इटहरी नेकपा विवाद : प्रदेश पार्टी कार्यालयमा पनि लाग्याे ताला

इटहरी । गत भदौ १२ गते नेकपा इटहरी उपमहानगर कमिटीको कार्यालयमा लागेको ताला अहिले सम्म खुलेको छैन । झन्डै एक महिना देखि चल्दै आएको इटहरी विवादले अब प्रदेश पार्टीकमिटीमा पनि असर पारेकाे छ । पार्टीलाई विधि र मापदण्डमा चलाउनु पर्ने भन्दै शुद्धीकरण अभियानको नाम दिएर प्रदेश पार्टी कार्यालयमा पनि ताला लागेकाे हाे । इटहरी उपमहानगरकमिटिमा विधि प्रक्रिया विपरीत पदाधिकारी बनाइएको विषयमा सच्याउनु पर्ने माग सहित सुरु भएको विवाद अब प्रदेश पार्टी कार्यालयमा पुग्ने भएको हो ।

उपमहानगर कमिटीको ताला नखुल्दै सोही समूहले मङ्गलवार दिउसाे १२ बजे इटहरी स्थित प्रदेश कमिटीको कार्यालयमा तालाबन्दी गरेकाे छ । युवा नेता सुजन लामाको नेतृत्वमा सुरु भएको पार्टी शुद्धीकरण अभियानमा अब प्रदेश स्तरका नेताहरूले समेत समर्थन जनाएकाछन । समर्थनमा यति बेला प्रदेश सदस्य रेवती रमण भण्डारी, सर्वध्वज सावा, जिल्ला सदस्य याम सुब्बा, प्रदेश सांसद लिलम बस्नेत र युवा नेता चन्द्र न्यौपाने छन् ।

शुद्धीकरण अभियानका प्रमुख अभियन्ता सुनिल कार्कीका अनुसार भदौ ३१ गते सोमबार बिहान ११ बजे ताला लगाउने निर्णय भए संगै ताला लागेकाे हो । ५ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

इटहरी नगर सचिवमा प्रदेश इन्चार्ज भीम आचार्य निकट काशीनाथ दङ्गाललाई मनोनीत गरिएको भन्दै विद्रोह सुरु भएको हो । पूर्व एमालेको वडा सदस्यबाट एक्कासि नगर सदस्य भएपछि असन्तुष्टि चुलिएको हो । पार्टीमा लामो समय योगदान पुर्‍याएका कार्यकर्ताको अवमूल्यनको भन्दै उपमहानगर कमिटीमा ताला लागेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…