सन् २०२० मा चम्किदैछ यि राशिहरूकाे भाग्य : यस्ताे छ नयाँ वर्ष सन् २०२० काे वार्षिक राशिफल

यो पूर्वीय ज्योतिषशास्त्र र वैदिक ज्योतिषमा आधारित फलादेश हो । हुन त ज्योतिषीय विश्लेषणमा सूर्य र चन्द्रमाको गणनाले महत्त्व राख्ने हुँदा सनातन परम्परामा चान्द्रवर्षका आधारमा चैत्र शुक्लपक्षको प्रतिपदादेखि र सौर्य वर्षका आधारमा वैशाख ०१ गतेदेखि नयाँ वर्ष प्रारम्भ हुने मान्यता छ । त्यसैले ज्योतिषशास्त्रमा वर्षफल निर्धारण गर्दा सूर्यले मीन राशि त्यागी मेष राशिमा प्रवेश गरेको बिन्दुका आधारमा वर्षकुण्डली तैयार गरी गर्ने परम्परा छ, यद्यपि हाल बहुसङ्ख्यक स्थानमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेको अङ्ग्रेजी नयाँ वर्षलाई नै नववर्ष मान्ने र हर्षोल्लासका साथमा नयाँ वर्षलाई स्वागत गर्ने परम्परा विकसित हुँदो अवस्था छ । उक्त सन्दर्भमा मैले यहाँ २०२० को जनवरी ०१ तारिकको पूर्वाह्नको ००:०० बजे नेपालमा देखिने ग्रहगोचरलाई आधार मानी ग्रहस्थिति, आमजीवनमा यसको प्रभाव र चान्द्र राशिका आधारमा राशिफल प्रस्तुत गरेको छु ।

सन् २०२० का निमित्त समग्र ग्रहगोचरको लेखाजोखा

वर्ष २०२० का निमित्त प्रारम्भ कन्या लग्न र कुम्भ राशिको चन्द्रमाका साथमा हुँदैछ । वर्ष कुण्डलीमा लग्नको स्वामी बुध ग्रह राशि स्वामी शनिका साथमा केन्द्रमा चतुर्थ भावमा विराजमान देखिन्छन् । यसै भावमा सूर्य, केतु र गुरु बृहस्पति समेत जम्मा पाँचवटा ग्रहको यस भावमा उपस्थिति रहेको छ । केन्द्रअन्तर्गत दशम भावमा राहु ग्रह रहेको छ । अन्य स्थानमा तृतीय भावमा स्वगृही मङ्गल, पञ्चम भावमा मित्रगृही शुक्र र षष्ठ भावमा कमजोर चन्द्रमाको उपस्थिति देखिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मेष राशिका जातकका निमित्त अङ्ग्रेजी नयाँ वर्ष लाभदायक नै रहने छ । भाग्य स्थानमा सूर्यादि पञ्चग्रहको युतिसम्बन्ध रहेको देखिन्छ, त्यसैले यी ग्रहहरूको प्रभावले भाग्यबृद्धिमा यो वर्ष ठोस परिणाम प्राप्त हुने सङ्केत छ । स्वास्थ्यस्थितिदेखि धनवैभवादि भौतिक सुखका क्षेत्रमा चौतर्फी सफलता पाउने वर्ष हो यो वर्ष । तर तपाईंको राशिस्वामी मङ्गल वर्षारम्भमा अष्टम भावमा आफ्नै अर्को घर बृश्चिक राशिमा उपस्थिति जनाएको छ । त्यसैले वर्षारम्भमा स्वास्थ्यस्थितिप्रति अलि सचेतता अपनाउनु आवश्यक देखिन्छ । खासगरी खानपानको अनुशासन र व्यायामप्रति उदासीन बन्नु हुँदैन । विगतका दिनहरूमा यदि तपाईंले योग, ध्यान, व्यायाम आदिलाई आफ्नो दिनचर्यामा समावेश गर्ने विचार गर्नु भएको छ भने यो नयाँ वर्षमा उक्त योजनालाई दृढ सङ्कल्पका साथमा प्रारम्भ गर्न सक्नुहुन्छ । यस वर्ष लगभग ९ महिनासम्म राहू ग्रहले तपाईंको राशिबाट पराक्रम भावको यात्रा गर्नेछ ।

यसबाट तपाईंको सामाजिक सम्बन्ध र प्रतिष्ठाबृद्धिमा सघाउन पुग्ने सङ्केत बन्दछ । वैदेशिक प्रयोजनका काम वा खासगरी छात्रछात्राले शैक्षिक प्रयोजनको विदेश यात्रा प्रारम्भ गर्ने अनुकूलता पाउने छन् । होटलमोटल, भ्रमणपर्यटन, जग्गाजमीनको कारोबार, रहस्यात्मक र गुप्त कारोबार, पुरातत्त्व, ज्योतिष, वास्तुशास्त्र, अनुसन्धान (रिसर्च), खोज र आविष्कारसँग सम्बन्ध व्यवसाय गर्ने वा ज्ञान प्राप्त गर्ने व्यक्तिका लागि यो वर्ष फलदायी रहने छ । व्यवसायी र कर्मचारीले यस वर्ष छुटपुट ससाना यात्रा गर्ने परिस्थिति बन्नेछ । नयाँ कारोवार, व्यवसाय वा रोजगारी गर्ने उद्देश्य लिएका यस राशिका जातकका लागि यो वर्ष सकारात्मक रहने सङ्केत छ । वर्ष कुण्डलीमा तपाईंको राशिबाट लाभ स्थानमा रहेको चन्द्रमाले तपाईंको आर्थिक पक्षलाई व्यवस्थित तुल्याउन सघाउ पुर्याउने छ । त्यस्तै यसले तपाईंको घरमा कुनै माङ्गलिक कर्म सम्पन्न हुने, भौतिक सुखसुविधाका वस्तु जोडिने र खासगरी आमा वा मातृतुल्य बृद्ध स्त्रीको इच्छानुकूल धर्मकर्म वा तीर्थयात्रादिमा संलग्न हुने परिस्थिति बन्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

बृष राशि हुने जातकहरूका लागि आगामी नयाँवर्ष सन् २०२० सामान्यभन्दा राम्रो रहने सङ्केत छ । यसको कारण हो, वर्षारम्भमा तपाईंको राशिस्वामी शुक्रले नयाँवर्षको पहिलो दिन भाग्यभावमा उपस्थिति जनाएको छ । त्यसैले यो वर्ष नयाँनयाँ सफलता, नयाँ उपलब्धी र नयाँ प्रगति दिलाउने वर्ष हो । अतः यो वर्ष तपाईंका निमित्त अत्यधिक समुज्ज्वल र उन्नतिप्रदायक समय रहने छ । त्यस्तै तपाईंको राशिबाट अष्टम भावमा पञ्चग्रही योगको सिर्जना भएको छ भने सप्तम भावमा सप्तमेश र व्ययेश मङ्गल ग्रह स्वगृही भएर उपस्थित भएको छ । अतः आगामी नयाँवर्ष सन् २०२० मा तपाईंको प्रेमजीवन, गृहस्थीसुख, व्यापारव्यवसाय र रोजगारीको क्षेत्रमा चौतर्फी उन्नतिको सङ्केत देखिन्छ ।

यस वर्षको फरवरीमा शनिश्चर ग्रहको अढैयाको प्रभाव समाप्त हुनेछ । भाग्यभावमा स्वगृही भएर उपस्थित हुने शनिश्चर ग्रहले विगतदेखि रोकिएका भाग्यबृद्धिका प्रयासहरू परीक्षा, प्रतियोगिता, मुद्दामामिला आदि क्षेत्रमा अब फटाफट काम बन्न थाल्नेछन् । यस वर्षको प्रारम्भमा अष्टम र लाभ भावको मालिक मानिने गुरु बृहस्पति स्वगृही बनेर अष्टम भावमा नै उपस्थित हुनुको अर्थ आफ्नै वा पिताजीको स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्छ, सचेतता अपनाउनु जायज हुन्छ । अष्टम भावमा बसेको बृहस्पतिको पूर्णदृष्टि २, ४ र १२ औं घरमा पर्ने हुँदा यसका केही सकारात्मक फल पनि हुनेछन् । वैदेशिक प्रयोजनका हरेक कामबाट लाभ मिल्नेछ । घरायसी सुखसुविधका वस्तुको किनमेल गरिने छ । पुरानो वाहन साटफेर गर्नुपर्ने वा नयाँ वाहन खरिद गर्ने अनुकूलता मिल्नेछ । आकस्मिक ढंगले परिवारभित्र कुनै माङ्गलिक वा पारम्परिक कृत्य सम्पन्न गर्नुपर्ने हुँदा थप व्ययभार बढ्ने सङ्केत पनि देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मिथुन राशिका जातकहरूले आगामी नयाँवर्ष सन् २०२० मा केही महत्त्वपूर्ण निर्णय लिने र कार्यान्वयन गर्ने परिस्थिति देखिन्छ । खासगरी राशिस्वामी बुधलगायत बुधादित्य योगको सिर्जना गर्दै केही महत्त्वपूर्ण ग्रहहरू तपाईंको राशिबाट सातौं भावमा उपस्थित हुनु शुभकारक समयको सङ्केत हो । त्यसैले यस वर्ष कतिपय अप्ठ्यारा र जोखिमयुक्त निर्णय गर्नुपर्ने परिस्थितिसमेत बन्नेछ । वर्षारम्भमा सप्तम भावमा बसेको गुरु बृहस्पतिले जीवनका उच्च अभिलाषा परिपूर्तिका निमित्त नयाँनयाँ योजना बनाउन र तिनलाई कार्यान्वयन गर्न मद्दत गर्नेछ । अझ यो नयाँ वर्ष बुधवारकै दिन प्रारम्भ हुँदैछ, जुन तपाईंको राशिस्वामीको दिन मान्ने गरिन्छ । वर्षारम्भमा चन्द्रमाले तपाईंको भाग्यभावमा उपस्थिति जनाएको छ, परिणामतः कार्यक्षेत्रमा उन्नतिप्रगति, बढुवा वा लाभमूलक क्षेत्रमा स्थानान्तरण हुने सम्भावना देखिन्छ । तर मङ्गल ग्रह छैटौं भावमा रहेकाले शत्रु र प्रतिद्वन्द्वी बलिया देखिन्छन् ।

उता शुक्र ग्रह वर्षारम्भमा अष्टम भावमा रहेकाले जीवनसाथीको स्वास्थ्यमा बाधा हुने, एकआपसमा अविश्वासको वातावरण बन्ने तथा प्रेमजीवनमा उतारचढाव आउने सम्भावना हुन्छ । त्यस्तै सप्तम भावमा बुध, बृहस्पति, सूर्य, शनिश्चर र केतुको पञ्चग्रहयुति रहेकाले जीवनसाथी वा प्रेमजीवनमा अचानक कुनै अप्रत्यासित घटना वा जोखिम व्यहोर्ने परिस्थिति बन्नसक्ने भएकाले हरदम सचेत र सावधान रहनु राम्रो हुन्छ । त्यस्तै वर्षारम्भमा शिरमा बसेको राहुको प्रभावले महत्त्वाकाङ्क्षा र भ्रमले दिमागमा डेरा जमाउने परिस्थिति पनि बन्नेछ । यदाकदा हडबडी र शीघ्रताले गर्दा बन्नै लागेको काम पनि बिग्रने डर हुन्छ । लग्नमा रहेको राहुको प्रभावले यात्रामूलक र चलायमान (मुभेवल) काममा राम्रो प्रभाव पार्नेछ, त्यस्तै वैदेशिक प्रयोजनका कामबाट लाभ लिन सक्नुहुन्छ । तर हरेक कामकारबाहीमा केवल आफ्नो मुढेबल र निर्णय लाद्ने होइन, जान्नेबुझ्ने, अभिभावक र गुरुजनको सल्लाह लिनु वाञ्छनीय देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

कर्कट राशिका जातकले मानसिक रूपमा सबल बन्नुपर्छ, इमानदार र लगनशील बन्ने तथा काममा धैर्य र स्थिर बन्ने हो भने आगामी नयाँवर्ष सन् २०२० लाई जस्तो बनाउन चाहने हो, त्यस्तै बनाउन सक्ने सङ्केतहरू देखिंदैछन् । यो वर्ष भाग्य र भावीप्रतिको विश्वासले होइन, आफ्नो लक्ष्य, धारणा, मिहिनेत र लगनशीलताका बलमा भाग्य बदल्न गरिएको प्रयास र चाहनाले कर्ममार्फत सुन्दर जीवन बनाउने वर्ष हो ।  वर्षारम्भमा राशिस्वामी चन्द्रमा अष्टम भावमा देखिन्छ, त्यसैले जतिसुकै व्यस्तता भए पनि व्यक्तिगत स्वास्थ्यप्रति उदासीन हुनु राम्रो हुँदैन भन्ने बुझ्नुपर्छ । यस वर्ष तपाईंले प्रतिस्पर्धा र प्रतियोगिताहरूमा सहभागी हुन पाउने एवं आफ्नो प्रतिभा देखाउने ठूलाठूला अवसरहरू प्राप्त गर्नुहुनेछ ।

किनभने राशिबाट छैटौं स्थानमा बुध, गुरु, सूर्य, शनि र केतु एकसाथ उपस्थित देखिन्छन् जसले तपाईंका निमित्त नयाँनयाँ अवसर प्रदान गर्नेछन् । बुध र शनिले वर्ष कुण्डलीमा विपरीत राजयोग सिर्जना गरेको देखिन्छ, यसको प्रभावले  गरेको परिश्रम र मिहिनेतको फल प्राप्त हुने सङ्केत गर्दैछ । खेलकुद, कला, अभिनय, मनोरञ्जक क्षेत्र आदिमा संलग्न व्यक्तिहरूका निमित्त यो वर्ष विदेश यात्राबाट र विदेशमा आयोजना हुने प्रतियोगितामा सहभागी बन्दा राम्रो उपलब्धी र सफलता प्राप्त हुने देखिन्छ । त्यस्तै आइटी, इञ्जिनियरिङ, मिडिया, एक्टिङ, पोलिटिक्स आदि कार्यक्षेत्रमा केही गरौं भन्ने चाहना भएका हरूले  वर्षारम्भमा पञ्चम भावमा रहेको स्वगृही मङ्गलको प्रभावले सफलता पाउने सङ्केत छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आगामी नयाँवर्ष सन् २०२० सिंह राशिका जातकहरूका निमित्त मानसम्मान र पदप्रतिष्ठामा वृद्धि गर्ने वर्ष हो । यस वर्षको सुरुमा तपाईंको राशिस्वामी सूर्यले वर्ष कुण्डलीमा पञ्चम भावमा बुध, गुरु, शनि र केतुसँग युति बनाएर उपस्थिति जनाएको छ, यस प्रभावले खासगरी बौद्धिक क्रियाकलाप, ज्ञानविज्ञानको क्षेत्र वा सन्ततिका माध्यमबाट यस वर्ष तपाईंले ख्याति प्राप्त गर्न सक्नुहुन्छ । उता वर्षारम्भमा सातौं घरमा रहेको चन्द्रमाको प्रभावले जीवनसाथीले समेत आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नसक्ने वर्ष हो । गृहस्थीजीवनमा एकआपसमा भलाकुसारी र सल्लाहसुझावबमोजिम नै कार्यसञ्चालन हुने सङ्केत छ । त्यस्तै प्रेमजीवनमा रहेका जोडीको यस वर्ष मिलन हुनसक्ने सम्भावना पनि छ ।

उता भाग्येश मङ्गल स्वगृही भएर चतुर्थ भावमा बसेको हुँदा यस वर्ष नयाँ घर, नयाँ वाहन अथवा सुविधासम्पन्न स्थानमा घरघडेरीको जोहो हुनसक्ने परिस्थिति बन्नेछ । तर कर्मेश शुक्र राशिबाट छैटौं भावमा बसेर वर्षको सुरुवात भएकाले परीक्षा, प्रतियोगिता, प्रतिस्पर्द्धा आदिमा सुझबुझ र लगनशीलता देखाउन सके उपलब्धी नै हासिल गर्ने सकिने छ । वर्षारम्भमा राहु ग्रहले लाभस्थानमा उपस्थिति जनाएको छ, परिणामतः राज्यपक्षका कामबाट सफलता तथा ससाना यात्राहरू लाभप्रद रहने सङ्केत छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आगामी नयाँवर्ष सन् २०२० तपाईंका लागि व्यक्तित्वविकास, कार्यक्षेत्रमा उन्नतिप्रगति, धनधान्यमा बृद्धि तथा मानसम्मानको प्राप्तिका साथमा उपस्थित भएको देखिन्छ । राशिबाट चतुर्थ भावमा राशिस्वामी बुधका साथमा सूर्य, बृहस्पति, शनिश्चर र केतु ग्रहको उपस्थिति रहने छ, बुधादित्य योग, पदच्युत योग र गुरुचाण्डाल योग लगायतका विविध योगको सिर्जना भएको छ, अनि यहाँ बसेका समस्त ग्रहहरूको पूर्ण दृष्टि कर्मक्षेत्रमा रहने भएकाले सफलताको योग निर्माण गरेको देखिन्छ । सन् २०२० तपाईं व्यस्त रहने समय हो । यस वर्ष व्यक्तित्व विकास र क्यारियरका दृष्टिकोणले तपाईंले राम्रो उपलब्धी र सफलता प्राप्त गर्नुहुनेछ । नयाँनयाँ योजनाहरू कार्यान्वयन गर्ने अनुकूलता मिल्नेछ । आँट, हिम्मत र आत्मबलमा समेत बृद्धि हुनेछ, दूरगामी भविष्यप्रतिको चिन्तन पलाउने र योजनाबद्ध भएर गरेका हरेक क्रियाकलाप सफल हुने समय छ ।

उता भाग्येश शुक्र त्रिकोणमा बसेर तथा पञ्चमेश शनिश्चर केन्द्रमा रहनु तपाईंको बौद्धिक क्षमता, शिक्षादीक्षा एवं ज्ञानगुनको मार्गमा उन्नतिको सङ्केत हो, साथै प्रेमजीवन र सन्तानको उन्नतिप्रगतिका लागिसमेत शुभ्यफाप्य नै रहने देखिन्छ । केन्द्रवर्ती भएर आफ्नै घरमा बृहस्पति ग्रहले उपस्थिति जनाउनु भनेको तपाईंका लागि हंस महायोगको सिर्जना गर्नु हो, जसका कारण मातृसुख, गृहसुख, वाहनसुख, वैदेशिक प्रयोजनका काम आदिका माध्यमबाट राम्राराम्रा परिणामहरू पाउनु हुनेछ । घरघडेरीको जोहो गर्ने वा नयाँ घर बनाउने अथवा पुरानो घरको मरम्मतसम्भार गर्ने समय आइपुगेको छ । चौथो भावमा बसेको बृहस्पति सप्तम भावको समेत मालिक भएकाले घरायसी जीवन सन्तोषजनक रहने छ, जीवनसाथीसित तालमेल कायम हुनाले सुख र सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कर्मक्षेत्रमा बसेको राहुले कार्यमा विघ्नबाधा र ढिलासुस्ती गर्नसक्छ, कतिपय काममा आफ्नै उदासीनता र लापरवाही पनि बाधाको कारक बनेको देखिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

तुला राशिका व्यक्तिहरूका निमित्त तपाईंको राशिबाट तृतीय भावमा अर्थात् पराक्रम स्थानमा पञ्चग्रही योगका साथमा नयाँ वर्ष प्रारम्भ भएको छ, यसको प्रभावले यो वर्ष केही सफल, सुखदायी एवं स्मरणीय समयहरूको संयोजन हुने समय हो । वर्ष कुण्डलीमा तपाईंको राशिको स्वामी शुक्रले राशिबाट चौथो भावमा उपस्थिति जनाएको छ । यसको प्रभावले परिवारमा खुसी, उमङ्ग र हर्षको वातावरण कायम हुनेछ । वैदेशिक प्रयोजनको यात्रा र वाहनसुखको योगसमेत देखिन्छ । मनमा पलाएका कल्पना, भावना र जीवनेच्छाले साकार रूप लिनेछन् ।

विपरीतलिङ्गीसँगको सम्बन्ध सुमधुर रहने छ । नजिकैका मित्र, बन्धुबान्धव र खासगरी आफूमुनिका नातेदार भाइ वा बहिनीको सहयोग मिल्नेछ, जसबाट तपाईं प्रसन्न र खुसी देखिनु हुनेछ ।  धनस्थान र सातौं भावको मालिक मानिने मङ्गल ग्रह दोस्रो भावमा स्वगृही भएर बसेको देखिन्छ, जसले यो वर्ष अप्रत्यासित धनार्जनको योग सिर्जना भएको छ । त्यसबाहेक पैतृकसम्पत्ति वा घरजग्गाको कुनै किचलो छ भने त्यसको निराकरण गर्ने अवसर प्राप्त हुने सङ्केत छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

वृश्चिक राशि हुनेहरूका लागि आगामी नयाँवर्ष सन् २०२० ले धनधान्य र सुखसम्मृद्धिमा बृद्धि गर्ने अवसर प्रदान गर्ने सङ्केत छ । यस वर्षको फेब्रुअरीको मध्यभागमा लामो समयदेखि तपाईंको राशिमा रहेको साढेसातीको प्रकोप समाप्त हुँदैछ । परिणामतः व्यक्तित्व विकास गर्नुका साथै कार्यक्षेत्रमा समेत उन्नतिप्रगतिको सङ्केत देखा पर्नेछ । तपाईंको राशिस्वामी मङ्गल ग्रह हो र वर्षको प्रारम्भमा यसले तपाईंकै राशिमा उपस्थिति जनाएर रूचक महायोगको सिर्जना गरेको हुँदा पेसा, व्यवसाय वा बन्दव्यापार आदि आआफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने अवसर प्राप्त हुनेछ ।

त्यस्तै धनस्थानमा सूर्य, बुध, बृहस्पति, शनि र केतुले उपस्थिति जनाएर पञ्चग्रहयुति बनेको छ । त्यस्तै भाग्येश मानिने चन्द्रमा चतुर्थ भावमा बसेको छ, जसमाथि राशिमा बसेको मङ्गल ग्रहको पूर्णदृष्टि रहेको देखिन्छ । अतः यस वर्ष नयाँ वाहन खरिद गर्ने, चाहेको देशको यात्रा गर्न सकिने, घरको रङरोगन गरिने वा नयाँ घरघडेरीको जोहो हुने परिस्थिति बन्नेछ । घरमा कुनै विवाह, ब्रतबन्धादि माङ्गलिक कार्यको आयोजना हुनसक्छ । उता वर्षको प्रारम्भमा आठौं घरमा रहेको राहु ग्रहको प्रभावले बसाइ सर्ने वा कर्मचारीको हकमा मनले नचाहेको क्षेत्रमा सरुवा हुने अथवा परदेशमा दुःख गर्ने परिस्थिति सिर्जना हुनेछ । धनस्थानमा रहेको केतुको प्रभावले ऋणभार बढ्ने खतरा हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

वर्षको प्रारम्भमा नै राशि स्वामी बृहस्पति स्वराशिमा तथा शिरमा पञ्चग्रहको युति बनेको अवस्था छ । गुरु बृहस्पतिले आफ्नै राशिमा बसेर तपाईंका लागि हंस महायोग सिर्जना गरेका छन् । वर्षकुण्डलीमा यस्तो योगको सिर्जना भएकाले तपाईंभित्र एकखाले नयाँ ऊर्जाको संचार हुनेछ । आगामी एक वर्षसम्म तपाईंले आफूभित्र रहेका कमीकमजोरीको पहिचान गरी तिनको निराकरणको प्रयास गर्ने र जीवनलाई नयाँ ढङ्गले कसरी अघि बढाउन सकिन्छ योजनाबद्ध भएर लम्कने अवसर प्राप्त भएको छ । वर्षकुण्डलीको धन भावमा लाभेश शुक्रको उपस्थिति भएकाले आर्थिक दृष्टिकोणले नयाँवर्ष सन् २०२० मा राम्रो परिणाम पाउन सक्नुहुन्छ, भाग्यले साथ दिनेछ त्यस्तै कर्मभाव र दाम्पत्यसुख प्रदान गर्ने घरको स्वामी बुध ग्रहसमेत तपाईंको राशिमा बसेको अवस्था भएकाले मनमा नयाँनयाँ योजनाहरू सल्बलाउने छन्, तीमध्ये केहीले कार्यक्षेत्रमा साकार रूप लिनेछन् ।

त्यस्तै पञ्चमेश मङ्गल ग्रह द्वादश भावमा स्वगृही भएर बसेको हुँदा वैदेशिक प्रयोजनका काम, शिक्षादीक्षाका माध्यमबाट विदेशको यात्रा वा बन्दव्यापारका सिलसिलामा वैदेशिक भ्रमणको योगसमेत देखिन्छ । तर शिरमा बसेका शनिश्चर र केतुको प्रभावले अहङ्कार, दम्भ र घमण्ड हाबी हुने समय पनि हो ।  उता सप्तम भावमा राहु ग्रहको उपस्थिति देखिन्छ, यसले प्रेमजीवन र दाम्पत्यजीवनमा विवाद र कलहको स्थिति बन्नेछ, पतिपत्नीका बीचमा नोकझोक चलिरहने र लामो समयदेखि रिलेसनमा रहेका प्रेमीप्रेमिकाको अचानक सम्बन्ध बिग्रने भय देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मकर राशि हुनेहरूका लागि राशिस्वामी शनिश्चरले वर्षारम्भमा बाह्रौं भावमा र फेब्रुअरीको मध्यदेखि आफ्नै राशिमा भ्रमण गर्ने वर्ष हो, आगामी नयाँवर्ष सन् २०२० । बाह्रौं भावमा राशिस्वामी शनिश्चरलगायत पाँचवटा ग्रहहरूको युतिका साथमा वर्षको प्रारम्भ भएको छ । त्यसैले यो वर्ष पनि खर्चको व्यवस्थापनमा अनुशासनको पालना गर्ने वर्ष हो । द्वादश भावमा रहेका ग्रहहरूले समस्या उत्पन्न गरेको देखिए पनि यसबाट केही लाभ मिल्ने सङ्केत पनि छ ।

जस्तै बन्दव्यापारमा संलग्न हुनुहुन्छ भने वैदेशिक प्रयोजनका काम र आयात/निर्यात जस्ता काम, ट्रेकिङ वा ट्राभल एजेन्सीको काम, यातायात, ढुवानी र मार्केटिङ जस्ता काम, मदिरा वा अन्य पेयपदार्थको कामबाट तपाईंले लाभ उठाउन सक्नुहुन्छ । त्यस्तै छात्रछात्राका लागि विदेशयात्रा वा जन्मस्थान छाडी परदेशमा जाने कामका माध्यमबाट लाभ मिल्नेछ  । एकादश भावमा स्वगृही मङ्गलको उपस्थिति छ, जसले तपाईंलाई जुझारु, साहसी र हिम्मतिलो बनाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

समग्रतामा नयाँ वर्ष सन् २०२० सचेत, संयम र अनुशासित भएर बिताउने वर्ष हो । यस वर्ष शत्रुहरूमाथि विजयप्राप्त हुनेछ, नयाँ घरको जोहो हुनसक्छ, नयाँ नयाँ मित्र बनाउन सकिने छ, शिक्षादीक्षाको प्रयोजनले वैदेशिक यात्रा प्रारम्भ हुनसक्छ । तर हरेक पक्षमा आर्थिक पक्ष तगारोका रूपमा देखा पर्नेछ । ऋणभार बढ्न सक्छ । पैतृक सम्पत्ति बेचबिखन गर्ने परिस्थिति बन्ने सङ्केत देखिन्छ । वर्षारम्भमा लाभस्थानमा राशिस्वामी शनिश्चरलगायत पाँचवटा ग्रहहरूको उपस्थिति देखिन्छ, केही हदमा अनुकूलताको आशा राख्न सकिन्छ । भाग्यस्थान र चतुर्थ भावको मालिक शुक्र बाह्रौं भावमा उपस्थित छन्, यसको अर्थ हो, ऋण काढेर भए पनि घरायसी वा भौतिक सुखसुविधाको स्तरमा बृद्धि हुनेछ ।

कर्मक्षेत्रको मालिक मङ्गल ग्रह आफ्नै घरमा उपस्थित भएर रूचक महायोगको सिर्जना गरेकाले कार्यक्षेत्र र बन्दव्यापारबाट लाभ पाइने समय छ । नयाँ व्यवसाय वा रोजगारीको खोजीमा रहेकाहरूको इच्छा पूर्ण हुनेछ । लाभ भावमा बुधादित्य योगका साथमा पञ्चमेश बुधको उपस्थिति रहेकाले शिक्षादीक्षा, मानसम्मान, प्रेमजीवन र सन्तान आदि हरेक क्षेत्रमा तपाईंले शुभफल प्राप्त गर्नु हुनेछ । यसरी वर्षारम्भमा लाभ स्थान अर्थात् एकादश भावमा पञ्चग्रही योग हुनु एक किसिमको राजयोग नै हो भन्दा फरक पर्दैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मीन राशि हुनेहरूका लागि नयाँवर्ष सन् २०२० ले निकै राम्रा र शुभ फलहरू प्रदान गर्ने सङ्केत छ । वर्षकुण्डलीको सप्तम भावमा तपाईंको राशि रहेकाले यो वर्ष हाँसीखुसी र आनन्दमा नै बित्ने परिस्थिति छ । प्रारम्भमा दशम भावमा धनु राशिमा राशिस्वामी बृहस्पतिका साथमा बुध, गुरु, सूर्य र शनिश्चर ग्रहको युतिसम्बन्धबाट पञ्चग्रही योग निर्माण भएको छ । यसको प्रत्यक्ष असर तपाईंको कार्यक्षेत्र र क्यारियरमा पर्नेछ । व्यक्तित्व विकास र व्यवसाय वा पेसामा प्रगति र अभिबृद्धिका निमित्त नयाँनयाँ अवसरहरू प्राप्त हुनेछन् । बन्दव्यापारमा संलग्न व्यक्तिहरूले अपार सफलता पाउने छन् । दशम भावमा राशिस्वामी बृहस्पति स्वगृही भएर बसेकाले हंस महायोगको निर्माण भएको छ, जसले कर्मचारी वा कामदार जातकका निमित्त बढुवा, मानसम्मान र प्रशंसा जुटाउन मद्दत गर्नेछ, व्यापारी र उद्यमीले व्यवसाय विस्तार गर्नेछन् । मातापिताको इच्छानुकूल तीर्थयात्रा वा कुनै धार्मिक कृत्यको आयोजना गरिने छ ।

हाकिम वा वरिष्ठ व्यक्तित्वसँग हेलमेल हुनेछ र कुनै महत्त्वपूर्ण काम बनाउन सकिने छ । भाग्यभावको मालिक मङ्गल ग्रहको भाग्यस्थानमा नै आफ्नै राशिमा उपस्थिति छ, गरेका हरेक काम र आँटेका/ताकेका क्रियाकलापमा भाग्यको साथ रहने छ। त्यस्तै सुख स्थान र सप्तम स्थानको मालिक मानिने बुध ग्रहले वर्षकुण्डलीको दशम भावमा बुधादित्य योग सिर्जना गरी उपस्थिति जनाएको छ, यसबाट तपाईंको जीवनसाथीको कार्यक्षेत्रमा समेत शुभ परिणाम प्राप्त हुनेछ । बुध र बृहस्पति एकसाथ उपस्थित हुनु अविवाहितहरूको विवाह योग सिर्जना गर्नु हो । तपाईं कुनै पर्वतीय वा प्राकृतिक क्षेत्रमा अथवा विदेश यात्रामा पर्यटक भएर जान सक्नुहुन्छ ।

Loading…

तपाईको प्रतिक्रिया