ठेकेदारको फट्याइँ : काम नगरी आयोजनाको पैसा पेस्की

इटहरी । केही दिन अगाडी राष्ट्रिय सभामा बोल्दै सांसद रामनारायण विडारीले मोबिलाइजेसन बापत लिएको पैसा सम्बन्धित आयोजनामा भन्दा बाहिर लगानी गर्न थालेको प्रसङ्ग निकाले । पञ्चायती व्यवस्थामा ठेकेदार सँग पैसा नभएकोले स्वदेशी निर्माण कम्पनीलाई प्रोत्साहित गर्न मोबिलाइजेसन अर्थात् पेस्की सुरु गरिएको थियो । ’तर विडम्बना ठेक्का पट्टाको लागि दिइएको त्यो रकम ठेकेदारले अरू ठाउँमा लगानी गर्न थाले’ विडारीले भने ’जग्गामा, विदेशमा लगानी हुन थाल्यो।’ विडारीले भने जस्तै इनरुवाका नगरपालिकामा पनि त्यस्तै प्रकृतिको समस्या देखिएको छ ।

२०७६ वैशाख १० गते इनरुवा नगरपालिकाले गुन्द्री छेउको भगवती रोडको सम्मकोको बाटो कालोपत्रे गर्न सम्झौता र्गयो । बहुवर्षीय आयोजनाको रूपमा सञ्चालन गर्ने भनिएको सो योजना २०७७ वैशाख ८ गते सम्पन्न गर्ने नगरपालिकाको योजना छ । नगरपालिकाले सो ठेक्का समीक्षा निर्माण सेवा सँग सम्झौता गरेर मोबिलाइजेसन अर्थात् पेस्की बापतको रकम पनि दियो । ८५ लाख हाराहारीको सो आयोजनाको १० प्रतिशत बापतको रकम ठेकेदारले लिए पनि आयोजनाको काम भने सुरु हुन सकेको छैन ।

त्यसैगरि इनरुवा कै दुई नम्बर वार्डका भित्री सडकमा पक्की सडक तथा इन्टरलक टायल लगाउने योजना पनि समीक्षा निर्माण सेवाले नै पायो । २०७५ फागुनमै सम्झौता गरेर मोबिलाइजेसन ( पेस्की ) बापत १८ लाख ६० हजार रकम लिएर हालसम्म आंशिक सब बेसको काम मात्र समीक्षाले गरेको छ । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाबाट अघिल्लो बर्षनै सम्झौता गरी पेस्की लिएका बहुवर्षीय आयोजनाहरू अधिकांश त्यत्तिकै थन्किएका छन् । अघिल्लो आर्थिक वर्ष २०७५।७६ मै टेन्डरमार्फत ठेक्का दिइएका योजनाहरूको पेस्की लिएपनि निर्माण व्यवसायीले भने काम नगरे गरेको भेटिएको छ ।

नगरपालिका इन्जिनियरहरू पनि मोबिलाइजेसन बापतको पैसा लिएर काम गर्न आनाकानी गर्ने गरेको स्विकार्छन् । ’हामीले त ताकेता गरिरहन्छौ, तर हामीलाई पनि हाकिमसाब हरूले बिस्तारै हेर्नु भनेपछि के गर्नु नगरपालिकाका एक इन्जिनियरले भने ’अस्ति दुई ओटालाई त मौखिक रूपमा सजग गराएका छौ अब माथिबाटै गराउनु पर्नेछ ।’

एक महिनामा काम नगरे धरौटी जफत

सार्वजनिक खरिद ऐन २०६३ ले भने पेस्की लिएर काम नगर्नेको बैक रकम धरौटी गर्ने सम्मको प्रावधान राखेको छ । ऐनको दफा ५२क ले पेस्की दिने प्रावधान राखेको छ । सोही ऐनको दफा ५२क उपदफा ४ मा पेस्की लिएको तिस दिन भित्र काम गर्नु पर्ने प्रस्ट्याएको छ । यदि तिस दिन भित्र काम नगरे सोही दफाको उपदफा ६ ले बैक धरौटी जफत गर्न सक्ने प्रावधान राखेपनि ऐनको कार्यान्वयन हुन सकेको छैन । उपदफा ६ मा भनिएको छ ’यस दफा बमोजिम लिएको पेस्की सम्बन्धित काममा प्रयोग भएको नपाइमा उपदफा (१) बमोजिम लिएको अग्रिम बैङ्क जमानत जफत हुनेछ ।’

तपाईको प्रतिक्रिया

Loading…