विराटनगरमा औषधि व्यवसायीको शंकास्पद मृत्यु , श्रीमती र अरु औषधि व्यवसायीमाथि प्रहरीले थाल्यो अनुसन्धान

विराटनगर / विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको मृत्यु भएको घटनालाई शंकास्पद मान्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । दुलाललाई कोसी अस्पतालले बिहान ३ बजे मृत घोषित गरेको थियो । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीय दुलाल विराटनगर महानगरपालिका–१० मधुमारामा श्रीमती र ८ वर्षका छोरासहित डेरामा बस्दै आएका थिए । उनले डेरा बसेकै घरबाट देवी माँ पाथीभरा फर्मा नाम दिएर औषधिको डिलर सञ्चालन गर्दै आएका थिए ।

सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएको भन्दै उपचारका लागि कोसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गर्दै मृत्यु अस्वभाविक रहेको जानकारी दिएकाले प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले दुलालको मृत्युलाई स्वभाविक मान्न नसकिने बताए । श्रीमती मीना श्रेष्ठ दुलाल, छिमेकी कल्याण राजवंशी र अर्का औषधि व्यवसायी धनबहादुर काफ्ले मिलेर उपचारका लागि कोसी अस्पताल लगेका थिए ।

डीएसपी राईका अनुसार दुलालको नाक, हात, घाँटी र वायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव रहेकाले घटनालाई शंकास्पद मानिएको हो । ‘शरीरका विभिन्न भागमा आक्रमण गरे जस्तो देखिने शंकास्पद चोटहरु रहेका थिए । घाँटीमा डोरीले कसेको डाम रहेको पाइयो,’ उनले भने, ‘मुखबाट रगत बगिरहेको थियो । सुतेको ओछ्यानमा रगत लतपतिको भेटियो ।’

प्रहरीले घटनालाई शंकास्पद मान्दै दुलालकी श्रीमती मीना, विराटनगरकै औषधि व्यवासायीहरु धनबहादुर काफ्ले र हरिमोहन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि सोधपुछ गर्दै घटनाको अनुसन्धान गर्ने काम भइरहेको जानकारी राईले दिए । प्रहरीकाअनुसार औषधि व्यवसायी काफ्ले र श्रेष्ठ राति अवेरसम्म दुलालकै कोठामा मदिरा सेवन गर्दै बसेको खुलेको छ । ‘मदिरा सेवन गरेर दुई जना त्यहाँबाट हिँडेको र दुलाल आफ्नै कोठामा सुतेको भनिएको छ,’ डीएसपी राईले भने ‘सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको भनिए पनि घटनालाई त्यति सहज लिन सक्ने अवस्था छैन ।’

प्रहरी नियन्त्रणमा रहेकी श्रीमती मीनाले श्रीमान उच्च रक्तचापको बिरामी रहेको र त्यही कारणले मृत्यु भएको हुन सक्ने दाबी गरेकी छन् । ‘हामी एउटै कोठाको अलग–अलग ओछ्यानमा सुतेका थियौं । ब्यूँझिएर बिहान हेर्दा उहाँ बेहोस हुनु हुन्थ्यो,’ मीनालाई उद्रित गर्दै प्रहरीले भन्यो, ‘त्यसपछि उहाँकै साथी र छिमेकी समेतलाई बोलाएर उपचारका लागि लिएर गयौँ । तर उपचार सफल बनाएर जीवितै घर फर्काउन सकेनौं ।’

तर प्रहरीले भने घटनाको प्रकृति हेर्दा कुटपिट गर्दै घाँटी कसेर हत्या गरेको जस्तो देखिने बताएको छ । डीएसपी राईले राति अवेरसम्म दुलालकै कोठामा मदिरा सेवन गरेर बसेको खुलेपछि अरु दुई जना औषधि व्यवसायीलाई नियन्त्रणमा लिइएको बताए । त्यस्तै एउटै कोठामा सुतेका श्रीमानको मृत्यु हुँदा पनि थाहा नपाएको बताएपछि र शव हेर्दा मृत्यु अस्वभाविक देखिएपछि श्रीमतीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ थालिएको उनको भनाइ छ ।

दुलाल र मीनाका ८ वर्षका छोरा छन् । डीएसपी राईले शवलाई पोस्टमार्टमकालागि कोसी अस्पतालमा राखिएको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वस्ताविकता बाहिर आउने बताए ।

तपाईको प्रतिक्रिया

Loading…