विमानस्थलमा प्रहरीमाथि हातपात प्रती पूर्वयुवराज पारसले मागे माफी

काठमाडौं / पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको घटनाप्रति माफी मागेका छन् । बैंकक जाँदै गरेकी आमा कोमललाई बिदाइ गर्न विमानस्थल पुगेका उनले ड्युटीमा रहेका प्रहरी नायव उपरीक्षकमाथि हातपात गरेका थिए । उक्त घटनालाई लिएर सर्वत्र आलोचित बनेका शाहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् ।

विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीले चेकजाँच गर्नेक्रममा उनका छोरा हृदयेन्द्र शाह र बहिनी पेरणाका छोरालाई दुव्र्यवहार गरेको देख्दा आफूबाट उक्त घटना हुन गएको स्वीकार गर्दै सम्बन्धित पक्षसँग क्षमा मागेका छन् । आफ्नो छोराको अनुहार अगाडि प्रहरीको डण्डा देखेपछि आफूले नराम्रो महसुस गरेको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘कुनै पनि नेपाली बाबु यदि मेरो स्थानमा रहेको भए त्यसै गर्थे ।’

तपाईको प्रतिक्रिया

Loading…