण ऐन बमोजिम म्याद थप गरी अनुसन्धान जारी रहेको जनाएको छ । सुनसरी प्रहरीले कृश नेपाल र भारतमा घटाइएका विभिन्न घटनामा संलग्नताका आधारमा मस्ट वान्टेडको सूचीमा रहेका व्यक्ति भएको बताएको छ । कृशलाई यसअघि समेत सुनसरी प्रहरीले दुई पटक पक्राउ गरेता पनि छाडेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…