एमएम कप : मलेसियाको विर्सनलायक प्रदर्शन

इनरुवा / प्रतियोगिता दाबेदारका रुपमा हेरिएको मलेसिया ११ ले इनरुवामा जारी एमएम कपमा विर्सनलायक प्रदर्शन गरेको छ । सुदुरपश्चिम प्रदेश संगको खेलमा मलेसियन टिमले नसोचेको पराजय भोगेको छ । इनरुवा खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको मलेसिया सुदुरपश्चिम सामू पूर्ण रुपमा निरीह बन्यो र प्रतियोगिताकै कम स्कोरमा समेटिन पुग्यो ।

पिच कन्डिसन बुझ्न नसकेको मलेसिया स्पीन अट्याक झेल्न नसक्दा सुरुवाती ओभरबाटै दबाबमा आयो र निरन्तर विकेट गुमाउँदै २२ ओभरमा मात्र ४९ रन बनाउँदै समेटियो । मलेसियाका भिरनदीप सिंहले २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियालाई झिनो रनमा समेट्ने क्रममा शेर मल्लले ५ तथा बिनोद लामाले ४ विकेट लिए ।

बिक्रम ठगुन्नाले १ विकेट हात पारे । मलेसियाले दिएको ५० रनको झिनो लक्ष सुदुरपश्चिमले २ विकेट गुमाएर ७ दशमलव २ ओभरमा भेट्टायो । टिमकालागि ८ विकेटको जित निकाल्ने क्रममा सुदुरपश्चिमकालागि लोकेश बम र खडक बोहोराले अविजित रहँदै समान १५ रन जोडे । गजेन्द्र बोहोराले ११ र अरुण ऐरीले ६ रन बनाए । मलेसियाका अनवर रहमान र धिभेन्द्रन मोगनले एक एक विकेट लिए । प्रतियोगिताको प्लेयर अफ द म्याच सुदुरपश्चिमका शेर मल्ल घोषित भए । भोलिको खेल सुदुरपश्चिम र गण्डकी प्रदेश बिच हुने छ ।

Loading…

तपाईको प्रतिक्रिया