ठडिन थाले वसन्तपुर क्षेत्रका सम्पदा

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा क्षेत्रको पुनःनिर्माण तीव्र गतिमा भइरहेको छ । विश्व सम्पदा सूचीमा रहेको यस क्षेत्रका सबै सम्पदालाई २०७२ को विनाशकारी भूकम्पले कुनै न कुनै रूपमा क्षति पु¥याएको थियो ।

मुख्य पर्यटकीय आकर्षण रहेको हुनाले यस क्षेत्रका सम्पदाको भग्नावशेषले कुरूप देखिएकोप्रति सबैले चासो दिँदै आए पनि कतिपय सम्पदा पुनःनिर्माणमा ढिलाइ भइरहेको छ । दरबार क्षेत्रका सम्पदाहरू बिस्तारै ठडिन थालेका छन् । केही सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेको छ भने केही बन्दैछन् । केही पुनःनिर्माण र प्रबलीकरणका लागि प्रक्रियामा जाने तयारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

कतिपय भए पुनःनिर्माण

जीर्णोद्धार भइसकेको ऐतिहासिक गद्दी बैठक अहिले दरबार क्षेत्रमा निकै आकर्षक देखिएको छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले युरोप भ्रमणबाट फर्किएपछि युरोपेली शैलीको यो भवन सन् १९०८ मा बनाउन लगाउनुभएको थियो । अमेरिकी सहयोगमा नेपाली प्रविधिको उपयोग गरी पुरानै शैलीमा यसलाई गत वर्ष पुनःनिर्माण सम्पन्न गरिएको थियो । दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले मूर्त र अमूर्त संस्कृतिका लागि महŒवपूर्ण यो भवनलाई सङ्ग्रहालयका रूपमा सर्वसाधारणका खुला गर्न पहल भइरहेको जानकारी दिनुभयो । त्यस्तै दरबार क्षेत्रको वंशगोपाल मन्दिर, सिंहचोकको एउटा शिव मन्दिर, नृत्येश्वरी मन्दिर बनिसकेका छन् । आंशिक ध्वस्त भएको कागेश्वरी मन्दिर र महाविष्णु मन्दिर पनि बनिसकेको छ । त्यस्तै प्रताप स्तम्भ, नगरा घर, महाविष्णु मन्दिरको पनि पुनःनिर्माण सकिएको छ ।

दरबार क्षेत्रकै निकै महत्त्वपूर्ण तलेजु भवानी मन्दिरको पनि सबलीकरण कार्य सम्पन्न भएको छ । वर्षको एक दिन बडादशैँको नवमीका दिन मात्र खुल्ने यो मन्दिर संवत् १६२० मा महिन्द्र मल्लले बनाउन लगाएको इतिहास छ । यसलाई भूकम्पले आंशिक क्षति पुगेको थियो । यसको छानाको पुनःनिर्माण सकिएको छ । तलेजुको आधारपेटीमा रहेका विभिन्न १६ वटा मन्दिर ९कचा देग०हरूको पुनःनिर्माण र जीर्णोद्धार भइसकेको छ । मन्दिरका चारवटै भत्किएका ढोका पनि निर्माण भइसकेको छ । यद्यपि तलेजु मन्दिरभित्र क्षति पुगेको छ छैन भन्ने कुरा भने थाहा हुन नसकेको अड्डा प्रमुख नकर्मीले बताउनुभयो । बाहिरका मानिस जान नहुने भएकाले भित्रको संरचनाका विषयमा पुजारीलाई हेरिदिन अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

बन्दै महत्त्वपूर्ण सम्पदा

दरबार क्षेत्रका पुरातात्त्विक महत्त्वका ठूला आकारका सम्पदाहरूको पुनःनिर्माण र प्रबलीकरण भइरहेको छ । हनुमानढोका दरबार क्षेत्रको मुख्य सम्पदामध्ये शाहकालीन वसन्तपुर दरबारको धमाधम जीर्णोद्धार भइरहेको छ । पुरानै शैलीमा नेपाली प्रविधिको उपयोग गरी कालीगढहरूले नौतले दरबार बनाउँदै छन् । चीन सरकारको सहयोगमा बनिरहेको वसन्तपुर दरबारको चार छाना ९टावर० मध्ये तीनवटा टावरको पुनःनिर्माण भइसकेको छ ।

ललितपुर टावर, भक्तपुर टावर र कीर्तिपुर टावर मौलिक शैलीमा ठडिइसकेका छन् । नौतलेको पुनःनिर्माण सकिएपछि वसन्तपुर दरबारको पुनःनिर्माण पूरा हुने छ । १८२६ सालमा पृथ्वीनारायण शाहले वसन्तपुर दरबार बनाउन लगाएको इतिहासमा उल्लेख छ । काठमाडौँको नामकरणसँग सम्बन्धित रहेको भनिएको महत्त्वपूर्ण काष्ठमण्डप सत्तलको पनि निर्माण भइरहेको छ । लामो समयको विवादपछि स्थानीयको अगुवाइमा यो सत्तल बनिरहेको छ । पुनःनिर्माणको काम झन्डै आधा सकेकाले अबको एक वर्षमा पुरानै शैलीमा काष्ठमण्डप ठडिइसक्ने हनुमानढोका हेरचाह अड्डाकी प्रमुख नकर्मीले जानकारी दिनुभयो ।

सातौँ शताब्दीमा निर्माण भएको भनिएको काष्ठमण्डप निर्माणबारे विविध खाले कथन रहँदै आएको छ । दरबार क्षेत्रकै लक्ष्मीनारायणको मन्दिर पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । यसको अहिले पुनःनिर्माण भइरहेको छ । माजु देगको पुनःनिर्माण काठमाडौँ महानगरपालिकाले गरिरहेको छ । दशअवतार मन्दिरको काष्ठकलाको काम भइरहेको प्रमुख नकर्मीले जानकारी दिनुभयो । त्यस्तै दरबार क्षेत्रको फरासखानाको पनि पुनःनिर्माण हालै सुरु भएको छ ।

त्रिभुवन स्मृति सङ्ग्रहालय भवन रहेको राणाकालीन हनुमान ढोका दरबार र देगु तलेजुको ठेक्का प्रक्रिया छिट्टै अगाडि बढ्ने जनाइको छ । यहाँका सबै पुराताŒिवक सम्पदाका संरचना एक अर्कासँग जोडिएर रहेकाले एकले अर्कालाई धक्काका कारण पनि धेरै सम्पदामा क्षति पुगेको थियो । उहाँले सबैलाई तुरुन्तै पुनःनिर्माण गर्न नसकेको बताउनुभयो । “कतिपय सम्पदाको उत्खनन गर्नु प¥यो, कतिको स्ट्रक्चरबारे अध्ययन गर्नुपर्ने, कतिको लागि भने एकै पटक निर्माण सामग्री तथा जनशक्तिसमेत पर्याप्त उपलब्ध नहुनाले ढिलो भएको हो”, उहाँले भन्नुभयो । अाजकाे गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…