शोकमा सुनसरीका धरान र ईटहरी, मंगलबार सार्बजनिक बिदा

सुनसरी / सुनसरीका दुई ठुुला उपमहानगरपालिका धरान र ईटहरीमा मंगलबार सार्बजनिक बिदा दिईएको छ । गत आइतबार मृत्यु भएका धरानका पुर्वउपमेयर कृष्णनारायण पलिखेको शोकमा धरान उपमहानगरपालिकाले शोक बिदा दिएको हो भने ईटहरीका एकै वडाका ६ जनाले तिर्थयात्रामा रहेका बेला भारतमा दुर्घटनामा परि ज्यान गुमाएपछि शोक बिदा दिएको हो ।

मंगलबार उपमहानगरपालिकाले शोक बिदा दिएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । उनले जारी गरेको शोक विज्ञप्तीमा पूर्वउपप्रमुखको मृतआत्माको चीरशान्तिको कामना गरिएको छ । शोक विदामा नगर कार्यपालिकाको कार्यालय सहित मातहतका कार्यालय, सामुदायिक विद्यालय, कलेजहरुमा बन्द हुने छन् । पालिखे अल्सर र मृगौला रोगबाट पीडित थिए ।

पलिखेको सोमबार जातीय परम्परा अनुसार धरान १४ मा अन्त्येष्टी गरिएको छ । उनको काठमाण्डौंको मेडिसिटि हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । गत बुधबार तीर्थयात्राका क्रममा भारतको तामिलनाडुमा बस दुर्घटना हुँदा इटहरी–१० ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० बर्षीय रसिलाल चौधरी, ६६ बर्षीया बुधनी थरुनी, ६५ बर्षीया फूलसरीदेवी चौधरी, ६५ बर्षीया मञ्जु राई, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको मृत्यु भएको थियो । मृत्यु भएका मध्ये ६ जनाको शव बागडोरा विमानस्थल हुँदै सोमबार साँझ इटहरी ल्याएर अन्त्येष्टि गरिएको छ । सोही शोकमा बिदा दिईएको उपमहानगरपालिकाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

Loading…