तपाईको वर्ण के हो स्वयम निर्क्यौल गर्नुहोस

पुरुष होस वा स्त्री, अमेरिकन होस वा अफ्रिकन वा नेपाली वा जे सुकै थरका होउन, सबै आ-आफ्नो वर्तमान चेतना अनुसार ब्राह्मण वा क्षेत्रिय वा वैश्य वा शूद्र कुनै एक वर्णमा अवश्य पर्दछन तर यस कलियुगमा जन्मदा भने हामी सबै शुद्र नै हौं। जीवनकालमा आ-आफ्नो चेतना अनुसार व्यक्तिले आफ्नो वर्ण परिवर्तन गर्दछ। जसै हाम्रो उपनयन संस्कार वा (अन्य समुदायमा)सो सरहको संस्कार भयो,हाम्रो दोश्रो जन्म भयो अर्थात अब हामी यस मृत्यु(पृथ्वी)लोकमा जुन उद्धेश्यले आएका थियौं, त्यस कार्य गर्न लायक भयौं तर याद राखौं, अझै हामी शुद्र नै हौं। अब हामीहरू दुई प्रकारका हुन सक्छौं:

१) यस मृत्यु(पृथ्वी) लोकमा आउनुको प्रमुख लक्ष्य भुल्न गै यहि लोकमै रमाउन खोज्नेहरू(शूद्र, वैश्य, क्षेत्रिय):

क) शूद्र:
यसमा पहिलो वर्ग ती हुन्छन जो आफ्नै ईन्द्रिय तृप्ति गर्नुलाई मात्र प्रगति ठान्छन्। बिभिन्न परिकार खानुमै लक्ष्य भएका, मांसाहार गर्नु, देश/बिदेश घुम्नु, यौन आनन्द नै जिन्दगीको लक्ष्य बुझेका, नशा गर्नु, जुवा गर्नु, रमाईलो गर्नु आदि जति धेरै मात्रामा गर्न पायो त्यति नै प्रगति भएको यस्ता वर्गले सोच्छन्। मै खाउँ मै लाउँ को चेतनाका यस्ता व्यक्तिहरू ईन्द्रिय तृप्तिको लागि मात्रै गधा झै परिश्रम गर्छन। यिनीहरू सबै माथि उठ्न नसकेका शुद्र हुन्। अहिले विश्वमा यहि वर्गका मानिसहरू ९०% भन्दा बढि छन्। हाम्रो समाजमा अहिले देखिएको बिदेश पलायनको मोह, बिदेशी समाजमा देखिएको पारिवारिक बिखन्डन, चोरी, भ्रष्टाचार, आफ्नै बाउ/आमालाई बृद्धाश्रमसम्म लखेट्ने शाहस यहि अनियन्त्रित ईन्द्रिय तृप्तिका लागि नै भएको हो।

ख) वैश्य:
ईन्द्रिय तृप्तिको एकमात्र लक्ष्यदेखि केहि माथि उठेका दोश्रो बर्ग हुन्छन जो ब्यापारी हुन। यिनीहरू नै वैश्य हुन। यिनीहरूले गर्ने व्यापारको मुख्य लक्ष्य पनि ईन्द्रिय तृप्ति नै भएता यिनीहरू समाजको लागि पनि सोच्छन, समाज संचालनमा पनि यिनीहरूको योगदान रहेको हुन्छ। संसारको सबैभन्दा सफल व्यापारी Bill Gates देखि हाम्रा समाजका मारवाडि वर्ग आदि सबै समाज चल्न सकरात्मक योगदान दिने सम्पूर्ण ब्यापारीहरू वैश्य हुन्।

ग) क्षेत्रिय:
समाजलाई महत्वपुर्ण योगदान दिन खोज्ने, समाजभंदा पनि माथि राष्ट्रको विकास हुनुपर्छ भन्ने चेतनाका अर्को सबैभन्दा माथिल्लो वर्ग क्षेत्रिय हुन्।विश्वका सम्पूर्ण नेता, प्रशासक, प्रहरी, सैनिक, डाक्टर, ईन्जिनियर, वकिल, लेखापाल, बैज्ञानिक आदि यस वर्गमा पर्दछन्। यहि मृत्यु लोक(पृथ्वी लोक)लाई सर्बोपरी मान्ने र यहि लोकमा रमाउन खोज्ने मध्येका यिनीहरू(क्षेत्रियहरू) सर्बश्रेष्ठ हुन।

२) यस मृत्यु(पृथ्वी) लोकमा आउनुको प्रमुख लक्ष्य नभुलेकाहरू:

यस वर्गका मनुष्यले जीबात्माको अस्तित्व यस मृत्यु(पृथ्वी) लोकमा मात्र सिमित नभै, जन्म अघि र मृत्यु पछि पनि भएको र हुने सत्य देखेका हुन्छन र सोहि अनुशार आफ्नो लक्ष्य/कार्य निर्धारण गरेका हुन्छन। यिनीहरूको ईम्द्रिय तृप्ति पुर्ण नियन्त्रित हुन्छ र त्यस ईश्वरीय शक्तिको बोधमा नै आफ्नो समय व्यतित गर्दछन्।

क) विप्र:
बेदाध्ययन गरेका वा अन्य सम्प्रदायका हकमा(मुन्धुम, बाइबल, कुरान आदि) अध्ययन गरेकाहरू सबै बिप्र(बिद्वान) हुन्।

ख) ब्रम्हाण:
बिप्रहरूमा पनि जसले ब्रह्म साक्षात्कार गरेका छन तिनीहरू नै ब्राह्मण हुन्। ब्राह्मण त्यो उच्छ पद हो जसले बेद/शाश्त्रको निर्दैशन ज्ञान लिनुमा मात्र सिमित नराखि, आफ्नो जीवनमा नै उतारेका हुन्छन।

ग)वैष्णब
ब्राह्मणहरू मध्येमा पनि जसले त्यस परम ईश्वर सत्चितानन्द स्वरुप नित्यरुप, नित्यगुण एवं नित्यलीला सम्पन्न सर्वोपरि परमतत्व सर्वकारणको पनि कारण द्विभुज श्यामसुन्दर मुरलीधर भगवान श्रीकृष्णलाई अति अति प्रेम गर्छ, त्यही नै बैष्णब हो।

थरले वर्ण निर्क्यौल हुंछ?

स्पष्ट छ ब्राह्मण, क्षेत्रिय, वैश्य, शूद्र तपाईको चेतनाको वर्गीकरण हो, कुनै थर अनुसार अन्तिम निर्धारण गर्न सकिने होइन तर थरले वर्ण(ब्राह्मण, क्षेत्रिय, वैश्य, शूद्र) निर्धारण गर्न सहायक भूमिका भने अवश्य खेल्छ, उदाहरणको लागि “फलानाले रमेशसंग विवाह गर्यो” भनि कसैले भंछ भने रमेश कस्तो हो? के हो? बुझ्न सकिदैन तर “फलानाले रमेश उपाध्यायसंग विवाह गर्यो” वा “फलानाले रमेश गुरुंगसंग विवाह गर्यो” भन्यो भने लगभग चरीत्रको ज्ञान हुंछ अर्थात उपाध्याय भन्ने वित्तिकै चतुर, शुद्ध वृत्तिका भन्ने बुझिन्छ भने गुरुंग भन्ने बित्तिकै शाहसी, निडर भन्ने बुझिन्छ। तसर्थ थरले केही हदसम्म वर्ण निर्क्यौल गर्न मदत अवश्य गर्छ तर उपाध्याय थर हुने वित्तिकै शुद्ध, शौच भएका नै हुंछन भन्ने छैन। उपाध्याय थर भएता पनि आजकालको थेगो “दिनभरी वाउन रातभरी डाउन”वाला रहेछ भने त्यो उपाध्याय थरवाला पनि शास्त्रीय वास्तबिक परिभाषामा शूद्र नै हो।

छुवाछुत प्रथा भनेको के हो?

“संगत नै चरीत्र” अर्थात तपाईको जस्तासंग संगत हुंछ त्यस्तै तपाईको चरीत्र हुंछ। तपाईको चरीत्र भनेको तपाईको चेतना हो। तपाईको चेतना भनेको नै तपाईको वर्ण(ब्राह्मण, क्षेत्रिय, वैश्य, शूद्र) हो। तसर्थ शास्त्रले शूद्रसंगत नगर्नु भनेर भंछ नत्र तपाईको चेतना पनि शूद्रको झै हुन जांछ। शूद्र भनेको नै इन्द्रिय तृप्तिलाई अन्तिम लक्ष बुझेकाहरू हुन अर्थात शास्त्र स्पष्ट भंछ इन्द्रिय सुख नै अन्तिम देख्ने, मै खाउँ मै लाउँ को चेतना भएकाहरू माँसाहारी, जड्याहा, जुवाडे आदिको संगत न गर्नु, न छुनु। यही नै छुवाछुत प्रथा हो। कसैको थर “उपाध्याय” छ तर ऊ भुक्त भोगी छ, मांसाहार गर्ने जड्याहा वा जुवाड़े छ भने त्यो उपाध्यायको संगत न गर्नु तर यदि हाल समाजमा चलेको कथित तल्लो थर भएता पनि शौच, शुद्धता, वेदाध्ययन, श्रीकृष्ण प्रेमी छ भने त्यो ब्राह्मण हो, उसंग संगत गर्नु भन्ने शास्त्रको जुन निर्देशन छ, यही नै हो छुवाछुत प्रथा।

हाल नेपाल र भारतमा विधमान थरको आधारमा भएको छुवाछुत प्रथा के हो?

सनातन धर्मको विभत्स विकृत रूप हो। हाल समाजमा विध्यमान थरको आधारमा पानी पनि बार्ने वा मंदिरमा पनि प्रवेश नदिने आदि क्रियाकलाप ब्राम्हण थरबाट गिरेका वाउनहरूको अहंकारबाट मौलाएको प्रथा हो, सनातनीय धर्म शास्त्रको विरुद्ध पद्धति हो, विकृति हो।

के शास्त्रले, शूद्रले वेद नपढ्नु भनेको हो?

हो। शास्त्रले शूद्र चेतनाका व्यक्तिहरूलाई वेदशास्त्र आफै स्वअध्ययन हैन, गुरूको माध्यमबाट लिनु भन्ने निर्देशन दिएको छ। जसरी चिकित्सा शास्त्र अध्ययनको लागि न्युनतम योग्यता तोकिएको हुंछ, ७/८ कक्षामा अध्ययन गर्ने विध्यार्थीलाई MBBS म भर्ना दिए के होला? त्यसैगरी वेद-शास्त्र अध्यययनको लागि कम से कम ब्राम्हणको चेतनाको आवश्यक पर्दछ नत्र शूद्र चेतनाको व्यक्तिले वेद-शास्त्र विना गुरु स्वयम अध्ययन गरेमा अर्थको अनर्थ गर्छ, उल्टो अर्थ लगाउँदछ। तर यहाँ यो बुझ्नु आवश्यक छ कि शूद्र भनेको थरले मात्र हैन, चेतनाले हो अर्थात इन्द्रिय तृप्ति नै अन्तिम लक्ष देखेका, मै खाउँ मै लाउँ भन्ने चेतनाका माँसाहारी, जड्याहा, जुवाडे आदिले चाहे जे सुकै थर होओस त्यस्ताले वेद अध्ययन नगर्नु भनेको हो।

तपाईको प्रतिक्रिया

Loading…