मलेसियाको सानत्वना जित

इनरुवा / प्रतियोगिताबाट बाहिरी सकेको मलेसिया ११ ले इनरुवामा जारी एमएम कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सानत्वना जित हात पारेको छ । समूह चरणको अन्तिम खेलमा मलेसियाले गण्डकी प्रदेशमाथि १ सय ९२ रनको भारी जित निकालेको हो ।
ओसिलो पिचका कारण ४७ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ८ विकेटको क्षतिमा २ सय ९७ रन जोडेको थियो । २ सय ९८ रनको लक्ष पछ्याएको गण्डकीलाई २७ दशमलव २ ओभरमा अलआउट पार्दै मलेसिया ११ ले प्रतियोगितामा शुखद अन्त्य गरेको छ ।

गण्डकी प्रदेश मलेसियाका वलरसामू खुलेर खेल्न सकेन र १ सय ६ रन बनाउँदै अलआउट हुन पुग्यो । गण्डकीलाई सस्तैमा समेट्न मेलसियाका सुहारील फेत्रीले ४ तथा अनवर रहमान र बिजय उन्नीले समान ३÷३ विकेट लिए । गण्डकीकालागि विपिन खत्रीले सर्वाधिक ४२ रन बनाए । प्रविण ढकालले १९ र विधान श्रेष्ठले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

त्यसअघि पहिलो ब्याटिङ गरेको मलेसियाका ३ ब्याट्सम्यानले अर्धशतकीय पारी खेलेका थिए । मलेसियाका ऐनुल हकीमले ८९ रन बनाए । त्यसैगरी भुषन साब र भिरन्दीप सिङले समान ५० रन बनाए । अहमद फैजले ३१ रन बनाउँदा मोहमद आरीफले २० रनको पारी खेले ।

गण्डकीका विपिन खत्रीले ३ विकेट लिए भने चन्द्रकान्त पौडेलले २ र गोविन्द प्रधानले मलेसियाको १ विकेट लिए । मलेसियाका हकीम प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए । समूह डी को शिर्ष स्थानमा रहँदै सुदुरपश्चिम अन्तिम चारमा पुगिसकेकाले आजको खेल दुवै टिमकालागि प्रतिष्ठाको लडाई मात्र थियो । अब सेमीफाइनलका खेलहरु पर्सीबाट सुरु हुने छन् । पहिलो खेलमा बागमती प्रदेशले आर्मी सँग खेल्ने छ भने दोस्रो सेमीफाइनलमा सुदुरपश्चिमले नेपाल पुलिसको सामना गर्ने छ ।

तपाईको प्रतिक्रिया

Loading…