कोसीमा माछा घट्दा दाइजोको ऋण तिर्न मुस्किल

कोसीको नाममा भारतीय माछा

इटहरी । हातमा दुई तिन वटा जेलिएको जाल । भदौको कोसीको भेल । हिमालयबाट लड्दै आएको तराइको बालुवाको राप । कम्मरमा पानीको बोतल लिएर सुनसरी पश्चिम कुसाहाका लाली मुखिया कोसीमा माछा खोज्न निस्किन्छन् । अचाक्ली घाम ती माथि बालुवामा हिँड्दा तन्दुरुस्त मान्छे पनि एक पटक बिरामी हुने निश्चित छ । बेलाबेला कोसी बाट चल्ने हावा बिरामी हुन रोक्ने औषधिको काम मुखियालाई गर्छ । अर्को शब्दमा भन्दा कोसीबाट चल्ने हावा नै मुखियाको लागि ’एसी’ हो ।

कडा परिश्रममा मनभरि माछा आस गर्दै हिँड्ने मुखियाको ध्यान डुङ्गा,माछा र जालमा मात्र हुन्छ । पुर्ख्यौली माछा मार्ने पेसामा निर्भर मुखिया माछा मारेर नै यति बेला छोरीलाई दाइजो दिँदा परेको ऋण तिर्दैछन । सामान्यतया आठ दश केजी सम्म माछा निकाल्ने मुखियालाई दहेजको ऋण तिर्ने बेला भने मुस्किलले दुई केजी मात्र पर्छ ।

मुखिया भन्छन् ’बहुत गर्मी हुन्छ नि,नाउमा हिँड्दा बेलाबेला हावा चल्छ त्यसले नै बल दिन्छ ।’ ३ वर्ष अगाडी छोरीको बिहे गरिदिएका पञ्चलाल मुखियाको नियति पनि उस्तै छ । कोसी ब्यारेज छेउ सप्तरी तर्फ घर भएका मुखियाले कान्छी छोरीको बिहे गर्दा ऋण लिए । कान्छी छोरीको बिहे गर्दा बाइक र भारु ७५ हजार दाइजो दिनु र्पयो ।

दाइजोको लागि सयकडा ५ रुपैयाँ ब्याजदर ३ लाख रुपैयाँ काढेका पञ्चलाल अहिले माछा मार्दै साहुको ऋण तिर्छन् । माछा मारेरै घर व्यवहार चलाउने पञ्चलाल र लाली जस्ताका कोसीमा आश्रित मलाहा तथा अन्य जातिका मान्छेहरूको रोजीरोटी नै धरमरमा पर्ने त्रासमा देखिन्छन् । ’बर्खामा पानी धमिलो हुन्छ, खासमा माछा पर्ने बेला नै यही हो’ लाली मुखिया भन्छन् ’ २(३ वर्ष देखि माछा पर्ने छोडेको छ,यही बेला ऋण पनि छ ।’

कोसीको माछा पूर्वी नेपाल भरि प्रसिद्ध छ । कुनै ठाउँ बाट पूर्व घुम्न आएका पर्यटकहरू कोसीको माछा खान निकै रुचाउँछन् । तर कोसीमा माछाको सङ्ख्यामा गिरावट आएसँगै अहिले मलाहा जातिको आर्थिक स्रोत र माछा खान आउने पर्यटकको सङ्ख्या पनि घट्दै गएको छ । राज बाम,सहर,काटी,जलकपुर,रौँ,बुहारी कोसी क्षेत्रको नाम चलेका माछाहरू हुन् । जलकपुर र राजाबम कम पाइने र बढी रुचाइने माछाहरू हुन् ।

कोसीको नाममा भारतीय माछा

सप्तकोसी नदीको ब्यारेज आसपास दुई दर्जन माथि कोसीमा माछा भन्दै माछा बेच्ने गर्छन् । कोसीमा माछा घट्दै गएको छ । तर माछा जतिबेलापनि ब्यारेजमा कोसीको माछा भन्दै व्यापार गर्दै आएका छन् । ब्यारेज घुम्न आउने र बाटोमा आउजाउ गर्नेहरू माछाका उपभोक्ता हुन् । सप्तकोसी नदीमा पाइने झिगे (प्राउन), काटी, जलकपुर, मरौड जस्ता माछा पकाएर राख्ने गर्छन् । झुप्रा पसल अगाडी पाइने कोसीको माछाको अन्तर कथा भने भिन्न छ ।

भारतीय सीमा सँगै रहेको कोसी ब्यारेजमा भारतीय माछाहरू बेचिने गरिन्छन् । कोसी ब्यारेज क्षेत्रमा माछा कम हुन थालेपछि विक्रीका लागि भारत बाट माछा आउने गरेको छ । भारतीय माछालाई कोसीको उत्पादन भन्दै बेच्ने गरेको स्थानीय बेच्चन यादव बताउँछन् । कोसीको माछा किनेर सस्तोमा दिनै सकिँदैन । सबै भारतबाट माछा आउँछ, कोसी किनारमा व्यापार भएकोले कोसीको नाम बेच्न व्यापारी सफल भएका छन् ।’

तपाईको प्रतिक्रिया

Loading…