एमएम कपको उपाधी आर्मीको पोल्टामा

इनरुवा / नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।  आर्मीले लगातार दोस्रो वर्ष प्रतियोगिताको उपाधी जितेको हो । पहिलो संस्करणको फाइनलमा समेत आर्मीले पुलिसलाई हराउँदै उपाधी चुमेको थियो ।

सुनसरीको इनरुवामा आज सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै नगद ४ लाख ५ हजार सहित ट्रफी हात पारेको छ ।  उपबिजेतामा सीमित बनेको पुलिसले नगद २ लाख ५ हजारमा चित्त बुझाएको छ । इनरुवा रंगशालामा सम्पन्न खेलमा आर्मीले १ सय ८४ रनको जोडेको थियो । १ सय ८५ रनको पछ्याउने क्रममा पुलिस २४.४ ओभरमा ९९ रनमै अलआउट हुन पुग्यो ।

पुलिसको लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए । अमित श्रेष्ठले २३ रन तथा अनिल साहले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिसलाई सानो योगफलमा समेट्न आर्मीका देब्रे हाते स्पिनर सुशन भारीले ४ विकेट लिए । ६ ओभरमा उनले २४ रन मात्र खर्चिए ।

यस्तै अर्का देब्रे हाते स्पिनर शाहब आलमले ३ विकेट लिए । कुशल मल्लले २ तथा बिक्रम सोबले १ विकेट हात पारे । यस अघि टस हारेर पहिलो ब्याटिंग गरेको आर्मीले ४८.५ ओभरमा अलआउट हुँदै १ सय ८४ बनाएको थियो ।  आर्मीका कप्तान बिनोद भण्डारीले ४० रन बनाएको खेलमा राजेश पुलामीले ३१, राजु रिजालले २२, बिक्रम सोबले १५, कुशल मल्लले १३ रन र रोहित पौडेलले ११ रनको पारी खेले ।

पुलिसका स्पिनरहरु ललित राजबंशी, सागर ढकाल र दिपेन्द्र ऐरीले समान ३÷३ विकेट लिंदा पवन सर्राफले १ विकेट लिए ।  फाइनल खेलको प्लेयर अफ द म्याच बिजइ टिमका सुशन भारी घोषित भए ।  प्रतियोगिताकै उत्कृस्ट खेलाडी आर्मीका सुशन भारी चुनिए । उनले ५५ हजार नगद हात पारे । यस्तै प्रतियोगिताको उत्कृस्ट बलर सुदुरपश्चिमका बिनोद लामा तथा उत्कृस्ट ब्याट्सम्यान त्रिभुवन आर्मी क्लबका कुशल मल्ल घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपाका प्रदेश १ इन्चार्च भीम आचार्य, मनमोहन क्रिकेट सेन्टरका केन्द्रिय अध्यक्ष ठाकुर गैरे, इनरुवा नगरपालिकाका मेयर राजन मेहताका साथै राष्ट्रिय खेलकुद परिषदका सदस्य शम्भु आचार्य र आयोजक संस्थाका अध्यक्ष विप्लब घोषले पुरस्कार वितरण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…