विराटनगरमा निकालियो ऐतिहासिक राधाकृष्ण रथयात्रा ( १९ तस्विरहरू )

विराटनगर / विराटनगरमा हजारौं भक्तजनको उपस्थितिमा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिएको छ । शनिबार दिउँसो साढे ३ बजे विराटनगर महानगरपालिका–१ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रको प्रारम्भ गरिएको हो । प्रत्येक वर्ष श्रीकृष्ण जन्मअष्टमीको भोलिपल्ट मन्दिर परिषरबाट विशेष पूजाआजा गरेपछि रथयात्रा निकालिन्छ । शनिबार निकालिएको रथयात्रा ५२ औं संस्करणको हो । २०२५ सालदेखि तत्कालिन भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथयात्राको सुरुवात गरेको मूल आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले बताए । यसअघि, १९८८ सालबाट खटमा राखेर यात्रा गराइने गरेको र त्यसलाई त्यतिबेला खटयात्रा भन्ने गरिएको उनले बताए ।

नगरपरिक्रमपछि रथलाई मुख्य बजारका विभिन्न ठाउँ हुँदै पुनः मन्दिरमा नै पु¥याइने छ । यस क्रममा रथलाई विभिन्न ४० स्थानमा रोकिने र पूरा परिक्रमाका क्रममा अनुमानित ४ घण्टा २० मिनेटको समय खर्चिने बताइएको छ । ४० स्थानमा तोकिएको विश्रामस्थलमा पूजापाठको व्यवस्था गरिएको छ । रथयात्रामा सहभागी बन्न गाउँगाउँबाट हजारौं भक्तजन विराटनगर आएका छन् । विराटनगरमा ठूलो मानविय चहलपहल छ । रथयात्रा मूल समारोह समितिका अध्यक्ष ओझाका अनुसार रथयात्राका लागि तीनपैनी, गोल्छा चोक, डीएसपी रोड, मेन रोड, बुधहाट चोक, ट्राफिक चोक, महेन्द्र चोक, गद्री, महावीर रोड, शनिमन्दिर, भृकुटी चोक, मुनालपथ, बरगाछी र तीनपैनीसम्मको ७ किलोमिटर दूरी तय गरिएको थियो ।

रथको लम्बाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको उनले बताए । रथयात्रा सुरु भएपछि विराटनरगरको आकाशबाट हेलिकप्टरले परिक्रमा गर्दै पुष्पबृष्टि गरेको थियो ।
त्यसका लागि ८० हजार रुपैयाँ खर्च गरेर एक क्विन्टल (सय किलो) फूलको तयारी गरिएको थियो । रथयात्राको शुभारम्भ प्रदेश १ का प्रमुख प्राडा गोविन्द तुम्बाहाङ, सामान्य प्रशासन मन्त्री लालाबाबु पण्डित, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुली लगायतले गरे ।

त्यस क्रममा विभिन्न दर्जनौं झाँकीहरु प्रदर्शन गरिए । विभिन्न धार्मिक संघ संस्था र व्यवसायिक प्रतिष्ठानहरुले प्रदर्शन गरेका झाँकीले रथको आकर्षण बढाएको छ । रथको ५० मिटर लामो डोरी तान्न र पुण्य कमाउन भक्तजनहरुको भीड लागेको छ । रथयात्रा भव्य रुपमा सम्पन्न गर्नका लागि बनेका १८ वटा उपसमिति बनाइएको थियो । अध्यक्ष ओझाले दक्षिण एसियाकै ठूलो रथयात्रामा भारतका विभिन्न स्थानबाट पनि भक्तजन आएको बताए । नेपाली र विदेशी भक्तजन गरेर यात्रामा पाँच लाखले सहभागिता जनाउने अपेक्षा आयोजकले गरेको थियो ।

यसैबीच रथयात्रालाई लक्षित गरेर सुरक्षा निगरानी बढाइएको छ । कुनै पनि प्रकारण्को उसृङ्खल गतिविधी र चोरी हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले रथयात्राको सुरक्षार्थ एक हजार सात सय प्रहरी परिचालन गरिएको बताए । जसमा दुई सय सादा पोसाकका रहेका छन् । ऐतिहासिक रथयात्राको सुरक्षामा विशेष रणनीति बनाएर लागू गर्दै त्यही हिसावमा सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीको भनाइ छ । विशेष गरेर रथयात्रा अवधिभर विराटनगरको निगरानी ड्रोन क्यामेराबाट पनि गरिएको छ ।

ड्रोन क्यामेरा उडाउनका लागि प्रहरी प्रधान कार्यालय काठमाडौंबाट ड्रोनसहितको टोली झिकाइएको छ । रथयात्रा मार्गलाई लक्षित गरेर ड्रोन क्यामेराबाट निगरानी गरिने जानकारी अधिकारीले दिए । शंकास्पद गतिविधी गर्ने कोही व्यक्तिलाई तत्काल नियन्त्रणमा लिन थालिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरुको संख्या यकिन भइनसकेको प्रहरीले जनाएको छ । विराटनगरका ३२ स्थानमा सीसी क्यामेरा पनि जडान गरिएका छन् । त्यसले पनि रथयात्रामा हुने अवाञ्छित गतिविधी नियन्त्रणमा मद्धत पु¥याएको प्रहरीको भनाइ छ ।

रथयात्रामा आउने भक्तजनलाई प्रहरीले भिडभाड धेरै हुने भएकोले त्यहाँ चोरी तथा लुटपाट हुने भन्दै महँगा गरगहना नलगाउन र घरको तालाचावी राम्रोसँग लगाएर मात्रै आउन विशेष आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…