स्वस्थानी व्रतकथा, भाग – १५ (रावणले प्राप्त गर्यो ‘माता पार्वती’)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! तहाँउप्रान्त आशुतोष भगवान् भोलेनाथलाई फेरि वन विहार गर्ने इच्छा भयो र मृगको रूप लिई कसैले थाहा नपाउने गरी श्लेष्मान्तक वनमा गएर मृग/मृगिनीका झुण्डमा मिस्सिएर परम आनन्दले रहन लाग्नुभयो । उता कैलाशमा पार्वतीले महादेवलाई नदेखी अनेक ठाउँमा खोजी गर्दा पनि कतै भेट्न सक्नुभएन र हारमानी मनमा सोच्न लाग्नुभयो :– ‘महादेवले अघि पनि मलाई यसै गरी छलेर दुःख दिनुभएथ्यो । अब फेरि कहाँ जानुभयो ?’ यसरी सुर्तामा परेकी पार्वतीले ध्यान दृष्टिले हेर्दा श्लेष्मान्तक वनमा गएर फेरि पनि मृग रूप लिई महादेवले वनविहार गरिरहनु भएको चाल पाउनु भयो । यो कुरो थाहा पाई पार्वती आफू पनि वागमती किनारमा जानुभयो र कष्टपूर्ण तपस्या गरेर लामो समयसम्म बसिरहनु भयो ।

त्यसपछि ब्रह्मा, विष्णु र इन्द्रादि देवताहरूले शिवपार्वती दुबैलाई कैलाशलगायत कतै पनि नदेखी जहीँतहीँ खोजी गर्न लागे । कहीँ पनि नभेटी हार मानी फर्किएर आउँदै गर्दा वागमतीका किनारमा तपस्या गरी बसिरहनु भएकी पार्वतीलाई देखी प्रणाम गरी बिन्ती गर्न लागे :– ‘हे जगदीश्वरी ! हजुर र महादेव कैलाशमा नहुनाले ब्रह्माण्ड नै शून्य जस्तै भयो । हामीमाथि करुणा राखी महादेव कहाँ हुनुहुन्छ बताइदिइबक्सियोस् अनि हजुर पनि किन यस्ता एकान्त ठाउँमा राज होइबक्सिएको हो ? हे माता ! आज्ञा हओस् ।’ देवता सहित ब्रह्मा, विष्णु, इन्द्रादिबाट भएका यी कुरा सुनी पार्वतीले आज्ञा गर्नुभयो :– ‘हे ब्रह्माविष्णुप्रभृत्तिका देव वृन्द ! महादेव यतै कतै आउनुभएको छ । मैले पनि वहाँको निकै खोजीनिति गरें, महादेवलाई नभेटेको हुनाले म पनि वहाँकै आराधना र तपस्या गरी यहाँ बसेकी छु । श्लेष्मान्तक वनका नैऋत्य कोणमा एउटा ठूलो पोखरी छ । त्यसैको वरिपरि वनमा महादेव मृग रूप लिई वनक्रीडा गरिरहनु भएको छ । वहाँले रूप परिवर्तन गरी बसेको त्यो मृग सुवर्ण झैं पहेंलो वर्ण, तीनवटा नेत्र र एउटा सिङ भएको मृग छ । त्यो मृगका वथानको सबैभन्दा ठूलो देखिन्छ, तिमीहरू गएर पत्तो लगाऊ । त्यस मृगलाई भेटेमा तिमीहरूले जगदीश्वर महादेवको दर्शन पाऔला ।’

पार्वती माताको यस्तो कथन सुनी ब्रह्मा, विष्णु र इन्द्रादि देवताहरूले त्यो ठाउँमा गई वरपर खोजी गरे । तर महादेवको केही पत्ता लाग्न सकेन । जव ब्रह्मा, विष्णु र इन्द्र मिलेर अनेक स्तुति गर्न लागे, तब धेरै मृगका बगालका माझमा पार्वतीले बताउनु भएजस्तो अत्यन्त राम्रो, अरुभन्दा धेरै ठूलो, बडो शोभायमान मृग देखा पर्यो । जसरी नीलो आकाशमा तारागणका माझमा पूर्ण चन्द्रको शोभा देखिन्छ, त्यस्तै धेरै मृगका बथानका माझमा रुद्रमृगको शोभा देखिन्थ्यो । टाढैबाट चिन्न सकिने त्यो मृगलाई तीनैजनाले एकैचोटी देखी नजिकमा गएर अनेक स्तुति गर्न लागे – ‘हे ईश्वर ! कैलाश सून्य भएको धेरै काल भयो । हे करुणामय ! हामीमाथि दया राखी दर्शन बक्सियोस् ।’ यस्ता तरहले अरु पनि धेरै स्तुति गरिरहेका ब्रह्मा, विष्णु र इन्द्रलाई देखी रुद्रमृग उफ्रिएर केही पर पुगी उभियो । त्यो देखी विष्णुले – ‘हे ब्रह्मा ! हे इन्द्र ! हामीबाट स्तुति गरिएका महादेवमा चैतन्य आउन सकेन । यसकारण अब हामी तीनजनाले तीनतिरबाट छेकेर समाऔं ।’ भन्नुभयो ‘लौ त्यसै गरौं’ भनी ब्रह्मा र इन्द्रले पनि सहमति दिनुभयो र तीनतिर घेरा हाली रुद्रमृगलाई समाती छोडे । समाउन खोज्दा तीनैजनाको हात एउटै सिङमा पुग्यो । सिङका फेदमा विष्णुले, माझमा व्रह्माले र टुप्पोमा इन्द्रले समाए, तर मृग भने अन्तर्धान भयो ।

तीनजनाको हातमा सिङमात्र परेको र त्यसैमा बलपूर्वक समाएका हुनाले सिङ भाँचिएर तीन टुक्रा भई तीनजनाका हातमा एकएक टुक्रा पर्न गयो । त्यस्तो भएको देखी तीनैजनालाई ठूलो पश्चात्ताप भयो । ‘हामीले ठूलो अपराध गर्यौं, अब कसो गरौं’ भन्दै तीनैजना एक ठाउँ बसी अपराधको क्षमा माग्दै अनेकानेक स्तुतिद्वारा महादेवको स्तुति गर्न लागे । स्तुतिबाट महादेव प्रसन्न हुनुभयो र ज्योति स्वरूपको दर्शन दिनुभयो । ब्रह्मा, विष्णु र इन्द्रले अति हर्ष मानी महादेवलाई साष्टाङ्ग प्रणाम गरे । तब महादेवले – ‘हे ब्रह्मादि देवता हो ! तिमीहरूको स्तुतिदेखि म सन्तोष भएँ, इच्छामाफिकको वरदान माग’ भन्नुभयो । महादेवको आज्ञा सुनी ‘हजुरको भक्ति हाम्रा हृदयमा सदासर्वदा रहिरहोस्’ भनी ब्रह्मादि तीनै जना देवताले एकसाथ बिन्ती गरे । महादेवले पनि ‘तथास्तु’ भनी वरदान दिनुभयो । फेरि ब्रह्मादि देवताले ‘हे ईश्वर ! हजुरका सिङलाई हामीले तीनटुक्रा पारेकोमा हाम्रो अपराध क्षमा होस् । अनि अब यी भाँचिएका सिङका टुक्रा कहाँ राखौं, त्यो पनि आज्ञा होस्’ भनी बिन्ती गरे । यो सुनी महादेवले त्यो मेरो सिङ तीन टुक्रा भएकोमा तिमीहरूलाई केही अपराध लाग्ने छैन’ भनेर ‘इन्द्रका हातको स्वर्गमा, ब्रह्माका हातको मर्त्यलोकमा गोकर्ण भन्ने ठाउँमा र विष्णुका हातको पातालमा लगेर स्थापना गर’ भनी आज्ञा दिनुभयो । ब्रह्मा, विष्णु र इन्द्रले महादेवका आज्ञाअनुसार त्यो सिङका तीन टुक्रालाई यथास्थानमा स्थापना गरी आआफ्ना लोकमा जाँदा भए । ब्रह्मादि देवताहरूले महादेवलाई साष्टाङ्ग प्रणाम गरी विदा भएर गएउप्रान्त महादेव पनि आफ्नै रूप लिई वागमती किनारमा गई पार्वतीलाई काखमा लिई अन्तर्धान हुनुभई कैलाश पर्वतमा जानुभयो । वहाँ गएर भूत, प्रेत, पिशाच, नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी र प्रमथगण समेत भएर आनन्दले रहनुभयो ।

हे अगस्त्य मुनि ! मृगका सिङको माझको टुक्रा गोकर्णमा स्थापना भयो । तहाँउप्रान्त नैऋत्य कोणको लङ्काबाट दश मुख भएको राजा रावण नित्य गोकर्णमा आई महादेवका चरणमा दण्डवत् गरी नाचगान गरी, नगरा, डमरु आदि बजाई तपस्या गरी जान्थ्यो । केहीदिनपछि एकदिन महादेव विष, भाङ, धतुरो र गाँजा खाई अचेत भएर रहेका बखतमा सधैं झैं रावण आई पुगेर दण्डवत् गरी मृदङ्ग बजाएर नाचगान गर्न लाग्यो । यो देखेर भगवान् आषुतोष प्रसन्न हुनुभई ‘हे दशग्रीव रावण ! जे इच्छा छ त्यही वर माग ‘ भन्नुभयो । रावणले हात जोडी ‘हजुरका कृपाले मलाई सबैथोक परिपूर्ण छ । म के मागुँ ?’ भनी बिन्ती गर्दा महादेवले ‘एकथोक नमागी सुख पाउँदैनस्, माग्नैपर्छ ‘ भनी आज्ञा भयो । महादेवबाट जब दाहोर्याएर वर माग भन्ने आज्ञा भएथ्यो रावणका मनमा सकल लक्षणले युक्त भएकी महादेवका काखमा बसेकी पार्वतीलाई नै मागुँ भन्ने विचार उब्ज्यो । अनि ‘अरुथोक सबै कुरा त मसँग छ । हे ईश्वर ! वरदान दिने नै हजुरबाट इच्छा भएमा हजुरका काखमा बसेकी पार्वती मलाई बक्सियोस्’ भनी माग्यो ।

रावणका यी कुरा सुनी महादेवले ‘लैजा’ भनी पार्वती दिनुभयो । तब रावणले जगन्माता पार्वतीलाई बोकी महादेवसित विदा भई नैऋत्य दिशातिर लम्क्यो । उतिबेलै यो कुरा वैकुण्ठमा विष्णुले थाहा पाई ‘ओहो ! यो के विपरीत र अनर्थ हुन आँट्यो ?’ भन्दै तत्काल वायुको वेगभन्दा पनि छिटो आई आफ्ना मायाले मोहिनी रूप धारण गरी रावणका सामु गई सोध्नुभयो ‘हे महापुरुष ! तपाईं को हुनुहुन्छ ? कहाँबाट आउनुभएको ? तपाईंले पिठ्युँमा बोकेर ल्याएकी स्त्री को हुन् ? किन यिनलाई ल्याउनुभएको ? अनि कता जान लाग्नुभएको हो ?’ यो सुनी रावणले भन्यो – ‘हे सुन्दरी ! मलाई लङ्काका राजा रावण भनी जान । मैले कैलाशपति महादेवको तपस्या गरेको थिएँ । जसबाट सन्तुष्ट भएर वहाँले नै आफ्नी स्त्री पार्वती मलाई दिएर पठाउनुभयो र यिनलाई बोकी आफ्नो देश लङ्कातिर जाँदैछु ।’ रावणका यी कुरा सुनी मोहिनीरूपी विष्णुले भन्नुभयो – ‘हे लङ्काधिपति दशग्रीव रावण ! के यिनैलाई तिमीले पार्वती ठानी ल्यायौ ? त्यत्रो लङ्केश भएर पनि तिमीलाई लाज लाग्दैन ? महादेवका मायाद्वारा रचिएकी नारीलाई तिमीजस्तो पराक्रमी राजाले बुइँमा बोकेर हिँडेको कसैले देखे भने के भन्लान् ? लौ यी ता पार्वती होइनन् । महादेवले तिमीलाई छल्नु छलेछन् । तिमीलाई साँच्चिक्कै पार्वती नै मागेर लैजाने इच्छा छ भने पार्वती पाइने ठाउँ समेत मलाई थाहा छ । सो बताउँछु सुन ‘महादेवको आसन गरिराखेको बाघको छालाभित्र साँच्चिक्कैकी पार्वतीलाई लुकाएर राखेका छन् । तिनैलाई मागेर लैजाऊ ।’ मोहिनीरूपी विष्णुले भनेका यस्ता अनेक कुरा सुनी रावणले पत्यायो र पार्वतीलाई त्यहीं छोडेर आफू फर्की फेरि गोकर्णमा गयो ।

यता विष्णुले आफ्नो मोहिनीरूप त्यागी पार्वतीलाई वैकुण्ठमा पुर्याई अनेकौं भक्तिभावपूर्वक पूजा गरिराख्नुभयो । उता रावण भने महादेवलाई गाँजा, भाङ, धतुरो लागेर अचेत भई रहेकै बेलामा पुगेर बिन्ती गर्न लाग्यो – ‘हे ईश्वर ! हजुरले त मलाई मायाद्वारा रचना गरिएकी पार्वती पो दिइबक्सिएछ । मैले बाटामा जाँदै गर्दा थाहा पाएँ र त्यहीं छोडिदिएँ । मलाई दिइबक्सिनु हुन्छ भने हजुरका आसनमुनि बाघका छालाभित्र लुकाएर राखिएकी पार्वती दिइबक्सियोस् ।’ रावणका यी कुरा सुनी ध्यानदृष्टिले विचार गरी हेर्दा विष्णुबाट भएको सबै कार्य र विष्णुले पार्वतीलाई वैकुण्ठमा लगेको थाहा पाई आफ्ना मायाद्वारा वाघका छालाभित्र अर्की एउटी नारी सृष्टि गर्नुभयो र त्यहाँबाट निकाली ‘लौ लैजा’ भनी रावणका जिम्मा दिनुभयो । रावण पनि अति हर्षित हुँदै महादेवले आसनमुनिबाट निकालेर दिएकी मायाकी पार्वतीलाई काँधमा बोकी लङ्कातिर लाग्यो । त्यसपछि विष्णुले पार्वतीलाई लिएर महादेवका काखमा पुर्याई वैकुण्ठमा फर्किनुभयो ।

महादेव पनि एकदिन पार्वतीसित सल्लाह गरी मानसरोवरमा गई राजहंस भएर जलक्रीडा गरिहनु भएको थियो । त्यसै समयमा अन्तःपुर नाम भएका नगरमा बसेका जालन्धर आफ्नी स्त्री वृन्दासित हाँस, ख्याल र ठट्टा गर्दै साह्रै खुसी भएर हाँसिरहेका थिए । वृन्दा अत्यन्त पतिव्रता थिईन् । आफ्ना पतिलाई त्यसरी हाँसेको देखेर उनीले ‘हे स्वामी ! किन हाँस्नुभयो ?’ भनी बिन्ती गरिन् । यो सुनी जालन्धरले भन्यो – ‘हे प्रिये ! हाँसेको कारण के भने, तिमीजस्ती राम्री स्वास्नी हुने मबाहेक अरु को होला ? यो सम्झेर म हाँसेको हुँ ।’ यो सुनी वृन्दाले भनिन् – ‘हे स्वामी ! स्वास्नी राम्री छे भन्दैमा हाँस्नु उचित होइन । यसको परिणाम राम्रो हुँदैन । राम्रीकै कुरा गर्नुहुन्छ भने महादेवकी स्त्री पार्वतीलाई देखे कसो गर्नुहुन्छ होला ? ती मभन्दा कता हो कता राम्री छिन् ।’ यो कुरा सुनेर ‘हे प्रिये ! तिमीले भनेको साँच्चिकै हो भने म ती पार्वतीलाई छल गर्न जान्छु’ भनी मायाद्वारा महादेवको रूप लिई जालन्धर कैलाशमा जाँदा भए । मानसरोवरबाट जलक्रीडा गरी तृप्त हुनुभएका महादेव आइपुग्नु भयो भन्ठानी पार्वतीले हत्तपत्त गरी सुनको कमण्डलु लिएर गोडा धोइदिन ढोकामा आउनुभयो । उनको सुन्दरता देख्नासाथ महादेवको रूप धारण गरी गएका जालन्धर भुइँमा लडेर मूर्छा भए ।

यो देखेर पार्वतीले ‘के उदेक भयो’ भनी ध्यानदृष्टिले हेर्दा भएभरको रहस्य बुझ्नुभयो । त्यसपछि नन्दी, भृङ्गी अदि द्वारपाललाई ‘अब यहाँ कोही आएछ भने भित्र जान नदिनू’ भनी आफू एकान्त ठाउँमा गई लुकेर विष्णुको आराधना गर्न लाग्नुभयो । यसप्रकारको आराधना गरेको थाहापाई चार हातमा शङ्ख, चक्र, गदा, पद्म धारण गर्नुभएका गरुडवाहन भगवान् विष्णु तत्काल नै हावाभन्दा पनि चाँडो गरी ध्यानमा रहेकी पार्वती छेउ पुगेर ‘हे पार्वती ! मेरो किन आराधना गर्न लाग्नुभयो ?’ भनी सुध्याउनु भयो । विष्णुको प्रश्न सुनी पार्वतीले भन्नुभयो – ‘हे लक्ष्मीपते ! यसबखतमा भने महादेव मानसरोवरमा गएर राजहंस भई जलक्रीडा गरेर आनन्दमग्न हुनुहुन्छ । यो अवसर छोपी जालन्धरले मलाई छल्न भनी महादेवको भेष लिई आएछ ।’ जगन्माता पार्वतीबाट सम्पूर्ण वृत्तान्त सुनिसकेपछि क्रोधित भएका विष्णुले भन्नुभयो – ‘हे पार्वती माता ! दुष्ट जालन्धरले तपाईंप्रति त्यस्तो दुर्व्यवहार चिताई छल गर्न आएछ । अब म पनि गएर त्यसकी स्त्री वृन्दाको सत्यलाई निश्चय नै डगाई आउँछु । महादेवको समेत खोजी गरी वहाँ पठाइदिन्छु ।’ यति भनी पार्वतीसित विदा भई विष्णु गरुडमा सवार भएर बडो वेगसित मानसरोवर जानुभयो । इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां विष्णु-मानसरोवर-गमनं नाम षोडशोऽध्यायः ।।

तपाईको प्रतिक्रिया

Loading…