मोरङको अलगअलग स्थानमा दुर्घटना चार जनाको मृत्यु, तीन गम्भीर घाइते

विराटनगर / मोरङको अलगअलग स्थानमा शनिबार बिहान र शुक्रबार राति भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। त्यस्तै तीन जना घाइते भएका छन् ।

कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका-४ ढाटमा टिपरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७३०९ नम्बरको टिपरमा शनिबार बिहान ७ बजे इटहरीतर्फ नै जाँदै गरेको तीन जना सवार प्रदेश २-०१-००१ प १६०८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले दुर्घटनामा सिरहा सुखीपुर नगरपालिका-२ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिका-२ का २८ वर्षीय हरेराम साहको मृत्यु भएको जानकारी दिए। राइन मोटरसाइकल चालक हुन् । घाइते अवस्थाका दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याउन साथै चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। यही दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरी रुपनीका १८ वर्षीय धनराज यादव गम्भीर घाइते भएका छन् ।

उनको चिन्ताजनक अवस्थामा कोशी अस्पतालमै उपचार भइरहेको छ। डीएसपी थापाले तीन जना सवार तीव्र गतिमा रहेको मोटरसाइकल ओभरटेक गर्ने क्रममा टिपरको अगाडिको चक्कामा ठोक्किएर दुर्घटना हुन पुगेको जानकारी दिए। प्रहरीका अनुसार मृतक र घाइते तीनै जना विराटनगरको गोल्डेन पार्क कलेजमा ओभरसियर अध्ययन गरिरहेका विद्यार्थी हुन् ।

दुर्घटनापछि आक्रोसित स्थानीय बासिन्दाले टिपर रोक्ने प्रयास गरेका थिए। तर चालकले सिधै नेमुवा पुर्‍याएर इलाका प्रहरी कार्यालय भित्र टिपर छिराइदिएपछि थप कुनै घटना हुन नपाएको प्रहरीले जनाएको छ। टिपर र चालक मोरङको ग्रामथान गाउँपालिका-७ का ३५ वर्षीय शशिकुमार थन्दारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका-८ सलकपुरमा शुक्रबार राति ११ः५५ बजे दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । को ३७ प १७ नम्बर र तीन जना सवार रहेको को ३४ प ६६०२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सलकपुरका २२ वर्षीय विशाल खत्री र २३ वर्षीय अर्पण गुरागाईको घटनास्थलमै मृत्यु भएको डीएसपी थापाले बताए। उनकाअनुसार विशाल को ३७ प १७ नम्बर र अर्पण अर्को मोटरसाइकलका चालक हुन्। दुवै मोटरसाइकलका चालकले मापसे गरेको खुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा को ३४ प ६६०२ नम्बरको मोटरसाइकलमा सवार सलकपुरका २१ वर्षीय प्रदीप थापा र संखुवासभाको चैनपुर नगरपालिका-३ का २० वर्षीय लक्ष्मण खत्री गम्भीर घाइते भएका छन् । उनीहरुको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी थापाले बताए ।

तपाईको प्रतिक्रिया

Loading…