बाढीमा दाउरासँगै बग्दै आउँछ स्कुलको खाजा

इटहरी / पुग नपुग पाँच फिटको उचाइ । शरीर भन्दा दुई गुणा ठुलो दाउरा बोकेर १३ वर्षीय रविन चौधरी कोशीको स्पर (बाध) माथि उक्लिँदै थिए । स्थानीय सरस्वती माविमा कक्षा ८ मा पढ्छन् चौधरी । बाढी आएको थाहा पाउने बित्तिकै घर नजिकै रहेको कोशीमा दाउरा निकाल्न उनी जान्छन् ।
भदौ अन्तिम साता मौसम प्रतिकुल थियो ।

पहाडी जिल्लामा पहिरोको गएको समाचार आइरहेको थियो । लगातारको बर्षातले धेरै काठ दाउरा कोशीले बगाएर ल्याएको थियो । चौधरीलेपानि कोशीमा बाढि आएको छनक पाए । बाल दिवसकै दिन ठुलो बाढि कोशीमा आएको थियो । छुट्टीकै दिन परेकाले दाउरा निकाल्न बिहानै कोसी किनार पुगे उनी । पहाडबाट गड्गडीएर आउने कोशीको धमिलो पानी । धमिलो पानी सँगै बगेर आउने पहाडे काठ दाउरा । भदौरे भेल सँगै भदौरे घामले तताउने माहौलमा बाढीमा दाउरा निकाल्नेको कोशीमा ठुलो भिड थियो त्यो दिन । यस्तो भिड जसले सानोतिनो मेलाकै हैसियत राख्छ ।

चौधरी भिडसँगै कोशीको किनारमा पसे । एक हातमा टाँगो (बास) लिएर मनग्ये दाउरा निकाले । ’बाल दिवसको छुट्टीको बेला निकालेको हो यो त’ संविधान दिवसको दिन दाउरा थन्क्याउन कोसी आएका चौधरीले भने ’ आज पानी छुट्टी छ, यहाँ धेरै दिन दाउरा राख्यो भने विहारीहरूले फेरी कोशीमै दाउरा फाल्दिन्छ ।’ धेरै दिन कोशीको किनारमा राख्दा दाउरा चोरी हुने डरपनी हुन्छ । ’यो दाउरा फाल्दियो भने त स्कुलको टिफिन चैट् हुन्छ नि ।’
बर्खा याममा कोशीमा आउने बाढीले कोसी आसपासका जनतामा डरसँगै एउटा खुसिपनि सँगसँगै आउँछ । कालो बादलमा चाँदीको घेरा भने जस्तै बाढी सँगै आउने काठ पात दाउरा भने स्थानीयहरूको चाँदीको घेरा नै हो । चाँदीको घेरालाई प्रयोग गर्ने क्षेत्र भने स्थानीयहरूको फरक फरक छ । स्कुले उमेरका केटाकेटीहरूले खाजामा ,युवाहरूले घर खर्च, गृहिणीहरूले वार्षिक इन्धनमा दाउरालाई प्रयोग गर्ने गर्छन् । बाढीले कटान गरेर जमिन लागेको पिर स्थानीयहरूले दाउरा सँगै साट्छन् ।

कोशीको किनारैमा घर भएका राजेश मोचिपनी कोशीको दाउराले नै घर व्यवहार टार्छन् । भदौ अन्तिम साता मोचिले एकै दिनमा ८ हजारको दाउरा बेचेका थिए । अस्ति धेरै दाउरा आएको थियो बिहान देखि बेलुका सम्मै निकालेको थिए, आज आठ हजारमा बेचे । कोशीले कटान गरेर दुःख दिए पनि वर्षभरि पुग्ने दाउरा बर्खाको समयमा स्थानीयहरूले निकाल्ने गरेका छन् । उमेर पुगेका युवाहरूले पौडी खेलेर समेत दाउरा निकाल्छन् । बालबालिका र महिलाहरूले भने टाँगो ले निकाल्ने गर्छन् । बल्छीको टुप्पोमा अर्को काठलाई जोडेर दाउरा अड्काउने बनाइएको हुन्छ । जसले त्यतिकै बगेर आएको दाउरा तान्ने वा भुमरीमा आएकोलाई निकाल्ने काम गर्छ । दाउरा खोज्नकै लागि डुङ्गाको समेत प्रयोग गरिन्छ । बाढीले आफ्नै ठाउँमा कटान लागे पनि स्थानीयहरू बाढीमा बगेर आएका दाउरा निकालेर बाढीबाट लाभ लिने गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…