सिद्धबाबा विरुद्धको मुद्दाको सुनुवाई स्थगित

विराटनगर / सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी विरुद्धको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाई उच्च अदालत विराटनगरमा बिहीबारका लागि तय भए पनि स्थगित भएको छ ।

कायम मुकायम मुख्य न्यायाधीश प्रेमराज कार्की र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा सुनुवाईका लागि मुद्दाको पेसी तोकिएको थियो । पीडित पक्षकै निवेदनका आधारमा मुद्दाको सुनुवाई आगामी बिहीबारलाई सरेको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले बताए । मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ ।

सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक पहिलो साता बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दा चलाएको थियो । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई गत पुस १४ गते तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो । यही मुद्दा उच्चमा पुगेको छ ।

जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो । यता बलात्कारका अभियुक्त सिद्धबाबाले पनि पुस २३ गते उच्च अदालत विराटनगरमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका छन् ।

एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले एकै पटक सुनुवाईका लागि मुद्दा लगाउमा राख्न आदेश दिएको थियो । न्यायाधीश श्रेष्ठ भने मंगलबारदेखि विदामा छन् ।

यता सिद्धबाबालाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गरिनु पर्ने माग गर्दै उच्च अदालत विराटनगर अगाडि बिहीबार मौन प्रदर्शन गरेर धर्ना दिइएको छ । अदालतबाट थुनामा राख्ने आदेश हुनु पर्ने माग गर्दै पीडितका तर्फबाट धर्ना दिइएको हो । धर्नामा सहभागीले हात–हातमा पीडितका पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए । धर्नामा महिला, गैरसरकारी संस्थाकर्मी तथा मानवअधिकारकर्मीहरु सहभागी बने ।

तपाईको प्रतिक्रिया

Loading…