मोरङको कटहरीमा खसीको भनेर बाख्रीको मासु बेच्दै गर्दा पक्राउ

विराटनगर / मोरङको कटहरी गाउँपालिका–१ का ४० वर्षीय मोहम्मद कयुवलाई बाख्रीको मासु बेच्दै गरेको अवस्थामा प्रहरीले बिहीबार विराटनगरको भृकुटी चौकबाट पक्राउ गरेको छ ।

खसीको भनेर बाख्रीको मासु बेच्दै गरेको पाइएपछि पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताए । प्रहरीकाअनुसार केयुवले गाउँबाटै बाख्री काटेर मासु बिक्रीका लागि विराटनगर लिएर आएका थिए । उनको साथबाट पाँच किलो मासु बरामद भएको छ ।

केयुवले अर्डरअनुसार नै बाख्रीको मासु लिएर आएको बताएका छन् । उनले कटहरीमै बाख्री काटेर बिक्रीका लागि मासु विराटनगर लिएर आउने गरेको खुलेको प्रहरीले जनाएको छ । बाख्रीको मासु बिक्रीमा संलग्न कटहरी–१ का २२ वर्षीय मोहम्मद आरिफ भने फरार रहेको डीएसपी गौतमले बताए । केयुवलाई पक्राउ गर्नासाथ उनी फरार भएको प्रहरीले जनाएको छ । आरिफलाई खसीको भन्दै बाख्रीको मासु बिक्री गरिरहेको अवस्थामा विराटनगरको गुद्री बजारबाट छ महिना अघि पनि प्रहरीले पक्राउ गरेको थियो ।

Loading…

तपाईको प्रतिक्रिया