म को हुँ ? मेरो कुन क्षेत्र र विषयमा क्षमता छ ? आफ्नो रुची के छ ? तपाई के गर्न चाहनुहुन्छ ? पत्ता लगाउनुहोस ।

एकपटक देवराज इन्द्र महत्वपूर्ण काम लिएर यमराजलाई भेट्न जाँदै थिए । बाटोमा नदि थियो । यमराज नदि पारि थिए भने इन्द्र वारि । जब उनी पारी जाने सोच्दै थिए तब नदिमा एउटा कमलको फुल उल्टो धारामा बगेको देखे । उनी ‘के रहेछ यस्तो ! यत्ती हेर्छु र पारी जान्छु’ भनेर कमलको फुलको पछि जान्छन् । एकैछिन भनेर हिँड्दा हिँड्दै उनी हिमालयसम्म पुगेछन् । हिमालयमा पुग्दा त्यो भन्दा झन अर्को आश्चर्यजनक कुरा देखेछन–त्यो एकलास ठाँउमा एउटी अत्यन्त सुन्दरी आँसुका ढिक्का बगाउँदै रुँदै थिइन् ।

अब उनको ध्यान कमलबाट हटेर सुन्दरीमा पर्यो । उनले ती रुपवतीलाई भक्कानो छुटाएर रुनुको कारण सोध्छन् । तरुनीले इन्द्रलाई पछि–पछि लाग्ने इशारा गर्छिन् । इन्द्र सबथोक बिर्सेर तरुनीको पछि–पछि लाग्छन् र, हिमालको टुप्पोमा पुग्छन् । त्यहाँ झनै अचम्म पार्ने कुरा देख्छन् –एक नव युवकयुवती अंगालोमा कसिएर प्रेमालापमा चुर्लुम्म डुबिरहेको ।

इन्द्र उनिहरुको अघि जान्छन, त्यै पनि त्यो जोडिले कुनै भेउ नपाएको जस्तो गरेपछी इन्द्रलाई सारै रिस उठ्छ । रिसको झोकमा उनी गर्जन्छन्–‘सावधान ! म देवताहरुको राजा इन्द्र हुँ ।’ जब त्यस जोडिले इन्द्र तर्फ नजर गरे उनको सातो–पुत्लो उड्यो । त्यो जोडि अरु कोहि नभएर शिव–पार्वती थिए । त्यसपछी शिवजीले बाधा उत्पन्न गरेको भनी इन्द्रलाई श्राप दिन्छन्, । र यहि श्रापको कारण देवयोनीबाट पतन भइ इन्द्र मनुष्य योनिमा जन्म लिन बाध्य भए ।

माथिको सानो कथाको सार हामी कुनै उद्देश्य लिएर अगाडी बढेका छौं भने, त्यो उद्देश्यबाट विमुख भएर अन्यत्र ध्यान दिए पतनको बाटोमा जान्छौं भन्न खोजिएको हो ।

देवराज इन्द्रको उद्देश्य थियो यमराजलाई भेट्ने । देवराज खोलाको वारी हुँदा यमराज उहीँ खोलाको पारी थिए । इन्द्रले कमलको फुलतर्फ ध्यान नदिइ खोला तरेको भए यमराजलाई भेट्थे, लक्ष्य विमुख हुने थिएनन् । तर, उनी त पूर्व जानुपर्ने पश्चिम दौडिए । हो, अहिलेका नयाँ पुस्ताहरु पनि देवराज इन्द्रकै पथमा लम्किरहेका छन्

१८ देखि २३ वर्ष भनेको किशोर उमेरले छोडेको युवा जोश जाँगरले भरिएको उमेर हो । माध्यामिक तह पार गरेर कलेज तहमा प्रवेश गरेकादेखि ब्याचलर, मास्टर्स गर्दै गरेका युवाहरुमा आइपरे एकै मुक्कामा राँगो ढालि हालौं जस्तो साहस हुन्छ, हत्केलाले सुर्यलाई रोक्छु भन्ने जोश हुन्छ । ढुङ्गै खाएपनि पचाइन्छ भन्ने जस्तो हुन्छ ।

केहि गरिहालौं, कतै गइहालौं, आज नगरे कहिले गर्ने जस्तो छटपटाहटबाट गुज्रिरहेका युवालाई सहि दिशानिर्देश गर्न सकिएन भने त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ । उनीहरु ब्रेक फेल भएको गाडी जस्तो अन्धाधुन्ध दौडन्छन् र अन्ततः भयानक दुर्घटनामा पर्छन् ।
अब कुरा गरौं २१ औं शताब्दीको,

२१ औं शताब्दीमा विज्ञानले विश्वलाई एउटा बाकसमा कैद गरिदिएको छ । पलभर हामी अमेरिका पुग्न सक्छौं, युरोपको मौसम बुझ्न सक्छौं, अस्ट्रेलिया, क्यानडा, न्युजलेण्ड जस्ता विकासको चरमोत्कर्षमा पुगेका राष्ट्रका नालीबेली थाहा पाउँछौं । अनी आफुलाई त्यहाँका रंगीन दुनियाँमा विचरण गराउँछौं । अझ प्लस टु सकेका जुँगाका रेखी उम्रँदै गरेका, शारीरिक तथा मानसिक रुपमा तरुण हुँदै गरेका युवायुवतीहरुमा झन कुनै चिज पाइहालौं र खाइ हालौं भन्ने हुटहुटी हुन्छ । हो, यहि हुटहुटीलाई नियन्त्रण गर्न सकिएन भने उनीहरुको घडीको सुई उल्टो घुम्न बेर लाग्दैन ।

आजकलका युवा पुस्ता बढि नै सामाजिक सञ्जालमा हराएको पाइन्छ । विहान चियाको चुस्कीसँगै पहिले पत्रपत्रिका पढिन्थ्यो अहिले फेसवुक, ट्विटर, युट्युव हेरिन्छ । सामाजिक सञ्जाल चलाउनु गलत हुँदै होइन । तर, सामाजिक सञ्जालमा भित्रिएका अनावश्यक कुरामा अल्झिएर समय कटाउनु चैं गलत हो ।

तपाईंको एउटा मुख्य काम र लक्ष्य छ तर, जब एकै छिन भनेर टार्नुहुन्छ तब त्यो काम कहिल्लै सकिँदैन । ‘आ जे सुकै होस एकछिन फेसवुक चलाउछु’ भन्नुहुन्छ । तर, अरुले गरेको पोस्ट चिहाउँदै दुई घण्टा वितेको पत्तो पाउनु हुन्न । युट्युवमा वेभसिरिज्, सिरियल, फिल्म हेरेर दिन वित्छ । एवं प्रकारले तपाई ट्विटर, इन्स्टाग्राम, इमोमा दिन विताउनु हुन्छ भने तपाईले आफ्नो सृजनशील समय नष्ट गर्दै हुनुहुन्छ । आफुलाई टिकटक बनाउन नआएपनि अरुको टिकटक हेरेर रमाइलो मान्ने हामी धेरै छौं । एक अध्ययनले देखाएको छ, एउटा युवा सरदर दैनिक ४ घण्टा फेसवुक, ट्विटर, इन्स्टाग्राम, युट्युवमा घोत्लिन्छ भने त्यो भयावह स्थिति हो । ८ घण्टा काम गर्नुपर्नेमा ४ घण्टा सामाजिक सञ्जालमा ब्यतित गर्ने युवाले के प्रगति गर्ला ?

पिनट्सले बदामको स्वाद कहाँ दिन्छ र ?

जापान, अमेरिका, बेलायत, रुस त्यत्ति सजिलै विकसित भएका हैनन् । पहिलो र दोस्रो विश्वयुद्धबाट तहसनहस भएका देशलाई समृद्धशाली बनाउन त्यहाँका शासकले जुन प्रकारको त्याग गरे, त्यो भन्दा बढि मेहनत र परिश्रम जनताले गरेका छन् । दिनरात नभनी कठोर परिश्रम गरेर आज अमेरिका, बेलायत जापान विश्वका समृद्धशाली मुलुक बनेका हुन् । यदी त्यहाँका युवा जनशक्तिहरु पनि सुतेर दिन विताउँथे भने अहिलेको विकास संम्भव थिएन । तसर्थ, हामी भित्रपनि काम गर्ने दृढ इच्छा शक्ति हुनुपर्छ । माछा खानेको जमात धेरै छ, तर, माछा मारेर खानुमा जत्तिको आनन्द कहाँ पाइन्छ ? आजकल पिनट्स (बदाम) छोडाएर प्याकेटमा प्याक गरेर पाइन्छ । खाँदा मिठो पनि हुन्छ । तर, रत्नपार्कको चौरीमा भुटेको बदाम आफ्नै हातले छोडाएर खानुको मज्जा त प्याकेटको बदामले पक्कै दिँदैन ।

जवसम्म हामीले आफैं तोरी फलाएर, पेलेर तेल निकाल्दैनौं तवसम्म सफलता प्राप्त हुँदैन । तसर्थ, हामीले तोरी उमारेर तेल निकाल्ने लक्ष्य लिनुपर्छ ।

अरुको भर नपर्नुहोस

आज हामी साथीभाई, इष्टमित्र भनेर उनीहरुकै अगाडी पछाडी नाचिरहेका छौं तर, तपाईलाई जुन दिन उनीहरुको आवश्यक्ता हुन्छ । जुनदिन तपाई दुखःमा पर्नुहुन्छ त्यो दिन उनीहरु आउँदैनन् । तपाई साथीसँग कतै गइरहनु भएको थियो, एक्कासी अगाडी गहिरो पोखरीमा गोही तपाईलाई खान मुख बाएर बसिरहेको देखियो । पछाडी त्यहि बेला डरलाग्दो बाघ आयो । तपाईको नजिकको मित्र छ जसलाई बचाउन विलौना गर्नुहुन्छ । उ तपाईलाई पहिला बचाउनुको सट्टा आफैं सुरक्षित हुने उपाय खोज्छ । त्यसकारण अरुको भर नपर्नुहोस आफैं सक्षम हुनुहोस । जिन्दगीको यात्रामा एक्लै चल्न सिक्नुहोस । बीच बाटोमै अल्झिएर नबस्नुहोस् ।

दुखःमा नआत्तिउँ

आजकलका युवाहरु स–सानो समस्यामा पनि आत्तिने गर्छन् । ‘कसैको साथ पाइन, अब केहि पनि गर्न सक्दिन’ भन्ने गलत मानसिकता लिएर रुने युवाहरुले बुझ्नुपर्छ कि, संसारमा जतिपनि मानिसहरु सफल भएका छन् तिनीहरु एक्लै सफल भएका हुन् । सुखमा मात्तिने र दुखःमा आत्तिनेले प्रगति गर्न सक्दैन ।

विजुलीको वल्भ आविष्कार गर्न थोमल अल्वा एडिसन पागल जस्तै भए । आधुनिक विश्व निर्माणको जग बसाल्ने एडिसन यदी अल्छी भइदिएको भए हामीले विजुली बाल्न पाउथ्यौं त ?

अल्वर्ट आइनस्टाइनले सापेक्षताको सिद्धान्त पत्ता लगाउन कुन हदसम्मको मेहनत गरे अनुमान गर्नुस । अध्ययन नै नगरेका भए चाल्र्स डार्विनले जीव उत्पत्तिको विकासक्रम पत्ता लगाउँथे र ? न्यूटनले स्याउको रुखलाई हेरेर ‘जाबो स्याउ त खस्यो नी’ भनेर वेवास्ता गरेको भए गुरुत्वाकर्षणको सिद्धान्त जन्मदैनथ्यो होला । त्यसकारण हामीले पनि सफलता पाउन पटक–पटक मर्नुपर्छ । पागल हुनुपर्छ । मोती खोज्नु छ भने समुन्द्रमा डुब्नैपर्छ, समुन्द्रको छालदेखि भागेर हुँदैन ।

आफुलाई तताउनुस

एउटा कुरा सधैं याद राख्नु कि मानिसहरु बलिरहेको आगो मात्र ताप्न मन पराउँछन् । तपाइँ ओसिएर बस्न थाल्नुभयो भने तपाईं ती मानिसहरुको भिडमा हराउनु हुन्छ, जो सफलता पाउन एकले अर्कालाई ठेल्दै, लडाउँदै अगाडी बढिरहेका छन् । त्यसैले आफुलाई हराउन नदिनको लागि आफुलाई तताउनुहोस, आगो बनाउनुहोस् । अनि मात्र तपाइँ अघि बढ्न सक्नुहुनेछ र सफल व्यक्ति बन्नुहुनेछ । सगरमाथा चढ्नु छ भने, अन्तरिक्ष छुने शाहस लिनुपर्छ । अरुभन्दा फरक हुनु छ भने बाटो आफैं बनाउनुपर्छ । अरुले बनाइदिएको बाटोमा त जो कोही हिँड्न सक्छन् ।

२४ घण्टालाई ४८ घण्टा बनाउन सकिँदैन

आजकल युवाहरुमा समय ब्यवस्थापन गर्न नसक्ने रोग फैलिँदै गएको छ । हामीले २४ घण्टालाई ४८ घण्टा बनाउन सक्दैनौं । तर, त्यहि २४ घण्टामा ४८ घण्टाको काम पक्कै गर्न सक्छौं । यसका लागि समय ब्यवस्थापन गर्नुहोस् ।

समयमा उठ्ने, समयमा सुत्ने दैनिक कार्यतालिका बनाएर काम गर्नुहोस् । आफुलाई व्यस्त राख्नुहोस । जब तपाईं दिमागीरुपले व्यस्त बन्न थाल्नुहुन्छ तब तपाइको व्यक्तित्व बिकास हुन थाल्दछ । अरुभन्दा परिपक्व बन्दै जानुहुनेछ । दिमागमा सकारात्मक कुराहरु मात्र आउने गर्छन । मनबाट डर, त्रास हट्दै जान्छन् ।

आफैंलाई विस्वास राखी आशावादी हुनुहोस

सधै आफैंमा विश्वास गर्नुहोस । कहिल्यैपनि आफ्नो कामको लागि अरुको आसमा बस्ने नगर्नुहोस । भाग्यमा होइन कर्ममा भर पर्नुहोस ताकी भोली एउटा सुनौलो मौका आउने छ । त्यसैले आशावादी रहनुहोस । हरेक दिन एक घण्टा भए पनि सुन्दर र शान्त ठाउँमा बस्ने गर्नुहोस ।

सुतेर हैन उठेर सपना देख्नुस

जो व्यक्ति काम गर्न चाहँदैन ऊ ठुलो कुराको मात्र सपना देखेर बस्ने गर्छ । म त्यस्तो गर्छु, यस्तो गर्छु भनेर भाषण छाँट्नु भन्दा आफ्नो दक्षता, क्षमता अनुसार काम गर्ने र कार्य योजना बनाएर अगाडी बढ्नु पर्छ । सफलता पाउन सुतेर हैन उठेर सपना देख्नुस, म यो काम गरेर यो उचाईमा पुग्छु भन्ने अठोट लिनुस ।

स्वतन्त्रताको अर्थ छाडा हैन

आजकल मानिसहरुले स्वतन्त्रताको गलत अर्थ बुझेर आफ्नो जीवन नै नष्ट गरिरहेका हुन्छन । स्वतन्त्रता भनेको आफुलाई जे मन लाग्यो त्यो गर्दै हिँड्ने होइन । दिनरात डिस्को जाने, लागूपदार्थ सेवन गर्ने, मादकपदार्थ सेवन गरेर परिवारमा कलह ल्याउने, करियर प्रति फोकस नहुने कार्य ब्यक्तिगत स्वतन्त्रताका परिधिभित्र पर्दैनन् । स्वतन्त्रताको अर्थ छाडा हैन । तपाई पशु जस्तो उन्मुक्त भएर नागरिक मुल्य मान्यता विपरित हिँड्नु हुन्छ भने त्यसले तपाईलाई नै हानी गर्छ ।

स्वतन्त्रता भनेको त अझ राम्रो बन्न पाउने र अगाडी बढ्न पाउने अवसर हो । आफुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने हक हो । यो स्वतन्त्रता सँगै हामीले पुरा गर्नुपर्ने दायित्व आएको हुन्छ । यदि तपाई ‘मैले केहि गर्न पाइन र मेरो अधिकार नै खोसियो’ भन्नुहुन्छ भने गलत हुनुहुन्छ । किनकि, मनोमानी गर्नको लागि अधिकार खोज्नु गलत हो । ‘डिस्को गएर लागूऔषध खान्छु’ भन्नु स्वतन्त्रता हैन । त्यसैले राम्रो कामको लागि अधिकार खोज्ने गर्नुहोस् र त्यसलाई सहि सदुपयोग गर्नुहोस् ।

असफलताको कारण स्वयं तपाईं

कुनैपनि कुरामा तपाई असफल हुनुहुन्छ भने, त्यसको जिम्मेवार तपाईं नै हो । कुनैपनि कार्य गर्दा दिर्घकालिन सोच लिएर काम गर्नुपर्छ । साथै काम गर्दा विचमा अन्यत्र ध्यान दिनुभयो अथवा देवराज इन्द्रले जस्तो अन्य कुरामा भड्किनु भयो भने सफलता प्राप्त हुँदैन ।

अरुले के सोच्लान् भन्ने मानसिकता दिमागबाट बेलैमा हटाउनु भएन भने तपाईं आफ्नो प्रगतिको बाधक आफै बन्नुहुनेछ । असफल हुँदा अरुलाई दोष दिने सफल हुँदा आफैं जस लिने स्वभाव गलत हो । तपाईको सफलतामा श्रीमतीको, साथीभाईको, दाजुभाईको अथवा कर्मचारी, अभिभावक जो सुकैको हात हुन्छ । तपाईले पाएको खुसी, सफलता सबैलाई बाँड्नुहोस ।

अरुले के भन्छन् वास्ता नगर्नुहोस

यहाँ धेरै जसो युवाहरु अरुले के भन्लान् भनेर आफुलाई मन लागेको काम गर्दैनन् जुन गलत हो । तपाईसँग क्षमता र दक्षता छ भने जुनसुकै काम गर्न सक्नुहुन्छ । काम सानो ठूलो हुँदैन । आफ्नो सपना र आफ्नो करियर सँग कहिल्यै नखेल्नुहोस् । काम प्रति लगनशील बन्नुहोस । यो कुरा दिमागमा राख्नुहोस् कि, भन्नेको मुख टाल्न सकिँदैन त्यसैले अरुको कुरा नसुनी अगाडी बढीरहनुहोस् ।

अरुको नक्कल हैन आफ्नो क्षमता देखाउनुस

आजकल मानिसहरुको कस्तो बानी भईसकेको छ भने उनीहरु अरुको नक्कल गर्नमा बढी समय बिताउने गर्छन् । उनीहरु आफ्नोपनलाई माया गर्न बिर्सिन्छन् । अरुले के पढीरहेका छन्, अरुले के गरिरहेका छन् भन्ने कुरामा नै हामी हाम्रो समय खेर फालिरहेका हुन्छौं । यो सरासर गलत हो । तपाईको क्षमता म्यानेजमेन्टमा छ, तर, अरुले साइन्समा सफलता हासिल गरेको देखेर नक्कल गर्नुहुन्छ भने तपाई लड्नुहुन्छ ।

म को हुँ ? मेरो कुन क्षेत्र र विषयमा क्षमता छ ? आफ्नो रुची के छ ? तपाई के गर्न चाहनुहुन्छ ? पत्ता लगाउनुहोस । तपाईको क्षमता अनुसार अरुले गरिरहेको काम फरक तरिकाले गर्नुहोस् । यदि तपाईं साच्चै नै जीवनमा केहि गर्न चाहनुहुन्छ, केहि बन्न चाहनुहुन्छ भने आजैबाट अठोट गर्नुहोस् कि तपाईं केहि बनेर वा सफल भएर मात्रै पछाडी फर्कनु हुनेछ ।

प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफैं हो

असफलता भनेको खस्नु होइन, खसेपछी उठ्नु हो

संकट, बाधा एवं असफलता भनेका शिखर पुग्ने खुड्किला हुन्

विजेताहरू पराजयलाई पनि विजयकै एक हिस्सा मान्छन्

अन्तमा,

विन्स्टन चर्चिलको भनाई जसले तपाईलाई अगाडी बढ्न प्रेरित गर्छ ।

‘यदि तिमी नरकको बाटो गइरहेका छौ भने पनि नभाग, बरू अघि बढ्दै गर’

लेखक क्याम्ब्रिज इष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक हुन् ।

तपाईको प्रतिक्रिया

Loading…