तरहराको कामधेनु डेरीमा अनियमितता भएको भन्दै सबै निर्माण समिति भंग, मिडियामा सूचना नदिन दबाब

इटहरी / इटहरी २० तरहरामा रहेको कामधेनु दूग्ध विकास सहकारी संस्थामा अनियमितताको आशंका भएको भन्दै सबै निर्माण समिति भंग गरिएको छ ।
कामधेनु डेरीले इटहरी १ आँपगाछीमा निर्माण गर्दै गरेको भवनका लागि आवश्यक मेसिन खरिद प्रकरणमा भवन निर्माण उपसमितिका सदस्य टीकादत्त बन र प्रोजेक्ट इन्जिनियरिङ सर्भिसेस कम्पनीका इन्जिनियर जेम्स कुत्ती बीचको टेलिफोन संवादमा बनले अनियमितता गर्न खोजेको भन्दै भवन निर्माण समिति भंग गरिएको हो ।

१२ मिनेट ५३ सेकेन्डको फोन वार्तामा बनले कुत्तीलाई मेसिनको मूल्य बढाएर खरीद गर्नका लागि कमिसनको सेटिङ गरेको सुनिन्छ । करीब २ करोड पर्ने मेसिनको मूल्य बढाएर कमिसन मागेको अडियो टेप सार्वजनिक भएसँगै सञ्चालक समितिले अहिले भवन निर्माण समिति तथा अन्य सबै उपसमितिलाई भंग गरेको हो । उता, सञ्चालक समितिका केही व्यक्ति र संस्था भित्रका केही कर्मचारीहरुले भने मिडियाबाजी गरेको समेत पाईएको छ । इटहरीका केही मिडियालाई जर्बजस्ती रुपमा मिडियाबाजी समेत गरिएको हो । केही समयअगाडि विभिन्न मिडियामा अनियमितता भएको भन्दै समाचार बाहिरिएपछि समाचार रोक्नका लागि टीकादत्त बनले इटहरीका विभिन्न मिडियालाई दबाब समेत दिएका थिए । उनले इटहरीका केही मिडियालाई आँफूले गलत काम नगरेको बताउँदै संस्थाकै हितका लागि काम गरेको बताउँदै आएका छन् ।

उता, लेखा समितिका संयोजक घनश्याम ढकालका अनुसार नेपाल सरकारसँग गत बर्ष ४ करोड अनुदान लिने सम्झौता भएको र सो रकममध्येको करीब २ करोड रुपैँयाको मेसिन खरिद गर्ने भनिएपनि उक्त टेण्डरमा बिलो रकम बढी देखाएर कमिसन रकम माग गरिएको अडियो टेप सार्वजनिक भएपछि यतिबेला उक्त डेरीमा खैलाबैला भएको छ । तर, यो कुरा भने बाहिरिन नदिनका लागि अनेक खेल समेत खेलिएको छ । ‘टेण्डर नपरेपछि किन त्यही कम्पनीसँग कुरा गर्ने,’ लेखा समिति संयोजक ढकालले भने, ‘अडियोमा मूल्य बढाएर हाल्ने भन्ने कुरा छ ।’ उक्त टेण्डर पाँचवटा कम्पनीले हाल्ने भनिएको भएपनि दुईवटा कम्पनीले मात्र लगाएका थिए । एउटा एक करोड ९२ लाख र अर्को एक करोड ८४ लाखको टेण्डर रहेको थियो । सो टेण्डरमा बिलो रकम बढाएर बनले टेण्डर पार्नका लागि सेटिङ गरेको अडियो टेपमा सुनिन्छ ।

‘सन्चालक समितिले गठन गरेको उपसमिती पनि भंग भएको छ,’ ढकालले भने, ‘अडियो आएपछि त्यो टेन्डर भंग भएको र अहिले सन्चालक समितिको निगरानीमा काम भईरहेको छ ।’ १ करोड ९२ लाखवालासँग बनले फोनमा कुराकानी गरेको उनले बताए । ‘अडियोमा संस्थाका व्यवस्थापक कहिँ नमुछिएको भएपनि संस्थाका व्यवस्थापकसँग सल्लाह गरेर त्यो काम गरेको हुँ भन्ने कुरा आएको छ,’ उनले भने, ‘हामीले गल्ती गरेपनि संस्थागत हितका लागि गरेको भन्ने उहाँहरुको कुरा आयो ।’

ढकालले गैरकानुनी रुपमा टेन्डर हाल्नु नै गलत भएकाले संस्थाका तत्कालित व्यवस्थापक कृष्णप्रसाद घिमिरेलाई व्यवस्थापकीय जिम्मेवारीबाट निकाला गरिएको जानकारी दिए । ‘सन्चालक समितिको निर्णय नै अन्तिम निर्णय रहेकाले अहिले हामीले रि टेन्डर पनि खुलाएका छौँ,’ उनले भने, ‘गल्ती गर्नेलाई त्यहीँ रोक्ने र काम अगाडि बढाउने हाम्रो योजना हो ।’ उनले कामधेनुले नयाँ प्लान्टको लागि पुँजीले नभ्याउने भएर सरकारसँग अनुदान माग गरिएको बताए । उक्त भवनका लागि खरिद गर्न लागिएको मेसिनले दूधका सबै आइटम सँगै आइसक्रिम समेत उत्पादन गर्नका लागि रहेको भएपनि अहिले मेसिन खरिदको काम रोक्का भएकाले समस्या रहेको उनले बताए ।

‘त्यो टेण्डरको रकम बढाएर हाल्ने कुराको नियत नै खराब देखिन्छ,’ ढकालले टेलिफोन सम्पर्कमा भने, ‘अपचलन गर्नु गलत रहेको हाम्रो बुझाई रह्यो, छानविन गरेर तुरुन्त कारबाही गरौँ, भन्ने हाम्रो निर्णय रह्यो ।’ उनले अहिले सबै उपसमितिहरु भंग भएको बताउँदै भने, ‘उहाँहरुले नियत गलत नभएको बताउँनुभयो, तर कुनै कम्पनी गलत छ भने कानुनी प्रक्रियाबाट जानुपथ्र्यो, कम्पनीलाई भनेको पनि देखिदैँन ।’ उनले आँफूहरुले ठेक्का दिएको कम्पनीले एग्रिमेन्ट अनुसार काम नगरेको नोटिस गरेको बताए । ‘कानुनी प्रक्रियाबाट जानुपर्छ भन्ने हाम्रो कुरा हो,’ उनले भने, ‘काम गर्ने मानिसबाट गल्ती हुन्छ ठीकै हो, तर पदीय जिम्मेवारी भन्दा माथिको कुरा हो ।’

उता संस्थाका अध्यक्ष बाबुराम खत्रीले भने नियत गलत नभएको भन्दै पन्छिने काम गरे । ‘उहाँहरुको नियत त्यस्तो हैन, हामीले त्यसलाई सेटल गरिसकेका छौँ,’ उनले फोन सम्पर्कमा भने, ‘अलिअलि त भकै हो, तर टेण्डर नपार्नका लागि भनेको भन्ने कुरा आयो, सल्लाह नै नभएकाले चैँ समस्या हो ।’ उनले बाहिरी नजरबाट हेर्दा गलत भएको बुझिएपनि संस्थागत हिसाबमा हेर्दा नकारात्मक कुरा नभएको बताए ।

उता, भारतीय एजेन्टसँग फोन सम्पर्कमा कुरा गरेको अडियो बाहिरिएपछि अनियमितताको आरोप लागेका टीकादत्त बनले भने आफ्नो गलत नियत नरहेको स्पष्ट पारे । उनले भने, ‘मैले आठ पेज लामो स्पष्टीकरणमा प्रष्ट पारिसकेको छु, जेम्सले काम नगरेका कारण मैले त्यो टेण्डर नपार्नका लागि उक्त रकम बढाउँनका लागि भनिएको हो ।’ उनले उक्त कम्पनीले काम चित्त बुझ्दो ढंगबाट नगरेका कारण आँफूले रकम बढाउँदा टेण्डर नपर्ने भएकाले त्यसो गरेको प्रतिक्रिया दिए । ‘टेण्डर सूचनाकै बेला पनि ती व्यक्ति सँग पटक–पटक विवाद र तनावको स्थिति सृजना भयो, मैले संस्थागत हितकै लागि काम गरेको हुँ, तर बाहिर गलत नियतको कुरा मात्र गयो,’ उनले भने, ‘मेरै कारणले गर्दा आज संस्थामा सरकारी निकायबाट अनुदानको योजना सम्झौता गर्न सफल भएको छु, मेरो व्यक्तिगत स्वार्थका लागि भए मैले किन गर्ने ?’

उता, संस्थाका व्यवस्थापक कृष्णप्रसाद घिमिरेले आँफूले संस्थाको हितकै लागि काम गरेको प्रतिक्रिया दिए । उनले आँफूले संस्थाका हितका लागि उक्त रकम बढाउँदा टेण्डर नपर्ने भएकाले सो निर्णय गरेको बताए । यसअघि पनि टीकादत्त बन पटक–पटक सहकारीको लफडामा पर्दै आएका छन् । करीब एक दशक अगाडि बनमाथि शान्ति जनकल्याण सहकारीमा ९३ लाख घोटाला गरेको आरोप समेत लागेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…