नेपालमा अब वंशपरम्परा चल्दैन : ईश्वर पोखरेल

विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालमा अब वंशपरम्परा नचल्ने बताएका छन् । नेकपा झापाद्वारा पाँचौ संविधान दिवसको अवसरमा विर्तामोडमा आयोजना गरिएको जनसभामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सो कुरा बताएका हुन् । नेपाली जनताले आफ्नो अभिमतद्वारा अप्रासांगिक बनाएर मिल्काएको राजतन्त्र अब मुलुकमा फर्किने दिवास्वप्न नदेख्न उनले सुझाए । जनताको भावना विपरित कोही पनि जान नसक्ने उनको भनाइ थियो ।

स्वार्थको पापड सेक्न खोज्नेहरु केही चलमलाएको र देश संकटमा फँसेकाले देशलाई बचाउन स्थायी संस्था चाहिन्छ भन्दै भ्रमको खेती गरेर राजतन्त्र पुनस्र्थापनाका लागि अभियान चलाउन लागेको उपप्रधानमन्त्री पोखरेलले बताए । उनले भने, ‘हामी आवधिक निर्वाचनको पक्षमा छौं, जनताको मत लिएर मात्र शासनमा जानुपर्छ भन्ने हाम्रो मान्यता छ, तर जनताबाट तिरस्कृत शक्ति जनमत बिना शासनमा आउन सक्दैन ।’ पोखरेलले ९० प्रतिशत समर्थन प्राप्त संविधान जनताका प्रतिनिधिले बनाएको संविधान भएको र जनताका हकअधिकारको ग्यारेन्टी गरिएको संविधानको रक्षा जनताले नै गर्नुपर्ने उनको तर्क थियो । नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले सोही प्रकारका विशेषता झल्कने गरी संविधानमा लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिकता र धर्मनिरपेक्षता संस्थागत गरिएको र भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको सार्वभौमसत्ताबाहेक सबै कुरा आवश्यक परे संशोधन गर्न सकिने गतिशीलता र संशोधनीय विशेषता भएको लचकदार संविधान भएकाले यसैभित्र सबै समेटिन उपप्रधानमन्त्री पोखरेलले सबैलाई आग्रह गरे ।

एक अर्को प्रसंगमा विकास निर्माणका लागि केन्द्रतर्फ मात्र हेर्ने परिस्थिति अब नरहेको र जनताको सेवाका लागि ३ तहका सरकारको व्यवस्था गरिएकाले जनतालाई पनि आफ्नो हकअधिकार बुझ्न उनले आग्रह गरे । अस्थिरताको राजनीतिक चक्रव्युहबाट जोगाउन २ वर्षसम्म अविश्वास ल्याउन नपाउने संवैधानिक प्रावधान राखिएकाले राजनीतिक स्थिरता कायम हुने र संक्रमणबाट मुक्ति मिल्ने उनले विश्वास व्यक्त गरे । जनताले कम्युनिष्ट पार्टीलाई भारी बहुमत दिएको र जनताले सरकारबाट ठूलो अपेक्षा राखेकोप्रति आफूहरु सचेत रहेको र विगत डेढ वर्ष राजनीतिक तथा संवैधानिक घोषणा अनुरुप जनताका अधिकार ग्यारेन्टी गर्न नयाँ प्रणाली लागू गर्न पुराना कानुन नियम विस्थापित गरी कानुन तथा संरचना नयाँ बनाउने काममा सरकार लागीपरेको बताए ।

यो अवधि आधार वर्षको रुपमा रहेको र अब विकास निर्माणले गति लिन उनको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपप्रधानमन्त्री पोखरेलले भ्रष्टाचारको जालो अब नटिक्ने र ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने प्रधानमन्त्री केपी ओलीको भनाइलाई आत्मसात गर्दै जनतालाई सेवा नगर्ने कुनै पनि राष्ट्रसेवकलाई कुनै छुट नहुने उनको भनाइ थियो । अब मुलुकले विकास निर्माणका काममा फड्को मार्ने उनको भनाइ थियो । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको सपना अनुरुप नै नेपाल भारतवेष्ठित होइन भूजडित मुलुक बन्ने उनको आशा थियो । काठमाण्डौ–निजगढ द्रुतमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग लगायतका ठूला परियोजनालाई विशेष ध्यान दिइने उनको भनाइ थियो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका वीच भएको पार्टी एकताका बारेमा एकता प्रक्रिया चाँडै सम्पन्न हुने र त्यसपछि राष्ट्रिय अभियान शुरु गरिने उनको भनाइ थियो । संविधान संशोधनका विषयमा नेता पोखरेलले संविधान असंशोधनीय नभएको तर औचित्यका आधारमा संविधान संशोधन गरिने बताए ।

नेकपा झापा अध्यक्ष चिन्तन पाठकको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य एवम् झापा ईञ्चार्ज रवीन कोइरालाको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेकपा १ नं. प्रदेश सदस्य जसमाया गजमेर, झापा सहईञ्चार्ज धर्मशिला चापागाई, पार्टीको अन्तर्राष्ट्रिय विभाग उपप्रमुख एवम् केन्द्रीय सदस्य राम कार्की (पार्थ), १ नं. प्रदेश अध्यक्ष देवराज घिमिरे, १ नं. प्रदेश ईञ्चार्ज भीम आचार्य, स्थायी समिति सदस्य हरिबोल गजुरेल (शीतलकुमार) लगायतले नेपालको संविधान २०७२ जनपक्षीय संविधान रहेको र यसको रक्षा तथा विकास गर्नुपर्ने बताए । कार्यक्रममा चर्चित हास्यकलाकार राजा राजेन्द्र, गीतकार हरि पौडेल लगायतले आफ्ना प्रस्तुति राखेका थिए ।

नेकपा नेताहरु हरिचरण शिवाकोटी, अर्जुन राई, देवेन्द्र दाहाल, प्रेम गिरी, झलकसिंह दर्लामी, श्रीप्रसाद मैनाली सोमनाथ प‍‍ोर्तेल, एकराज कार्की, हरि राजवंशी, हीराकुमार थापा लगायतको आतिथ्य रहेको पार्टी एकीकरणपछिको पहिलो जिल्लास्तरीय जनसभामा ठूलो संख्यामा पार्टी कार्यकर्ता, विभिन्न तहका जनप्रतिनिधि तथा जनसमुदायको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेकपा झापा सचिव मणिकुमार साम्पाङ (विजय) ले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…