हर्लिक्सको व्यापारीका बच्चा जेमा पनि फस्ट ?

काठमान्डाैं / ‘३० वर्षको उमेर पुगेपछि हड्डी कमजोर हुँदै जान्छ, त्यसैले हर्लिक्स खानुपर्छ, यसले शरीरमा क्यालोरी दिन्छ’ भन्ने भ्रामक विज्ञापन नेपाली टेलिभिजनहरूमा प्रसारण भएको देखिन्छ । यस्तै हर्लिक्स, बर्नभिटा आदिको अर्को विज्ञापनमा चाहिँ यी वस्तु खाँदा बच्चाहरू फूर्तिलो, अग्लो, बुद्धिवान् हुन्छन् भनेर प्रसारण–प्रकाशन भएको देखिन्छ । यी विज्ञापन भ्रामक भए पनि बारम्बार प्रसारण हुने हुनाले आममानिसले विश्वास गर्छन् ।

हर्लिक्सको वर्गमा पर्ने भिभा, बर्नभिटा, कम्प्लान आदि जौ, गहुँ, दूध, चिनी आदिबाट बनेका हुन्छन् । बिक्रीका लागि सञ्चारमाध्यममा बढाइ–चढाइ गरी विज्ञापन गरिन्छ भन्ने विचार प्रायः कसैले गर्दैनन् । आममानिसको ‘सेन्टिमेन्ट क्याच’ गर्न यस्ता खानेकुराको विज्ञापनमा ‘सेलिब्रेटी’को प्रयोग गरिएको हुन्छ ।

फिल्मी कलाकार, खेलाडी आदिले ‘यो खानेकुरा पौष्टिक छ, यो खाँदा बुद्धि बढ्छ, हड्डी बलियो बनाउँछ, उचाइ बढ्छ’ भनेपछि सर्वसाधारण ‘हो त नि ∕’ भन्ने ठान्छन् । फाइदा नहुने भए त्यत्रा फिल्मी कलाकार, डाक्टरले किन बयान गर्थे भन्ने सोचेका हुन्छन् ।

‘एउटै कुरा बारम्बार भनेपछि झुटो पनि सत्य हुन्छ’ भन्ने मानसिकता विज्ञापनदाताको हुन्छ र उपभोक्ता फन्दामा पर्छन् । कतिपय मानिसले त स्वास्थ्यकर्मीले पनि खाऊ भन्छन् भन्ने बुझेका छन् । तर मलाई पूर्ण विश्वास छ, स्वास्थ्यकर्मीले यस्तो गलत कुरा भन्दैनन् । विज्ञापनमा स्वास्थ्यकर्मीको रूपधारण गरेका मोडलहरूले मात्र यो कुरा भनिरहेका हुन्छन् । त्यस्ता मोडललाई प्रायः आफूले बोलेका कुरा ठीक वा बेठीक भन्नेबारे मतलव पनि हुँदैन । उनीहरूलाई पारिश्रमिकको मात्र मतलव हुन्छ ।

मनपरि प्रचारमा किन छुट ?

हर्लिक्स कम्पनीले बेलायत, अमेरिकाजस्ता विकसित राष्ट्रमा यस किसिमको प्रचार गर्न पाउँदैन । ती राष्ट्रमा नीति–नियम कडा भएकाले गलत कुरा प्रचार गर्न दिँदैनन् । हाम्रो देशमा पनि त्यस किसिमका कानुन, नियमहरू भए पनि कार्यान्वयन फितलो भएका कारण जसले जे बोल्न, जे प्रचार गर्न पनि छुट पाएको देखिन्छ । यसले गर्दा सर्वसाधारण उपभोक्ता भ्रममा परेका तथा ठगिएका छन् ।

सञ्चारमाध्यमहरूमा ‘१० जनामध्ये ९ जना बच्चा कुपोषणको सिकार भएका हुन्छन्, उनीहरूलाई स्वस्थ बनाउन हर्लिक्स दिनुपर्छ’ भन्ने आशयको गलत विज्ञापन सेतो कोट लगाएर डाक्टरको रूप बनाएको मानिसले भनेको सुनेपछि मानिसहरू यसको विश्वासमा पर्छन् । तर यस्तो किसिमको अध्ययन नेपालको कुन ठाउँमा वा कुन देशमा भयो, जहाँ १० मध्ये ९ जना बच्चा कुपोषणको सिकार भएका छन् भन्नेचाहिँ कहिल्यै पनि खुलाइँदैन ।

के नेपालमा त्यस्ता कुनै ठाउँमा हर्लिक्स कम्पनीले अध्ययन गरेको छ ? छ भने अनुसन्धान रिपोर्ट सार्वजनिक गर्नुपर्छ । तर यस्तो गरेको देखिन्न । त्यसै गरी बर्नभिटाको विज्ञापनमा एक आमाले आफ्नो छोरालाई खेलाडी बनाउन भरमग्दुर प्रयास गरेको र बच्चा सफल खेलाडी हुनमा बर्नभिटाले ठूलो भूमिका खेलेको देखाइन्छ ।

गलत विज्ञापनको प्रभावमा परेका आमाबुबा प्रायः छोराछोरीलाई बलियो, बुद्धिमान्, अग्लो बनाउने सुरमा घरमा भएका सस्ता र बढी पौष्टिक खानेकुरा छोडेर हर्लिक्स, बर्नभिटा, कम्प्लानजस्ता महँगा तर न्यून पौष्टिकवाला खानेकुरामा धेरै पैसा खर्च गर्छन् । विज्ञापनमा भनेजस्तो यी खानेकुराले हड्डी बलियो बनाउने, बुद्धि बढाउने, शरीरको लम्बाइ बढाउने केही काम गर्दैनन् । बरु फजुल खर्च बढाउने काम मात्रै गर्छन् ।

यदि हर्लिक्स, बर्नभिटा खाएर हड्डी बलियो हुने, बुद्धि बढ्ने, उचाइ बढ्ने हुन्थ्यो भने ती कम्पनीका मालिक, हर्लिक्सका व्यपारी र कामदारका छोराछोरी, आफन्त सबै अग्ला, बलवान् र बुद्धिमान् हुन्थे होलान् ।तर कुनै ठाउँमा हर्लिक्सको व्यापारीका छोराछोरीले नै पढाइमा टपेको, खेलमा जितेको भन्ने समाचार मैले त अहिलेसम्म सुनेकी छैन ।

बरु उनीहरूलाई चिनी मिसिएका यस्ता खानेकुरा धेरै खुवाएमा भविष्यमा स्वास्थ्यमा हानि पुग्न सक्छ । यस किसिमका विज्ञापन रोक्न र सर्वसाधारणमा भ्रम फैलाउने काम बन्द गर्न मैले स्वास्थ्य मन्त्रालयमा धेरैचोटि भनिसकेकी छु तर वास्ता गरिएन । त्यसैले सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो, टिभी र अनलाइनबाट लेख, अन्तर्वार्तामार्फत हर्लिक्स, बर्नभिटा आदि वस्तुहरूको वास्तविकताबारे उजागर गर्ने गर्छु ।

धेरै अभिभावकले मसँगको भेटमा ‘तपाईंको विचार सुनेपछि हामीले बजारका यस्ता खानेकुरा छोडेर घरमै सातु बनाएर दिन थालेका छौं’ भन्नुभएको छ । कमसे कम केही अभिभावकले यसो भन्दा पनि मेरो अभियानले सफलता प्रात गरेजस्तो लाग्छ ।

कोदो बेचेर हर्लिक्स !

विज्ञापनका भरमा परेर यस्ता पदार्थ खानु खासै फाइदा रहेनछ भन्ने चेतना शहरी क्षेत्रमा शुरु भएको छ । तर गाउँघरमा चाहिँ गहुँ, कोदो बेचेर हर्लिक्स, बर्नभिटा, सेरलेक आदि किन्छन् । घरमा भएको सातु, मकै, फलफूल खान छोडेर धेरै विज्ञापन गरिएका बजारका खानेकुरा बढी उपभोग गर्न थालेका छन् । यसले बालबालिका कुपोषणको सिकार बनिरहेका छन् ।

घरमै पाइने स्वस्थकर अन्न सस्तोमा बेचेर महँगोमा अस्वस्थकर खानेकुरा किन्ने बानी छोड्नुपर्छ । घरमा भएको कागती–पानी खान छोडेर बजारका चिसो पेय खाने, घरको मकै बेचेर महँगो कर्नफ्लेक्स किन्ने बानी छोड्नुपर्छ । अस्पताल वा घरमा बिरामी भेट्न जाँदा हर्लिक्स, भिभा वा विभिन्न किसिमका बट्टाका जुस बोकेर जाने चलन बढ्दै छ तर यसको कुनै औचित्य छैन भन्ने बुझ्नुपर्छ ।

अझ मधुमेह भएको बिरामीलाई त हर्लिक्स, बोर्नभिटा, बट्टाको जुसले त झन् खराब गर्छ । घरमै पाइने र ५० देखि ६० रुपियाँ पर्ने जौ, गहुँबाट बनेको हर्लिक्स, भिभा, बर्नभिटाजस्ता खानेकुरा अहिले बजारमा प्रतिकिलो ७ देखि ८ सय रुपियाँमा बिक्री हुन्छ । यसले हाम्रो आर्थिक अवस्थामा पनि खराब असर पार्छ । अर्को एउटा विज्ञापन छ, ‘बालबालिकालाई दूधमा हर्लिक्स हालेर खुवाउँदा क्याल्सियम पुग्छ, त्यसैले चकलेट हर्लिक्स हालेर दूध खान दिनुपर्छ ।’ यस्तो गलत विज्ञापन पनि आउँछ ।

यो भन्दा त बच्चालाई दूधमा बेसार हालेर दिए धेरै राम्रो हुन्छ । क्याल्सियम प्राप्त गर्ने अनेक उपाय छन् । भटमास, राजमा, आलस, ज्वानो, तिल आदिमा धेरै क्याल्सियम पाइन्छ । यी वस्तु खान जोड दिनुपर्छ । स्कुलमा पनि शिक्षक–शिक्षिकाले विद्यार्थीलाई हर्लिक्स, बर्नभिटाजस्ता वस्तुबाट टाढा रहन सिकाउनुपर्छ । शिक्षकहरूले विद्यार्थीलाई स्वस्थकर फलफूल, मकै, भटमास आदि ख्वाउन प्रेरित गर्नुपर्छ ।

स्मार्ट फुड कोदो

हाम्रो गाउँघरमा उपलब्ध हुने खाद्यवस्तुमध्ये कोदोमा चामल र मकैमा भन्दा ३५ गुणा, गहुँमा भन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन कोदोमा पाइन्छ । त्यसैले हर्लिक्स र बर्नभिटा होइन, कोदो र फापरको रोटी, अण्डा हालेर बनाइने सूप, हलुवा आदि बालबालिकालाई दिने गरौं ।

कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), जिन बैंकका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशी भन्छन्, ‘कोदो हाम्रो मुलुकका लागि फ्युचर स्मार्ट फुड (भविष्यको स्मार्ट भोजन) हो, यसलाई ढिँडोका रूपमा मात्र नभई सेलरोटी, रोटीलगायतका परिकारका रूपमा पनि उपयोग गर्नुपर्छ ।’

उनी थप्छन्, ‘सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो उल्लेख्य फाइदाकारक रहेको वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ । कोदो गाउँघरमा सस्तोमा किन्न पाइन्छ तर गाउँघरमा ‘कुअन्न’ भनेर प्रयोग नगर्ने र जौजस्तो स्वस्थकर अन्न गाईवस्तुलाई ख्वाउने गरिन्छ ।’

जौको सातु एक अत्युत्तम भोजन हो । यसलाई दूधमा मिसाएर, पानीमा हालेर, कागती र महसँग मिसाएर खाए उत्तम हुन्छ । त्यसै गरी जौले पूजा गर्ने होइन कि भोक मेटाउन, सन्तुलित खाना खान प्रयोग गर्नुपर्छ ।

गहुँ, मकै आदिको पीठोमा जौ वा कोदोको पीठो मिसाएर रोटीलगायतका परिकार बनाउँदा शरीरलाई चाहिने धेरै पौष्टिक तत्व पुग्छ । बालबालिकाका लागि बनाइने लिटोमा जौ, कोदो मिसाउँदा उनीहरूको शारीरिक, मानसिक विकासका लागि टेवा पुग्छ ।

मल्टिग्रेन (बहुअन्न) को पीठोमा कोदो, जौ मिसाएर थप स्वस्थकर र स्वादिलोरूपमा उपभोग गर्न सकिन्छ, महँगो हर्लिक्स किन्नै पर्दैन । खासगरी गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा जौ, कोदो वा फापरको दुईवटा रोटी खाए दोहोरो फाइदा पुग्छ । यसले दूध बढाउने भएकाले स्तनपान गराउनेहरूका लागि समेत फाइदा पुग्छ ।

जौ, फापर, कोदो फलाम, क्याल्सियम, जस्ता, म्याग्नेसियम, फोस्फोरस र पोटासियमजस्ता खनिजको समृद्घ स्रोत हो । फाइबरले भरिपूर्ण यी अन्नमा विभिन्न भिटामिन हुन्छ । यस्ता अन्न मिलाई अनेक परिकार बनाएर खान सकिन्छ ।

यस्तो भोजन एन्टिअक्सिडेन्टले समेत परिपूर्ण हुन्छ । त्यसैले बट्टाका महँगो भोजन होइन, त्यो भन्दा धेरै सस्तो र धेरै पोषणयुक्त अन्न प्रयोग गरौं । चिनी नमिसाई स्वस्थकर रोटी, सूप बनाएर खाऔं र स्वस्थ रहौं ।

विज्ञापनमा रोक

ब्रिटेनमा केही वर्षअघि एउटा विज्ञापन आयो, ‘हर्लिक्सले बालबालिकालाई अग्लो, बलियो र बढी बुद्धिमान् बनाउँछ ।’ यो विज्ञापन आएपछि उपभोक्ता समूहले यस्तो विज्ञापन टिभीमा आउन हुँदैन भनेर यसको विरोधमा बोलेपछि हर्लिक्स बनाउने कम्पनीले भन्यो, ‘हामीले यो विज्ञापन त भारत, बंगलादेश र नेपालको लागि बनाएका हौं ।

गल्तीले ब्रिटेनमा बज्यो । हामी क्षमा माग्छौं र यो विज्ञापन बन्द गर्छौं ।’ जुन विज्ञापन विकसित देश ब्रिटेनमा बजाउन रोक लगाइएको छ, त्यस्तो भ्रमपूर्ण विज्ञापन नेपालमा मज्जासंँग बजाइन्छ र जनतालाई भ्रममा पार्ने काम भइरहेको छ । यसमा रोक लगाउनुपर्छ ।

जुन विज्ञापन विकसित देश ब्रिटेनमा बजाउन रोक लगाइएको छ

साभार श्राेतः साधना

तपाईको प्रतिक्रिया

Loading…