यान्त्रिक आविष्कारको आडम्बरः आध्यात्मिक आदर्शबाट च्युत हुँदाको मानवीय सामर्थ्य र दुःख

धर्म के हो ?

पुण्य के हो ?

आत्मा के हो ?

मुक्ति के हो ?

खुसी के हो ?

र,  मान्छेले धेरैले चिन्ता गर्ने विषय हो ‘मरेपछि के हुने हो ?’

तर जीवित हुँदै कसरी खुसीमय जीवन जिउने भन्ने वास्तविकता छायामा पर्ने रहेछ । कविरदासजीको एउटा भनाइ स्मरणीय छः–

सुखमा सुमीरण गर्दैन, दुःखमा गर्छ याद
भन्छन् दास कवि र कसले सुन्छ तिम्रो विलाप ।

अप्ठ्यारो परेपछि, दुःखी भएपछि मान्छेले ‘हे ईश्वर !’ भन्न थाल्छ । सायद उसले आफूलाई सहजमहजको अवस्थामा नास्तिक नै किन नमानोस् । त्यसो भए सबै आस्तिक चाहिँ सुखी छन् त ?  तर के धर्म र पापको व्याख्या गर्ने काम धार्मिक गुरुको हो ? अनि धर्मग्रन्थ धार्मिक आवरणभित्र सीमाङ्कन गरिनुपर्ने विषय हुन् त ? त्यसो हो भने पाप के हो ? हामी त अर्काले गरिदिएका व्याख्यामा रमाउने भएरै दुःखी च भइरहेका त छैनौँ ।

मान्छेले पाप र धर्मका व्याख्या गरिरहँदा एउटै कुराको याद आउँछः दुःखीलाई सेवा गर, मानवताको आँखाले सबैलाई हेर ! झगडा र वैरभाव नै शत्रु हुन् । सम्पत्तिको मात्र लालसा नगर । प्रेम नै जीवनको पर्याय हो आदि आदि ।

त्यसो हो भने पाप त यिनै धर्मभन्दा बाहिरका कुरा रहेछन् । आखिर दया र प्रेमको कुरा, सद्भाव र मानवताका कुरा त हरेक धर्म ग्रन्थले भन्छन् भने एकै पृथ्वीभित्रका मानिस केका लागि काटाकाट, मारामार गरिरहेछन् । करिब ७० वर्षको औसत आयु भएको मान्छेले मानवता बिर्सेर कमाउने चीज के हो ? र सँगै लैजाने चीज के हो ?

 

कोरोना भाइरसले आज विश्वलाई एउटै सूत्रभित्र राखिदिँदा यहाँ निहित स्वार्थभन्दा जिउनुको मूल्य बोध हुँदै छ । मानिस त आखिर सुखी र खुसी हुन नै चाहने रहेछ त ! आखिर खुसी हुनु नै ठुलो कुरा रहेछ । प्रकृति र मानिसको अकाट्य सम्बन्धमा यान्त्रिक भन्दा प्राकृतिक जीवनको रहस्य गहन रहेछ । थुप्रै सङ्कटबाट बच्न प्राकृतिक जीवनशैलीको खाँचो हुने रहेछ । सायद, प्रकृतिमाथि अत्याचार भएपछि उसले आफ्नो सन्तुलनको चाहना पनि राख्ने रहेछ क्यार !

अर्को प्रश्न उठ्न थाल्दछ । के वेदको रचना हिन्दु धर्मवाला मानिसका लागि मात्र भनेर लेखिएको हो कि लोक कल्याणका लागि लेखिएको हो ?  त्यत्रा धेरै ऋषिहरूले ज्ञानको पुञ्ज बनाए जसमा एक जनाले पनि आफ्नो नाम राखेको पइदैन, किन ? वास्तवमा व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने संस्कृति र आदर्श हाम्रो पुर्ख्यौली विरासत नै हो । बुद्ध धर्मग्रन्थ त्रिपिटक अन्य धर्मका मान्छेले पढे हुँदैन र ! आखिर, बुद्ध पनि त हिन्दु धर्मकै मानिस थिए । यसको अर्थ धर्म मानिसले बनाएको एउटा अनुशासनको आधार वा संहिता पनि हो । एक किसिमको कानुन हो ।  तर त्यो कानुनमा सत्यता र न्यायको विषय समावेश थिए । त्यसको कार्यान्वयनको लागि धर्म र पापको कुरा राखिएको  हो ।  व्यक्तिगत स्वार्थभन्दा सामाजिक स्वार्थ उँचो राखिएको न हो ।

हाम्रा पूर्वजले मन्दिर, पाटी–पौवा, बनाए, घर नजिकै मठमा तुलसी रोप्न सिकाए, चौतारामा बर पिपल रोपेर जताततै अक्सिजन पाउने वातावरण बनाए । यो राम्रो कुरा हो, आज विज्ञानले यसैलाई खोज्दै छ । हाम्रो संस्कारमा विज्ञान छ, मानवीय आदर्श छ, सेवा र मानव धर्मको भाव छ तर संवेदनहीन पाषाण मुटुले नरसंहारको होली खेलिरहँदा हामीले बन्धुत्व बिर्सनु हुँदैन । क्षेप्यास्त्र परीक्षणले ब्रह्माण्ड त्रासदी बनेको छ, दूषित बनेको छ ।

मान्छे आज विज्ञान र धर्म दुवैलाई मान्छ । आवश्यक ठान्छ । अझ सङ्क्रमणकालीन अवस्थाभित्र मानिस आज धर्म र विज्ञानलाई अपनाउँदै छ । धर्मभित्र विज्ञानको असन्तुष्टि अन्धविश्वाससँग हो । विज्ञानसँग धर्मको विमति विश्वासलाई हेला नगर, त्यसमा ठुलो शक्ति हुन्छ भन्ने हो । यदि धर्म र विज्ञानको घरभित्र मान्छे बस्ने हो भने आजको अवस्थामा उसले सुख र वास्तविकतासँग सहज  नातो गाँस्न सक्छ । एउटा आधारमा धर्म भनेको केवल संस्कारको रटान मात्र होइन बुझेर साहित्यिक आदर्श जीवन जिउने पद्धति पनि हो ।

वास्तवमा संसारमा मन्त्र, तन्त्र र यन्त्रको युगले चक्कर लगाउने रहेछ । आज हामी यन्त्रको युगमा छौँ । सायद कुनै समयमा मन्त्रले अवश्य काम गर्थ्यो । अहिले हामी यन्त्रमा आश्रित छौँ । हामीले हिजो घटेका कतिपय यथार्थ घटनालाई पनि काल्पनिक मान्नु पर्ने अवस्थामा छौँ ।  किनकि, त्यो समयका लागि मात्र ती घटना सामान्य थिए होलान् र आजका कुरा एक, दुई शताब्दीपछि अपत्यारिला हुने नै छन् ।

त्यसो हो भने के अन्धविश्वास पनि धर्मले जन्माइदिएको हो त ? यसको सहज जवाफ छ  केही हो, केही होइन । धर्मलाई सीमाङ्कन गर्नुभन्दा ज्ञानलाई विस्तार गर्नु आजको  पहिलो आवश्यकता हो । केही शासकीय सोचले पछिल्ला समयमा न्यायका विषयमा अन्याय भएका हुन् । महिलालाई कुमारी, देवी भनेर पुजिन्छ । सर्वशक्तिमान् मानिन्छ । आदि शक्ति पनि मानिन्छ तर सती जानुपर्ने बाध्यता र चुलोचौकोमा मात्र सीमित गरियो, पढ्न पाएनन् भन्ने अर्को समस्या पनि त यथार्थ हो । अर्थात् त्यहाँ शासक र शोषित भन्दा कर्तव्यपरायण हुनु, असल राजनीतिज्ञ हुन प्रजा धर्म र त्यागको उदाहरण छ । यो केवल पारिवारिक मर्यादाको एउटा प्राकृतिक आवश्यकताभित्रको अनुशासन पनि हो । बन्धन होइन । किनकि, परिवार र समाज भनेकै समझदारी हो, सम्झौता र आत्मीय भावना हो । केवल कार्ल मार्क्सले भनेजस्तो घरभित्रको ठाकठुक दलन र जलन मात्र होइन,  प्रेम पनि हो ।

धर्मको गलत व्याख्या गर्दा त्यहाँ विकृतिले डेरा जमाएका रहेछन् । धर्मसँग भएको विज्ञानमा नै सात्त्विक शान्तिको निखार रहको छ । अध्यात्म ज्ञानको वास्तविकतालाई गम्भीर भएर नियाल्दा– आत्मामा परमात्मा हुन्छन्, शरीर नाशवान् छ । ईश्वर, परमेश्वर, अल्लाह या परमात्माको शक्तिले होस्– अध्यात्मवाद सत्य यथार्थमा जीवन्त हुन्छ । त्यहाँ न्यायको धरोहर बलियो हुनुपर्छ भन्ने सम्मका कुरा कालजयी आवश्यकताहरू हुन् । यसलाई नकार्ने सिद्धान्तका पुजारीलाई नै सर्वेसर्वा मान्ने हो भने खुसी चाहिँ के हो त ! भौतिक सम्पन्नताले किन खुसी मिल्दैन ! सुनको पलङमा सुत्ने मान्छे किन दुःखी छ !

यो विषय वास्तवमा कपडामा, संस्कारमा, देखावटी भौतिक वस्तुभन्दा माथि रहेछ । परमात्माको शक्तिले नै संसारको उत्पत्ति, विकास र प्रलय हुन्छ भन्ने एउटा विश्वास छ । प्राकृतिक उथलपुथल भइरहँदा आज मान्छे किन हारिरहेको छ ? आखिर हामीभन्दा ठुलो केही त होला ! या छँदै छैन भने फेरि प्रकृति र यो मानिसको जीवन केका आधारमा चल्छ ? अन्तर्राष्ट्रिय शान्तिका वक्ता प्रेम रावतको भनाइ छ ‘मानिसको प्रकृति शान्ति र आनन्दमा जिउनु हो । त्यो शक्ति पनि ऊ स्वयम्भित्रै छ । उसले चाहेको खण्डमा आफूले त्यसलाई अनुभव गरेर शान्तिपूर्ण जीवन जिउन सक्छ ।’

हाम्रा शास्त्रले ‘सर्वम् खल्बिदम् ब्रह्म’ को सर्वव्यापी रूपमा ब्रह्माण्ड शक्तिलाई उद्घोष गरेको छ । तर, ती सबै कुराभित्र जीवन र जगत्को सन्देश प्रवाहित रहेछ । दैवी शक्ति, विश्वास र ईश्वरीय अर्चनाबाटै मानव जीवनले शान्ति र मोक्षलाई प्राप्त गर्छ । वेद व्यास एक्लैले लेखेका पुराणादि शास्त्र ज्ञानको अथाह सामर्थ्यसँग कसैले जुहारी खेल्नु त फलामको चिउरा चपाउनु सरह नै हो । भित्रतिर हेर्न जान्ने मान्छेले जीवन र जगत् लाई बुझ्न सक्छ भन्ने सारमा लगभग धेरै धर्मज्ञता सहमत पनि छन् । वेदको सारलाई बुझ्ने खुबी मानिसमा नभएको पनि होइन । वास्तवमा यस भित्रको ज्ञान संसारका सबै प्राणी रक्षाका लागि हो ।

अचम्मको कुरा कुरा के छ भने जीवनको व्याख्याका कुरा गरिसक्दा धर्मलाई मात्र हेर्ने कि वास्तविकतालाई भन्ने प्रश्न पनि उठ्छ । वेदले व्यावहारिक, श्रम शीलता, सामाजिक एकता, नैतिक आदर्शता अनि स्वास्थ्य शिक्षा र मानवीय गुणको धर्मलाई सिकाएको छ । खुसी र परम आनन्दको प्रस्फुटन गराउँदछ । वैज्ञानिक आचरण तथा आयुर्वेदमा स्वास्थ्य र औषधोपचारका विषय छन् । सामवेद सङ्गीतको अपरिमेय ज्ञानसँगै गुनगुनाउँछ । राम राज्यको आदर्शता, विदुरको धर्म नीति, अर्थनीति र राजनीतिको शासन विद्या, युधिष्ठिरको सत्यता, शिव तात्विक आचरण– सबै मानवीय सर्वश्रेष्ठताका लागि हो । कर्ण र शिवजस्तो दानी, गौतम बुद्धजस्तो शान्ति दूत, काम–क्रोध–लोभ–मोह रहित राजर्षि जनकको सुशासनमा बाँचेको वैज्ञानिकता कति चोखो आदर्शमा मजबुत छ । आखिर यो विषय व्यावहारिक पनि रहेछ ।

अध्यात्म ज्ञानको अभावमा घमन्डको पोको बोकेर जिएको अमानवीय सोचले मानिस दुःखी छ, यान्त्रिक बनेको छ, सुख खोज्छ तर खुसी हुन सक्दैन । अध्यात्म ज्ञान व्याख्या र बहस गर्ने आदर्शवादी दर्शन मात्र होइन– मानवता र अनुशासनको भण्डारण हो । आज स्वार्थले गाँजेर लालची बन्ने शोषकहरूले सत्यता कुल्चँदा नैतिकता मक्काएको छ, समाज आक्रान्त छ । आध्यात्मिक अनुशासन र आचरणलाई सन्त महात्माका वाणीसँग एकाकार गर्न नसक्दा मानिसले व्यावहारिकतालाई धर्मको पगरी गुथाइदिन्छ । जीवन र जगत्को रहस्यलाई खोतलोस् या जतिसुकै नवीन आविष्कार गरोस् मृत्युलाई बुझ्न र मृत्युसँग लड्न यान्त्रिक जीवन असक्षम बन्छ ।

विज्ञानको आविष्कारले अणु परमाणुको सामर्थ्यलाई चिने तर अनुशासनहीनता बढ्यो । निर्जीव गुणको प्रमाण छ तर प्रेम र सद्भाव मक्किँदो छ, फलतः आत्मघाती विस्फोट हुन्छ, मानवलाई आफ्नै जीवन किन भारी हुन्छ ? प्राणीको जन्मने मर्ने प्रक्रियादेखि पृथ्वीका कण–कणमा ईश्वरीय स्वरूपको रहस्य छ ।

यो ब्रह्माण्ड कसैको पुस्ताको पैतृक सम्पत्ति त होइन । कसले बनायो सूर्य र उसको तातोपनालाई– चन्द्रमा अनि लाखौँ तारा पुञ्जलाई ? मान्छेले त एउटा धुलोको कणलाई पनि बनाउन सक्दैन त्यसैले ईश्वरले रचना गरेको ईश्वरीय संसारमा ईश्वरको अगाडि यान्त्रिक आविष्कारको आडम्बर गरेमा अनुशासन डुब्छ । विज्ञानका कारण सुविधा पाए पनि अशान्त बन्ने मान्छे आत्मिक चिन्तनमा ईश्वरलाई नियाल्न आइपुग्छ । यो ईश्वरीय सृष्टि कति अपरम्पार छ हामी सबैलाई ‘कुखुरा पहिला या अण्डा पहिला उत्पत्ति भयो’ जान्न गाह्रो छैन र ?

हाम्रा पूर्वजले मन्दिर, पाटी–पौवा, बनाए, घर नजिकै मठमा तुलसी रोप्न सिकाए, चौतारामा बर पिपल रोपेर जताततै अक्सिजन पाउने वातावरण बनाए । यो राम्रो कुरा हो, आज विज्ञानले यसैलाई खोज्दै छ । हाम्रो संस्कारमा विज्ञान छ, मानवीय आदर्श छ, सेवा र मानव धर्मको भाव छ तर संवेदनहीन पाषाण मुटुले नरसंहारको होली खेलिरहँदा हामीले बन्धुत्व बिर्सनु हुँदैन । क्षेप्यास्त्र परीक्षणले ब्रह्माण्ड त्रासदी बनेको छ, दूषित बनेको छ । जलवायु परिवर्तन गराएर पारिस्थितिक प्रणाली तहसनहस पार्ने भौतिकवादी उन्नति दिनानुदिन बाँदरको हातमा नरिवल भइरहेको छ । मानवताको धर्म बोध गर्नेले नै मुक्ति पाउने निष्कर्षमा अहिले भनिने ‘जितै जितको सिद्धान्त’ कछुवा र खरायोको दौडको कथाजस्तै हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading…