यि हुन् पूर्वका चर्चित ७ शक्तिपीठहरु , सेयर गर्नुहाेस् पुरा हुनेछ मनाेकामना

ईटहरी । नेपालीहरूको महानन चाड दशै घर आँगनमा भित्रिसकेको छ । हिन्दू धर्ममा आस्था राख्नेहरुका लागी बिशेष गरी दशैंमा शक्तिपीठहरुको विशेष महत्त्व हुने गर्दछ । खासगरी नौरथा लागे संगै शक्तिपीठहरुमा विशेष आराधनाका साथ पूजापाठ गर्नेहरूको भिड लाग्ने गर्दछ । पूर्वका पाथिभरा, दन्तकाली,छिन्नमस्ता लगायतका शक्तिपीठहरुमा पूजाअर्चना गर्नेहरुको भीड लागेको छ । यसै क्रममा पूर्वका केही चर्चित शक्तिपीठहरुको बारेमा बिशेष जानकारी दिने कोशिष गरेका छौँ । यी हुन पुर्वका चर्चित शत्तिपिठहरु :

१. पाथिभरा देवी, ताप्लेजुङ

ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलकाे रूपमा मानिन्छ । परापूर्वकालमा गाेठालाहरूले पाथिभरा मन्दिर परिषरमा आफ्नो भेडिगाेठ बनाउने गर्थे एक दिन अचानक रातकाे समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अलप भएकाे र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिएकाे मान्यता रहिआएको छ । देविले दिएकाे निर्देशन अनुसार बलियाे भेडालाई बलि दिनासाथ हेर्दाहेर्दै बिलाएका अथहा भेडाहरू जस्ताकाे तस्तै त्यहि ठाउमा देखिएपछि देविकाे साच्चै उत्पती रहेकाे किमदन्ती रहदै आएको छ ।

पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका र पाठीको बली चढाइन्छ । तर, बलीस्थलमै रगत हराएको, सीमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । किम्वदन्तीलार्इ नमानी शंकाकाे घेरामा राख्ने हाे भने देवीकाे नाममा चढाइएको बलि संख्यालाई दृष्टिगत गर्दा त्यहाँ रगतको पोखरी जम्नुपथ्र्यो तर त्यसो देखिदैन ।यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ । पाथीभरा देवीका लागि पशु बली अनिवार्य नभए पनि बली चढाउनु अति उत्तम मानिन्छ ।

काटमार नगर्नेहरु देवीलाई फलफूल तथा मिठाइको भोग चढाउँछन् । पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकका रुपमा मानिन्छ । त्यसैले सबै किसिमका भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँइयो, आदि अनिवार्य रुपमा चढाउने गर्दछन् । त्यस्तै पाथीभरा देवीको दर्शनका लागि साउन महिना बाहेक सबै महिना उपयुक्त मानिन्छ ।

२ माइपोखरी, इलाम

माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेका माइपोखरी र सुलुबुङ गाविसको चूचूरोमा पर्ने तारा आकृतिको धार्मिक महत्व बोकेको नौ कुने पाखरी हो। १.८८ बर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ। मेची राजमार्गको विव्ल्याँटे भन्ने बजारबाट करिव १२.५ किलोमिटरको दुरीमा पर्ने यो क्षेत्रको जैबिक विविधताको दृष्टिले पनि उत्तिकै महत्व रहको पाइन्छ ।

 स्कन्ध पुराणमा शिव पार्वती बन बिहार र जलक्रिडा गर्ने गरेको भनी बर्णन रहेको पाइन्छ । यसको नवरात्रसँग नजीकको सम्बन्ध छ। नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौस्वरूपका रूपमा पूजा गरिन्छ। जसअन्तर्गत यहाँ दुर्गा भवानीको पूजा गरिन्छ। हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म माईपोखरीका नौवटै कुनामा मण्डप बनाई ब्राह्मणहरूद्वारा सप्तशती पाठ गरिन्छ। यो पोखरीका नौ कुना छन् जसमा नवदुर्गाको बास रहेको विश्वास गरिन्छ। खासगरी ठूलो एकादशीमा यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

३ दन्तकाली र पञ्चकन्या मन्दिर, धरान

दन्तकाली मन्दिर धरान वडा नं. १४ विजयपुर डाँडाको मध्य भागमा अवस्थित रहेकाे छ । मध्यकाल तिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको जन बिश्वास रहि आएको पाइन्छ । उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ । यो मन्दिरको बारेमा स्वस्थानी ब्रत कथामा पनि उल्लेख भएको पाइन्छ ।

दन्तकाली क्षेत्रमा दशैंको नौरथामा मेला लाग्दछ । त्यस समयमा धरान बजारका प्राय सबै मानिसहरू दन्तकालीमा पुग्ने गर्दछन् । यसबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा मेला लाग्ने गर्दछ । दन्तकालि संगे धरानकाे बुढासुब्बा र पञ्चकन्या मन्दिरमा दशैंको नौरथामा बिशेष भिड लाग्ने गरेकाे छ ।

३ छिन्नमस्ता भगवती, सप्तरी

छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ता को सखडा गाउँमा पर्दछ । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुॅदा नेपाल र भारतका आम जनमानसको ठुलो आस्था रहेको छ । यो मन्दिर सप्तरी सदरमुकाम राजविराजबाट १० किमी को दुरीमा रहेको छ । यो मन्दिर भारतीय सीमा नजिक रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान् चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ । प्रायजसो हिन्दूहरू साना ठूला सवारी किन्दा चोख्याउन यहाँ आउने गरेका छन् ।

प्राचीन इतिहास र किम्वदन्तीका अनुसार, सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटलीपुत्र हुँदै मिथिला आई पुगेर सिम्रौनगढ (बारा)मा राजधानी कायम गरे। यिनै नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्रसिंह देव राजा भएका थिए। उनी नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए। त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ। देवीको शिर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको हो।

मन्दिरभित्र मूल देवीको रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ। उक्त मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुङ्गामा कुँदिएको छ। मूल मूर्तिको देब्रेपट्टि दक्षिणकाली, महषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति स्थापित छ। ती मूर्तिहरूलाई पञ्चभगिनी पनि भनिन्छ।

४ सिंहवाहिनी, म्याङ्लुङ

तेर्‍हथुम जिल्लाको सदरमुकाम स्तित म्यागलुङ बजारमा सिंहवाहिनी देवीको मन्दिर रहेकाे छ । आदिम कालमा स्थानीय नागदह भन्ने ठाउँमा एक बटुवाले खाना पकाउन प्रयोग गरेको ढुंगा अकस्मात कम्पन हुन थालेको र काम्ने क्रम नरोकिएपछि बटुवाले रिसाउँदै खुकुरीले उक्त ढुंगालाई प्रहार गर्दा त्यही ढुंगा बिरालोमा परिणत भई ‘म्याउ’ गरी कराएकोले तत्कालिन किराँती राजाले त्यही ढुंगालाई पूजा गर्दै आएको मन्दिर नै अहिले मेयङलुङ भगवतीदेवी मन्दिर भएको किंवदन्ती रहेकाे पाइन्छ । जसलाई सोही समयमा नागदह धारा पोखरी भन्दा केही माथि थुम्किमा मन्दिर स्थापना गरी पूजाअर्चना गर्न थाले ।

कालान्तरमा यही मेयङलुङ भगवतीदेवी वर्तमान सिंहदेवी मन्दिर भएको स्थानमा स्थानान्तरण गरिएको भन्ने भनाइ समेत रहेको छ । बडादसैंको अवसरमा सिंहवाहिनी मन्दिरमा श्रद्धालुहरूको घुइँचो देख्न सकिन्छ ।

५ सिद्धकाली मन्दिर, संखुवासभा

संखुवासभाको चैनपुर नगरपालिका–३ स्थित पूर्वको प्रसिद्ध तीर्थस्थल सिद्धकाली मन्दिर अवस्थित रहेकाे छ । सदरमुकाम खाँदबारीबाट ५० किमिको दूरीमा रहेको सतीदेवीको दायाँ आँखा पतन भएको र चिताएको मनोकांक्षा सिद्ध हुने किंवदन्ती रहेको पाइन्छ । नौरथा लागे संगै भोजपुर, तेह्रथुम, धनकुटा सुनसरी, मोरङलगायतका जिल्लाबाट समेत पर्यटकहरू दर्शनका लागि आउने गरेका छन् ।

सिद्धकाली मन्दिरमा बर्षेनी बाला चुतुर्दशीको अवसरमा धार्मिक मेला लाग्दै आएको छ । पौराणीक महत्व र ठूलो शक्तिपीठको रुपमा सिद्धकाली देवी स्थापित रहेको छ । यो मन्दिरको बारेमा स्वस्थानी ब्रत कथामा पनि उल्लेख भएको पाइन्छ ।

६ ककनी देवी, ओखलढुंगा

चम्मदेविको देवस्थल ओखलढुंगा सदरमुकामबाट ३५ किलोमिटर पश्चिम फेदिगुठ ,फुलबारी , बिलन्दु र कटुन्जे गाविसको संगमस्थलमा करिब २००० मि. को उचाइमा अबस्थित रहेकाे छ । यसलाइ ककनी दबीकाे नामले समेत प्रख्यात रहेकाे पाइन्छ । स्थानीय किबदन्ती अनुसार आजभन्दा सयौंबर्ष आगाडी एक भेडागोठालाले  भेडा चराउने क्रममा ती भेडागोठालाकी चम्पा नामकी छोरीलाई बाघले खाएछ । छोरीलाई बाघले खाएपछि ती गोठालाले भेडीगोठ घर लगेछन् ।

अर्को साल पुन त्यही ठाउँमा गोठ ल्याउँदा उनका गाई, भेडा-बाख्रा चर्दै हाल देवीको मन्दिर भएको ठाउँतिर गएछन् तर ती सबै बस्तुभाउ त्यही अलप भएछन् । बस्तुभाउ खोज्दै जाँदा गोठालाले कन्याहरु हाँस्दै हराउँदै गरेको देखेछन् ।  त्यसै रात सपनामा एकजना केटीले म चम्पा हुँ, मेरो फलानो ठाउँमा मूर्ति छ (अहिले मूर्ति भएको ठाउँ) खनेर हेर र मेरो पुजा-आराधना गर भनिछिन् । भोलि पल्ट सोहि ठाउँमा खनि हेर्दा जाज्वल्यमान मूर्ति भेटिएको र पुजा गर्दा हराएको बस्तुभाउ फेला परेको भन्ने जनबिश्वास रहेकाे पाइन्छ । तिनै कन्याले सपनामा बताएअनुसार प्राचीनकालदेखि प्रतेक हरिबोधनी एकादशीबाट पन्चमीसम्म पुजा गर्न थालिएको हो ।

श्री चम्पादेवीमा दूध, दही, घ्यू, तामाको त्रिशुल, सुनको टिका, सतविज धूप अक्षता र फूल लिई चम्पादेवीको पुजाआजा तथा दर्शन गर्नाले आफ्नो मनोकामना पुरा हुने, प्राकृतिक विपत्तिबाट बच्न सक्ने. सन्तान नहुनेलाई सन्तान हुने, शत्रुनास हुने, सम्पती नहुनेलाई सम्पती प्राप्त हुने जनविश्वास रहिआएको छ ।  बडादसैं संगै एकादशी, पुर्णिमा र पन्चमीमा यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

तस्विर तथा तथ्यस्रोतहरु: विकिपिडिया, सामाजिक संजाल

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…