अपहरणकारी कैदी बत्ती गएको मौकामा कारागारबाटै भागेपछि

काठमाडौँ । रौतहट जिल्ला कारागार गौरमा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भोगिरहेका एकजना कैदी बिजुलीको लाइन गएकोे मौका छोपी कारागारबाट भागेका छन् । जिल्लाको गढीमाई नगरपालिका वाड नं। १ बस्ने २८ वर्षीय अशोक यादव बिजुलीको लाइन गएको मौका छोपी कारागारबाट फरार भएका हुन । राती करिब साडे ८ बजे बिजुलीको लाइन कटेको मौका छोपी कैदी यादब फरार भएको जिल्ला कारागार कार्यालय गौरका प्रमुख शम्भु यादबले जानकारी दिए । ढोकामा कार्यालय सहयोगीले ताल्चा लगाउन बिर्सेको र बिजुलीको लाइन गएको मौका पारेर यादब फरार रहेको उनले बताए ।

सर्लाही जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा १५ बर्षको सजाय तोकिएर एकसाता अघि कैद भुक्तानका लागि उनलाई गौर कारागार ल्याइएको थियो । कारागारबाट आइतबार राति आठदेखि साढे आठ बजेका बीचमा कारागारमा कैदी गणनाको समय यादव फरार भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

कारागारभित्रै कैदीले बनाउने बाँसको मुढा राखेर पर्खालमा चढी हामफालेर भागेको प्रहरीको अनुमान छ ।उक्त स्थानमा फरार कैदी अशोक यादवको चप्पल र टोपी कारागार प्रशासनले राति नै बरामद गरेको छ । कैदी फरार भएलगत्तै गौरको चारै नाकामा कडाइका साथ प्रहरीले चेकजाँच गरेको छ ।

यसैबीच कैदी फरारको बारेमा अनुसन्धानको लागी जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत किरननिधी तिवारीको अध्यक्षतामा तीन सदस्सीय छानबिन टोली गठन गरेका छ ।छानबिन टोलीमा जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक नविनकुमार सिंह र राष्ट्रिय अनुुसन्धानका प्रतिनिधि मायाशंकर रहेका छन ।

यसैगरी २०७० सालमा पनि कारागारबाट नै १ जना कैदी फरार भएका थिए । अपहरण तथा शरिर बन्धक मुद्दामा सजाय भोगिरहेका नबिन कुमार यादब पनि फरार भएका थिए । गौरको तयब अस्पतालमा उपचारको क्रममा यादब फरार भएका हुन । उनी अझै फरार नै छन । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…