कति वर्षको मानिसले कति घन्टा सुत्नु पर्छ ?

मानिसको उमेरका हिसावले निद्राको आवश्यकता पर्ने एक अनुसन्धानले देखाएको छ । संयुक्त राज्य अमेरिकाको राष्ट्रिय निद्रा फाउण्डेशनले गरेको अनुसन्धानमा जनाइए अनुसार विभिन्न उमेरका मानिसहरुको निद्राको आवश्यकता पनि फरक हुने गर्छ ।

तपाईंले कति घण्टा सुत्नु पर्छ ? हामीहरु प्राय:ले आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउछौं । तर पर्याप्त निद्रा भनको कति हो त ? अमेरिकामा हालै गरिएको एक अनुसन्धानले भनेको छ त्यो तपाईंको उमेरमा भर पर्छ ।

सुत्ने नियमितताको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्स जस्ता पेय पदार्थको सेवन, अलार्म घडी र दिनको प्रकाश जस्ता कुराहरुले मानिसको बायोलोजीकल क्लक अर्थात जैविक घडीलाई प्रभावित गर्ने गर्छ ।

अमेरिकामा भर्जीनीया राज्यको आर्लींगटनमा कार्यालय रहेको निद्रा विषयमा अनुसन्धान गर्ने एउटा संस्था न्याशनल स्लीप फाउण्डेशनका अनुसार व्यक्तिको निद्राको आवश्यकता उस्को जीवनशैलीमा आधारित हुने गर्छ ।

नवजात शिशुहरुलाई अरु उमेरका मानिसभन्दा बढी निन्द्राको आवश्यकता पर्छ, तिनीहरुका लागि १९ घण्टासम्म सुत्नु सामान्य हो। तर उमेरले पनि मानिसको निन्द्राको आवश्यकतामा महत्वपूर्ण भूमिका निर्धारण गर्ने गर्छ ।

नवजात (०-३ महिना): भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ सुत्नु पर्दछ। ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरुलाई निद्रा पुग्छ, तर १९ घण्टाभन्दा बढी सुत्न दिनु हुंदैन ।

शिशु (४-११ महिना): यिनीहरुका लागि उपयुक्त १२ देखि १५ घण्टाको निद्रा हो । कम्तीमा १० घण्टा सुत्दा पनि निद्रा पुग्न सक्छ तर शिशुहरुलाई १८ घण्टाभन्दा बढी कहिल्यै सुत्न दिनु हुंदैन ।

वामे सर्नेहरु (१-२ बर्ष): यो उमेरका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नु पर्छ । यिनीहरुका लागि स्वीकार्य ‌९ देखि १६ घण्टाको निद्रा हो ।

विद्यालय जानु अघिका(३-५ बर्ष): विशेषज्ञहरु यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नु पर्ने बताएका छन्। तर ८ घण्टाभन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा यिनीहरुलाई उपयुक्त हुंदैन ।

स्कुले उमेरका (६-१३ बर्ष): अमेरिकी निद्रा फाउण्डेशनका अनुसार यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ। ७ घण्टा भन्दा कम र १२ घण्टा भन्दा बढीको निद्रा यिनीहरुका लागि स्वस्थ मानिएको छैन ।

किशोरकिशोरी (१४-१७ बर्ष): किशोरकिशोरीहरुका लागि सुझाइएको निद्राको अवधि ८ देखि १० घण्टा हो । तर यिनीहरुले ११ घण्टाभन्दा बढी र ७ घण्टाभन्दा कम सुत्नु उपयुक्त नहुने अमेरिकी निद्रा फाउण्डेशनले जनाएको छ ।

युवा (१८-२५ बर्ष): युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो। तर यिनीहरुले ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी सुत्नु हुंदैन ।

वयस्क (२६-६४ बर्ष): यो उमेर समूहका लागि सुझाइएको निद्राको अवधि युवाहरुको लागि जस्तै छ । बृद्ध (६५ बर्ष भन्दा माथि): यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७-८ घण्टाको निद्रा स्वस्थ मानिएको छ । तर यिनीहरुले ५ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्नु स्वस्थ होइन ।

तपाईको प्रतिक्रिया

Loading…