२०७७ साल ज्येष्ठ महिनाको मासिक राशिफल, यि राशिहरूकाे चम्किनेछ भाग्य

ज्येष्ठ महिनाको सङ्क्रान्ति बिहीवारका दिन र यस महिनाको अमावस्या शुक्रवारका दिन परेको देखिन्छ । त्यस्तै सूर्यको राशि सङ्क्रमणको समयमा धनु लग्न, कृष्णपक्षको अष्टमी तिथि, धनिष्ठा नक्षत्र, ब्रह्म योग, बालब करण, ध्वज आनन्दादि योग र मकर राशिको चन्द्रमा रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले ज्येष्ठ महिनाभरि बृष राशिमा विचरण गर्ने गर्दछन्, संक्रान्तिको समयमा बृष राशिमा सूर्य, बुध र शुक्र, मिथुन राशिमा राहु, धनु राशिमा केतु, मकर राशिमा चन्द्रमा, बृहस्पति र शनिश्चर तथा कुम्भ राशिमा मंगल ग्रहको उपस्थिति रहेको देखिन्छ । यो महिना सूर्यले कृतिका, रोहिणी र मृगशिरा नक्षत्रको भ्रमण गर्ने समय हो । मोटामोटी २÷२ दिनमा राशि परिवर्तन गर्ने चन्द्रमाका अतिरिक्त यस महिनाको १२ गते बुधले आफ्नो घर मिथुन राशिमा प्रवेश गर्नेछ । अन्य ग्रहको राशिमा कुनै परिवर्तन हुने संकेत छैन । यो महिना नैसर्गिक रूपमा बक्री रहने राहु र केतुबाहेक बृहस्पति, शनिश्चर र शुक्र ग्रह पनि बक्र गतिमा रहने छन्, त्यस्तै जेठ १७ गतेदेखि २६ गतेसम्म शुक्र अस्ताउने समय हो ।

यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा यो महिना बिहीवारको संक्रान्ति, शुक्रवारको औंसी तथा संक्रान्तिको वेलामा धनु लग्न रहनु सकारात्मक र आशावादी समय नै भन्नुपर्छ । आम जनमानसमा सुखसन्तुष्टि र अनुकूलताको समय नै रहने छ । खाद्यान्न, दाल, सब्जी आदि दैनिकीमा प्रयोग हुने वस्तुको मूल्यमा स्थिरता नै रहने छ । पहेंला वस्तुहरू, गहना, आभूषण लगायत शृङ्गारिक सरसामानको दाम बढ्ने छ । त्यस्तै रसादि वस्तु दुध, दही, जुस, मह, घिउ, तेलजस्ता तरल पदार्थको उत्पादनमा बृद्धि हुनेछ, साथै दुग्धजन्य वस्तुको मूल्य पनि बढ्ने छ । यी शुभ परिणाम देखिए पनि संक्रान्तिको समयमा मासलग्नको दोस्रो भाव अर्थात् धनस्थानमा विषयोग बनेको हुँदा जनताले अझै बोल्ने र आर्थिक क्रियाकलापमा सक्रियता देखाउने समय आएको छैन । देशका ठूलै मानिने कुनै व्यक्तित्वको हानि हुनसक्छ । सरकारी प्रतिष्ठान, कारागृह, औषधालय, धार्मिक संघसंस्था आदिमा अराजकता देखिन सक्छ । श्रममूलक काममा संलग्न व्यक्तिले सन्तोषको सास फेर्न पाउँदैनन् । देशको पूर्वी भागमा प्राकृतिक प्रकोप तथा पश्चिमी भागमा रोगव्याधि एवं जनविद्रोहको परिस्थिति बन्नसक्छ । पूँजीबजार र शेयर मार्केटमा भारी गिरावट आउन सक्छ, तर जुवाजन्य क्रियाकलापमा बृद्धि हुने लक्षण छ । रोगव्याधिमा कुनै कमी आउने लक्षण छैन, अझ नयाँ रोग देखापर्न सक्छ । त्यसैले संयमता कायम नै राख्ने परिस्थिति देखिन्छ । पशुचौपायामा पनि रोगव्याधि देखा पर्ने संकेत छ । १२ गते बुध ग्रहले आफ्नो राशिमा प्रवेश गरेपछि केही आशावादी बन्ने अवस्था देखापर्न सक्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

तपाईंको राशिबाट सूर्यदेवले दोस्रो भावमा रहेको धनस्थानमा प्रवेश गर्दैछन् । अब कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय आएको छ, सामाजिक सर्कलमा नाम÷सुनाम चल्ने र साख बढ्ने संकेत छ । यो धनवृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ मिल्नेछैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको हिमचिम र भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । सूर्यको यस गोचरको प्रभावले शिक्षार्थीहरूले राम्रो नतिजा प्राप्त गर्नेछन् । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ ।

यो प्रेम जीवन र दाम्पत्य सम्बन्धमा नोकझोक चलिरहन्छ, तर प्रेमसम्बन्ध झन् प्रगाढ बन्दै जानेछ । बन्दव्यापार र पेसागत जीवनमा पनि शुभफल र सन्तोषजनक परिणाम प्राप्त हुनेछ । समग्रमा सूर्यको यस गोचरको प्रभाव सन्तोषप्रद नै रहे पनि दोस्रो भावमा बसेका क्रूर ग्रहले केही अशुभ परिणाम पनि प्रदान गर्दछन्, जस्तै, दोस्रो भाव भनेको मुख पनि हो । बोलीमा कडापन देखिने छ, त्यसैले अब एक महिनासम्म मुखलाई नियन्त्रणमा राखेको जाति हुन्छ । यसै अवधिमा आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा छ, अतः प्रकृतिमा अलि कडापन र कठोरता देखापर्न सक्छ । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना हुन्छ, सचेत हुनुपर्छ ।

राशिस्वामी मङ्गल एघारौं घरमा रहेको छ । यसको प्रभावले मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । आय आर्जनका मार्गमा बढोत्तरी हुनेछ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १४, १५, २२, २३, २४, ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

तपाईंको आफ्नै राशिमा सूर्यको प्रवेश हुँदैछ । यस राशि परिवर्तनको प्रभावले तपाईंले पेसा, व्यवसाय, रोजगारी आदिमा केही राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । कुनै महत्त्वाकांक्षी र स्थिर काम सम्पन्न हुने समय आएको छ । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ ।

यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । यो समय अल्छी गर्ने वा अकर्मण्य हुने होइन काम गरेर देखाउने समय हो । त्यसैले लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ, सफलताले तपाईंको हात चुम्नेछिन् । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, तपाईमा अहंकार र आडम्बरको भावना पनि विकसित हुनसक्छ । स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ, त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ ।

राशिस्वामी शुक्र पहिलो घरमा रहेको छ । यसको प्रभावले सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्ने छ, साथीभाइ र मित्रवर्गले पनि साथ दिनेछन् । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । थोरै मिहिनेत गर्दा पनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । ललितकला, सङ्गीत एवं साहित्यमा रूचि जाग्ने छ । सानातिना रोगले अस्वस्थ तुल्याउन सक्छ । घरपरिवारका सदस्यले काममा सक्दो सहयोग पुर्याउने छन् । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १६, १७, १८, २४, २५, २६, गते तपाईंका लागि अशुभ रहने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

यो महिना तपाईंको राशिबाट बाह्रौं भावमा सूर्यले भ्रमण गर्ने समय हो । यस अवधिमा खासगरी घरबाहिर बस्ने वा विदेशमा बस्नेहरूले उन्नतिप्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हो । स्वदेशमा नै रहेका जातकहरूले पनि विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय हुनेछ । जागीरको सिलसिलामा घरबाहिर हुनुहुन्छ भने प्रयास गर्नुहोस् तपाईंको घरपायक सरुवा हुनसक्छ । यो वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो ।

छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ, यो शत्रुहरूमाथि प्रभुत्व जमाउने समय हो । याद गर्नुहोला, बाह्रौं भाव खर्चको घर हो । अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला, नत्र कुनै ठूलै आर्थिक संकटको परिस्थिति सिर्जना हुनसक्छ । यो धनसम्पत्तिको थैलो कसेर राख्ने समय पनि हो, लापरवाही गर्दा गहनागुरिया वा रुपैयाँपैसा चोरी हुने खतरा छ । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । त्यस्तै व्यक्तिगत स्वास्थ्यका बारेमा लापरवाही नगर्नु होला, टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । यसै समयावधिमा सँगीसाथीबीचमा मौजमस्ती र खानपानमा खर्च बढ्ने समय पनि हो । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत हुनसक्छ । त्यस्तै नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ ।

राशिस्वामी बुध बाह्रौं घरमा रहेको छ । यसको प्रभावले यो अवधि मानसिक तनाव र चिन्ता प्रदान गर्ने समय हो । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठामा आँच पुर्याउने प्रयास गर्नेछन् । खर्चको मात्रा बढने छ । सोच्दै नसोचेको क्षेत्रमा अचानक धनमालको हानि हुने सम्भावना छ । स्वास्थ्य सम्बन्धी समस्याका कारण तनावग्रस्त रहनु पर्नेछ । सरकारविरोधी, असामाजिक र हानिकारक कार्यमा समेत संलग्नता हुनसक्छ । पारिवारिक वातावरण सुमधुर हुनेछैन । मन अध्यात्मतर्फ आकर्षित हुनेछ । समस्या र कठिनाइलाई प्रतिरोध गर्ने कोशिश गर्नु राम्रो हुन्छ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ र सबै किसिमका जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । सामान्यतया यस महिनाको ०१, ०९, १०, ११, १८, १९, २०, २७, २८, गते तपाईंका लागि अशुभ रहने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

यो समय राज्यस्थान वा लाभ भावमा सूर्यदेवले परिभ्रमण गर्ने समय हो । इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । यस अवधिमा सामान्यतया सामाजिक हैसियत र आयको मार्गमा बृद्धि हुने सम्भावना हुन्छ । सरकारको उच्च ओहदाका मानिसहरूसँग तपाईंको सुसम्बन्ध कायम हुनेछ, परिणामतः तपाईंले फाइदा लिन सक्नुहुन्छ । कार्यालयमा सिनियर कर्मचारीले सहयोग र समर्थन गर्ने समय हो । तपाईं स्वयंले वा जीवनसाथीले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ बृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो ।

यस पटकको मिहिनेतले नयाँ जागीर तपाईंको हातमा आउने छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवा÷प्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफलतम सिद्ध हुनेछ । प्रेम जीवनमा भने कलह र विवादको सम्भावना देखिन्छ । त्यस्तै दाम्पत्य जीवनमा पनि नोकझोक र कलहको वातावरण बनिरहन्छ, त्यसैले पार्टनरको भावनालाई कदर गर्नुहोला । बालबच्चाको स्वास्थ्यस्थिति र आचरणबारे पनि सतर्कता अपनाउनु पर्छ ।

भाग्येश बृहस्पति सातौं घरमा रहेको छ । यसको प्रभावले दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । व्यापार वा नोकरी आदिमा उत्तरोत्तर प्रगति हुने राम्रो सम्भावना छ । बहुप्रतीक्षित भ्रमणको सम्भावना छ । पारिवारिक वातावरण पनि सुमधुर सम्बन्ध रहनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मन निडर रहने छ र शत्रुगणले सामु पर्ने हिम्मत गर्दैनन् । दर्शन एवं साहित्यमा रूचि बढ्ने छ । विद्वानसित सम्पर्क बढ्ने छ । सामाजिक सम्मान प्राप्त हुनेछ । सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१, २२, २९, ३०, ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

यो महिना कर्मक्षेत्रमा सूर्यले भ्रमण गर्ने महिना हो । यो कडा मिहिनेत गरी आफ्नो कार्यक्षेत्रमा वर्चस्व स्थापना गर्ने समय हो । त्यस्तै व्यवसायीहरूले आफ्नो व्यापारिक प्रतिष्ठानको चतुर्दिक् उन्नति गर्ने समय पनि हो । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो । कर्मचारीहरूले मनले चाहेको जिम्मेबारी र पदभार पाउने समय हो, यस समयमा हाकिम वा वरिष्ठ व्यक्तिसित सुसम्बन्ध कायम हुनेछ । व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । सरकारी अड्डाअदालतमा कुनै काम रोकिएको छ भने त्यसलाई सुल्झाउन उचित समय छ । यो नयाँ जिम्मेवारी पाउने समय हो । विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्नसक्ने समय हो । प्रेमजीवनमा मिठासपूर्ण सम्बन्ध नै रहने छ, तर कर्तव्य र कार्यक्षेत्रको व्यस्तता हुँदा समय दिन पाइँदैन ।

कुल, परम्परा र आध्यात्मिकतातर्फ समे सामान्य चासो बढ्न सक्छ । समग्रतामा यो अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नुहुन्छ । दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् ।

भाग्येश मङ्गल सातौं घरमा रहेको छ । यसको प्रभावले दैनिक कामकाज र व्यवहारमा अनेकानेक कठिनाइको सामना गर्नुपर्छ । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । सहयोगी र साझेदारहरूसँग विवाद हुने सम्भावना छ । पारिवारिक जीवन सुखद हुनेछैन । स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ । यात्राबाट लाभको सम्भावना छैन । जीवनसाथी वा आत्मीय मित्रको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने छ । समस्या र कठिनाइमा समय यापन गर्नु पर्ने छ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १४, १५, २२, २३, २४, ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

यो सूर्यदेवले भाग्यभावको यात्रा गरेको समय हो । अतः पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना हो, यो । सन्तानले उन्नति÷प्रगति गर्नेछन् । यो दृढ इच्छाशक्तिको उदय हुने समय हो । शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुने समय छ । गरेको कर्ममा भाग्यको साथ पाउने समय छ । कार्यक्षेत्र र बन्दव्यापारको क्षेत्रमा पनि वर्चस्व स्थापना हुने समय हो । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । यस समयमा धर्म, अध्यात्म र दर्शनका विषयहरूमा पनि रूचि बढ्ने र अध्ययन गर्नुहुने लक्षण देखिन्छ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय छ । तर यस भावमा रहेको सूर्यको केही अशुभ फल पनि प्राप्त हुन्छ, जस्तै पिता वा पितातुल्य व्यक्तिको स्वास्थ्यमा बाधा पुर्याउन सक्छ । त्यस्तै परिवारमा भाइ बहिनी आदिका कारण कुनै तनाव उत्पन्न हुनसक्छ । महिनाको प्रारम्भमा दैनिक र बाध्यताकारी खर्चको मात्रामा ह्वात्तै बृद्धि हुनसक्छ ।

राशिस्वामी बुध नवौं घरमा रहेको छ । यसको प्रभावले वाणिमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । व्यवसाय वा पेसामा राम्रो उपलब्धी हासिल हुनेछ । यात्राबाट निश्चित लाभ प्राप्त हुनेछ । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १६, १७, १८, २४, २५, २६, गते तपाईंका लागि अशुभ रहने छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

यो महिना सूर्यले अष्टम भावमा यात्रा गर्ने महिना हो । यो दुर्घटनाकारक भाव भएकाले सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । यो हरेक काममा विघ्न र ढिलासुस्ती हुने समय हो । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुने समय हो । अनायायसै खर्चको मात्रामा ह्वात्तै बृद्धि हुने समय हो । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरू सक्रिय हुने समय पनि हो ।

शत्रुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन् । पछाडि बसेर आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुने समय हो । सरकार, प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्न हुनसक्छ । कार्यक्षेत्रमा सिनियर्सहरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । यो महिना कुनै पनि शुभकर्म र दीर्घप्रयोजनको काम नगर्ने समय हो । धनस्थानमा सूर्यको दृष्टि हुने भएकाले धनमाल हराउने वा कमी आउने समय हो । त्यस्तै बन्दव्यापारमा पनि घाटा हुनसक्छ । यस अवधिमा बोलीमा अंकुश लगाउनु र विवादबाट जोगिने प्रयास गर्नु वाञ्छनीय हुन्छ । आफन्तका बीचमा नै विश्वासको कमी हुनसक्छ । यो तपाईंको मानसिक सन्तुलन गुम्ने र बेचैन हुने समय हो, त्यसैले आफन्तका बीचमा राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुने समय छ । स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनुपर्छ, खानपान र आहारविहारको अनुशासन पालना गरेको जाति हुन्छ ।

राशिस्वामी शुक्र आठौं घरमा रहेको छ । यसको प्रभावले कुनै प्रतिष्ठा गुम्ने दुर्घटनामा फँस्न सक्नुहुन्छ । स्वास्थ्यका दृष्टिकोणले पनि यो समय राम्रो छैन । अचानक धनलाभ हुने सम्भावना छ । तर खर्चको मात्रामा पनि बृद्धि हुनेछ । गुप्त र रहस्यमय सुख प्राप्त गर्ने महत्त्वाकाङ्क्षामा अङ्कुश लाउनु भएन भने अति लज्जास्पद स्थितिको सामना गर्नुपर्ने स्थिति आउने छ, यद्यपि परिवारका सदस्यको पूर्ण सहयोग प्राप्त हुनेछ । हुन त परिजनसँग कहिलेकाँही मतभेद पनि हुन सक्छ । यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठिक हुन्छ । सामान्यतया यस महिनाको ०१, ०९, १०, ११, १८, १९, २०, २७, २८, गते तपाईंका लागि अशुभ रहने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सातौं घर साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो, यो महिना यसै भावमा सूर्यले भ्रमण गर्ने समय हो । यसको प्रभावले बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईंको जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । बन्दव्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने समय हो । कार्यक्षेत्रमा पनि तपाईंको वर्चस्व कायम हुनेछ । तर यस अवधिमा पेसा परिवर्तन गर्ने वा नयाँ ठाउँमा जम्प गर्ने विचार गर्नु भएको छ भने अर्को ठाउँमा पक्का भए मात्र पुरानो ठाउँ छाड्नु होला, नत्र धोका हुनसक्छ । समग्रतामा बन्दव्यापार र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने महिना हो । यद्यपि यो महिना घरमा पिताजी वा जीवनसाथीसँग साथै कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय पनि हो ।

अतः तपाईंले जीवनसाथी र कारोबारमा सन्तुलन राखेर समय प्रदान गर्नु आवश्यक छ । वैवाहिक जीवनमा देखिएका मतभेद र असन्तुष्टिहरू हटाउने र आपसी सम्बन्धलाई मीठो बनाउने प्रयास गर्नु राम्रो हुन्छ । त्यस्तै कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति बन्नसक्छ, साझेदार, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । सूर्यको पूर्णदृष्टि शिरमा पर्ने भएकाले महिनाको मध्यभागमा ज्वरोजन्य रोगको प्रभाव देखिन सक्छ, अतः व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन पनि तपाईंका कमजोरी बन्नसक्छन् ।

राशिस्वामी मङ्गल चौथो घरमा रहेको छ । यसको प्रभावले यस समयावधिमा मानसिक उल्झन र तनावबाट ग्रसित रहनु पर्नेेछ । घरायसी सुखसुविधा, अचल सम्पति, वाहनसुख, स्त्रीसुख एवं मित्रहरूको साथ पाउन गाह्रो देखिन्छ । आर्थिक रूपले समेत राम्रो समय देखिंदैन । खर्चको मात्रा पनि बढ्ने छ । कुनै गुप्त कारोबार वा गतिविधिका क्रममा हानि ब्यहोर्नु पर्ने हुन्छ । आकस्मिक धनहानिको सङ्केत पनि छ ।
सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१, २२, २९, ३०, ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

यो महिना सूर्यले तपाईंको राशिबाट छैटौं भावमा गोचर गर्ने समय हो । यो कार्यक्षेत्र वा बन्दव्यापारका लागि कडा परिश्रम गर्ने समय हो । त्यस्तै वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सकारात्मक समय हुनेछ । यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । यस अवधिमा तपाईंले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउने, ऋण काढ्ने आदि सम्भावना देखिन्छ । त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने प्रयास गर्ने समय आएको छ, समस्या समाधान हुनसक्छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ ।

यो उधारो वा कर्जा चुक्ता गर्ने समय पनि हो । हुन त शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । तर पनि यो शत्रुपक्ष अर्थात् प्रतियोगी र प्रतिस्पर्द्धीसित सतर्कता अपनाउने समय हो । त्यसैले कुनै विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । तर छैटौं भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ । जीवनसाथीको स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनु आवश्यक छ । त्यस्तै सूर्यले बाह्रौं भावमा पूर्णदृष्टि राख्ने हुँदा यो खर्च बढ्ने समय पनि हो ।

राशिस्वामी बृहस्पति दोस्रो घरमा रहेको छ । यसको प्रभावले यस अवधिमा आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । कला, कविता र साहित्यमा रूचि बढ्ने छ । आफ्नो रूचिको क्षेत्रमा गरेको प्रयास सार्थक हुनेछ । सामान्यतया सबै किसिमका सुखभोग प्राप्त हुनेछ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १४, १५, २२, २३, २४, ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सन्तान, बुद्धि, विवेक, हृदय संवेद्यता बताउने पाँचौं भावमा सूर्यले गोचर गर्ने महिना प्रारम्भ भएको छ । अब तपाईंको कार्यक्षेत्र र बन्दव्यापारको समुन्नति र प्रसिद्धि हुने समय आएको छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले खूब कमाइ गर्ने समय आएको छ ।

जति धेरै खट्यो त्यत्ति धेरै लाभ पाउन सक्ने राम्रो समय हो । यस अवधिमा शिक्षार्थीहरूका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय नै छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । पेसा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ । यो महिना तपाईंले नियमित आहारविहारको अनुशासन पालना गरेको राम्रो हो, अन्यथा पेट र पाचन प्रणालीका रोगव्याधिले कष्ट दिनेछ । गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम र प्रणयप्रसंगका लागि यो त्यत्ति राम्रो समय देखिंदैन । बरु ध्यान, कसरत, योग र अध्यात्मका क्षेत्रमा शान्तिको अनुभूति हुने समय हो । प्रेम जीवनमा उतारचढाव आउनेछ, प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्न सक्छ ।

राशिस्वामी शनि पहिलो घरमा रहेको छ । यसको प्रभावले प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । कहिलेकाँही असुरक्षाको हीनभावना विकसित हुन सक्छ । कामको बोझ बढ्ने छ । व्यर्थको काममा फँस्ने सम्भावना समेत छ । स्वास्थ्य पनि ठीक हुनेछैन । पारिवारिक जीवन सुखद हुनेछैन । नातागोताको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित हुनुपर्ने छ । साझेदार वा सहयोगीको लापरवाहीका कारण हानि पुग्नसक्छ । हुन त यस अवधिको अन्त्यतिर राहत मिल्नेछ । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १६, १७, १८, २४, २५, २६, गते तपाईंका लागि अशुभ रहने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

तपाईंको राशिबाट चौथो घर अर्थात् मातृसुख, वाहनसुख प्रदान गर्ने भावमा सूर्यको गोचर प्रारम्भ भएको छ । आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । हुन त यो समयावधि व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने समय हो । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन् । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो, परिणामतः कमाएको धन सञ्चित नहुने महिना हो । बरु ऋण काढेर व्यवहार धान्नुपर्ने परिस्थिति खडा हुनेछ । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ ।

सहकर्मीहरूको समर्थन प्राप्त हुनेछ । नयाँ घरघडेरीको जोहो गर्ने मानसिकता भएका व्यक्तिका लागि यो महिना उक्त कामका लागि उचित समय हुनसक्छ । सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा बसेको क्रूर ग्रहको मानसिक उलझन बल्झाउने परिणाम प्राप्त हुने गर्दछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन्छ, खासगरी पिता वा कार्यक्षेत्रका सिनियर्ससित मनमुटाव र तिक्तता बढाउने समय हो । हृदय र पेटसम्बन्धी स्वास्थ्यसमस्या आइलाग्ने समय पनि हो । प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य रहने छ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । घरको रंगरोगन, सरसफाइ र सजावटका लागि धन खर्च हुनसक्छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय हो, त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ ।

राशिस्वामी शनि बाह्रौं घरमा रहेको छ । यसको प्रभावले जीवनीशक्तिमा कमी भएको अनुभूतिका कारण आँफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको काममा आफ्नो ऊर्जा नाश हुनेछ । धन हानि हुनेछ । परिजनको अस्वस्थताले अशान्त रहनुहुनेछ । खर्चको मात्रा बढ्ने छ । नचिताएको ठाउँमा बसोबास गर्नुपर्ने हुन्छ । धार्मिक क्रियाकलापमा संलग्न हुँदा अझ राम्रो हुन्छ । सांसारिक दृष्टिकोणले यो श्रेष्ठ समय होइन । सामान्यतया यस महिनाको ०१, ०९, १०, ११, १८, १९, २०, २७, २८, गते तपाईंका लागि अशुभ रहने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

तेस्रो घर अर्थात् पराक्रम स्थानमा भगवान् सूर्यनारायणको आगमन भएको छ । यस गोचरको प्रभावले तपाईंमा आत्मबल, सामर्थ्य र हिम्मतको सञ्चरण हुनेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन÷दिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नतिप्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ ।

दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । मित्रशक्तिबाट सहयोग, समर्थन र राम्रो लाभ पाउनु हुनेछ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि उन्नतिको समाचार सुन्न्न पाइने छ । जीवनसाथीसँगको सम्बन्ध सामान्य नै रहने छ । प्रेमभावना निरस हुने वेला हो, त्यसैले पार्टनरको भावना र इच्छा बुझ्ने प्रयास गर्नु ठीक हुन्छ । तर भाइबहिनीसँग मनमुटाव हुनसक्ने समय हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । परकाले सहयोग गर्ने तर आफन्तले पछाडि बसेर आलोचना गर्ने परिस्थिति हुनसक्छ । त्यसैले नजिकका आफन्तहरू, नोकरचाकर र अनुयायी वा शिष्यहरूदेखि सतर्क रहने समय हो । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।

राशिस्वामी बृहस्पति एघारौं घरमा रहेको छ । यसको प्रभावले उत्साहपूर्ण समय छ । यो समय राम्ररी बित्नेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसितको सम्बन्ध सुमधुर रहने छ । नयाँनयाँ उद्यम र इलममा संग्लग्न हुनु पर्ने छ । दाजुभाइ र दिदीबहिनीका माझमा खुसीको वातावरण बन्नेछ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । सामान्यतया यस महिनाको ०२, ०३, ०४, ११, १२, १३, २०, २१, २२, २९, ३०, ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ । उहाँ पूर्वेली न्जुजका स्तम्भकार समेत हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

आजको राशिफल / वि.सं. २०७७ ज्येष्ठ १७ गते शनिबार

आजको राशिफल / वि.सं. २०७७ ज्येष्ठ १६ गते शुक्रबार

आजको राशिफल / वि.सं. २०७७ ज्येष्ठ १५ गते बिहीबार

आजको राशिफल / वि.सं. २०७७ ज्येष्ठ १४ गते बुधबार

आजको राशिफल / वि.सं. २०७७ ज्येष्ठ १३ गते मङ्गलबार

आजको राशिफल / वि.सं. २०७७ ज्येष्ठ १२ गते सोमबार

आजको राशिफल / वि.सं. २०७७ ज्येष्ठ १० गते शनिबार

आजको राशिफल / वि.सं. २०७७ ज्येष्ठ ०९ गते शुक्रबार

आजको राशिफल / वि.सं. २०७७ ज्येष्ठ ०८ गते बिहीबार

आजको राशिफल / वि.सं. २०७७ ज्येष्ठ ०७ गते बुधबार

तपाईको प्रतिक्रिया

Loading…